कमजोर आर्थिक कूटनीति

Junar_babuजुनारबाबु बस्नेत


भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय भ्रमण सकिए पनि त्यसको प्रतिक्रिया, चासो र बहस सकिएको छैन ।  दक्षिणी छिमेकी राष्ट्रप्रमुखले १८ वर्षपछि नेपालको भ्रमण गरेर मात्र जनस्तरमा यतिविधि चासो भएको होइन, बरु एक वर्षअघिको आफ्नो भुक्तमान सजिलै बिर्सन नसकेर प्रतिक्रियाहरूको बिस्कुन लागेको हुुनुपर्छ ।  यो बिस्कुनसँग नेतृत्वको विवेक जोडिनु जरुरी छ ।  भ्रमण अत्यन्तै सफल र सम्बन्ध थप उचाइमा पुगेको शास्त्रीय निष्कर्षले मात्र पुग्दैन ।  भारतमात्र होइन, बाँकी विश्वसँग सम्बन्धलाई कसरी अगाडि बढाउने ? गहन राष्ट्रिय चिन्तन र तदनुरूपको नीति जरुरी छ ।  राष्ट्रिय स्वार्थलाई कूटनीतिक आयामले उर्वर बनाउँदै हुर्काइबढाइ गरेमात्र अति कम विकसित नेपाल र हामी नेपालीको भाग्य–भविष्यले सही दिशा लिनेछ ।  त्यस निम्ति आर्थिक कूटनीतिका औजारहरूको सही निर्माण र सदुपयोग नेपालका निम्ति अति आवश्यक भए पनि यो नै वास्ता नगरिएको क्षेत्र भएको छ ।
बेला बखत भन्ने गरिएको बाह्य चलखेलको धेरै अंश मनोवैज्ञानिक पनि हो ।  यथार्थमा परिवर्तनको बाहक भनेको नेपाली जनता नै हुन् भन्ने आत्मविश्वास आवश्यक छ ।  चक्रपथमा परिवर्तनका लागि उर्र्लिएको मानव समुद्र लोकतन्त्रका लागि थियो र समृद्ध नेपालको परिकल्पना बाहेक आम मानिससँग अरू कुनै सरोकार थिएन ।  विश्वव्यापीकरणको अपार सम्भावनाबाट नेतृत्वकै कारण देश झन् झन् पछि पर्दैछ ।  व्यक्तिगत लाभहानीका लागि प्रयोग गरिएको आत्मकेन्द्रित कूटनीति र कर्मले अर्थतन्त्र निरन्तर कमजोर बन्दै गएको छ ।
कूटनीति भन्नु शान्तिपूर्ण तवरले राष्ट्रिय बृहत् स्वार्थलाई सम्हाल्दै सकारात्मक दिशातिर देशलाई अग्रसर गराउनु हो ।  देशबासीलाई समृद्धितिर लैजानु हो ।  सार्वभौमसत्ताको रक्षा, राष्ट्रियतको संरक्षण, सम्बन्धको व्यवस्थापनदेखि प्रत्येक नागरिकको हितमा कूटनीतिले काम गर्न सक्नुपर्छ तर यताका वर्षहरूमा नेपालको कूटनीति बलियो र संस्थागत हुन सकेको देखिन्न ।  नेतैपिच्छेका स्वार्थका गाँडले देश थिलथिलो भएको छ ।  अझ आर्थिक कूटनीतिको पाटो त असाध्य कमजोर बन्दै गएको छ ।  विश्व अहिले आर्थिक कूटनीतिको मियोमा घुमिरहेको छ ।  ठूला देशको विदेशनीति आर्थिक कूटनीतिले परिपोषित भइरहेको हुन्छ ।  सत्तामा आएपछिका तीन वर्षमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर धेरै चक्कर मार्नुभयो ।  चीनका राष्ट्रपति हुन् वा अमेरिकी राष्ट्रपति व्यापार, लगानी, रोजगारी र उत्पादनका औजारहरू बोकेर बाँकी विश्वसँग विचरण गरिरहेका हुन्छन् तर हाम्रा नेतृत्व देशको साझा हित र स्वार्थमा कुहिराका कागै सरह छन् ।  
राष्ट्रियता भन्नु कुनै बेला बढीजसो भावना थियो होला र कुनै बेला भूगोलले बढी प्राथमिकता पाउँथ्यो होला ।  अहिले त्यतिमामात्र सीमित छैन ।  भूमण्डलीकरणको अहिलेको युगले माग गरिरहेको छ, अब राष्ट्रियताको शास्त्रीय मान्यतामा त्यो सीमित दायरामा बस्न सक्दैन ।  अझ व्यापकता आइसकेको छ ।  आर्थिक रूपले समृद्ध हुने चाहनाबाट अब कुनै पनि नागरिकलाई रोक्न सकिन्न ।  रोक्नेहरू आफैँ जनभेलबाट बग्नेछन् ।  प्रत्येक दिन ठूलो सङ्ख्यामा नेपालीले किन देश छोड्दै
छन् ? अनि हाम्रा साधन र स्रोत किन त्यसै खेर गइरहेका छन् ? जलस्रोतमा ब्राजिलपछि दोस्रो भनिएको देशमा ऊर्जाको यो अभाव, तहसनहस उद्योग, जनशक्तिको अभावले थला बसेको कृषि, बढ्दो बेरोजगार आजको हाम्रो यथार्थ हो ।  यो अवस्थालाई पर्गेल्दै नागरिकमा आशा र विश्वास जगाउने दिशामा काम गर्न सक्ने एउटा मूलभूत माध्यम आर्थिक कूटनीति हो तर आर्थिक कूटनीतिलाई कहिलकाहीँ तारे होटलमा गरिने बुद्धिविलास बाहेक व्यवहारमा खासै सिन्को भाँच्न सकिएको देख्न सकिन्न ।
आर्थिक कूटनीतिले मुुलुकको कूटनीतिलाई आर्थिक मुद्दामा केन्द्रित गर्छ ।  नेपाली जनशक्तिलाई बाहिर पठाउन होडबाजी गर्ने नेतृत्व र नीति अब हामीलाई चाहिएको छैन ।  देशभित्रै कसले कति बढी रोजगारी सिर्जना गर्न सक्छ भन्ने नीति अवलम्बन गर्न सक्ने नेतृत्वले मात्र नेपाली जनताको आकाङ्क्षाको सम्बोधन गर्न सक्छ ।  त्यसका लागि विदेशी लगानी ल्याउन सक्ने, हाम्रा साधन र स्रोतलाई हाम्रै निम्ति प्रयोग गर्न सक्ने कूटनीति अपरिहार्य छ ।  अब राजदूतहरू नियुक्त गर्दा मेरो र तेरो होइन, आर्थिक कूटनीतिलाई कति बलियो र प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने भन्ने आधार बनाइनु आवश्यक छ ।
घर बलियो बनाउन घरेलु नीति बलियो बनाउनु आवश्यक हुन्छ ।  राजनीतिमा मतमतान्तर हु्न्छन्, सिद्धान्त र विचारले काम गर्छ तर परसँग व्यवहार गर्दा घरभित्रको समान दृष्टिकोण आवश्यक हुन्छ, हुनुपर्छ ।  नेपालले चाहे भारतसित होस् वा चीनसित वा बाँकी विश्वसित, नेपालको अर्थतन्त्रलाई बलियो बनाउने औजारहरू विकास गरी त्यसलाई जुनसुकै नेतृत्व आए पनि कार्यान्वयन गर्न सक्ने गरी अगाडि बढाउने कूटनीतिक संस्कृति विकास गर्नु जरुरी छ ।
आर्थिक कूटनीतिका लागि टाइ कूटनीतिले मात्र पुग्दैन ।  नेपालमा लगानी ल्याउन सक्नुपर्छ ।  प्रत्यक्ष वैदेशिक लगानी ल्याउँदा हामीलाई दोहोरो र दीर्घकालीन फाइदा हुन्छ ।  पहिलो त वैदेशिक मुद्रा देशमा आउँछ ।  लगानीका लागि विदेशी मुद्रामा आएको पैसा केन्द्रीय बैङ्कमा बस्छ र त्यस बराबरको नेपाली मुद्रा लगानीमा उपयोग हुन्छ ।  विदेशी सञ्चिति बढाउन सहयोगसँगै नेपाली साधन–स्रोतको प्रयोग हुन्छ ।  नेपालीलाई बढी रोजगारी दिन सक्ने शर्त र आधारलाई प्रोत्साहन गरी लगानी ल्याउन सक्ने नीति, प्राप्त प्रतिफललाई फेरि नेपालमै लगानी गर्दा कर छुट दिने प्रावधान जस्ता नीतिले लगानी प्रवद्र्धन गर्न सहयोग पुग्छ ।
अब कूटनीतिक नियोगमा घाम तापेर दिन बिताउने राजदूत नेपालका लागि काम छैन ।  कुन राजदूतले कति लगानी यहाँ ल्यायो र कुन देशबाट कति पर्यटक नेपाल घुम्न आए अनि नेपाली वस्तु र सेवा कुन कुन मुलुकमा कति बजारीकरण भए भनेर हेर्नुपर्छ ।  आर्थिक कूटनीतिको चुरो यसैको सेरोफेरोमा छ ।  हामी अहिलेसम्म कमजोर भनेकै आर्थिक कूटनीतिमा छौँ ।
नेपालीले सकभर नेपालभित्रै रहेर आफ्नो र देशको भाग्य र भविष्य बनाउने मूल नीति र त्यसैलाई सहयोग गर्ने आर्थिक कूटनीति आवश्यक छ ।  मागेर होइन, गरेर खाने दिशामा अघि बढ्न समय, सीप, ज्ञान, प्रविधि र सम्बन्धको उपयोग अबको अपरिहार्य मार्ग दर्शन भएन भने हामी अझै विपन्नतामा बाँच्न बाध्य हुनेछौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना