सद्भावको सेतु छठ

bhauch_1भउचप्रसाद यादव
 

 

खासगरी नेपालको तराई–मधेसमा ठूलो चाडको रूपमा मनाइने छठ पर्व हिजोआज राजधानी काठमाडौँंलगायत मुलुकका प्रायः सबै सहरमा विशेष आस्थाका साथ मनाउन थालिएको छ ।  हिन्दु धर्मावलम्बीहरूको पर्वको रूपमा मात्र चिनिएको यो पर्व हिजोआज मुस्लिमलगायत अन्य धर्मावलम्बीहरूले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउनु यस पर्वको विशेषताको रूपमा लिन सकिन्छ ।  मुलुकमा जातीय क्षेत्रीय सद्भावको शृङ्खला चुँडाउने प्रयत्नहरू भइरहेको वर्तमान अवस्थामा छठ पर्वले नेपालीबीच जातीय क्षेत्रीय सद्भाव र एकतालाई अझ बलियो बनाउनमा समेत मद्दत पु¥याइरहेको देखिन्छ ।
कात्तिक महिनाको सुरुआतसँगै जनमानसमा एउटा छुट्टैै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ ।  जनजिब्रोमा छठ पर्व झुण्डिन थाल्छ ।  यसपालि छठ पर्व कसरी मनाउने, घर आँगनको सरसफाइ कसरी गर्ने ? भन्नेमा ध्यान केन्द्रित हुन थाल्छ ।  धार्मिक निष्ठाले भरिएको जनमानसमा एउटा नवीन उत्साहको सञ्चार हुन्छ ।  
मूख्यत ः सूर्यको पूजाआजा र उपासना गरी मनाइने यो पर्वको पहिलो दिन अस्ताउँदो सूर्य र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।  वैज्ञानिक दृष्टिकोणले पनि सूर्यको पूजा उपासना मानव शरीरका लागि लाभदायक मानिन्छ ।  सूर्यको किरणले छालासम्बन्धी रोग निको पार्नेलगायत शरीरलाई आवश्यक भिटामिनसमेत उपलब्ध गराउने वैज्ञानिक भनाइ नै छन् ।  
संसारमा सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ ।  बेबोलोनका निवासीहरूले सूर्यलाई पूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई ‘अपोलो’ को रूपमा पूजा आजा गर्ने गरिन्छ ।  जापानीहरू इजानागी र इजानामीलाई आदि पुरुष र आदि नारीको रूपमा मान्ने गर्छन् र यी आदि पुरुष र आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् ।  त्यसैगरी, मिश्र सभ्यतामा ‘एटम’ अथवा ‘रे’ भनेर सूर्यको पूजाआजा गर्ने गरिन्छ ।
नेपालमा अस्ताउँदो सूर्यलाई पूजा गर्दा यसलाई छठी माताको पूजा भनिन्छ भने उदाउँदो सूर्यलाई पूजा गर्दा यसलाई दीनानाथ अर्थात् सूर्यको पूजा गरिएको मानिन्छ ।  बेद ग्रन्थमा पनि छठी पूजाको भोलिपल्ट अर्थात् सप्तमी तिथिको देवता सूर्यलाई नै मानिएको छ ।  
छठ पर्वको सुरुआत कहिलेदेखि भयो यसको कुनै लेखाजोखा छैन ।  वेदपुराणमा छठी पूजाको शुभारम्भबारे विभिन्न मिथक, किंवदनती भनिएको पाइन्छ ।  सूर्य पुराणअनुसार, सती अनुसुइयाले कुष्ठरोग (कोढ) बाट ग्रस्त आफ्ना पति अत्रिमुनिको स्वस्थ्य जीवनको कामना गर्दै पहिलोपटक छठी पूजा गरेकी थिइन्, त्यसै बेलादेखि नै यस पर्वको शुभारम्भ भएको धेरैको भनाइ छ ।
सत्ययुगमा सरयाती नामका राजाका सुपुत्री सुकन्याले पहिलोपटक छठ पर्व गरेको धर्म ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।  महाभारतको प्रसङ्गमा पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको पाइन्छ ।  त्यस बेलादेखि नै छठ पर्वको सुरुआत भएको धेरैको विश्वास छ ।
साम्बपुराणमा पिता श्रीकृष्णको श्रापबाट कृष्ठरोगले पीडित श्रीकृष्णपुत्र साम्ब सूर्यको पूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ ।  त्यसबेलादेखि नै छठ पर्वको प्रारम्भ भएको कतिपयको विश्वास छ ।  त्यस्तै, कुष्ठरोगबाट नै पीडित कवि मयूर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ्य शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुआत भएको विश्वास गरिन्छ ।
नेपालको तराई –मधेसमा तिहार (दीपावली) को दिनदेखि नै यो पर्व सुरुआत हुन्छ ।  तैपनि खासगरी चार दिनसम्म यो पर्व धुमधामका साथ मनाइन्छ ।  कात्तिक महिनाको सुरुआतसंँगै छठी पूजा हुने समाजमा व्रत गर्ने वा नगर्ने कसैले पनि माछा मासुलगायतको मांसहारी भोजन ग्रहण गर्दैनन् ।  छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धाशुद्धी अपनाइन्छ ।  यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदो समेत परित्याग गर्छन् ।  खासगरी यो पर्व महिलाहरूले मनाउने गरिए तापनि हिजोआज पुरुषहरूले समेत पूजा गर्ने गरेको पाइन्छ ।
पर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिनलाई ‘नहान–खान’ भनिन्छ ।  यो दिन व्रतालुहरूले स्नान ध्यान गरी खासगरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारीको खाना बनाइ खाने गर्छन् ।  दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ ।  यो दिन व्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खीरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा ग्रहण गर्छन् ।  छठी पूजा नहुने टोल छिमेकको घरमा सो खीर प्रसादको रूपमा पठाइन्छ ।
यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीलाई यस पर्वको प्रमुख अंशको रूपमा मानिन्छ ।  यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ ।  यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा र कसारलगायतका परिकारहरू तेल घिउमा पकाइन्छ ।  तयार पारिएका परिकारहरू, पाँच थरिका मिठाई, उखु, अदुवा, नरिवल, मुला, सुथनी, सुपारी, ल्वाङ, सुकमेललगायतका प्रसादहरू बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित व्रतालुहरू परिवारका सदस्यसहित नजिकको जलाशयमा जान्छन्, जहाँ विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम गरिन्छ ।  छठको पारम्परिक गीत तथा मङ्गलमय धुनले त्यहाँको वातावरण झन् उल्लासमय बनेको हुन्छ ।
सूर्य अस्ताउन थालेपछि पहिलो अर्घ दिएर व्रतालुहरू घर फर्कन्छन् तर हिजोआज व्रतालुहरू घर नफर्की त्यही घाटमै रातभरि जाग्राम बस्छन् ।  त्यहाँ कसै कसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोशिया’ भनिन्छ ।  
भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको यात्रा सम्पन्न भएको मानिन्छ ।  यो पर्वको समापनपछि पनि व्रतालुहरूले प्रसादसहित घरको देवता, इनार, कल (ट्यूवेल ) को पूजाआजा गरी प्रसादलाई माग्नेहरूबीच बाँडी साविक बमोजिमको अन्नजल ग्रहण गर्छन् ।  राज्यले यस पर्वलाई राष्ट्रिय मान्यता दिई त्यस दिन तराईमा सार्वजनिक बिदासमेत दिइने गरेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना