अल्छीहरूबाट मुलुक बन्दैन

pradip nepalप्रदीप नेपाल


नेपालमा कति दिन बिदा हुन्छ ? बाउन्न दिन शनिबार भइहाल्यो ।  नयाँ वर्ष, पर्व र जात्रा बिदाहरू पचास दिन जति होलान् ।  नेपालमा नयाँ वर्ष नै आधा दर्जनभन्दा बढी छन् र ती सबै नयाँ वर्षमा बिदा हुन्छ ।  धर्तीमा नेपाल मात्र एउटा यस्तो मुलुक हो जसले एक वर्षमा सात दिन त नयाँ वर्ष मनाउँछ ।  यसका लागि खालि सरकारलाई, मन्त्रीलाई गाली गरेर पुग्दैन ।  पचहत्तर प्रतिशत जानेबुझेका नागरिक यसका लागि जिम्मेदार छन् ।  फलानोले बिदा पाउने हामीले किन नपाउने भन्ने त मैले नै सुनेको छु ।  ल्होसार मान्ने साथीलाई ‘कमसेकम तपाईंहरू एउटा ल्होसार मनाउनुस् न’ भन्दा पाएको उत्तर हो यो मैले ।  योभन्दा पनि लाजको कुरो पनि सुुनेको छु मैले ।  तीज जस्तो शुद्ध महिलाको पर्वमा पनि पुरुषले बिदा खोजिरहेका छन् ।  यसपालि भारत र चीनका राष्ट्रपति नेपाल आउँदा नेपाल सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेपछि कोकोहोलो मच्चियो बिदाको विरुद्धमा ।  तर केही यस्ता विद्धान् देखिए जसले चिनियाँ राष्ट्रपति राजकीय भ्रमणमा जाँदा पाकिस्तानले पनि सार्वजनिक बिदा दिएको थियो भन्ने कुतर्क गर्दै बिदाको पक्षमा बहस गर्न मैदानमा उत्रिए ।  कुनै पनि मुलुकको राष्ट्रपति काठमाडांै ओर्लिंदा सार्वजनिक बिदा दिने कुरो कसै गरे पनि सही साबित हुँदैन ।  यो गलत निर्णय हो ।
अल्छीहरू बिदाका पक्षधर हुन्छन् ।  कर्मीहरू बिदाका विपक्षमा हुन्छन् ।  हाम्रै नेपालमा केही यस्ता संस्थाहरू छन्, जो वर्षभरिमा शनिबार बाहेक पच्चीस दिन मात्र आफ्ना कर्मचारीलाई बिदा दिन्छन् र तिनले प्रगति पनि गरेका छन् ।  धनधान्यले सम्पन्न बैङ्कहरू नै सबै नयाँ वर्षको बिदा दिँदैनन् ।  दशैँको पन्ध्र दिन बिदा पनि दिँदैनन् ।  त्यसैले त कमाइरहेका छन् पैसा उनीहरूले ।  निजी व्यवसायीहरू बिदा लिने दिने गर्दैनन् ।  त्यसैले उनीहरू पनि वर्षैपिच्छे सम्पन्नताका सिँढी चढिरहेका हुन्छन् ।
अल्छीहरूको तर्क हुन्छ– हाम्रो मुलुकमा त सातामा एक दिन मात्रै बिदा हुन्छ ।  पश्चिममा त सातामा दुई दिन बिदा हुन्छ ।  सुविधा खान पश्चिम देखाउने बुद्धिजीवीलाई थाहा हुनुपर्ने– तिनै दुईदिने बिदा खानेले दान दिएको पैसाले हामी अल्छीहरू, क्रमशः दुःखी मगन्ते राष्ट्रका नागरिक भएका छौं ।  हाम्रो स्वाभिमान निहुरिएको छ ।  हाम्रो आत्मसम्मान मरेको छ ।
दुईदिने बिदाको एउटा रमाइलो अनुभव छ हामीसँग ।  कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनु भएको बेला उहाँले पनि नेपालमा पनि हप्तामा दुईदिने बिदा दिने चलन थाल्नु भयो ।  म बजार र गाउँको सङ्गममा हुर्किएको मान्छे ।  मेरा गाउँलेहरू मुखिया, बैदार वा परिचरको जागीर खाँदै फुर्सदको समयमा खेतबारीमा काम गर्थे ।  एक दिनको ठाउँमा दुई दिन काम ।  मैले यत्ति बुझेँ ।  दुई दिन बिदा हुँदा कर्मचारी खेतबारीको काममा बढी ध्यान दिन पाउने भए, उत्पादन बढ्ने भयो भनेर प्रधानमन्त्रीको प्रस्तावको पक्षमा गीतै गाएँ ।  म थिएँ काँठको प्रतिनिधि ।  ‘एकदिन छुट्टी हुँदा त लोग्नेमान्छेहरूले दिनभरि तास खेलेर, रक्सी खाएर महिलालाई सताइरहेका थिए ।  अब दुई दिन बिदा दिँदा महिलाहरूको जीवन नर्क हुन्छ,’ भनेर धेरै साथीले भनेपछि मैले गीत गाउन छोडेको थिएँ ।
कुनै कुरा पनि निरपेक्ष हुँदैन ।  सबै काम समयसापेक्ष हुन्छ ।  पश्चिमाहरूले पहिले कठोर मिहिनेत गरेरै सम्पन्नताको चुली चढे ।  अहिले थोरै मिहिनेत गर्दा पनि उनीहरूको जीवन चल्ने र हामीजस्तालाई यसो अलिकति फ्याँकिदिने हैसियतमा पुगे ।
तर हामी, आजका नेपाली सुकुलगुण्डे चरित्रका भइसकेका छौं ।  गाडी र त्यसका पाटपुर्जाहरू नेपालमा बन्दैनन्, गाडी चलाउने इन्धन पनि नेपालमा उत्पादन हुँदैनन् ।  तर नेपालमा गाडी आएको आयै छ ।  राज्य सबैभन्दा ठूलो व्यापारी भएको छ नेपालमा ।  भारतमा दश बाह्र लाख पर्ने गाडी नेपालमा अठतीस, चालीस लाख पर्छ ।  र पनि हामी चढिरहेकै छौँ ।  गाडी र इन्धनको आयात बढेको बढ्यै छ ।  पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने वैकल्पिक उत्पादनको जानकारी पनि नेपालमा आइसकेको छ र त्यस्ता कच्चा पदार्थको उत्पादन पनि डङ्गुर हुन्छ ।  तर हामीलाई काम गर्न मनै लाग्दैन ।  
फिनल्याण्डमा एकजना भद्र महिलाले मलाई भनेकी थिइन, ‘नेपाल संसारको सबैभन्दा धनी मुलुक हुने क्षमता राख्छ ।  तर तिमीहरू कामै गर्दैनौँ ।  ।  एस.एल.सी पास गरेकाहरू गोबर छुन मान्दैनन् ।  पढेको मान्छेले शारीरिक श्रम गर्नु हुँदैन भन्ने गलत सोचमा बाँचेका छौँ तिमीहरू ।  यता तिमी देखिरहेका छौँ ।  कुनै उमेरको मानिस पनि फुर्सद मानेर बसेको छैन ।  क्षमता अनुसारको काम सबैले, स्वेच्छाले गरेका छन् । ’
यो उनको गफ थिएन ।  किनभने मैले स्वीट्जरल्याण्डमा कृषि इन्जिनिरिङमा स्नातकोत्तर गरेको विद्वानसँग एक बिहान बिताएको थिएँ ।  ऊ आफ्नो गाई पालनमा रमाइरहेको थियो ।  उसले मसित गर्विलो भाकामा भनेको थियो, ‘म साह्रै धनी मान्छे होइन ।  म आफ्नो काम आफैँ गर्छु ।  राज्यलाई कर तिर्छु ।  मलाई नेपाल मन पर्छ ।  नेपाल जाँदा स्कुलका गरीब विद्यार्थीका लागि उनीहरूलाई मनपर्ने उपहार लैजान्छु ।
अब तुलना गर्नोस् ।  घुम्ने कुर्चीमा खुट्टा घुमाएर खाने हैसियत भएको मान्छे, नोकरी गर्ने कुरालाई तिरस्कार गर्छ र आफ्नो स्वाभिमानप्रति गौरव गर्दै भन्छ, ‘म आफैँ कमाएर खान्छु, राज्यलाई कर तिर्छु, गरीब दुःखी मानिसलाई सहयोग गर्छु ।  
नेपालमा यसरी गर्व गर्ने मानिस कति जना होलान् ? म आफैँले एकजना भेटेको छु ।  दश जना जतिको बारेमा पढेको छु ।  हाम्रो देशमा काम गरी खाने जनसङ्ख्या एक करोडभन्दा बढी नै होला ।  तर मेरो काम मै गर्छु, राज्यलाई कर तिर्छु, कसैको सामू निहुँरिन्न भन्ने मान्छेको सङ्ख्या कति होला ? एकाध लाख !
अल्छी भएकै हुनाले नेपालीको प्रवृत्ति नकारात्मक छ ।  अरुले गरी खाएको देखिनसहने, आपूmलाई अगाडि बढाउन अर्कोको खुट्टा तान्ने, अर्काको काममा खोट देखाउने, खुब जान्ने भो भनेर खिल्ली उडाउने, यी हाम्रो जीवनका आम प्रवृत्ति हुन् ।  यिनै जनताको प्रतिनिधि हुन्छ नेपाल सरकार ।  सरकारका मन्त्री र कर्मचारीहरू यसै कारण गरी खानेलाई सघाउँदैनन् ।  काम गर्नेलाई प्रोत्साहन दिने तिनको चरित्र नै हुँदैन ।  सबै कुराको निर्धारण हुन्छ कमिशनको आधारमा ।  घुसको आधारमा ।
स्वाभिमानका उदाहरणहरू खोज्न धेरै टाढा जानु पर्दैन ।  अघिल्लो हप्ता तिहारको रमझममा भारतका व्यापारीहरूले चिनियाँ सामान बहिष्कार गर्ने निर्णय गरे ।  सरकार त झन् जोगीजुलन्तरीको ।  उसलाई पनि ठीकै लाग्यो होला ।  तर चीनले चिन्ता जाहेर गरेन ।  उसले भनिदियो, ‘यो कर्मले हामीलाई होइन, भारतलाई नै घाटा हुन्छ ।  भारतसँगको हाम्रो व्यापार त कुल निर्यात व्यापारको दुई प्रतिशत मात्र हो । ’
यी त भए गन्थन ।  राम्रो काम कसरी गर्न सकिन्छ भन्ने विकल्प पनि गन्थनकर्तासँग हुनुपर्छ ।  सबैभन्दा पहिले हामीले काम गर्नुपर्छ ।  त्यसका लागि बाउन्न शनिबार र बढीमा एक महिनाको सगोल बिदाको व्यवस्था गर्नुपर्छ ।  यो एक महिना नै सबैको पर्व बिदा हो ।  नयाँ वर्ष, जात्रा, नाटक, पूजापाठ जस्ता सबै कर्मलाई यही एक महिना भित्र पार्नु पर्छ ।  दशैँ तिहार मान्नेले पनि महिना दिन पाउँछन्, इद या इस्टर मान्नेले पनि यही महिना दिन पाउँछन् ।  बाउन्न र तीस गरेर बयासी दिन हुन्छ ।  तीन सय पैँसट्ठी दिनमा बयासी दिन बिदा अरु दिन काम ।
पछिल्लो समयमा सरकारको योजनाको आधारमा होइन, स्वतस्फुर्त हिसाबले व्यावसायिक खेती र पशुपालन बढेको छ नेपालमा ।  तर विचरा तिनले सरकारी पक्षबाट कुनै सहयोग पाएको देखेको छैन मैले ।  जिल्लामा सरोकारवाला कार्यालयका प्रतिनिधिहरूको दायित्व देखिएन यस्ता काममा ।  नागरिकले गरेका छन् र रामभरोसे चलेका छन् ।  कम्तीमा पनि जिल्लास्थित कृषि कार्यालयले आफ्ना प्राविधिकको अनिवार्य उपस्थितिमा माछा पालन, वस्तु पालन, तरकारी खेती, बेमौसमी खेतीको शिक्षण र अनुगमन गराउनु पर्छ ।
इमान राजनीति गर्नेहरूको मात्र कर्तव्य होइन ।  त्यो उद्योगपतिको, व्यापारी व्यवसायीको, भिन्न भिन्न पेसाका नागरिक, कर्मचारी र शिक्षकको पनि हो ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना