अन्तर्राष्ट्रिय बाइकिङ सिरिज ‘याक अट्याक’ सुरु

bycycling

नवीनराज कुइँकेल, बेसीशहर, कातिक २० गते । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिता मध्येको एक ‘याक अट्याक’ साइकलिङ रेस शनिबारबाट सुरु भएको छ । याक अट्याक्क इन्टरनेश्नल बाइकिङ सिरिजको दशौं संस्करण लमजुङबाट सुरु भएको हो ।
पहिलो दिन लमजुङको बेसीसहरबाट सुरु भएर चण्डीडाँडा, बाग्लुङपानी, घलेगाउँ फेदी हुँदै भलाम, सिम्पानी, खुदी भएर बेसीसहर आएर टुंगिएको छ । प्रतियोगिले करिब ३२ किलोमीटर दौडेका छन् ।
दोस्रो दिन बेसीसहरबाट सुरु हुने साइकलिङ मनाङ सदरमुकाम चामे पुग्ने छ । कुल १२ दिनको संस्करणमा प्रतियोगिहरूले १० दिन साइकलिङ र दुई दिन थकाई मार्नेछन् । प्रतियोगिता यसअघि काठमाडौंको शिवपुरीबाट सुरु भएर नुवाकोट, गोरखा हुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने गरेको थियो ।
बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना र नेपालस्थित यति ग्रुप अफ कम्पनीजअन्तर्गत यति ट्रेल्सको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपालसहित १४ देशका ३९ प्रतियोगि सहभागी छन् । प्रतियोगिहरू संसारकै अग्लो पाँच हजार ४१६ मिटरको उचाईमा रहेको थोराङ्ला भञ्याङ पार गर्दै मुस्ताङ पुग्नेछन ।
प्रतियोगिता निर्देशक फिल इभान्सका अनुसार प्रतियोगितामा बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, हङ्गेरी, फ्रान्स, अष्ट्रिया, जापान, मलेसिया, सिंगापूर, क्यानडा, अमेरिका, डेनमार्क र नेपालका गरि ३१ पुरुष र ८ महिला सहभागी छन् । नेपाली ८ जनाले सहभागिता जनाएकोमा एक जना महिला छन् । प्रतियोगिताका निर्देशक इभान्सका अनुसार प्रतियोगितामा पहिलो हुनेलाई एक हजार २५० डलर, दोस्रोलाई ७ ५० डलर र तेस्रोलाई ५ सय डलर पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था छ ।
प्रतियोगितामा गत वर्षसहित पाँच पटक विजेता बनेकाका विजेता अजय पण्डित क्षेत्री, एकपटक विजेता बनेका नारायण गोपाल महर्जन लगायत सहभागी छन् । प्रतियोगितामा आधा प्रतियोगि नयाँ रहेका छन ।
गतवर्षका विजेता अजयले ‘हाइ अल्टिच्युट’मा नेपालीहरूको अभ्यास राम्रो भएकाले त्यसको फाइदा हरेक वर्ष नेपाली खेलाडीले उठाउँदै आएको बताए । यस पटक डबल ह्याट्रिक गर्ने लक्ष्य रहेको पण्डितले बताए । प्रतियोगितामा भाग लिन विदेशीले प्रतिव्यक्ति ४ हजार डलर र नेपालीले प्रतिव्यक्ति ३ सय डलर शुल्क लिइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना