बहुआयामिक व्यक्तित्वका देवकोटा

 ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’



महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम नेपाली साहित्य जगत्ले अविस्मरणीय सूचीको अग्र पङ्क्तिमा राख्छ ।  एउटा पाटो अभावमा रम्ने जिन्दगीको, अर्कोतिर शैक्षिक समुन्नतिभित्र दूरदृष्टि सजाइएका कुरा त्यसमा पनि साहित्यभित्र प्रकृतिका कुना कन्दरा चियाइएको खुला बहुआयामको फाँटमा अङ्कित यो नाम आजका सुकोमल बालहृदयदेखि बयोबृद्धका मनमस्तिष्कमा लिपिबद्ध प्रायः नभएको लाग्दैन ।  कलम कल्पनाको सागरभित्र वायुको गतिमा दौडिएका विलक्षण भाव लहरी जीवन्त छ, महाकविको आशुकवित्व प्रभावभित्र ।  धनधान्यकी देवी महालक्ष्मीको भव्य पूजाअर्चना गर्दै नेपालीहरू आँगनमा देउसी खेल्दै थिए ।  वि.सं. १९६६ कात्तिक २७ गते देवकोटाकी माता अमरराज्यलक्ष्मीदेवी उहाँलाई धर्तीमा स्वागत गर्न प्रसव वेदनामा छट्पटाइरहँदा सायद पिता पं. तिलमाधव देवकोटालाई देउसे दक्षिणा दिँदा फुर्सद थिएन होला ।  लक्ष्मीपूजाकै दिन जन्मे पनि लक्ष्मी कृपाभन्दा सरस्वतीको कृपा बढी पाएर त देवकोटाको व्यक्तित्व आज पनि अमर छ ।  दालभात डुकुको चिन्ताभन्दा ज्ञान सागरमा जीवन रहस्यको चुरो खोज्ने देवकोटा बहुआयामिक व्यक्तित्वका हुनुहुन्छ ।  
आधुनिक नेपाली कविता कित्ताको सिङ्गै एउटा धारामा अङ्ग्रेजी स्वच्छन्दतावादलाई जन्माउने, हुर्काउने र विकसित तुल्याउने देवकोटाको योगदान अतुलनीय लाग्छ ।  नेपाली साहित्यको आधुनिक जगतमा परिष्कारवादको कठोर बन्धनलाई अलिकति पन्छाएको स्वच्छन्दतावादले वि.सं. १९९१ देखि देवकोटाकै नेतृत्वमा प्रवेश पाएर झ्याङ्गिदै वि.सं. २०१६ अर्थात् उहाँको अवसानसम्म प्रमुख रूपमा स्थान पाएको बुझिन्छ ।  स्वच्छन्दवाद पाश्चात्य साहित्य सिद्धान्त हो ।  यसलाई जर्मन दार्शनिक तथा समालोचक फ्रेडरिक स्लेगल (१७७२–१८२९) ले साहित्यको एउटा नवीन अवधारणाका रूपमा ल्याउनुभयो ।  यसलाई प्रवद्र्धन र विकास गर्नमा फ्रान्सेली क्रान्तिले मलजल ग¥यो अनि रुसोको ‘मानव स्वतन्त्र जन्मन्छ, तर ऊ सर्वत्र बन्धनमा जकडिएको हुन्छ’ भन्ने भनाइसँगै प्रकृतितर्पm फर्कको सिद्धान्तले गति बढायो ।  व्यक्तिवादी दृष्टि र आत्मपक्षको महत्ता हाबी बन्ने, काल्पनिक लोकको विचरणभित्र सौन्दर्य बोध, विकृत पक्षको विरोध, अलिकति भावुकता, प्राकृतिक जीवनमा ईश्वरीय सत्ता, कृत्रिमताबाट मुक्ति, साङ्गीतिक प्रवाहमा मानवतावादी दृष्टिकोण यिनै स्वच्छन्दवादका हुलिया चिनारी हुन् ।  
विविध साहित्य विधाका परिवृत्तमा देवकोटाको कलम रातोदिन अथक बन्यो ।  त्यसो त प्रयोगवादी धारामा सुस्ताएझैँ लागेको यसले आजको समसामयिक धारमा गुञ्जिने काव्य लालित्यसँग ओइलाउनै परेको भने लाग्दैन ।  लेखक कृतिसँग जन्मन्छ, मर्न त सबै मर्छन् तर पाठकसँग बाँच्छ ।  भौतिक रूपमा लेखक मर्छ तर पाठक जन्मिरहन्छ ।  नाट्यसम्राट बालकृष्ण समले भनेझैँ देवकोटा उनकै प्रिय अनि सर्वाधिक लोकप्रिय भई धेरै बिक्री भएको कृति मुनामदनभित्र मात्र होइन शाकुन्तल अनि पागलभित्र गरी तीनपटक जन्मेकैले होला आज पनि अमर हुनुहुन्छ ।  त्यसैले होला, विलक्षण प्रतिभालाई देखेर स्वदेशले आज जति सम्मान देवकोटालाई मुक्तकण्ठले दिइरहेको छ, सीमापारिका साहित्यानुरागी त्यसबेला त्यति नै प्रभावित बनेका रोचक घटना सुन्न र पढ्न पाइन्छ ।  कतिपयले त देवकोटा नेपालमा जन्मनुलाई नै भौगोलिक गल्तीको खिन्नता पोख्न बाँकी राखेनन् ।  
खहरेको भेलझैँ कवित्व प्रभाव फुर्ने देवकोटामा आत्मिक ज्ञानको भण्डार थियो भन्ने कुरा यात्री कविताले पुष्टि गर्छ ।  उहाँ प्रत्येक मानिसमा ईश्वरको जिउँदो रूप देख्थे ।  दार्शनिक युगस्रष्टा देवकोटाले राष्ट्रप्रेमी भाव पोख्ने मात्र होइन क्रान्तिकारी भावमा समाजका विकृत पक्षको व्यङ्ग्य र भण्डाफोर गर्दै जागरणको शङ्खघोष गर्नुभयो ।  पूर्वीय र पाश्चात्य दर्शनलाई सर्लक्कै निलेर लघुदेखि बृहत् काव्यमा आशुकवित्व सिद्धहस्तता प्रस्तुतिको उदाहरण बन्नुभयो ।  निम्न वर्गीय यथार्थ जीवनको प्रतिबिम्बसँग प्राकृतिक लालित्य अनि आध्यात्मिक सोचमा प्रकृति, मानव र ईश्वरको त्रिकोणात्मक तादात्म्यको लगनगाँठो कस्नु देवकोटाको आफ्नै खुबी हो ।  बी.ए., बी.एल. र अङ्ग्रेजीमा एम.ए.सम्म अध्ययन गर्नुभएका देवकोटाले साढे ६ सयभन्दा बढी कविता रच्नुभयो, खण्डकाव्य दुई दर्जन जति लेख्नुभयो, आधा दर्जन महाकाव्य,अनि दर्जनौँ निबन्ध र नाटक लेख्नुभयो ।  त्यति मात्र होइन उपन्यास लख्नुभयो ।  लेखक बन्नुभयो, गीत लेख्नुभयोे, समालोचक, अनुवादकसमेत बन्नुभयो ।  उहाँ गीत गुनगुनाउनुहुन्थ्यो, सङ्गीतमा बडो अनुराग रहेछ – इतिहासमा पढ्न पाइन्छ ।  एक रातमा ‘कुञ्जिनी’ खण्डकाव्य जन्माउनु, ‘सुलोचना’ जस्तो महाकाव्यलाई दश दिनमै दाबा गरेर फुराउनु अनि नेपाली साहित्यको ‘आइसल्यान्ड’ मानिने कृति ‘शाकुन्तल’ महाकाव्य लेख्ने देवकोटाको लेखनशिल्प र कलात्मक भाव उडान चानचुने कुरा होइन ।  फलतः कविता तथा खण्डकाव्य–महाकाव्यमा स्वच्छन्दतावाद प्रवद्र्धन, विकास र विस्तार तथा पोथी गद्यको भावले प्रथम आत्मपरक निबन्धकारको रूपसँगै देवकोटाको युग सिङ्गो नेपाली साहित्यको स्वर्णयुग बन्यो ।  देवकोटाको खुबीलाई बुझ्ने आजका कैयाँै नेपाली भावनाले जाग्ने प्रेरणा बोक्छन् ।  कति सुकोमल बाल हृदय पग्लिन चाहन्छन्, घोरिन्छन् – साथमा नेपाल र नेपाली भाषाको स्वाभिमानले शिर उच्च राख्छ ।  
आधुनिक निबन्ध विकासको प्रथम चरण (१९९१–२००३) लाई स्वच्छन्दवादकै घेराभित्र राखेर देवकोटाले ‘आषाढको पन । ’ (१९९३) बाट ढोका खोलेको पाइन्छ ।  अङ्गेजी लवजको ढोङ, बोव्रmे भलाद्मीको खैरो उतार्ने देवकोटाको रमरम बौद्धिकताले नेपाली निबन्धको मूल्य त्यतिखेर मात्र होइन आज पनि अनुकरणीय छ ।  ‘विशालताको मापन आकार र परिमाणले होइन त्यसको भित्री गुणले गर्छ’ भन्ने राष्ट्रप्रेमको प्रस्तुतिमा प्राकृतिक चाञ्चलयभित्र ‘के नेपाल सानो छ ?’ निबन्ध नेपाली स्वाभिमानमा छाती फुलाउन कन्जुस्याइँ गर्दैन ।  पूmलको सौन्दर्य कुँदेको प्रकृतिलीला, चरीले पोखेको विलाप र वेदना, वात्सल्यभावको कोमलता, ममतामयी माताको करुणा अनि वीरताको प्रशंसाले देवकोटाका निबन्ध क्षेत्र सजिएका छन् ।  विसङ्गतिको पोको उघारेर विकृतिले झापड खान्छन् ।  मनुष्यत्व जाग्छ, कल्पनाले उडान भर्दा स्वच्छ निद्राको परिकल्पना हुन्छ, भावुकताको गहिराइमा रचिएका निबन्धले जीवनलाई चियाइरहेको हुन्छ ।  ‘कृषिवाला’ र ‘सावित्री सत्यवान’ नाटकमा देवकोटा सच्चा नारी आदर्शको नेपालीपनालाई चिनाउन खप्पिस हुनुहन्छ ।  ‘चम्पा’ उपन्यासले राणाकालीन सामाजिक परिवेशका विकृत वास्तविकता बोल्छ अनि उनका कथामा नेपाली माटोको स्पर्शले आनन्दको चर्चा पाएको छ ।  संस्कृतका वैदिक, पौराणिक शास्त्रज्ञानमा दखल भएका देवकोटा पाश्चात्य साहित्यको प्रभावसँगै अङ्ग्रेजीमा कविता र शाकुन्तलजस्तो महाकाव्य (२०४८) लेख्ने बहुप्रतिभावान् व्यक्तित्व हुनुहुन्छ ।  
देवकोटाका कवितामा बाह्य सौन्दर्यको भ्रामक प्रवृत्ति, विकृति र विसङ्गतिको भण्डाफोर हुन्छ ।  मानव प्रेम, प्रकृतिको काखले दिने आनन्दलहरी अनि ममताका अभावले मन कुँडिन्छ ।  ग्रामीण परिवेशको प्राकृतिक आह्लादमा रम्ने जीवनदर्शन कला र सौन्दर्यमा शान्तिकामी बनेर छताछुल्ल पोखिन्छ ।  गरिबी कर्मशीलताको भावभित्र आफ्नै मजा छ ।  पसिनाको उपहारभित्र आनन्द लुटपुटिएको छ ।  भिखारीको आर्तनादभित्र बन्धुत्व अनि ईश्वरीय स्वरूप छ ।  आज पनि कति विदेशिएका मदनका मुनाले यादमै गृह पीडाको अभावसँग सिँगौरी खेल्नु परेको छ ।  कुञ्जिनी त्यो कोल्पु नदीमा गोरेको प्रतीक्षा गर्दै तड्पिएकी होलिन् ।  लुनीले सङ्गीतको स्वर गुञ्जाइरहन्छिन् ।  सुलोचनाको हृदयविदारक पीडा अनि प्रताडनाभित्र तडपेको जैमाने रूपी अनङ्गको आँशुको भेल आज पनि पुरानो काल्पनिकता लाग्दैन ।  प्रकृतिको काखमा शकुन्तलाले दुष्यन्तसँग प्राकृतिक स्वच्छ प्रणय खोजिरहेकै हुन्छिन् ।  महाराणाप्रतापले जीवनको युद्ध मैदानलाई रमरम बनाएकै छन् ।  आज पनि लाखौँ प्रमिथस जिउसको कुख्यात प्रवृत्तिलाई न्यायको मार्गमा राखेर समयरेखा बदल्न चाहन्छन् ।  वनकुसुमले नरेन्द्रको न्यानो मायामा रम्न चाहेका छन् ।  आज पनि राजकुमारीको आशामा प्रभाकरको जीवन तड्पिरहेको होला ।  आध्यात्मिक–भौतिक रूपका विराट चिन्तन छन्, उहाँका लघुदेखि वृहत् काव्यभित्र ।  आर्थिक सङ्कटको जाँतोमा पिसिएको मौका छोपेर उहाँका कवितालाई सस्तोमा किन्दै कति कृत्रिम कवि बनेर जन्मिए होलान्– त्यसको त लेखाजोखा पनि नहुन सक्छ ।  
वास्तवमा देवकोटाका कवित्व आख्यानलाई नियाल्दा नारीको सम्मान र आदर्श वैचारिक प्रस्तुति अनि ईश्वरीय मेलसँग साँचो प्रेमले बाँचेको प्रतित हुन्छ ।  अतः देवकोटाको लेखनीले रूसोको ‘प्रकृतिर फर्क’ को सिद्धान्तलाई आत्मसात् गर्दै प्राकृतिक बिम्ब र प्रतिकहरूमा स्वच्छन्दवादी–प्रगतिवादी जीवनदृष्टिलाई प्रक्षेपण गरेको भान हुन्छ ।  उहाँ त पहिलो कवितामा यसरी जन्मनुभएको रहेछ –
‘घनघोर दुःखसागर संसार जान भाइ
नगरे घमण्ड कहिल्यै मर्नू छ हामीलाई । ’
(म त अभागिनी पो भएँ– १९७६)

आफ्नो जीवनको अन्तिम क्षणको मृत्युशै्ययामा समेत उहाँले ‘म शून्यमा शून्यसरी बिलाएँ
(२०१६ आर्यघाट)’ कवितामा यसो भन्नुभएको रहेछ –

‘रहेछ संसार निशासमान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर कृष्ण रहेछ एक
न भक्ति भो ज्ञान नभो विवेक । ’

यसर्थ देवकोटा गद्य र पद्य दुवै कविताभित्र जनश्रद्धाले गुनगुनाइएका महाकवि हुनुहुन्छ ।  प्रकृति र मानवताको सङ्गीत लहरीमा भुल्ने उहाँ साहित्यको बहुआयाममा अनि राजनीतिक व्यक्तित्वमा शिक्षासेवी पनि हुनुहन्थ्यो ।  बढाइचढाइ नगरी भन्दा २०१४ मा शिक्षामन्त्री बन्नुभएका देवकोटा सरस्वतीका सच्चा भक्त हुनुहुन्छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नमा भूमिका निर्वाह गर्ने मात्र नभएर २०१६ असार ११ गते त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने योजना बनाउनुभएका शैक्षिक उन्नयनका सोच र कार्यले देवकोटाको दूरदर्शी विचारलाई सम्प्रेषण गर्छ ।  नेपाली भाषा–प्रकाशिनी समितिमा जागिरे अनि त्रिचन्द्र, पद्मकन्या र कमर्स कलेजमा प्राध्यापकका साथै नेपाली साहित्य परिषद्का सभापति मात्र नभएर ‘युगवाणी’ र ‘इन्द्रेणी’ पत्रिकाका सम्पादकसमेत बन्नुभएका देवकोटाको बहुमुखी प्रतिभा आज हाम्रा लागि अनुकरणीय छँदै छन् ।  विश्व साहित्यको हाराहारीमा नेपाली साहित्यलाई पु¥याउन खोजेको उहाँको साधना सिङ्गो नेपालकै आत्मगौरव हो ।  उहाँका युगचेतना सजिएका कृतिभित्र कल्पनाको संसार होला तर यथार्थता निर्बाध चम्किरहेकै भेटिन्छ ।  भौतिक रूपमा कृतिको जीवनचित्रले सर्वश्व दिएको छ देश र जनतालाई ।  देवकोटामा भएका काल्पनिक प्रचुरता, बन्धुत्वको सोच, आदर्श विचार, मानवता, बौद्धिकता, तीव्र संवेदनशीलता, प्रतिभागत प्राचुर्यको बहुआयामिक व्यक्तित्व वास्तवमै अतुलनीय लाग्छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना