मकवानपुरको गोपाली वस्तीमा होम स्टे



homestayराममणि दाहाल, हेटौँडा, कात्तिक १८ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिका १२ स्थित कुन्छाल गाउँमा होमस्टे शुभारम्भ गरिएको छ । ऐतिहासिक महत्वको गोपाली समुदायको बाहुल्य रहेको कुन्छाल गाउँमा होमस्टे शुभारम्भ गरिएको हो । गोपाली समुदायको २४० घर रहेको कुन्छालमा चारवटा घरबाट होम स्टे शुभारम्भ गरिएको छ ।
जापानी सिएचयूओ बिश्व बिद्यालयका सातजना विद्यार्थीलाई पाहुनाको रुपमा स्वागत गरेर होम स्टेको सुरुवात गरिएको जानकारी दिंदै होम स्टे ब्यबस्थापन समितिका अध्यक्ष सानुकाजी गोपालीले कुन्छालका सबै घर होम स्टे सञ्चालन गर्ने गरी तयारी गरिएको बताउनुभयो ।
होम स्टे शुभारम्भ पूर्व स्थानीयले फूलमाला र बाजागाजासहित जापानी पर्यटकको स्वागत गरेका थिए  । लभग्रिन जापान र लभग्रिन नेपालको सहकार्यमा होम स्टे सुरु गरिएको हो । गोपाली वस्तीमा रहेका घरहरूमा रातो टायल छाउन र पर्यटकीय वस्तीको रुपमा विकास गर्न लभग्रिन जापान आइकावसनले पाँचलाख रुपियाँ सहयोग गरेको छ । गोपाली वस्ती अहिले पनि राताम्ये र मनोरम देखिन्छ ।
थाहा नगरपालिका हुनुपूर्व बज्रवाराही गाविसको ६ वडा रहेको गोपाली गाउँमा गोपाली समुदायको मात्र बसोबास रहेको छ । गोपाली समुदाय छ सात सय वर्ष पहिले सो स्थानमा लम्जुङ्गको कुन्छाल र काठमाडौबाट लखेटिएपछि बसोबास गर्न थालेको इतिहासमा उल्लेख भएको होम स्टेमा सञ्चालन समितिका अध्यक्ष गोपालीले बताउनुभयो ।
कृषि र पशुपालन प्रमुख आम्दानीको स्रोत भएको गोपाली समुदायका स्थानीयले होम स्टे सञ्चालन गरी आन्तरिक पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । गोपाली समुदायले होम स्टे सञ्चालनका लागि आफैले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेका छन् ।
विश्व विद्यालयका तीन विद्यार्थी केही समय बसेर गोपाली गाउँ र स्थानीयको भेषभुषा, धर्म, संस्कृति, सामाजिक अवस्थालगायत होम स्टे ब्यबस्थापनका बारेमा अध्ययन अनुसन्धान गर्ने भएका छन् ।
त्रिभुवन राजपथसँगै जोडिएर पनि आर्थिक र सामाजिकरुपमा पछाडि परेको ऐतिहासिक कुन्छाल गाउँको पर्यटकीय महत्वको प्रचार प्रसार गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने भन्दै अध्यक्ष गोपालीले भन्नुभयो, गोपाली गाउँलाई सुन्दर र मनोरम होम स्टे गाउँमा परिणत गर्ने तयारीमा छौ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना