नेपाल संवत् ः नेपालको मौलिक संवत्

Upesh maharjanउपेश महर्जन

 

सरकारी मान्यता पाएपछि पनि सांस्कृतिक प्रदर्शनकै निरन्तरतामा रहेको मौलिक संवत् नेपाल संवत्लाई कामकाजी बनाउन माग राख्दै हरेक वर्ष गरिने कार्यक्रमले अन्ततः काठमाडाँै उपत्यकालाई दुलही झैँ सिँगारिएको हुन्छ ।  दशैँ नेपाली हिन्दूको महान् पर्व रहे पनि स्थानीय नेवार समुदायले उपत्यकामा नेपाल संवत्लाई सांस्कृतिक महìवका साथ मनाउने चलन रहिआएको छ ।  पञ्चायतकालमा पञ्चायतविरोधी भावना जगाउनको लागि उपत्यकामा आन्दोलनका रूपमा थालिएको नेपाल संवत् राष्ट्रिय संवत्को नारा अहिले नेपाल संवत् ११३७ को पूर्वसन्ध्यामा आइपुग्दासम्म उपत्यकामा गुञ्जिने गरेको छ ।  विगतमा विभिन्न प्रकारले राजधानीमा ¥याली गरिन्थ्यो भने अहिले संवत्का प्रणेता शंखधर शाख्वाःको मूर्ति र बाजागाजासहित सिन्दुर जात्रा गर्ने परम्परा बसिसकेको छ ।  आन्दोलनलाई सांस्कृतिक मूल्यमान्यतासहित सांस्कृतिक झाँकीमा शुभकामना आदानप्रदान गर्ने कार्यले नेपालको पहिचानमा थप आयाम स्थापित भएको छ ।  नेवार र नेवारी परम्परा वा दर्शन भनेकै आफ्ना पितापूर्खालाई देवत्वकरण गर्ने संस्कार रहेकाले पनि शंघधर शाख्वाःलाई एक देवताको रूपमा पुज्ने कार्य थालनी भइसकेको छ भने ठाउँठाउँमा सालिक राखेर पूजा गर्ने बानी नेवार समुदायले अँगालिसकेको छ ।
नेपाल संवत्का प्रणेता शंखधर साख्वाःलाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा राष्ट्रिय विभूति गरिएको थियो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्रीत्व कालमा राष्ट्रिय संवत्लाई मान्यता दिलाउने काम भएको थियो ।  त्यसपछि सरकारी कामकाजमा प्रयोगको सान्दर्भिकताको विषयमा नेपाल संवत्लगायत नेपालमा रहेका अन्य संवत्बारे अनुसन्धान गर्न गठन गरिएको कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक हुन सकेको छैन ।  यस विषयको टुङ्गो दोस्रोपटक प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकालमा लाग्ने विश्वास गरिएको छ ।  
 इतिहास
लिच्छवीकालीन नेपालको सबैभन्दा पुरानो संवत् लिच्छवी संवत् (शक् संवत्) ४९८ वर्ष र, पछि मानदेव संवत् ३०४ वर्षसम्म चलेको थियो ।  यसरी शक् संवत् चलेको ८०२ वर्षपछि ईश्वी संवत् ८७९ अक्टोबर २० तारिखदेखि शंखधरकृत नेपाल संवत् प्रारम्भ भएको मानिन्छ ।  राजा राघवदेवको पालामा व्यापारी शंखधर शाख्वाःले काठमाडाँैको इच्छुमति खोलाबाट निकालेको बालुवा सुनमा परिणत भएको वा बालुवामा सुनको कण भेटिए भन्ने विवाद जे जस्ता भए पनि उहाँले जनताको ऋणमोचन गरेर आसामीलाई मुक्ति दिलाएको स्मरणमा नेपाल संवत् चलाइएको मानिन्छ ।  
नेपाल संवत्लाई व्यावहारिक रूपमा सामाजिक अभियन्ता च्वसापासाले ६६ वर्ष पहिला वि.सं २००७ सालमा विप्लबी पुस्तकालय र कन्या मन्दिर स्कुलमा सार्वजनिक रूपमा नयाँ वर्ष मनाउनु भएको थियो ।  वि.सं २०३५÷३६ पछि राजनीतिक रूपमा नेपालभाषा मंकाः खलःले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने मागसहित आन्दोलन चलायो ।  आन्दोलन गरेको बीस वर्षमा वि.सं २०५६ मा नेपाल संवत्का प्रणेता शंखधर साख्वाः राष्ट्रिय विभूति घोषणा हुनुभयो र वि.सं २०६५ मा राष्ट्रिय संवत्को मान्यता पनि पायो ।  औपचारिक रूपमा नयाँ वर्ष मूल समारोह समिति गठन गर्दै प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर शुभकामना आदानप्रदान गर्ने कार्य पनि २५ आंै पटक हुन लागेको छ ।  नेपाल संवत्लाई व्यावहारिक रूपमा कामकाजी रूपमा चलाउन केही विद्वान्ले पात्रो बनाए पनि औपचारिक रूपमा मान्यता पाएको स्थिति छैन ।
कामकाजी संवत्
नेपाल एकीकरणपछि नेपाल संवत्लाई विस्थापित गरेर पुनः शक् संवत् पृथ्वीनारायण शाहले चलाए पनि केही समय पुनः नेपाल संवत् चलाउनु परेको थियो ।  त्यसपछि पुनः राणा प्रधानमन्त्री चन्द्र शमसेरले हरेक तीनवर्षमा एकपटक वर्षमा १३ महिना हुने भएकाले व्यावहारिक नभएको भनी यसलाई विस्थापित गर्दै विक्रम संवत् चलाएको भनिन्छ ।  उपत्यकाका नेवार समुदायले आफ्नो कर्मकाण्ड तिथि अनुसार गर्ने भएकाले यसलाई निरन्तरता दिएकाले अहिले नेवारहरूको मात्र हो कि भन्ने बुझाइ नै गलत हो ।
नेपाल बाहिर पनि चलेको संवत्
देशको नाम चलेको र साधारण जनताले चलाएको संवत् नेपाल संवत् हो ।  नेपाल संवत् नेपालभर विभिन्न समयमा चलनचल्तीमा रहेको थियो ।  यस संवत्को प्रयोग तिब्बत, भारत, म्यान्मा, चीनसम्म भएको पाइन्छ ।  विद्वानहरूका अनुसार गोरखाको पोखरीथोक बजारमा रहेको भैरव मन्दिरको शिलालेखमा नेपाल संवत् ७०४ लेखिएको छ ।  त्यसैगरी, भोजपुरको अजिमा मन्दिरमा रहेको ढोकामा नेपाल संवत् १०११ उल्लेख छ ।  तिब्बतको ल्हासामा रहेको जोखान मन्दिरमा रहेको छावसकमिनी अजिमा मूर्तिमा नेपाल संवत् ७८१ उल्लेखित छ ।  करिब चारसय वर्ष अगाडि भारतको बङ्गाल राज्यका राजा प्राण नारायणले आफ्नो राज्याभिषेकको समयमा निकालेको असर्फीमा नेपाल संवत् उल्लेख गरेका छन् भने चीनका बादशाहले बनेपाका जयरामलाई पठाएको चिठ्ठीमा नेपाल संवत् ५६५ को मिति उल्लेख गरिएको भेटिएको छ ।  त्यसैगरी, सल्यानकोट, पनौति, दोलखा जिल्लाका मन्दिरहरूमा पनि नेपाल संवत्को प्रयोग प्रशस्तै मात्रामा पाइन्छ ।  उपत्यकाका सबै शिलालेखहरूमा नेपाल संवत् नै उल्लेख छ ।
नेपाल संवत्को विशेषता
चन्द्रमास अनुसार सञ्चालन हुने भएकाले यो संवत्मा ३५४ दिन मात्र हुन्छ ।  सूर्यमासको आधारमा चल्ने संवत्मा ३६५ दिन हुन्छ ।  चन्द्रमासको कारणले प्रत्येक महिना २९÷३० दिन हुने भएकाले प्रत्येक तीन वर्षमा एकमहिना थप हुन्छ ।  उक्त वर्ष १३ महिना हुन आउँछ ।  कछला, थिंला, पोहेला, सिल्ला, चिल्ला, चौला, बछला, तछला, दिल्ला, गुंला र ञला गरी १२ महिना रहेका छन् ।  प्रत्येक तीन वर्षमा ‘अनला’ महिना गुंला र ञलाको बीचमा पर्न आउँछ ।  यद्यपि तिथिलाई चन्द्रमासको आधारमा गणना गरे पनि मसान्त र संक्रान्तिसहित यस संवत्मा पनि ३६५ दिन नै हुन्छ ।   
चन्द्रमासका अनुसार चल्ने भएकाले पनि एकै दिन दुईवटा तिथि हुने र कहिलेकाहीँ तिथि टुट हुन्छ ।  वास्तवमा नेपाल संवत् मात्र होइन अरु संवत् पनि चन्द्रमासकै अनुसार चलेको थियो ।  विक्रम संवत्लाई चन्द्र शमसेरले चलाए पनि भीम शमशेरले सौर्यमास अनुसार व्यवस्थित पारेका थिए ।  इश्वी संवत्मा पहिला १० महिना थियो पछि  मात्र १२ महिना बनाइएको हो ।  तिथिको गणना नेपाल संवत्मा मात्र होइन, मुसलमान पात्रो, चिनियाँ, कोरियाली, थाइल्याण्डका पात्रोहरूमा रहेका छन् र इश्वी संवत्सँगै आफ्नै मौलिक संवत्हरूलाई चलनचल्तीमा प्रयोग गरिरहेका छन् ।  चिनियाँ पात्रोमा चन्द्रमास (लुनार) र सूर्यमास (सोलार) का तìवहरू प्रयोग गरेकाले यसलाई ‘लुनिसोलार’ क्यालेन्डर भनिन्छ ।  विक्रम संवत्मा सूर्यमास र चन्द्रमास अनुसार चलाउन सकिन्छ भने नेपाल संवत्लाई तिथिमितिसहित सौर्यमासका विशेषता राखेर चलाउन सकिन्छ ।  भनौं, नेपालसंवत्मा नभएको विशेषता विक्रम संवत्बाट लिएर पनि कामकाजी बनाउन सकिन्छ ।  
म्हःपूजा
यसै दिनमा देश र विदेशमा बसेका सम्पूर्ण नेवार समुदायले म्हः पूजा गर्ने गर्दछन् ।  अर्थात् वर्ष भरीको लागि मंगलकामनाको लागि शरीर वा आफ्नो आत्मा पूजा गर्ने गरिन्छ ।  नेवारहरूले कात्तिक शुक्ल प्रतिपदाको दिनमा अति महìवका साथ यस दिनमा म्हः पूजा गर्दछन् ।  यस्तो पूजा गर्ने चलन करिब दुईहजार वर्ष पहिलादेखि प्रचलनमा रहेको बताइन्छ ।  राजभोग माला वंशावली अनुसार लिच्छवी राजा मानदेव प्रथमको पालादेखि नै यो पूजा गर्ने चलन बसेको उल्लेख छ ।  लिच्छवीकालीन शक् संवत्, मानदेव संवत् र नेपाल संवत्ले कात्तिक प्रतिपदा (कछलाथ्व पारु) अर्थात् आत्मपूजा गर्ने म्हःपूजाको दिन शुभ मान्दै चलाएको देखिन्छ ।  नेवार समुदायमा म्हः पूजालाई विशेष रूपमा लिने चलन छ ।  मण्डलालाई आत्मा मानेर म्हः पूजा गरिन्छ ।  विवाहित महिलाले यस दिनमा आफ्नो माइतीबाट श्रीमान्को परिवारको लागि विभिन्न प्रकारको भोजसहित विशेष प्रकारको पूजा सामग्रीहरू लानुपर्छ ।  त्यस्तो परम्परालाई ‘कु’ दिने भनिन्छ ।  सामाजिक प्रतिष्ठाको विषय भएकाले कु दिने चलन अहिले पनि कायम छ ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना