एमाले तराई–मधेस अभियानमा

लक्की चौधरी

काठमाडौँ, कात्तिक २२ गते ।  तराई–मधेस विरोधी आरोपको चिरफार र नयाँ संविधानबारे जानकारी गराउने उद्देश्यसहित नेकपा (एमाले)ले चारमहिने तराई मधेस जनजागरण अभियान सुरु गरेको छ ।  
पार्टीको केन्द्रीय कमिटीको बैठकबाट एमालेले कात्तिकबाट सुरु गरेर माघ मसान्तसम्म चारमहिने अभियान सुरु गर्ने निर्णय गरेको थियो ।  कात्तिक १८ गते छठको अवसरमा जनकपुरमा चियापान गरेर एमालेले अभियानको सुरुआत गरेको हो ।  अभियानका क्रममा नागरिक तहबाट एमालेप्रति कुनै गुनासो नभएको तर दलका केही नेताले एमालेलाई मधेसविरोधी आरोप लगाएको भनाइ एमालेका शीर्ष नेताहरूको छ ।  
संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान २०७३ नाम दिइएको अभियानको ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान’ मुख्य नारा पार्टीले तय गरेको छ ।  अभियानको मुख्य उद्देश्य भनेकै एमालेमाथि लागेको गलत आरोपको चिरफार, नयाँ संविधानबारे जानकारी, एमाले नेतृत्वको सरकारले गरेको कामको प्रचारप्रसार गर्ने रहेको एमालेले बताएको छ ।  
अभियानअनुसार एमालेले कात्तिक मसान्तभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।  यसअघि सप्तरीमा प्रशिक्षण भेला सम्पन्न गरेको एमालेले कात्तिक २६ र २७ गते सिराहामा प्रशिक्षण कार्यक्रम गर्ने बताएको छ ।  मधेसमा एमालेलाई लगाइएको आरोपजस्तो कार्यकर्ता र आमनागरिकमा गुनासो नभएको एमालेले बताएको छ ।  
वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई तराई–मधेसी विरोधी पार्टीको आरोप केवल केही दलका नेताहरूको मिथ्या आरोप मात्र रहेको बताउनुभयो ।  “मधेसको जनपरिचालन अभियानमा म सहभागी हुँदा नागरिक तहबाट त्यस्तो कुनै आरोप देखिनँ, एमालेप्रति मधेसी नागरिकको उत्साह पहिलेभन्दा राम्रो पाएँ”, उहाँले भन्नुभयो ।  अरूले लगाएको आरोपलाई चिरफार गर्ने गरी मधेस तराईमा पार्टीले अभियान सुरु गरेको उहाँले बताउनुभयो ।  
“तराई मधेसमा विकास, महिलाको अधिकार, समान न्यायको खोजीमा मधेसका नागरिकको चाहना पायौँ, नयाँ संविधान कार्यान्वयनका विषय र संविधानमा भएको मुलभूत विषयबारे जानकारी गराउँदा मधेसी नागरिकहरू निकै उत्साहित भएका छन्”, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले गोरखापत्रलाई बताउनुभयो ।  मधेसमा अझै एमाले एक नम्बरको पार्टी रहेको दाबी गर्दै उहाँले जनकपुर, सप्तरी लगायतको कार्यक्रमबाट आफू निकै उत्साहित भएको बताउनुभयो । uml-party-office1
यसअघि मैले सिङ्गो तराईलाई धोती आकारको प्रदेश बनाउन उपयुक्त हुँदैन भनेको थिएँ तर मधेसी केही नेताले बङ्ग्याएर मधेसीलाई धोती भन्यो भनेर आरोप लगाएकोबारे समेत आफूले मधेसमा गएर प्रस्ट पारेको उहाँले बताउनुभयो ।  नेता खनालले मधेसी जनताको पनि एक मधेस एक प्रदेशको चाहना नरहेको दाबी गर्नुभयो ।
एमाले पोलिटब्युरो सदस्य तथा मधेसी नेता रामप्रीत पासवानले एमालेको प्रभाव मधेसमा हिजोभन्दा आज बढिरहेको बताउनुभयो ।  “केही दलका नेताहरूले आफ्नो राजनीतिक स्वार्थका लागि एमालेलाई मधेसविरोधी देखाएका हुन्, सारमा जनताको माझमा एमाले नै सबैभन्दा बलियो छ”, उहाँले भन्नुभयो ।  जनकपुर र सप्तरीमा भएको एमालेको कार्यक्रमले एमालेलाई उत्साहित बनाएको दाबी गर्दै उहाँले नागरिक तहमा एमालेको कामबारे जानकारी गराउँदा जनता थप उत्साहित भएको तर्क गर्नुभयो ।  
यसैगरी एमालेले संविधानका मूलभूत विशेषता र पार्टी नेतृत्वको सरकारले गरेको कामबारे जानकारी दिने हिसाबले सातवटै प्रदेशको मुख्य सहरमा बृहत् जनसभा आयोजना गर्ने भएको छ ।  पार्टी केन्द्रीय कमिटीको निर्णय अनुसार प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नं. २ को जनकपुर, प्रदेश नं. ३ को काठमाडौँ, प्रदेश नं. ४ को पोखरा, प्रदेश नं. ५ को बुटवल र नेपालगन्ज, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को धनगढीमा जनसभा गर्ने तयारी भएको नेता पासवानले बताउनुभयो ।
कात्तिक मसान्तबाट बृहत् जनपरिचालन अभियान सुरु भएकाले सोही अवधिभित्र सातवटै प्रदेशमा जनसभाको आयोजना पनि सम्पन्न गर्ने तयारी पार्टीले गरेको उहाँले बताउनुभयो ।  यद्यपि जनसभाका लागि मिति तय हुन बाँकी रहेको पासवानको भनाइ छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना