नेपालसँगको सम्बन्ध उच्च प्राथमिकतामा : मुखर्जी

नारद गौतम

काठमाडौँ, कात्तिक १९ गते ।  काठमाडौँ महानगरबासीको तर्फबाट नेपालको राजकीय भ्रमणमा रहनुभएका गणतन्त्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको ‘नागरिक अभिनन्दन’ गरिएको छ ।  
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहीबार आयोजित ‘नागरिक अभिनन्दन समारोह’ मा काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अभिनन्दनपत्र पढेर सुनाउनु हुँदै राष्ट्रपति मुखर्जीलाई ‘नागरिक अभिनन्दनपत्र’ प्रदान गर्नुभएको थियो ।  
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको समारोहमा प्रमुख तामाङले राष्ट्रपति मुखर्जीलाई काठमाडौँ उपत्यकाको उत्पत्तिसँग जोडिएको काठको कलात्मक झ्याल उपहारस्वरूप प्रदान गर्नुका साथै काठमाडौँको साँचो प्रदान गर्नुभएको थियो ।  महानगरले विदेशी विशिष्ट पाहुनालाई काठमाडौँको साँचो प्रदानगर्ने प्रचलन छ ।  
मुखर्जीको अभिनन्दनपत्रमा भनिएको छ, ‘‘दुई छिमेकी मित्रराष्ट्रबीच शताब्दीऔँंदेखिको घनिष्टता तथा पारस्परिक भलाइले नेपाल–भारतबीचकोे ऐतिहासिक, मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गति दिन, अझ सुदृढ र सुमधुर बनाउने काममा सघाउ पुग्ने हाम्रो विश्वास छ । ’’ pranab-mukherjee-
नागरिक अभिनन्दन ग्रहणपछि समारोहलाई सम्बोधन गर्नुहुँदै भारतका राष्ट्रपति मुखर्जीले काठमाडौँ महानगरवासीका तर्फबाट आफ्नो अभिनन्दन गरिएकामा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘‘ऐतिहासिक र पवित्र सहर काठमाडौँको भ्रमण गर्न पाउनु मेरो सौभाग्य हो । ’’
नेपाली नेताहरू भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी हुनुभएको स्मरण गर्नु हुँदै राष्ट्रपति मुखर्जीले भन्नुभयो, ‘‘नेपाल र भारतजस्ता साझा संस्कृति र खुला सीमा भएका दुई देश संसारमा छैनन् । ’’
भारत र नेपालबीच सरकारी स्तरमा मात्र होइन जनस्तरमा पनि सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उहाँले सन् १९५० मा सुरु भएको दुई देशबीचको विकासमा साझेदारी अहिले धेरै क्षेत्रमा फैलिएको बताउनुभयो ।  
भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले भारत र नेपाल आ–आफ्ना मुलुक र दक्षिण एसिया क्षेत्रको आर्थिक समृद्धि र दिगो विकासमा साझा सोच राख्छन् भन्नुभयो ।  
राष्ट्रपति मुखर्जी समारोहस्थल पुग्नुहुँदा नेवार कला र संस्कृति झल्कने कलात्मक सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।  महानगरबासीको तर्फबाट प्रदान गरिएको अभिनन्दन ग्रहण गर्नुभएकोमा राष्ट्रपति मुखर्जीलाई महानगरका निर्देशक ज्ञानेन्द्र कार्कीले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।  
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री हितराज पाण्डे, संस्कृति तथा पर्यटन मन्त्री जीवनबहादुर शाही, भारतीय रक्षा राज्यमन्त्री डा. सुवास भामरे, नेपालका लागि भारतीय राजदुत रणजीत रायलगायतको उपस्थिति थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना