संस्कृति बचाउन गन्धर्वको राष्ट्रिय अभियान कैलालीमा


गोदावरी समाचारदाता, कैलाली, कात्तिक १७ गते । समय क्रमसंगै लोप हुँदै गइरहेको गन्धर्व समुदायको पेशा र संस्कृतिको जगेर्ना गर्न संचालित अभियान कैलाली पुगेको छ । विशेषगरी परम्परागत बाजाहरूको संरक्षणमा जुटेको अभियान टोली देशका ४२ जिल्ला घुमिसकेपछि कैलाली पुगेको हो ।
कुनैबेला गाउँबस्तीमा सूचना र मनोरञ्जनको पर्याय बनेको गन्धर्व समुदायको परम्परागत पेशा पछिल्लो समयमा भएको सूचना र प्रविधिको विकाससंगै लोप हुन थालेकाले यस समुदायका अगुवाहरूले संस्कृति संरक्षणमा देशव्यापी अभियान थाल्नुभएको छ । अभियानकै क्रममा उहाँहरू दुई दिने कार्यक्रमसहित बुधवार कैलाली पुग्नु भएको हो । अभियान टोलीले जिल्लाका शहर बजारहुँदै गाउँबस्तीमा यस समुदायको परम्परागत सारंगी बाजाको विशेषता र जगेर्नाकालागि चिनाउने र बहस चलाउने अभियानकर्ता दलवहादुर गन्धर्वले बताउनुभयो ।
आधुनिकताको नाममा पश्चिमा संस्कृतिले नेपाली परम्परागत वाजाहरु लोप हुने खतरा भएपछि संस्कृति बचाउन सबभन्दा पहिले बाजा संररक्षणमा लागेको उहाँले बताउनुभयो । सारंगी बजाउँदै र परम्परागत बाजाको बारेमा जानकारी दिँदै जानेक्रममा कतिपय ठाउँका स्थानीय बासिन्दाले प्रत्यक्षरुपमा सारंगी नदेखेको पाइएको उहाँको भनाई थियो ।
गीतका सुरमा सारंगीको धुन मिसाउँदा मानिसको आक्रषर्ण सारंगीप्रति बढेको पाइएपनि पछिल्लो समय प्रयोगमा आउन नसकेको बताउँदै अर्का अभियानकर्ता बर्जित गन्धर्बले अभियानको अर्को उद्देश्य देशका ठाउँ ठाउँमा प्रशिक्षण केन्द्र खोल्न प्रेरित गर्ने भएको बताउनुभयो । अभियानकै क्रममा सहयोगी तथा मनकारीले दिएको केही रकमले छाक टार्दै सारंगीलाई देशका कुना कप्चामा प¥याइने अभियानकर्ताले बताउनुभयो ।
गाउँ बस्तीमा रहेका गन्धव समुदाय जिविकोपार्जकालागि पछिल्लो समय शहरतिर लागेकाले गाउँघरतिर सारंगी नचिन्ने अबस्था आएको उहाँहरु स्वीकार्नुहुन्छ । तर यसअघि नै बर्दियाको सारहवा गाविस–५ मा गन्धर्ब समुदायको पहलमा सारंगी बाजाको संरक्षणकालागि प्रशिक्षण केन्द्र स्थापना गरिएको बताइएको छ । प्रशिक्षण केन्द्रमा नयाँ पिढीकालाई सारंगीको महत्व बुझाएर बजाउन सिकाइन्छ ।     

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना