अरब क्रान्तिपछिको चरम निरासा

Ram prashadरामप्रसाद आचार्य

 

अरबमा क्रान्ति भएको पाँच वर्ष पूरा भएको छ ।  यो क्रान्तिले अरबवासीलाई अपेक्षा गरिएको शान्ति र राहत दिन सकेन ।  हिंसा, आतङ्क, अशान्ति, अस्थिरता र प्रतिशोधले अरब क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।  राजनीतिक दलहरू र नेतृत्व सक्षम नहुँदा प्रजातान्त्रिक अभ्यासले त्यहाँ गति लिएन ।  क्रान्तिपछि शान्ति र समृद्धि आउने जनअपेक्षा एकादेशको कथाजस्तै बन्यो ।  क्रान्तिका बेला निरङ्कुश शासक भनी सत्ताच्युत गरिएका होस्नी मुबारक, बीभत्स हत्या गरिएका कर्णेल गद्दाफीलगायतका शासकलाई अहिले जनताले भलझली सम्झिन थाले ।  जनताले पहिलेका निरङ्कुश शासकलाई सम्झिने अवस्था आउनु प्रजातन्त्रका लागि सुखद अवस्था पक्कै होइन ।  
नयाँ र राम्रो व्यवस्था ल्याउन क्रान्तिमार्फत हिजोको व्यवस्था फालिएको हो तर हिजोको व्यवस्थाले भन्दा राम्रो फल नयाँ व्यवस्थाले दिन सकेन भने जनतामा निरासा छाउनु स्वाभाविक कुरा हो ।  
हिजोको समृद्ध इजिप्ट आज हिंसा र प्रतिशोधको राजनीतिको शिकार बनेको छ ।  त्यहाँ क्रान्तिको सफलता संस्थागत भएन ।  एक वर्षमै प्रतिक्रान्तिले राजनीतिक प्रतिशोध लिँदा त्यहाँको राजनीतिक जीवन अस्तव्यस्त बनेको छ ।  क्रान्तिको सफलतासँगै निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलाई देशद्रोही घोषणा गरी विभिन्न मुद्दा लगाएर जेल हालिएको छ ।  उहाँको मुस्लिम ब्रदरहुड पार्टीमाथि प्रतिबन्ध लगाइएको छ ।  सो पार्टीका हजारौँ नेता तथा कार्यकर्तालाई जेल हालिएको छ भने कतिपयलाई मृत्युदण्ड दिइएको छ ।  कतारका लागि जासुसी गरेको भन्दै मोर्सीलाई आजीवन काराबासको सजाय दिइएको छ ।  उहाँमाथि अन्य थुप्रै मुद्दा लगाएर सदाका लागि राजनीतिमा आउने बाटो बन्द गरिएको छ ।  
क्रान्तिपछि इजिप्टको सत्ता निर्वाचित राजनीतिक दलले बुद्धिमत्तापूर्ण ढङ्गले सञ्चालन गर्न नसक्दा सत्ता सेनाको हातमा गयो ।  जनताको चाहना निरङ्कुश शासक र सैनिक सत्ता थिएन तर घुमाउरो तरिकाले त्यहाँ प्रमुख राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर, नेता तथा कार्यकर्तालाई जेलमा कोचेर निर्वाचनको नाटक गरी सैनिक निरङ्कुशतन्त्रको अभ्यास सुरु गरिएको छ  ।  यसले मुलुकको भविष्य झन् अन्धकारतर्फ उन्मुख भएको छ ।  
सैनिक प्रमुख हुँदा प्रतिक्रान्तिलाई साथ दिई निर्वाचित राष्ट्रपति मोर्सीलाई सत्ताच्युत गराउनुभएका अब्दुल फताह अल सिसीले सेनाको बर्दी फुकाली एक्लो दौडमा राष्ट्रपति निर्वाचित हुनुभयो ।  उहाँले निर्वाचनको नाटक गरी निरङ्कुश सत्ताको अभ्यासलाई पुनः निरन्तरता दिनुभएको छ ।  प्रमख राजनीतिक दलमाथि प्रतिबन्ध लगाई आफू सर्वशक्तिशाली बन्नुभएका उहाँले प्रजातान्त्रिक शासन व्यवस्थालाई समाप्त पार्ने काम गर्नुभएको छ ।  प्रजातन्त्र र राष्ट्रिय एकताको नाम दिए पनि काम भने त्यसको विरुद्धमा गर्नुभएका उहाँले सैनिक सत्तालाई निरन्तरता दिने र राजनीतिको साँचो नै सेनालाई सुम्पने गल्ती गर्नुभएको छ ।  जसले गर्दा त्यहाँ अत्याचारले सीमा नाघेको छ ।  दलहरू प्रतिशोधको राजनीतिको शिकार भएका छन् ।  जनताले अहिले पूर्व शासक मुबारकलाई सम्झिन थालेका छन् ।  उनीहरू भन्दै छन्, मुबारकको शासन कालमा कमसेकम शान्ति त थियो, प्रतिशोधमा मारिने अवस्था थिएन ।  
मोर्सीलाई सत्ताच्युत गरेको एक वर्षपछि सन् २०१४ मा सेनाको बर्दी फुकालेर राष्ट्रपति बनेपछि अल सिसीले सिनाई प्रान्तमा आतङ्कवादी आक्रमणमा ३१ जना सैनिकको ज्यान गएको घटनालाई लिएर तीन महिनाका लागि सङ्कटकाल लगाई आफ्ना विरोधीलाई दबाउने काम गर्नुभयो ।
ट्युनिसियाबाट अरब क्रान्ति सुरु भयो ।  केही दिन आन्दोलन चर्केपछि दुई दशकभन्दा लामो समय एकलौटी सत्ता चलाएका त्यहाँका राष्ट्रपति जिन अल अविदिन बेन अली जनआन्दोलनसामु टिक्न नसकी सन् २०११ को जनावरी १४ मा भागेर साउदी अरबमा शरण लिन जान बाध्य हुनुप¥यो ।  
ट्युनिसियामा आन्दोलन सफल भएपछि इजिप्ट प्रभावित भयो ।  त्यहाँ एकाएक चर्केको जनआन्दोलन थेग्न नसकेपछि इजिप्टमा तीन दशकसम्म एकछत्र शासन गरेका मुबारकको सत्ता एकाएक ढल्न पुग्यो ।  केही सीप नलागेपछि जनआन्दोलनको १८औँ दिनमा सेनालाई सत्ता बुझाएर राष्ट्रपति भवन छाडी मुवारक आफ्नो निजी निवास शार्म इल शेखतर्फ लागेसँगै सैनिक नेतृत्वको सत्तामोह बढ्यो ।  मुबारकले आन्दोलनकारी जनतालाई सत्ता सुम्पनुको सट्टा सेनालाई सत्ता बुझाउनु गल्ती थियो ।
इजिप्टमा सेनाले सन् २०१२ मा गराएको चुनावमा मुस्लिम ब्रदरहुड पार्टीले अत्यधिक बहुमत ल्याई सो पार्टीका नेता मोर्सी राष्ट्रपतिमा निर्वाचित भएपछि लोकलाज बचाउन सेनाले सत्ता हस्तान्तरण गरेको थियो ।  मोर्सीको निर्वाचित सरकारले जनआन्दोलनका दोषीलाई कारबाही गर्ने प्रक्रिया सुरु गर्यो ।  कारबाहीमा मुबारकदेखि सैनिक नेतृत्वसम्म पर्ने पक्का भएपछि ठूलो षड्यन्त्र गरी प्रतिक्रान्ति गराएर मोर्सीको सत्ता एक वर्षमै ढाल्ने काम गरे ।  यो प्रजातन्त्र र जनआन्दोलनविरुद्धको कदम थियो ।  प्रतिकान्तिपछि सेनाले फेरि सत्ता हातमा लियो ।  प्रतिक्रान्तिपछि सेनाले प्रमुख राजनीतिक दल र नेतामाथि प्रतिबन्ध लगाई चुनाव गराएर सन् २०१४ मा सैनिक प्रमुख अब्दुल फताह अल सिसी राष्ट्रपतिमा वैधता दियो ।  सैनिक बर्दी फुकाले पनि सिसीको पृष्ठभूमि सैनिक नेतृत्व भएकाले यसलाई प्रजातान्त्रिक अभ्यास मान्न त्यहाँको प्रमुख दल मुस्लिम ब्रदर हुड तयार छैन ।  मोर्सी र उहाँको पार्टीमाथि प्रतिबन्ध लगाएर सेनाले गराएको एकलौटी चुनावमा सिसीलाई एकलौटी मतले जिताइएको नाटक गरियो ।  राष्ट्रपति बनेपछि सिसीले राष्ट्रिय एकता र मेलमिलापका लागि आह्वान गरे पनि मुलुकमा त्यस्तो वातावरण बन्न सकेन ।  
उता सुडानी जनता पनि जुर्मुराए ।  सुडानी राष्ट्रपति ओमार अल बसिरको विरोधमा प्रदर्शन हुन थाले एकातिर भने अर्कातिर दक्षिणी सुडानवासीले जनमत सङ्ग्रहमार्फत नै सुडानबाट छुट्टिने निर्णय गरे ।  अफ्रिकाको सबैभन्दा ठूलो मुलुक सुडान औपचारिक रूपले विभाजित भयो ।  जस अनुसार सन् २०११ को जुलाई ९ मा दक्षिणी सुडान ५४औँ स्वतन्त्र अफ्रिकी राष्ट्र बन्यो ।  दुई दशकभन्दा लामो समयदेखि एकलौटी सत्ता चलाउँदै आउनुभएका राष्ट्रपति ओमारका लागि यो अर्को ठूलो राजनीतिक धक्का लाग्यो ।
उता, यमनमा पनि जनआन्दोलनले राष्ट्रपति अली अब्दुल्लाह सलेहलेलाई सत्ता छाड्न बाध्य बनायो ।  तीन दशकदेखि सत्तामा रहेका सलेहका कारण यमनमा बेरोजगारी र गरिबी अत्यधिक बढेपछि जनता सडकमा उत्रेका थिए ।  क्रान्ति सफल भए पनि यमनमा जनताले सक्षम नेता पाउन नसक्दा हुथी विद्रोहले जनजीवन तहसनहस बन्न पुगेको छ ।  जोर्डनमा पनि सरकारविरोधी प्रदर्शन चर्केपछि राजा अब्दुल्लाहलाई प्रधानमन्त्री समिर रिफाइलाई हटाएर मारओफ बखितलाई नयाँ प्रधानमन्त्री बनाई राजनीतिक सुधार गर्न बाध्य बनायो ।  
अरब क्रान्तिले लिवियामा कर्णेल गद्दाफीको चार दशक लामो सत्तामात्र ढलेन गद्दाफी स्वयं बीभत्स ढङ्गले मारिने अवस्था आयो ।  गद्दाफी मारिएपछि त्यहाँ प्रजातन्त्र आयो तर दलहरू मिल्न नसक्दा अराजकता र अस्थिरताले सीमा नाघेको छ ।  जनताले कही कतै न्याय र शान्ति पाउन सकेनन्, जसले गर्दा अहिले उनीहरू गद्दाफी सम्झिन बाध्य भएका छन् ।  निरङ्कुश शासन चलाए पनि गद्दाफी कालमा मुलुकले आर्थिक उन्न्नति गरेको थियो, अशान्ति र अस्थिरता थिएन ।   
अरब क्रान्तिले त्यस क्षेत्रमा राजनीतिक सत्ता परिवर्तन भएपछि जनतामा ठूलो आशा र अपेक्षा बढे ।  जनताको चाहना अनुसार नयाँ सरकारले काम गर्न नसक्दा जनतामा निरासा र थप आक्रोश पनि देखिन थाल्यो ।  अर्कातिर सैनिक अतिवाद र इस्लामिक अतिवादले परिस्थितिलाई झन् जटिल र कठिन बनायो ।  जनताले चाहेजस्तो प्रजातन्त्र, शान्ति, अमन चयन र स्थायित्व साथै राहत पाउन सकेनन् ।  परिवर्तित सरकारले जन्अपेक्षा अनुसार काम सकेनन्, जसले गर्दा प्रजातान्त्रिक आन्दोलनका उपलब्धि रक्षा गर्न कठिन भयो ।  कुशल र सक्षम राजनीतिक नेतृत्व पाउन र विकास हुन नसक्दा अरब क्रान्ति नै ओझेलमा पर्न थालेको अनुभव गर्न थालिएको छ  ।  
भूमध्य क्षेत्रमा प्रजातान्त्रिक शासन व्यवस्थाको विकास, राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि दलहरू मिल्नु र जनतासँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन ।  जनताले कुनै किसिमको अतिवाद र अधिनायकवाद चाहेका छैनन् ।  जनता प्रजातन्त्र र शान्तिको पक्षमा छन् तर सही नेतृत्व पाउन नसक्दा प्रजातान्त्रिक अभ्यासले सही गति लिन सकेन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना