वन मन्त्रालयले मात्र अरू १२ वटा मन्त्रालय पाल्न सक्छ

सरकारी सेवामा रहेर नेपालको वन संरक्षण र विकासमा लामो अनुभव बटुल्नु भएका डा. भरतकुमार पोखरेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको प्रमुख भएर पनि उत्तिकै ज्ञान र अनुभव सँगाल्नुभएको छ ।  सामुदायिक वन विकासमा लन्डनस्थित इस्टएङ्गेलिया विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त पोखरेल नेपालमा वन सुशासनका विषयमा बहस चलाउने मध्येका एक मानिनुहुन्छ ।  उहाँले वन सुशासन, प्राकृतिक स्रोतको सदुपयोगका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा समेत बहस, पैरवी गर्दै आउनुभएको छ ।  नेपालको विद्यमान वनको अवस्थालाई नजिकबाट अध्ययन गरिरहनुभएका वन विज्ञ डा. पोखरेल हालकै अवस्थामा रहेको वनको सदुपयोग गर्न सकेमात्रै नेपालमा लाखौँको रोजगारी सिर्जना गरी समृद्ध नेपाल निर्माणमा ठूलो योगदान पुग्ने धारणा राख्नुहुन्छ ।  वन विज्ञ डा. पोखरेलसँग प्राकृतिक स्रोतको सदुपयोग, यसले राष्ट्रिय अर्थतन्त्रमा पु¥याउने योगदान, बायो इनर्जीको विकास तथा सदुपयोगलगायतका विषयमा गोरखापत्रले गरेको कुराकानीको सारसङ्क्षेप ःbharat kumar pokhrel

० हामीले दाउरा बाल्न छोड्यौँ, जलस्रोतको धनी देश भए पनि हामीसँग बिजुली छैन ।  चुल्होमा बल्ने ग्यास हाम्रो होइन, चुल्होमा पनि परनिर्भर हुनुपर्ने स्थिति आयो नि ?
– ठीक कुरा उठाउनुभयो, हामीसँग पानी छ, बिजुली छैन ।  वनजङ्गल छ, दाउरा बाल्न छोड्यौँ, वनस्रोतको आधुनिक प्रविधिको प्रयोग पनि गर्न सकेनौँ ।  हामीले दाउरा छोडेर बिजुलीमा जान पथ्र्याे, ग्यासमा गयौँ, जुन हामीसँग छैन ।  राज्य यहाँनिर चुक्यो ।  दाउरा बाल्नै पर्छ भन्ने छैन ।  दाउराको सट्टा चारकोल, कोइला, प्यालेट बनाउने प्रविधिको प्रयोग गरिनुपथ्र्याे र जसले गर्दा आफ्नै स्रोतको सदुपयोग पनि हुन्थ्यो ।  अर्काेतिर रोजगारीको सिर्जना पनि हुन्थ्यो तर हामीकहाँ त्यस्तो हुन सकेन ।  हालको वनको हैसियत नबिगारीकनै वर्षको ६० अर्बभन्दा बढीको योगदान वनले दिन सक्छ ।  बडो दुःखको कुरो, यसको आठ प्रतिशत मात्र हामीले अहिले उपयोग गरिरहेका छौँ ।  बाँकी ९२ प्रतिशत खेर गइरहेको छ ।  बुढा रुखहरू मात्र छन्, वनमारा जताततै फैलिएर बस्या छ ।  वनभित्र नयाँ पुस्ता (नयाँ रुख) उम्रिन पाएको छैन ।  यसले गर्दा वनको गुणस्तर दिनानुदिन खस्किँदै गइरहेको छ ।  आगलागी, डढेलोका घटना हरेक वर्ष बढिरहेका छन् ।  त्यसैले वनको उपयोग नगर्नु भनेको खेर फाल्नु हो ।  वन नकाटेर राम्रो हुने होइन, वनलाई हरेक पाँच÷पाँच वर्षमा गोडमेल गर्नुपर्छ, गोडमेल गर्ने भनेको वनलाई २० देखि ४० प्रतिशत पातल्याउनु पर्छ, रुखलाई पातलो बनाउनुपर्छ, रुख काट्नुपर्छ ।  तर हामीकहाँ ठीक उल्टो अवधारणा विकास भइरहेको छ, वन जोगाउनुपर्छ, तर त्यसको गोडमेल नगरिकनै संरक्षण गर्नुपर्छ, रुखमा त छुनै हुँदैन भन्नेतर्फ हामी गयौँ ।  त्यसले गर्दा एकातिर वनजङ्गलभित्र नयाँ रुख आउन नसक्दा नेपालको वनजङ्गलमा बुढा रुख मात्र देखिन थालेका छन् ।  बच्चाबच्ची विनाको घर जस्तै हँुदैछन् हाम्रा वनजङ्गलहरू ।  जङ्गलको माथि मात्र हेर्ने होइन, भुइँ हेर्ने हो, भुइँ भनेको बच्चा रुख हो, भविष्य हो ।  भुइँमा खाली छ ।  पुराना रुखहरू निश्चित समयपछि मर्छन्, धोद्रा हुन्छन्, काठको गुणस्तर खस्किँदै जान्छ ।  अर्काेतिर सदुपयोग नहुँदा चुल्होमा पनि परनिर्भर हुँदै गइरहेका छौँ ।  सदुपयोग गर्न सकेको खण्डमा ग्यासको आपूर्ति घट्थ्यो, देशको व्यापारघाटा कम हुन्थ्यो, स्वदेशमै रोजगारी सिर्जना हुन्थ्यो ।  सहरमा दाउरा बाल्न गाह्रो हुन्छ होला तर नयाँ प्रविधिको प्रयोग गरेर बनाएका चारकोल, कोइला, प्यालेट प्रयोग गर्न त शहर बजार जताततै सकिन्थ्यो नि ।  यो दुर्भाग्य हो, एकातिर वनजङ्गल खेर गइरहेको छ, अर्काेतिर आगो बाल्नका लागि पनि परनिर्भर हुँदै गइरहेका छौँ ।  
० भनेपछि वनजङ्गलको जुन रूपमा प्रयोग गर्न सक्नुपथ्र्याे, त्यो अनुरूप सदुपयोग हुन सकिरहेको छैन ?
– विभिन्न कारणले हामी वन जङ्गलको संरक्षण गर्ने र रुखै नकाट्ने दिशातिर मात्र गयौँ ।  हामीले घरमा खसी पाल्ने भनेको अनन्त कालसम्म पाल्ने त होइन नि ? खसी पालेपछि त्यसको उपयोग पनि गर्ने हो ।  सिद्धान्ततः वनजङ्गलको पनि यही कुरो हो ।  वनको संरक्षण गर्ने अनि सदुपयोग पनि गर्ने नै हो ।  अहिलेकै अवस्थामा प्रायजसो जिल्लाबाट वार्षिक रूपमा तीनदेखि चार लाख क्युफिट काठ निकाल्न सकिने अवस्था छ ।  सामुदायिक वनको व्यवस्थापनले त वनजङ्गल बढिरहेको छ ।  अब यहाँनिर वनजङ्गल बढ्यो भनेर रमाउने अवस्था छैन, जङ्गल बढ्यो तर सदुपयोग हुन सकेको छैन ।  बढेको बराबरको जङ्गलको सदुपयोग गरिनुपर्छ ।  पुराना रुख बुढा हँुदैछन्, त्यसको सदुपयोग गर्न सकिरहेका छैनौँ ।  हरित रोजगारी सिर्जना हुन सकेन ।  अनि हाम्रा युवा अर्काको देशको विकासका लागि दौडिरहेका छन् ।  वन, पानी, जमिन र खानीको प्रयोग गरेर देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ भन्ने मान्यतामा हामी जानु प¥यो ।  अहिले भइरहेको वनको कम्तीमा ४० प्रतिशत वन काट्नुपर्छ ।  एउटा अध्ययनले हाल वनले देशभरिमा दुई लाख व्यक्तिलाई मात्र रोजगारी दिइरहेको छ ।  ५५ लाख हेक्टर जङ्गल छ हामीसँग ।  एक हेक्टरको व्यवस्थापनमा कम्तीमा दुई जनालाई रोजगारी दिने हो भने लाख होइन, करोडको रोजगारी दिन सक्ने वनसँग क्षमता छ ।  तर दुर्भाग्य, वनजङ्गललाई रोजगारी, उद्यम र समुन्नतिका लागि हो भन्ने अवधारणा हामीले विकसित गर्न अझै सकेका छैनौँ ।  यो अवधारणा अनुरूप नीतिमा परिवर्तन गरेर निजी क्षेत्रलाई आकर्षित गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा सोचेको भन्दा धेरै ठूलो योगदान दिन सक्छ ।  वन भनेको रुख मात्र होइन नि त, वनभित्र जडीबुटी खेती हुन्छ, फलफूल खेती, कफी खेती, जमिनमुनि हुने अदुवा, बेसार, आलु, बदामलगायतका विभिन्न तहका खेती गर्न सकिन्छ ।  यसले त रोजगारीमा वृद्धि हुन्छ र आर्थिक विकास हुन्छ ।  तर सदुपयोग गर्न सक्नुप¥यो ।  
० वनभित्र यति ठूलो धनराशी लुकेर बस्या छ है ?
– अवश्य, नेपालको वन जङ्गलको सदुपयोग गर्ने मात्र हो भने वनक्षेत्रबाट आएको आम्दानीले वन मन्त्रालयले अन्य १२ वटा मन्त्रालयको खर्च चलाउन सक्छ ।  तर अहिले वन मन्त्रालयको तलब खर्चसमेत अर्थमन्त्रालयले राज्यको ढुकुटीबाट दिनुपर्छ ।  वनजङ्गलको हैसियत नबिग्रने गरी विद्यमान मौज्दातबाट ४० प्रतिशत सहजै निकाल्न सकिन्छ ।  यसले वन जङ्गल झन् सप्रिन्छ, जङ्गल मकै गोडे जस्तै हुन्छ भने अर्काेतिर अर्बाैं रुपियाँ बराबरको आम्दानी दिन्छ र रोजगारीको त कति हो कति ।  यो कुरामा त राजनीतिक नेतृत्वले सुझबुझ ढङ्गले काम गर्नु प¥यो नि ।  
० यहाँले यस्तो तथ्य भनिरहँदा विदेशबाट एलसी खोलेर वार्षिक अर्बाैं रुपियाँ बराबरको कुकाठ आयात भइरहेको छ ।  भूकम्प प्रभावित जिल्लामा पनि हामीले काठ आपूर्ति गर्न सकिरहेका छैनौँ नि ?
– यो हामी सबैका लागि दुर्भाग्य नै हो ।  नेपालका कुनै पनि काठ कुकाठ होइनन् ।  नेपालका हरेक काठलाई “ट्रिटमेन्ट र सिजनिङ्ग” गर्नुभयो भने उन्नत, बलियो, टिकाउ र गुणस्तरको काठ बनाउन सकिन्छ ।  नेपाली काठलाई कुकाठ भन्ने हाम्रो पराम्परागत अवधारणा मात्र हो ।  ट्रिटमेन्ट र सिजनिङ्ग गर्नु भनेको रोजगारी सिर्जना गर्नु हो ।  मान्छेले थप काम पाउनु हो ।  भूकम्पपछि यसको आवश्यकता जरुरी छ ।  हाम्रो एउटा सानो अध्ययनले भूकम्प प्रभावित जिल्लाको पुनर्निर्माण गर्न प्रतिजिल्लामा १० अर्ब रुपियाँ बराबरको काठ चाहिने देखायो ।  भूकम्प निरोधक घर बनाउन त्यही अनुसारको सामान चाहिन्छ, गाउँघरमा रड, सिमेन्ट लैजान गाह्रो छ, त्यसको सट्टा पर्खालको बीचमा राख्नका लागि काठको सिप्टी (लेन्टल) प्रयोग गर्न जरुरी छ ।  त्यो काठ ट्रिटमेन्ट र सिजनिङ्ग गरेको हुनुपर्छ ।  जसले गर्दा काठलाई किराले खाँदैन, चाँडो बिग्रन पाउँदैन ।  भूकम्प पीडितलाई सरकारले घर बनाउन किस्तामा रकम दिइसक्यो तर काठ छैन, काठ त आजको भोलि नै चाहियो नि ।  काठ नजिकैको सामुदायिक वनमा जति पनि छ ।  तर काठ विदेशबाट आयात गरिरहेका छौँ ।  यहाँनिर नीति निर्माण तहमा बस्ने व्यक्तिहरूले बुद्धि पु¥याएर भूकम्पसित वनलाई तत्काल जोड्न जरुरी छ ।  पुनर्निर्माणका लागि नेपालकै काठ प्रयोग गरिनुपर्छ ।  अर्काेतिर गत वर्षको नाकाबन्दीको सम्झना गर्ने हो भने नेपालले विकास गर्नैपर्ने क्षेत्र भनेको जलविद्युत् र बायो इनर्जीको विकास हो ।  बायो इनर्जीको विकास गर्न वनजङ्गलको सदुपयोग गर्न जरुरी छ ।  
० बायो इनर्जीको विकास कसरी गर्न सकिन्छ त ?
– राष्ट्रकै प्राथमिकतामा परेको पुनर्निर्माण कार्यका लागि प्रयोग गरिने काठ नेपालकै वन जङ्गलबाट निकाल्नुपर्छ ।  काठ प्रयोग गर्ने दौरानमा निस्केको पात–पतिङ्गर, झिँजामिँजा, सानातिना हाँगाबिँगा जुन खेर गइरहेका छन्, तिनलाई हटाउन धेरै समय लाग्छ, पछि गर्मी याममा त्यसले आगलागी, डढेलो निम्त्याउन सक्छ ।  त्यसैले त्यस्ता खेर गइरहेका कुरालाई बायो इनर्जीका रूपमा प्रयोगमा ल्याउन सकिन्छ ।  आधुनिक प्रविधिको प्रयोग गरेर गाउँ गाउँमा बायो ब्रिकेट र प्यालेट बनाउन सकिन्छ ।  हाल इँटा पोल्ने भट्टामा पत्थर कोइला प्रयोग भइरहेको छ ।  त्यो भारतको आसामबाट आउछ, त्यहाँ हाम्रो चारकोल प्रयोग गर्न सकिन्छ ।  ठूलठूला तारे होटलले जाडोमा आगो ताप्नका लागि प्यालेट विदेशबाट मगाउने गरेका छन् ।  हामी त्यसको विकल्पमा स्वदेशी प्यालेट दिन सक्छौँ ।  रेस्टुरेन्टहरूले तन्दुरी रोटी पकाउन पत्थर कोइला प्रयोग गर्ने गरेका छन्, भाडाकुँडा बनाउने, मूर्ति बनाउने, सुनका काममा कोइला प्रयोग भइरहेको छ ।  धागो र कपडा रङ्गाउने कामका रङ पकाउने काममा पत्थर कोइला प्रयोग भइरहेको छ ।  ती सबै क्षेत्रमा हामीले चारकोल दिन सक्छौँ ।  जति पनि खेर गइरहेका र डढेलो लाग्न मद्दत गर्ने कुराहरू र वन्यजन्तु, वनस्पतिको वासस्थान बिगार्ने खालका वनमारा झारहरूमा पैसै पैसा देखिन्छ ।  प्रविधिको प्रयोग गरेर यसलाई मूल्यवान् बनाउन सकिन्छ ।  अनि रोजगारी सिर्जना गर्न सकिन्छ ।  यी सबै कुरा गाउँमा छन्, सामुदायिक वनभित्र छन् ।  यसको उचित व्यवस्थापन गर्न सके गाउँमा ससाना उद्योगधन्दा खुल्छन् ।  गाउँमै रोजगारीका अवसर प्राप्त हुन्छन् ।  आर्थिक हिसाबले गाउँ माथि उठ्दै जान्छ र गाउँ र सहरको अर्थतन्त्र जोडिन पुग्छ ।  गाउँमा लगानी बढ्छ, बैङ्कहरू गाउँ पुग्न बाध्य हुन्छन् ।  नेपालका हरेक गाउँबस्ती बायो इनर्जी भिलेजको रूपमा विकसित गर्न सकिन्छ ।  
० बायो इनर्जीको भविष्य कस्तो देख्नुभएको छ ?
–    बायो इनर्जीको भविष्य र दायरा निकै ठूलो छ ।  वनमारा र हाँगाबिँगालाई कोइलामा बदल्न सक्यांै भने धेरै किसिमका फाइदा छन् ।  प्रमुख कुरो त वातावरणीय दृष्टिकोणले यो राम्रो छ ।  दाउराको प्रयोगले ग्रामीण क्षेत्रमा स्वास्थ्यको समस्या देखा परिरहेको छ तर चारकोल बालेर आउने धुँवालाई नै इनर्जीको रूपमा बदल्ने प्रविधिको विकास गरिएको हुँदा दाउरा बाल्दा निस्कने धुँवाबाट हुने समस्यालाई यसबाट कम गर्न सकिन्छ ।  चारकोल वातारणीय मैत्री ऊर्जाको स्रोत हो ।  बायो इनर्जीको विकासले लामो र ठूलो बजारको च्यानल सिर्जना गर्छ र रोजगारीका अवसर दिन्छ ।  हामीले सामाजिक पक्षलाई ख्याल गरेका हुँदैनौँ ।  दाउरा र प्यालेट प्रयोग गर्दा भण्डार गर्ने ठाउँ, व्यवस्थापन गर्ने तरिकालगायतले कुराको तुलना गर्दा समेत बायो इनर्जीमा हामी नगई सुख्खै छैन, यसले हरेक घर अनि व्यवसायलाई फाइदा नै पु¥याएको हुन्छ ।  वार्षिक रूपमा हामीले पेट्रोलियम पदार्थको आयातमा गरिने रकमलाई बचाउन सकिन्छ र नेपाललाई आत्मनिर्भर बनाउन ठूलो भूमिका खेल्न सक्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना