‘ग्य्राण्ड डिजाइन’ को भ्रम

purushottam marhatthhaडा.पुरुषोत्तम मरहठ्ठा

 

नेपालमा जति पनि नेता भए तिनले सदैव जनतालाई कि त सपना देखाएका छन् कि भ्रम ।  सपना देख्ने जनता मख्ख पर्ने नै भए ।  भ्रम देखेकाहरू भने सदैव अन्योलमा बाँचे ।  नेताहरू आफैँ अन्योलग्रस्त भएको अवस्थामा भ्रम छर्दा तिनको लागि सत्तामा टिक्ने अर्को विकल्प रहन्नथ्यो ।  भीमसेन थापाले ३१ वर्ष मुख्तियार अर्थात् प्रधानमन्त्री पद लिए जसमा उनले नेपाललाई कहिल्यै विदेशीको पोल्टामा खेल्न दिएनन् ।  जबकि त्यसबेला जहाँजहाँ ब्रिटिस रेजिडेण्ट बसेको थियो त्यो ठाउँको सबै स्वतन्त्रता गुमेको पाइन्छ ।  तर नेपाल मात्र यस्तो एउटा राष्ट्र रह्यो जसले आफ्नो बुद्धि र बहादुरीले ब्रिटिससामु कहिल्यै लम्पसार परेन ।  चन्द्र शमशेरले भनेझैँ एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिँडिसक्थ्यो ।  
सत्ताको लोभी नभएका भीमसेन थापाले प्रधानमन्त्री पद जंगबहादुरको जस्तो आफ्नो शाखा सन्तानमा भागबण्डा लगाएनन् ।  न त उनी कट्टर हिन्दू बने ।  राज्यको अस्तित्वको लागि उनले ब्राह्मणहरूले पाएको विर्ता ६२ हरणलाई जायज मान्दै रणबहादुर शाहको कदमलाई सहयोग पु¥याएका थिए ।  ३१ वर्षसम्म नेपालको श्रीवृद्धिमा लागेकाले सायद रणबहादुर शाहले ठीकै भने होलान् ‘म मरे मुलुक डुब्न्या छैन तर भीमसेन म¥यो भने मुलुक डुब्न्या छ’ भनेर ।   
नेपालको राजनीति रक्षात्मक पङ्क्तिमा बस्न बाध्य सायद त्यसै समयपछि भएको अनुमान लगाउन सकिन्छ ।  अङ्ग्रेज विरोधी मानिएको फ्रेन्च सेनापति र विशेषज्ञ नेपाल झिकाई नेपाली फौजलाई तालिम दिलाएर भीमसेन थापाले उसै बखत नेपाललाई स्वाभिमान र आत्मनिर्भर बनाएर हीरा काट्न हीरा नै प्रयोग गर्नुपर्छ भन्ने नीति अख्तियार गरेका थिए ।  मद्दतको निम्ति आएको सेना लरतरो तालले फर्कन्न ।  विक्रम संवत् १८४९ को नेपाल तिब्बत युद्धमा तिब्बतलाई मद्दत गर्न आएको चिनियाँ सेना जबर्जस्ती ल्हासामा रहेको देख्ने भीमसेन थापाले नेपाल अङ्ग्रेज युद्ध आफ्नै बलबुतामा लडेका थिए ।  पछिल्लो समयमा हाम्रै छिमेकमा तमिल र सिंहाली समस्यामा आइपीकेएफलाई श्रीलंकाबाट निकाल्न के कस्तो समस्या भयो नेपालले देखिसकेको छ ।  
पछिल्लो जनआन्दोलन पछि गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अनुरोधमा ‘युएन मिसन इन नेपाल’ (अनमिन) लाई विस्तृत शान्ति सम्झौतापछि माओवादीको हतियार व्यवस्थापनाको अनुगमन गर्न यसलाई नेपाल ल्याउन वि.सं. ०६३ मा सहमति भएको थियो ।  संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव नं १९३९ अनुसार एक वर्षको लागि आएको अनमिन नेपालमा लामो समयसम्म बस्न खोजिरहेको आरोप स्वयं गिरिजाप्रसाद कोइरालाका उत्तराधिकारी स्व. सुशील कोइराला र एमाले नेता माधवकुमार नेपालले लगाउनुभएको थियो ।  पटक पटक गरी पाँचपटक म्याद थपिँदै गएको अनमिनले चार वर्षपछि ०६७ साल पुसको अन्तिममा अन्तर्राष्ट्रिय सभागृह परिसरभित्र रहेको आफ्नो कार्यालयको झण्डा झुकाएर बिदावारी भयो ।  
इतिहास बोकेको नेपाली सेनामाथि विश्वास गर्नुभन्दा अनमिनले केही समय माओवादीको हितमा काम गरे पनि माओवादी लडाकु शिविरको जिम्मा अन्ततः नेपाली सेनाकै हातमा आएरै छाड्यो ।  वास्तवमा कुनै पनि देश आफ्नो फौजलाई राम्रो तालिम तोप बन्दुकदेखि विकसित सामरिक हातहतियार आदिमा सम्पन्न नगराएसम्म अरु शक्तिसँग लम्पसार पर्नुबाहेक केही उपाय हुन्न ।  त्यसैले लामो दूरीको मार गर्ने हतियार नेपालले विकास गरिसकेको छ भने यसलाई लुकाउनुपर्ने आवश्यक देखिन्न ।  हतियारमा आत्मनिर्भर हुनु पनि नेपालको शक्ति वृद्धि हुनु हो ।  ‘जनताको छोरो’ मा छत्रमान सिंह गुरुङले लामो दूरी मार गर्ने हतियार ८१ मिलिमिटर मोर्टर बमको सफल परीक्षण (पृष्ठ ३३२) ले नेपालकै गौरव देखाउँछ ।  त्यसैले अबका दिनमा राष्ट्रिय सेना सुरक्षा र विकासमा अगाडि आउनै पर्दछ ।  सेनाले आइलाग्नेमाथि जाइलाग्ने मात्र होइन परिआएको बखत जाइकटक गर्दै झिकी कटक गर्ने क्षमता देखाउनै पर्दछ ।  प्रतिरक्षामा बस्नेले कहिल्यै जित्दैन ।  ढुलमुले नीति केवल आत्मरक्षामा मात्र काम लाग्दछ ।  हारे पनि लडिरहने सामथ्र्य नेपालीहरूमा मात्र रहेको छ ।  त्यसैले हावाहुरीको पर्वाह नगरी सामना गर्ने साल्मली नीतिकै कारण भीमसेन थापाले बेलायतलाई झुकाए तर नेपाल र नेपालीको शीर तल पार्ने काम कहिल्यै गरेनन् ।  
नेपाली सेना इतिहासको कालखण्डदेखि आजसम्म शान्ति र युद्ध दुवै एकसाथ तयारी हालतमा रहेको छ भन्ने सन्देश सबैलाई दिइरहेको छ ।  सकेसम्म उसले युद्धको नीति अख्तियार गरेको पाइन्न ।  दुई ठूला राष्ट्रको शक्तिलाई सन्तुलनमा राखेर नेपालले आफ्नो सार्वभौमसत्तालाई अक्षुण्ण कायम राख्न सफल भएको छ ।  त्यसैले अब दिनमा सीमा मिचिँदा समेत नेपालीले साउतीको स्वरमा बोल्न पर्ने अवस्था आउन नदिन सेना लाग्नु मात्र होइन जाग्नु पनि आवश्यक छ ।  नेपालीहरू वाचाल छन् र अब अझै वाचाल बनिरहन सोची सोची चालेकै कदमको कारण विगत सात दशक यता मुलुकले विश्वसामु धेरै ठूलो उपलब्धि गरिसकेको छ ।  अब प्राप्त उपलब्धिलाई जोगाएर संविधानलाई कार्यान्वयन गर्न सक्ने खुबी नेपालीमा पनि छ भन्ने सन्देश विश्वसामु दिन सक्नुपर्दछ ।   
भीमसेन थापाले ब्रिटिस राजदूत र रेजिडेण्टहरूलाई नेपालको प्रशासन सम्बन्धी कार्यमा दख्खल नदिन टाढै राखेका थिए ।  इतिहासकार चित्तरन्जन नेपाली भन्नुहुन्छ– उनले कडा नियन्त्रण राखुन्जेल शासनमा अस्थिरता ल्याउने मौका तिनले पाएका थिएनन् ।  तर अझै पनि नेपालमा यो परम्पराको अन्त भइसकेको छ वा छैन नेपालका नायकहरूले सोच्नुपर्ने बेला आएको छ ।  
भीमसेन थापाले आफ्ना ठूलो विरोधी करविर र रणजंग पाँडेलाई समेत विरोधी नै भए पनि प्रशासनमा राखेका थिए ।  तर, अहिले हाम्रा सत्तापक्षमा मात चढेको छ प्रतिपक्षीलाई पूरै साइड लाउने ।  सत्तामा हुनेले भागबण्डा गर्ने ।  अहिले नेताहरू मनमौजी भएका छन् ।  पार्टी संगठन ध्वस्त छ ।  त्याग तपस्या केही नभएका नेताहरूलाई सुविधा र भत्ता चाहिएको छ ।  नेताहरूको लागि यो सबैभन्दा डरलाग्दो अवस्था भएर पनि राष्ट्रिय भक्तिको सट्टा अन्य भक्तिप्रति फेरि लम्पसार बन्दैछन् ।  जीवनभर झुक्किने दलहरू शिखण्डीलाई उभ्याएर फेरि पनि केही पट्याउने आशा राख्दैछन् ।  काल क्रममा शत्रु र मित्र चिन्न नसक्ने दलहरूले सप्रिसकेको नेपाललाई ध्वस्त पार्ने त हैनन् ? चिन्ता यो हो ।  माक्र्स र माओ बुझ्ने काङ्ग्रेस अहिलेको महाभियोग प्रस्ताव प्रकरणमा पुग्दा अत्तोपत्तो पाउन सकेन ।  आफ्नै सरकारभित्रका दलले हेराफेरी गरुन्जेल काङ्ग्रेस मन्दबुद्धिकाले केरा हेरे झैं भयो ।  बुद्धिले गरिने गल्तीको बोध प्रज्ञापराधमा अहिले नेपालका मै हुँ भन्ने दलहरू मुछिँदै गएका छन् ।  हिजो गरेको गल्तीबाट तिनले कहिल्यै पाठ सिकेनन् ।  कुन दिन नेपालका यी दलहरू युनानी वियोगान्त नाटकको पात्रझैँ नास्सिने हुन् अनुमान गर्न सकिन्न ।  
त्यसैले भारत र चीनको साँध बाहिर रहेको नेपालले दक्षिण र उत्तरको दबाबलाई थेग्न ‘ग्य्राण्ड डिजाइन’ को भ्रम दिएर विगतमा नेताहरू उम्कन खोजेझैँ अब कसैले पनि त्यस्तो तानावाना बुनेर जनतालाई आश र त्रासमा राख्न नखोजेकै राम्रो ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना