पर्व र गर्व !

 Narayan p paudelनारायणप्रसाद पौडेल



राजनीतिमा अपराधीकरण गरियो, बिग्रियो, बर्बाद भयो भन्ने आवाज अब पुरानो भइसक्यो, पचायो दुनियाले ।  दलहरूले पनि त्यस्ता आरोपबाट बँच्न खोजेनन्, चाहेनन् ।  बरु झन् बढी प्रोत्साहन गरेर भष्मासुरलाई वरदान दिने धृष्टता गरेका छन् ।  कर्म अनुसारको फल पनि पाउलान्, समयानुसार तर देश र लोकतन्त्रले त्यसको मूल्य चुकाउन पर्दा धेरै महँगो पर्ने रहेछ ।  त्यसैले रुक्माङ्गद, खिलराज र लोकमानहरू जन्माउने रहेछ, व्यहोर्न परेको छ ।  सत्ता र शक्तिको आसनमा आवरणमा जो देखिए पनि अदृश्य शक्तिकेन्द्रले शासन गरिरहेको छ ।  आफू रहँदा स्वदेशी र अर्को जाँदा विदेशी शक्ति र भक्तिको भरमा सरकारमा पुगेको, नेतृत्व गरेको भन्ने आरोप–प्रत्यारोप त्यसका प्रमाण हुन् ।  अरू किन चाहियो ?
राजनीतिमात्रै बिटुलिएको होइन, छैन, यहाँ ।  संस्कृतिमा पनि विकृति थपियो र बिस्तारै सामाजिक स्वीकृति प्राप्त गर्दैछ त्यसले ।  प्रायः सबै हाम्रा चाडपर्व त्यसबाट अछूतो रहेनन् ।  सर्वसाधारणका लागि सहज भएनन् ।  गरिब, विपन्न, अशक्त, असहाय, निर्धन, सुकुम्बासी, दलित र पीडितको अनुकूल छैनन्, गराइएनन् ।  धनी मानी र आम्दानी भएकाका लागि तुजुक देखाउने समय र परिपाटीका द्योतक भए, बनाइए ।  विपन्नकहाँ आँशु र सम्पन्नकहाँ मेवा, मिष्ठान्न, मासु र मदिराको फालाफाल यसका प्रमाण हुन् ।  विजित र पुजितहरूको प्रशंसा र स्तुति, भजन र कीर्तन, पक्षमा गरिने हिंसा र हत्याको भावनाले जनसेवालाई पर्दा पछाडि पारे ।  धर्म र संस्कृतिलाई पनि धनीका कब्जामा पु¥याए ।  भगवान् त हुनेखानेका लागि रहेछन्, विपन्नका लागि रहेनछन् भन्ने भान पारे ।  धर्म परिवर्तनलाई नजानिँदो रूपमा प्रोत्साहित गरे ।  त्यसैले हिन्दुहरू घट्दै जाने र परधर्मीहरू बढ्ने क्रम तीव्र गतिमा भइरहेको छ ।  हरेक कुना, काप्चा, कन्दरा र टाकुरा तथा बुकुरामा यस्तै देखिन्छ ।  मन र वनभित्रको मन्दिर मासेर चर्च र मस्जिद वा मदरसा निर्माण गर्दै गरेको भेटिन्छ ।  दया, माया, करुणा, सेवा, समर्पण, त्याग, निष्ठा, आदर्श आदि सबै व्यक्ति र शक्तिकेन्द्रित भए ।  पुँजीकृत गरिए ।  ‘विना धन केही नभन’ ले सारा मानवीय संवेदनामा चोट पु¥याए ।  मौलिक संस्कृति र परम्परामा थपिएका विकृतिले आफ्नै चाडपर्व मनाउन नसकिने बनाए ।  सर्वसाधारणको पहँुचबाट अलग्याए, टाढा बनाए ।
तीजमा एक महिनासम्म दरखाने र खुवाउने, महँगा वस्त्राभूषणको प्रदर्शन गर्ने, गराउने, सपरिवार बसेर गीत र नृत्य हेर्न र सुन्न नसक्ने बनाउनेहरूले नै दसैँलाई मांस, मदिरा, मद र मात्सर्यमय बनाए ।  परम्परागत तीज त बिरानो हुँदै गयो, भयो, दसैँ पनि अब सजिलै गरी मनाउन नसकिने अवस्था आयो ।  विपन्न चेलीले वर्षैभरिका पीरका पोका माइतमा गएर फुकाउने र हलुङ्गिने जमाना जसरी गयो उसैगरी परम्परागत दसैँले पनि बिस्तारै विस्थापित हुने बाटो लिएको छ ।  पराया धन र देशको ढुकुटीमा ढलीमली गरेकाले मुकपशुको बलिलाई धर्मानुकरण गरी एउटा प्राणीको हत्यामा अर्को जीवले उत्सव मनाउने बनाएपछि यस्तो भएको हो ।  कुनै जमानामा जति जायज थियो, हुँदो हो त्यो बलिप्रथा, अहिले परिमार्जित हुनुपर्ने, गरिनुपर्नेमा झन् अघोषित प्रतिस्पर्धा गराए, खुद्रालाई झन् थोकमा पु¥याए ।  हरेक शक्तिपीठमा रगतको भल देख्न सकिन्छ ।  तामसी भोजन र रहन–सहनले गर्दा मान्छे पनि गिद्द, स्याल, स्वान, बाघ, बिरालो र सिंहको स्वभाव र शैलीमा अभ्यस्त हुँदै गए ।  धर्म र संस्कृतिका नाममा हिंस्रक मोज मज्जा र भोज भतेरको परम्परा बसाए ।  दान–दक्षिणा पनि नातागोताभन्दा बाहिर लगेनन्, परिवारकेन्द्रित बनाए ।  दीन, दुःखी, दरिद्री, भोका र नाङ्गालाई दिएर आशिर्वाद लिने÷दिने चलन चलाएको भए बरु सत्कार्य भन्न र मान्न सकिन्थ्यो ।  भएन, गरिएन, गराइएन त्यस्तो ।  संस्कृतिका नाममा भड्किलो र उत्ताउलो परम्परा चलाइएको छ सस्तो, जस्तो तस्तो ।  
चाड पर्व एउटै तर मनाउने तरिका पनि थरि–थरिका ।  उही दसैँमा नौ दिनसम्म शक्तिपीठमा बलि दिनेहरू र गाउँ टोलका चौक चौराहामा दुर्गा भवानीको मूर्ति सजाएर व्रत वा उपवास बस्नेहरू यहीँ छन् ।  पाँच दिनसम्म निधारमा टीका लगाएर सौभाग्यको कामना गर्ने, मान्यजनको आशिर्वाद लिने÷दिने गर्छन्, एकथरिले भने अर्कोथरिले एकादशी वा द्वादशीका दिन बाजागाजा भजन कीर्तन नाचगानसहित दुर्गा भवानीको झाँकी, मूर्ति नदी वा तलाउमा सेलाएर फर्कन्छन् ।  किनमेल र उपाहारादिको आदान–प्रदानमा हुने अघोषित प्रतिस्पर्धा हेरेर मूल्यवृद्धि गर्छन् व्यापारीले ।  आवत्–जावत् हेरेर भाडा निर्धारण गर्छन् यतायात व्यावसायीले ।  पोका पुन्तुराको पनि अतिरिक्त पैसा लाग्छ, लिइन्छ ।  जहाँ जाउ, जे खोज वा रोज ती सबै छोइसक्ना छैनन्, हुँदैनन् ।  बाटा घाटामा सवारी साधन रोकेर रकम असुल्ने धन्दा चल्छ ।  तलदेखि माथिसम्म कोटा पु¥याउन पर्छ ।  घरैमा बसीबसी खसी उपहार पाउनेले पनि चढाउने ठाउँ धेरै हुन्छन् ।  प्रायः सबै शक्तिकेन्द्रले आश गर्छन्, बस्छन् ।  यस्तो विकृतिले सामाजिक र व्यावहारिक स्वीकृति प्राप्त गरिसकेको छ ।  हाम्रो पुरानो स्वेच्छिक र ऐच्छिक सम्मानित संस्कृति लोप भएर बाध्यात्मक परिस्थितिको सामना गर्न नसक्नेले पीडित हुनु परेको छ ।  त्यसैले चाडपर्व पनि भारी भए ।  मनाउँनै नसकिने हुँदै गए, बनाइए ।
दसैँ सकिएपछि केही दिन बिसाउन नपाउँदै तुरुन्तै आए तिहार र छठ ।  एउटा चाडले पारेको घाउ पुरी नसक्दै आउने अर्को चाडले पार्ने अर्को खाल्टोले मान्छेलाई त्यसै त्यसै अत्याउँछ ।  अनि नचाहँदा नचाहँदै पनि प्वाक्क भन्न बाध्य पार्छ– हाम्रा चाडपर्वै धेरै ।  मनाउने कसरी, पु¥याउने
कसरी ? हरेक जाति, जनजाति र क्षेत्रका पर्व जोड्दै जाने हो भने महिना र हप्ता बिरिनन् ।  नमनाई नहुने, मनाउन पनि नसकिने ! कसरी हो देखिने वा
छेकिने ?
दसैँमा जस्तै तिहार मनाउने तरिका पनि फरक छन् हाम्रा ।  दीपावली, लक्ष्मीपूजालाई महŒव दिने पक्षले पटका पड्काएर बारुदका धुँवामा धनकै तुजुक देखाउँछन् भने भाइटीका र गाई पूजा गर्नेले देउसी भैलोले मन र वनको कालो मैलो फाल्ने र रमाउने भने पनि सबै कुरा गएर ठोक्किन्छ धनमै ।  अनुत्पादक खर्चका लागि प्रतिस्पर्धा गर्ने र उत्पादनमूलक काममा नलाग्ने हाम्रा यावत् क्रियाकलापले गह्रुङ्गा भएका हुन् चाडपर्व ।  श्रमलाई सम्मान गर्ने, जननी र जन्मभूमिको सेवामा लाग्ने, खेत–बारी बाँझै नराख्ने, आसाम, बर्मा र खाडी मुलुकलाई गुल्जार पार्ने पाखुरा यतै बजार्ने हो भने त्यति साह्रो गाह्रो नपर्न सक्छ ।  खर्चका लागि खुला, कमाउनका लागि बन्द र बाधक हाम्रा शैली आफंँै विकृतिका कारक हुन् ।
धर्म एउटै, चाडपर्व पनि उनै तर मनाउने तरिका फरक ! कुनै कुनै त ठ्याक्कै विपरीत लाग्ने ।  सांस्कृतिक र प्राकृतिक विविधतानुसार फरक भए होलान् ।  हिजोको जस्तो आज छैन समय ।  सुगम भएको छ सबै ।  केही दुर्गम ठाउँमा पनि सन्देश पुग्न कठिन छैन तर पनि संयोजन र समन्वय गरिँदैन भने, परिस्कृत र परिमार्जन हुँदैन भने, नसक्नेले पनि मनाउन सक्ने खालको बनाइँदैन भने हाम्रा पर्व गर्व गर्न लायक हुने छैनन्, रहने छैनन् ।  पर्वविद्, धर्मविद् र संस्कृतिविद्ले सोचून् समयमै ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना