सूर्य आराधनाको पर्व छठ मनाइँदै

भउचप्रसाद यादव

काठमाडौँ, कात्तिक २१ गते ।  आराध्यदेव सूर्यको आराधना गरी मनाइने महान् पर्व छठ आइतबार मनाइँदै छ ।  विशेषगरी सूर्यको उपासना र आराधना गरी मनाइने यो पर्व सोमबार सम्पन्न हुँदैछ ।  केही वर्षअधिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानीलगायत देशका प्रमुख सहरमा धूमधाम मनाइन्छ ।  विशेष गरी मधेसी समुदायले मनाउने यो पर्व अचेल पहाडी समुदायमा समेत त्यतिकै लोकप्रिय बन्दै गएको छ ।
विभिन्न कामले राजधानीमा बसोबास गर्दै आएका तराईबासीहरू छठ पर्व मनाउन प्रायः आ–आफ्नो गाउँ नै जान्छन् भने कोहीले राजधानीमै केही वर्षदेखि यो पर्व मनाउँदै आएका छन् ।
छठ पर्वको विधिबारे जानकारी दिँदै रूपन्देहीकी आरती पटेलले भन्नुभयो, “छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीदेखि विशेष शुद्धाशुद्धि अपनाइन्छ ।  यस दिनदेखि ब्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्छ ।  यस पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ ।  यो दिन ब्रतालुहरूले स्नान ध्यान गरी खास गरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्छन् । ”
उहाँका अनुसार, दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ ।  यो दिन ब्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो, भाँडामा सख्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खिर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा ग्रहण गर्छन् ।  छठी पूजा नहुने टोल छिमेकको घरमा सो खिर प्रसादको रूपमा पठाइने गरिन्छ ।
यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीलाई यस पर्वको प्रमुख अंशको रूपमा मानिन्छ ।  यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ ।  यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसारलगायत परिकार तेलघिउमा पकाइन्छ ।  तयार पारिएका परिकार, पाँच थरिका मिठाइ, उखु, अदुवा, नरिबल, मूला, सुथनी, सुपारी, ल्वाङ, सुकमेललगायत प्रसाद बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित ब्रतालुहरू परिवारका सदस्यहरूसहित नजिकको जलासयमा जान्छन् र ब्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् ।  अर्घ दिएपछि ब्रतालुहरू घर फर्कन्छन् ।
कतिपय ब्रतालुहरू घर नफर्किर पूजास्थलमै रातभरि जाग्राम बस्छन् ।  त्यहाँ कसै कसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोशिया’ भनिन्छ ।  भोलिपल्ट कात्तिक सप्तमीका दिन ब्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महायात्रा सम्पन्न भएको मानिन्छ । chhath
विराटनगर घर भई अहिले राजधानीको नयाँ शङ्खमूलमा बस्दै आउनुभएका सतिश रामनारायण दास आफू बसेको र कार्यरत रहेको ठाउँमै चाडपर्व मनाउनुपर्ने बताउनुहुन्छ ।  चाडपर्व अरू ठाउँमा मनाउनाले सांस्कृतिक आदानप्रदानसमेत हुने उहाँको तर्क छ ।
त्यस्तै, महोत्तरीको सुगाघर भई व्यापार व्यवसायको क्रममा अहिले राजधानीको कालिमाटीमा बस्दै आउनुभएका रोहित जैसवाल चाडपर्व आस्था र विश्वाससाथ जहाँ मनाए पनि फरक नपर्ने र झन् आफ्नो संस्कृतिको प्रचारप्रसार हुने बताउनुहुन्छ ।
उहाँ यस पर्वलाई विशेष शुद्धाशुद्धि, हर्षोल्लास र परिवार, मित्रजन तथा आफन्तजनसँगको भेटको अवसरको रूपमा लिनुपर्ने बताउनुहुन्छ ।  धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यस पर्वले मुलुकमा सामाजिक समानता कायम गर्न मद्दत पु¥याएको उहाँको धारणा छ ।  केही वर्षदेखि सरकारले छठ पर्वका दिन राष्ट्रिय बिदा दिने गरेको छ ।  
पूर्वीय सभ्यतामाथि पाश्चात्य सभ्यताको आक्रमण बढ्दै गएको अहिलेको अवस्थामा यस पर्वको ब्रतालु र श्रद्धालु वृद्धि हुनुले यस पर्वको महत्व बढ्दै गएको तर्क गर्नुहुन्छ भारतको बिहार घर भई अहिले असनमा व्यापार व्यवसाय गर्दै आउनुभएका सतिस यादव ।  कात्तिक महिनाको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिका साथ तयारी गरिने यस पर्वको विषयमा विभिन्न कथा र किंवदन्ती पाइए पनि स्पष्ट तथ्यको अभाव देखिएको छ ।
संस्कृतिविद् डा. रामदयाल राकेश सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व मनाएको बताउनुहुन्छ ।  महाभारतको प्रसङ्गलाई उल्लेख गर्दै उहाँले पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले पनि छठको व्रत बसी पूजाआजा गरेको बताउनुहुन्छ ।  त्यस बेलादेखि नै छठ पर्वको सुरुआत भएको धेरैको विश्वास छ ।  त्यसैगरी, सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गिनी सति अनुसुयाले छठ पर्व मनाएको उल्लेख पाइन्छ ।
साम्बपुराणका अनुसार, पिता श्रीकृष्णको श्रापबाट कृष्ठरोगले पीडित श्रीकृष्णपुत्र साम्ब सूर्यको पूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ ।  त्यस बेलादेखि नै छठ पर्वको प्रारम्भ भएको कतिपयको विश्वास छ ।
त्यस्तै, कुष्ठरोगबाटै पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुन ः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुआत भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ ।
डा. अमरेशकुमार यादव वैज्ञानिक दृष्टिकोणले पनि छठ पर्वको विशेष महत्व रहेको बताउनुहुन्छ ।  उहाँका अनुसार, संसारको सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छ ।  सूर्यको किरणमा पाइने भिटामिन ‘डी’ लगायतका तत्वहरूले सम्पूर्ण प्राणी जगत्लाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा जीवन प्रदान गरिरहेको हुन्छ ।  त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको पाइन्छ ।
पण्डित सचिदानन्द झा आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आमाबाबुलाई समेत महत्व दिन छोडिएको आजको हाम्रो समाजमा अस्ताउँदो सूर्यको पूजाले मानिसलाई नैतिक शिक्षा समेत दिने गरेको बताउनुहुन्छ ।
जातीय, क्षेत्रीय र वर्गीय मुद्दामा विभाजित हुन लागेको अहिलेको हाम्रो समाजमा धनी–गरिब, हिन्दु–मुस्लिम, महिला–पुरुष, पहाडी–मधेसी सबै वर्ग समुदायले मनाउने यस पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई समेत मद्दत पुगेको उहाँको धारणा छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना