काली किनारको रानीमहल

Luckyलक्की चौधरी

 

‘पाल्पा’ आफंैमा प्रकृतिले सजिएको सुन्दर बगैचासरी छ ।  लाग्छ प्रकृतिले दिनुपर्ने सबै सुन्दरता अञ्जुलीभरी ल्याएर त्यहाँ खन्याइदिएकी छिन् ।  प्राकृतिक शीतलता मनुस्यका लागि कहिल्यै नमेटिने प्यास हो ।  शरीरलाई पानीको तिर्खा लागेसरी हरियालीको प्यास मान्छेलाई लागिरहन्छ ।  काठमाडौंजस्तो भीडभाड, उकुसमुकुस, ठेलमठेल र प्रदूषणयुक्त सहरको परिवेशमा बस्ने हरेक नेपालीलाई शीतलताको प्यास हुन्छ नै ।  त्यो मेटाउने वातावरण दिन्छ पाल्पाको हरियालीले ।  त्यहाँ पुग्ने जोकोहीले दृश्यप्यास नमेटुञ्जेल हरियालीसँग रमाउन पाउँछन् ।  पाल्पाको प्राकृतिक सुन्दरतामाथि अर्को शृङ्गार छ ‘रानीमहल’ अर्थात् नेपाली ‘ताजमहल’ ।  यो मानवनिर्मित हो, तर लाग्छ प्रकृतिकै उपहारजस्तो ।  चारैतिर पहाडले घरिएको कालीगण्डकी र बराङ्दी नदीको संगमस्थलमा अवस्थित छ रानीमहल ।  नदीको तटमा निर्मित त्यो नेपाली ताजमहल भारतको आग्रास्थित ताजमहलभन्दा कयौं अनुपम लाग्छ ।  कमी छ त केवल प्रचारप्रसारको ।  
रानीमहलमा आधादिन
नेपाल पत्रकार महासङ्घको दशौं केन्द्रीय पूर्ण बैठक गत भदौ २९ गते रानीमहलमा बस्यो ।  पाल्पा तानसेनबाट करिब चारकोस टाढा रहेको रानीमहलको पहिलोपल्ट अवलोकन गर्ने अवसर त्यसैले जुराइदियो ।  पाल्पाको बतासेडाँडाको चिसो बतासको शीतलता त यसअघि नै पटक पटक महसुस गरिएकै थियो ।  तर रानीमहलको दृश्यपान गर्न पाइएको थिएन ।  बैठकले त्यो अवसर जुराइदियो ।  त्यहाँ पुग्दा महासङ्घ पाल्पाका पूर्वअध्यक्ष भगवान् भण्डारी र वर्तमान अध्यक्ष राजेश अर्यालसहितको टोली स्वागतका लागि तैनाथ थियो ।  रानीमहलमा फूलमाला, पाल्पाली ढाकाटोपी र इष्टकोटको स्वागतले मनलाई फुरुङ्गै बनायो ।  लाग्यो, कुनैबेला जर्नेल खड्ग शमशेरले त्यसरी नै रानी तेजकुमारीलाई कुनै महलमा स्वागत गरेका थिए होलान् ।  तर दुर्भाग्य ! खड्ग शमशेरले नेपाली ताजमहल त बनाए, त्यसमा रानीलाई स्वागत गर्न पाएनन् ।  रानीकै सम्झनामा त्यो रानीमहल वि.सं. १९५० मा निर्माण गरेका थिए ।  रानीको देहावसानपछि भावविह्वल बनेका खड्ग शमशेरले सो महल बनाएर आफ्नो मनको पीडा र उकुसमुकुसलाई शान्त पारेका रहेछन् ।  
नेपाली ताजमहलको नामले परिचित रानीमहलमै पहिरो गएर कुरूप बनाएको समाचार नेपाली सञ्चारमाध्यममा प्रकाशन प्रसारण भएको थियो ।  समाचारले मनलाई अलि खिन्न बनाएको थियो ।  त्यहाँ पुग्दा त्यस्तो केही देखिएन ।  महलको पूर्व र पश्चिमपट्टिको डाँडामा ठूलो पहिरो गएको रहेछ ।  त्यसैको दृश्य देखाएर रानीमहल पुरिएको मिथ्या समाचार आएको रहेछ ।  पाल्पा पुग्दा स्थानीयसँग पहिलो जिज्ञासा थियो ।  ‘रानीमहल पुरियो रे त हो ?’ कतिले जानीनजानी ‘समाचारले त्यस्तै भन्छ’ भने कतिले ‘गएको छैन थाहा भएन’ भने ।  मनमा झन् कौतुहल मच्चियो ।  तस्विरमा रानीमहल देखिएको भए पनि प्रत्यक्ष त्यहीँ गएर अवलोकन गरिएको थिएन ।  त्यसैले कस्तो होला नेपाली ताजमहल ? कस्तो होला खड्ग शमशेरको रानीमहल ? जिज्ञासाको पोको मनभरि थियो ।  रानीमहलको प्रत्यक्ष अवलोकन गर्न पाएपछि जिज्ञासाको भारी हल्का भयो ।  दृश्यप्यास नमेटुन्जेल करिब छ घण्टासम्म त्यही महलमै बिताइयो ।  उल्टाइपल्टाई थरिथरिका तस्विर कैद गरियो ।  क्यामेराको मेमोरी नसकिँदासम्म ‘सेल्फी’ हानियो ।  
रानीमहलको सिर्जना
धीर शमशेरका १७ भाइ छोरामध्येका वीर शमशेरको प्रधानमन्त्रीत्वकालमा खड्ग शमशेर कमाण्डर इन चिफ तोकिए ।  अठार महिनापछि उनी पदच्यूत गरिए ।  निर्वासित जीवन जिउन पाल्पा झरे ।  पछि उनलाई वि.सं. १९४५ मा पश्चिम नेपालको रूपन्देही, कपिलवस्तु, बाग्लुङ र पर्वतको जिम्मेवारीकासाथ पाल्पाको गौंडामा पश्चिम कमाण्डरको पुनः जिम्मा दिइयो ।  सोहीबेला वि.सं. १९४९ मा रानी तेजकुमारीको कालगतिले मृत्यु भयो ।  मृत्युको अन्तिम क्षणमा खड्ग शमशेरले रानीलाई उनको सम्झनामा भारतको आग्राजस्तै ताजमहल निर्माण गरी स्मृतिलाई ताजै राख्ने वचन दिएका रहेछन् ।  वचनअनुसार उनले बेलायतबाट इन्जिनियर झिकाएर रानीमहल निर्माण गर्न लगाए ।  त्यसरी निर्माण भयो ‘रानीमहल’ अर्थात् नेपाली ताजमहल ।  करिब साढे पाँच रोपनी क्षेत्रफलमा निर्मित रानीमहल पाल्पाको तानसेन बजारबाट १३ कि.मि. मात्र टाढा छ ।  
रानीमहलमा २४ कोठा, २ पोखरी, मन्दिर, बगैचा, पाटी, घोड–तबेला र भक्तजन बस्ने कुटी समेत निर्माण गरिएको छ ।  मानववस्तीभन्दा टाढा रहेको रानीमहलभित्र बहुमूल्य सामानहरू जडित भए पनि संरक्षणको अभावमा अहिले बहुमूल्य सामानहरू चोरी भइसकेका छन् ।  रानीमहलकै तलबाट सुसाउँदै बग्ने कालीगण्डकीको पवित्र पानी छोए मात्र पवित्र भइन्छ भन्ने भनाइ रहँदैआएको छ ।  बौघागुम्हा २, पाल्पामा पर्ने रानीमहलका हेरालु ओमप्रसाद भट्टराईकाअनुसार पहिले त्यहाँ बहुमूल्य भाँडा र शृङ्गारका सामान थिए ।  पछि त्यसको संरक्षण हुन नसक्दा सामानहरू चोरी भए ।  कतिपय सामान फुटे, कति गले ।  
संरक्षण आवश्यकः
रानीमहल पर्यटकीय हिसाबले सम्भावनाले भरिएको छ ।  तर महलको पुनर्निर्माण र संरक्षणको अभाव प्रस्ट महसुस हुन्छ ।  रानीमहलका हेरालु भट्टराईकाअनुसार दैनिक एक–डेढसय जना आन्तरिक तथा बाह्य पर्यटक आउँछन् ।  प्रायः प्रेमजोडीको मनजोड्ने रोजाइ स्थलको रूपमा रानीमहल रहेको छ ।  साना जीप र मोटरबाइकबाट घण्टाभरमै सजिलै पुग्नसकिने रानीमहलको सौन्दर्य र त्यहाँको प्राकृतिक मनोरमले युगलजोडी र पर्यटकको मनलाई सजिलै लोभ्याउँछ ।  यस्तो सुन्दर ठाउँको दृश्यावलोकनका लागि राज्यले उचित प्रबन्ध र महलको संरक्षण भने गर्न सकेको छैन ।  
रानीमहलका भित्ता चर्किएका छन् ।  ०७२ सालको भूकम्पको झट्का महलमा निकै जोडले प¥यो ।  भट्टराईकाअनुसार भक्त र भक्तिनीहरूको भागाभाग भयो ।  तथापि महललाई भूकम्पले खासै ठूलो क्षति गरेन ।  भित्ताहरू ठाउँ–ठाउँमा भत्किएका छन् ।  माथिल्लो सिलिङमा बिछ्याइएका काठका फल्याक र प्लाइउड उक्किएका छन् ।  भित्ता र खम्बाहरूमा चिरा परेका छन् ।  तर त्यसको पुनर्निर्माण हुन सकेको छैन ।  टालटुल गरिएको छैन ।  महलमा परेका चिराबाट वर्षाको पानीले झन् दाग लगाइदिएको छ ।  त्यसले महलको सौन्दर्यलाई घटाएको छ ।  पुनर्निर्माण र शृङ्गारमा राज्यका स्थानीय निकायको ध्यान पुग्न सकेको छैन ।  
रानीमहलको जीर्णोद्वार, वरिपरि उम्रेका झारको सरसफाइ, हरियो बोटबिरुवा, फूल रोपेर महललाई थप सुन्दर पार्न सकिन्छ ।  महल परिसरमा निर्मित दुईवटा पोखरीको सरसफाइ हुन सकेको छैन ।  महल हेरालु उचित प्रबन्ध हुन नसक्नु, सरकारको लगानी नबढ्नु र त्यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न नसक्नु राज्यकै कमजोरी हो ।  त्यस्ता ऐतिहासिक क्षेत्रलाई जोगाएर पर्यटकीय स्थलको रूपमा विकास गरी राज्यको आम्दानीको स्रोतको रूपमा त्यसलाई परिचालन गर्न सकिन्छ ।  
पाल्पाको तानसेन बजारबाट रानीमहल खासै टाढा छैन ।  तर पनि त्यहाँ पुग्न निकै सास्ती खेप्नुपर्छ ।  वर्षायाममा त ठाउँ ठाउँमा पहिरो, हिलो र खाल्डाखुल्डीले झन् समस्या थपिदिन्छ ।  वर्षाभरी त्यहाँ पुग्नेको संख्या निकै कम हुनेगर्छ ।  बाटोमा ग्राभेलसमेत पर्न नसक्दा र कच्ची बाटोले  साना गाडी, मोटरबाइकसमेत बाटामा घरीघरी फस्नेगर्छ ।  गाडीमा सवार आफैले धक्का मार्दै रानीमहल पुग्नुपर्ने र फर्किनुपर्ने बाध्यता छ ।  ठाउँ–ठाउँमा झरना र सानातिना पानीको मुहानले बाटामा खाल्डाखुल्डी र हिलाम्य बनाएको छ ।  पानीको सही निकास छैन ।  वर्षायामभरी आकाशमा बादल हेर्दै रानीमहलको अवलोकन गर्नुपर्ने बाध्यता छ ।  आकाशमा कालो बादल मडारियो कि रानीमहलबाट टाप थोक्नुपर्छ पर्यटकलाई ।  पैदल जाँदा करिब तीनघण्टा लाग्ने र गाडीमा करिब डेढ घण्टा लाग्ने कच्ची बाटोले त्यहाँ पुग्नेलाई घरीघरी बाटोले सम्झाइरहेको हुन्छ ।  
रानीमहल पुग्ने बाटोको स्तरोन्नति गर्नसके त्यहाँ पुग्ने यात्रुलाई थप सहज हुनसक्छ ।  रानीमहलसम्म पुग्ने अर्को उपाय केबलकार निर्माण हो ।  त्यसले सौन्दर्यलाई थप सुन्दर बनाउनेछ ।  पर्यटकलाई लोभ्याउनेछ ।  राज्यको ध्यान त्यता पुग्नसके पाल्पाको थप पर्यटकीय विकास सम्भव हुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना