तिहारपछि महानगरभरि सौर्यबत्ती

काठमाडौँ, कात्तिक १४ गते । यसपटकको तिहारमा महानगरभित्रका सबै वडाका सडकमा सौर्यबत्तीले झलमल पार्नेे काठमाडौँ महानगरपालिकाको लक्ष्य पूरा नहुने भएको छ । सौर्यबत्ती जडान गर्न चाहिने केही उपकरण र जनशक्ति समयमै ल्याउन नसक्दा यो लक्ष्य पूरा नहुने भएको हो । 

मुख्य सडकमा भने यसअघि नै सौर्यबत्ती बालिसकेको महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले सौर्यबत्तीका लागि आवश्यक केही उकरण र प्राविधिक जनशक्ति नेपालबाहिरबाट ल्याउनुपर्ने र भनेको समयमा ती उपकरण र जनशक्ति उपलब्ध नभएकाले केही समय ढिला भएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “केही समय ढिला भए पनि कात्तिकभित्र महानगरका ३५ वटै वडामा सौर्यबत्ती बालिसक्छौँ, एक हजार ७११ वटा सौर्यबत्तीमध्ये एक हजार जडान गरिसकेका छौँ, केही ठाउँमा बालिसकेका छौँ । ”
महानगरपालिकाले ल्याएको ‘जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम’ अनुसार सडकमा सौर्य ऊर्जा जडान गर्न लागेको हो ।
उहाँका अनुसार महानगरले सहरलाई उज्यालो, सुरक्षित र विद्युत् बचत गर्ने उद्देश्यका साथ सौर्यबत्ती राख्न लागेको हो । राजधानीका सबै ठाउँमा सौर्यबत्तीका पोल गाड्ने काम भइसकेको छ भने बत्ती जडान गरेर परीक्षणको काम भइरहेको पनि तामाङको भनाइ छ ।
महानगरपालिका अनुसार महानगरमा करिब २० करोड रुपियाँ लागतमा राजधानीका ६६ वटा स्थानमा एक हजार ७११ वटा सौर्यबत्ती जडान गरिने भएको छ ।
सौर्यबत्ती राख्न ६० प्रतिशत अनुदान सरकारले दिनेछ भने महानगरपालिकाका २५ प्रतिशत र बाँकी १५ प्रतिशत स्थानीय उपभोक्ताले लगानी गरेको पनि जनाइएको छ । उक्त योजना अन्तर्गत महानगरपालिकाले करिब १६ करोड २५ लाख रुपियाँ लगानी गर्नेछ भने बत्ती जडानमा उपभोक्ताले करिब नौ करोड ७५ लाख रुपियाँ खर्च गर्नेछन् ।
सौर्यबत्तीका पोलमा २३ साइजको डिजिटल विज्ञापन राख्न पाउने व्यवस्था गरिएको छ । यो आम्दानीबाट कम्पनीले महानगरलाई राजस्व र विज्ञापन कर तिर्नुपर्छ ।
गत जेठमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सौर्यबत्ती निर्माणका लागि आशयपत्र छनोट गरेको थियो । सोही छनोटका आधारमा महानगरले साउन ३ गते रिक्वेस्ट फर प्रपोजल (आरएफपी) आह्वान गरेको थियो ।
यसैबीच ललितपुरको थसिखेलमा युवाले निजी खर्चमा सडकबत्ती जडान गरेका छन् । थसिखेल युवा समाजको सक्रियता र स्थानीय युवा हरिशरण थापा र सञ्जय कोइरालाको संयोजकत्वमा ४३ स्थानमा सडकबत्ती जडान गरिएको समाजले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना