घुँघट बाहिर पौरखी विञ्जना

 gopi gewaliगोपी ज्ञवाली


ब्यूटीपार्लर धाउने, लिपिस्टिक पाउडर लगाउने, आँखा घुमाउँदै हिँड्नेहरूको भीडबाहिर मोटरसाइकलको इञ्जिनियरिङमा तल्लीन छिन् विन्जना गौड ।  महिला भएर जन्मेपछि मृत्यु नहुँदासम्म पर्दाभित्र बसेर घरभित्रको चुलो चौकाको काम मात्र गर्नुपर्ने सामाजिक परिवेश रहेको हाम्रो मधेसी समाजमा जन्मेकी विन्जना गौडको परिवारिक र सामाजिक सङ्घर्ष आफ्नै छ ।  शिक्षा र सामाजिक जागरणको अभावमा अहिले पनि देशको अन्य तराई भागमा जस्तै नवलपरासीको सुदूर दक्षिणी गाउँहरूमा महिलामा पर्दा प्रथा, महिलालाई दोस्रो दर्जाको नागरिक, महिला पुरुषको सहयोगी मात्रको भूमिका छ ।  भारतीय सिमानासँग जोडिएका नवलपरासीका दर्जनौँ गाउँमा अहिले पनि महिलालाई सामान्य रूपमा बाहिरी परिवेशमा आवत जावत गर्न, सामाजिक रूपमा काम गर्न सहज छैन ।  भगवान्लाई खुुसी पार्न भन्दै एक अबोघ बालकको नर बलि दिएर मानवीय सभ्यताको धज्जी उडाउने घटना करिब एक वर्ष पहिला भएको पनि नवलपरासीको यही दक्षिणी भेग हो तर यस्तै पारिवारिक र सामाजिक परिवेशको विरुद्ध आफूले केही गरेर समाजलाई देखाउने अठोट भएपछि सबै काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिनुभएको छ २० वर्ष पनि ननाघेकी विन्जनाले ।  
भारतीय सिमानासँग जोडिएको नवलपरासीको भुजहवा गाविसमा जन्मे बढेकी विन्जनाले स्थानीय विद्यालयमा अध्ययन गर्नुभयो ।  छोरी भएपछि गर्नैैपर्ने काम भनेर घरको चुलो चौकोको काम पनि सिक्नुभयो ।  एसएलसीको परीक्षामा अङ्ग्रेजी र गणित विषयमा फेल भएको रिजल्ट आएपछि विन्जनालाई ठूलो झट्का लाग्यो ।  तैपनि एसएलसी पास नगरेकाले पनि थप पढ्न मिल्ने कोर्सको बारेमा रेडियोमा सूचना सुनेपछि जिन्दगीमा उज्यालोको किरण आफ्नो अगाडि भएको महसुस भयो ।  रेडियोमा सुनेको सूचना खोज्दै जाँदा टीएसएलसीको बारेमा थाहा भयो विन्जनालाई अनि मोटरसाइकल मेकानिकको काम सिक्ने निर्णय गर्नुभयो ।  विवाह गर्ने उमेरमा कहाँ घर छाडेर बजारमा पढ्न जाने भनी पहिला परिवारले अनुमति दिएन ।  धेरै छलफलपछि बुबालाई सहमतिमा ल्याउन सफल भएपछि विन्जनाले २०६६ सालमा प्राविधिक शिक्षालयबाट टीएसएलसीको पहिलो लेवल पास गरी सुनवलको एक मोटरसाइकल ग्यारेजमा प्रयोगात्मक काम गर्न सुरु गर्नुभयो ।  
आफ्नो सामाजिक परिवेशमा आमा, हजुरआमाहरूले गरेको जस्तो पारम्परिक काम नगर्ने भनेपछि केही समय परिवार एवं आफन्तजनमा हल्लीखल्ली मच्चियो ।  छोरी घर परिवारभित्र नै बस्नुपर्ने र बाहिर जान परे पर्दा गरेर जानुपर्ने सामाजिक परिवेश रहेको अवस्थामा विन्जनाको फरक सोचसँग घर परिवारमा पहिला कोही पनि सहमत भएनन् तर पछि बुबा विन्जनाको भनाइप्रति सहमत हुनु भएपछि विन्जनाको केही फरक गर्ने बाटो खुल्यो ।  
नवलपरासी भुवहवा गाविस वार्ड नं. ७ की विन्जना गौडले पाँच वर्षदेखि सुनवलस्थित निखिल मोटरसाइकल वर्कसपमा मुख्य प्राविधिकको काम गर्दै आउनुभएको छ ।  पहिला पहिला मोटरसाइकल बनाउन आउने कतिपय मानिसले यो केटीले राम्रो बनाउन्न होला अर्को मेकानिकलाई मेरो मोटरसाइकल बनाउन लगाइदिनु भन्ने मानिसहरू आउने गरेको विन्जना सुनाउनु हुन्छ ।  काम जति राम्रो गरे पनि पुरुष प्रधान समाजमा महिला भएकै कारणले मानिसहरूले आफूलाई कमजोर आँकेर व्यवहार गरेको देख्दा कतिपय समयमा खिन्नता हुने विन्जना सुनाउनुहुन्छ ।  आफ्नै साथी, आफन्त र कतिपय महिला ग्राहकले समेत केटी मान्छे भएर यस्तो कालोमैलो हुने ठाउँमा किन काम गरेको भन्छन् तर सबैलाई काम कालो भए पनि पैसा त कालो हुँदैन नि भन्ने जवाफ दिँदा सबैको मुख बन्द हुन्छ ।  
मधेसका अनेक क्षेत्रमा अहिले पनि पर्दा (घुङ्घट) प्रथा व्यापक रहेको अवस्थामा विन्जनाको कामले आम मधेसी महिलालाई मात्र होइन केही गर्छु भन्ने हरेक नेपाली महिलालाई प्रेरणा दिएको छ ।  महिलालाई घरबाहिर निस्कन नदिने समाजमा विन्जना गौड सङ्घर्षको एउटा मिसाल बन्नुभएको छ ।  
निखिल मोटरसाइकल वर्कसपका सञ्चालक दुर्गा श्रेष्ठ भन्नुहुन्छ, सुरुसुरुमा विन्जनाले मोटरसाइकल बनाउँदै गर्दा केटा ग्राहकहरू हाँस्ने, अलिअलि जिस्काउन खोज्ने गरे पनि अहिले विन्जनाको राम्रो कामले सबैलाई प्रभावित पारेको छ र अहिले सबैले केटी मान्छेले पनि प्राविधिक काम पुरुषले जस्तै गर्न सक्छन् भन्ने स्वीकार गरिसकेका छन् ।  मोटरसाइकल वर्कसपमा प्राविधिकको काम गर्दैगर्दा नवलपरासीकै हरपुर गाउँका श्यामसुन्दर गौडसँंग विवाह गर्नुभएकी विन्जनालाई श्रीमान्ले पहिला यस्तो काम छाड भने पनि अहिले विदेश गएर निकृष्ट र असुरक्षित काम गर्नुभन्दा आफ्नै देशमा सम्मान र पैसा रहेछ भन्दै श्रीमान्ले पनि आफूसँगै ग्यारेजमा काम गर्दै आउनुभएको खुसी सुनाउनुहुन्छ विन्जना ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना