बजारमा बिदाको असर

sarojसरोज अधिकारी




नेपाली सेयर बजारमा चाडपर्वको ‘ह्याङ्ओभर’ सकिएको छैन ।  तिहार र छठ पर्वको तीन दिन पछाडि खुलेको सेयर बजारले खासै गति लिन सकेको देखिँदैन ।  कारोबार सामान्य भए पनि ठूला लगानीकर्ताहरू पर्ख र हेरकै अवस्थामा देखिएको कारण पनि बजारमा खासै रौनक छैन ।  नेप्सेमा सामान्य गिरावट देखिएको छ ।  दसैँ अघिदेखि नै सुस्ताएको बजारमा अझै रौनक थपिन नसक्नुमा नेपालमा हुने गरेको अत्यधिक बिदा, राजनीतिक अस्थिरता आदि नै प्रमुख हुन् ।  राजनीतिक दलका नेताहरू मुलुकमा अब आर्थिक क्रान्तिका कुरा त गर्छन् तर व्यवहारमा काम गर्ने दिनहरू कम हुँदै गएका छन् ।  मुलुकमा लगानीका लागि पुुँजी सिर्जना गर्ने सेयर बजार जस्तो निकाय पनि सरकारी बिदाको दिन बन्द रहने अनि हप्तामा पाँच दिन मात्र खुल्नु लगानीकर्ता, सरकार र मुलुकको समग्र आर्थिक क्रियाकलापको हितमा देखिँदैन ।  
विश्वभरमा नै काम र व्यापारको प्रकृति हेर्दा सेयर बजार मात्र यस्तो एउटा क्षेत्र हो, जसमा सेयर बजार खुल्ने दिन सरकारलाई पुँजीगत लाभकर बापत राजस्व प्राप्त हुन्छ ।  दलाल कार्यालयहरूमा रौनक हुन्छ अनि लगानीकर्ता रमाउँछन् ।  सेयर लगानीकर्ताहरू बढी कामकाजी, व्यापारी वा अवकाश प्राप्त व्यक्तिहरू र संस्थागत रूपमा लगानी गर्नेहरू नै हुने हुँदा उनीहरू बजार खुल्दा रमाउँछन् ।  बजार खुलेको दिन उनीहरूका लागि आफ्नै दैनिकी काम भएको अनुभव गर्छन् ।  अनेक प्रकारका विश्लेषण हुन्छ ।  काममा व्यस्त भएकाहरू पनि हाल इन्टरनेट सेवामार्फत नेप्सेको कारोबार जहाँ बसेर पनि हेर्न सकिने सुविधा उपलब्ध हुनुले सेयरको बजार भाउ हेर्न विश्लेषण गर्न भ्याउँछन् ।  सेयर बजार खुलेको दिन अन्य दिनको तुलनामा आर्थिक क्रियाकलापले गति लिएकोझैँ भान हुन्छ ।  
बजारको आगामी दिशा
आगामी दिनमा नेपाली सेयर बजार कता जान्छ भन्ने विश्लेषण त्यति सहज छैन तर बजारको प्रकृति सरसर्ती हेर्दा नेप्सेले तत्कालै द्रुत गतिमा माथि लाग्ने आधार देखिँदैन ।  नेपाली सेयर बजारमा वर्चस्व कायम राख्न सफल समूह भनेको अहिले पनि बैङ्क तथा वित्तीय सूमह नै हुन् ।  नेपाल राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजीको संरचना पु¥याउने कसरतमा लागेको अधिकांश बैङ्क तथा वित्तीय संस्थाहरू अघिल्लो वर्षको नाफाबाट बोनस सेयर दिन होस् वा हकप्रद सेयर अनि एफपीओ जस्ता पुँजी वृद्धिका योजना लागू गर्न तल्लीन देखिएका छन् ।  यसले लगानीकर्ताहरूले हकप्रद वा एफपीओका लागि ठूलो रकम जुटाउनुपर्ने बाध्यता कायमै छ ।  त्यसले दोस्रो बजारमा सेयरको मागमा केही कमी आउने निश्चित छ ।  त्यसैगरी प्राथमिक सेयर निष्कासनले पनि गति लिएको अवस्था हो अहिले ।  आगामी केही महिनाभित्रमा जलविद्युत् क्षेत्रका थुप्रै कम्पनी सर्वसाधारणका लागि सेयर जारी गर्दैछन्, त्यसले पनि बजारमा लगानीकर्ताको ठूलै रकम अल्झिने देखिन्छ ।  
माथिका समग्र विषयले गर्दा दोस्रो बजारमा सेयर खरिद गर्नका लागि लगानीकर्तालाई केही अवरोध पु¥याउन सक्ने देखिन्छ, जसले पनि बजार बढोत्तरीलाई बाधा निम्तन सक्ने खतरा कायमै छ ।  बैङ्क तथा वित्तीय संस्थाहरू र कतिपय बीमा कम्पनीको बोनस, हकप्रद र एफपीओ सेयरका कारण बजारमा सेयरको आपूर्ति उच्च मात्रामा बढ्दै गएको छ ।  जसको तुलनामा सेयर खरिदको माग आउन नसक्ने हो भने बजार अझै केही अङ्क करेक्सनतर्फ जाने देखिन्छ ।  बजारलाई असर पु¥याउन सक्ने अर्को प्रमुख कारण बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने ब्याजदरमा हुनसक्ने उच्च वृद्धि र घरजग्गाको कारोबारमा हुने बढोत्तरी हुन् ।  राजनीतिक अस्थिरता मुलुकमा लामो समयदेखि जारी रहेकोले त्यसले बजारलाई खासै असर पार्ने सम्भावना भने न्यून नै देखिन्छ ।  मुलुकमा वर्ष दिन बित्न नपाउँदै सरकार फेरिने दुर्भाग्यपूर्ण अवस्थाले हाल कुन सरकार छ वा आगामी दिनमा कुन सरकार आउँछ र कस्तो आर्थिक रणनीति अपनाउँछ भन्ने कुरा बजारका लागि अहिले कम महŒवको विषय बनेको छ ।  आन्दोलन, बन्द, हडताल, नाकाबन्दी जस्ता कारणले आर्थिक क्रियाकलाप प्रभावित नपारेको अवस्थामा राजनीतिक अस्थिरताको प्रभाव बजारमा नगन्य रूपमा पर्न थालेको हो ।  
दसैँ अघिदेखिको सुस्ताएको बजारमा अब लामो बिदापश्चात् कारोबार सुचारु भएको छ ।  आगामी ठूला लगानीकर्ताहरू पनि रणनीति बनाएर लगानी गर्न कस्सिने छन् ।  नेप्सेमा सुधार आउनका लागि गैरआवासीय नेपालीको लगानी भिœयाउन र मोफसलमा सेयरको कारोबार बैङ्क वित्तीय संस्थामार्फत बढाउन सक्नुपर्छ ।
भारत र चीन दुई ठूला आर्थिक उदायमान राष्ट्रको बीचमा अवस्थित नेपालको हालको अर्थतन्त्र भनेको नै झन्डै सात खर्बको विप्रेषण (रेमिट्यान्स) भिœयाउने र त्यसैबाट सामान आयात गरी आफ्नो दैनिकी धान्ने हुँदै आएको छ ।  पुँजी बजार भनेको मुलुकभित्र कुनै पनि बन्द व्यवसाय, उद्योग आदि स्थापनाका लागि पु्ँजी सिर्जना गर्ने माध्यम हो तर नेपालको सन्दर्भमा बैङ्क वित्तीय संस्थाहरू, केही बीमा कम्पनी र हाल आएर जलविद्युत् क्षेत्रका र होटल क्षेत्रका केही कम्पनीमा मात्र मुलुकको जम्माजम्मी सेयर बजार आश्रित हुन पुगेको छ ।  सरकारले बारम्बार उत्पादनमूलक (रियल) समूहको सेयरलाई भिœयाउने जमर्को गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।  मुलुकमा उद्योग खोल्नु र युवालाई स्वदेशमा नै रोजगार दिनु भनेको मुर्खले गर्ने कार्यझैँ बनेको छ ।  युवा ठूलो मात्रामा विदेशिएको सन्दर्भमा कुनै पनि व्यवसाय उद्योग आदि गर्न एकातिर दक्ष जनशक्तिको खाँचो छ भने अर्कोतिर सरकारी झन्झट, उत्पादित वस्तुको बजार अभाव र श्रमिक समस्या जस्ता विविध अप्ठ्यारा यथावत नै देखिन्छन् ।  भारत र चीनबाट दैनिक उपभोग्य वस्तुका सामान्य अत्यावश्यकीय वस्तुहरू पनि सहजै कम भन्सार तिरेर मुलुक भित्रिने हुँदा मुलुकभित्र उत्पादित वस्तुले प्रतिस्पर्धा गर्न निकै गाह्रो छ ।  श्रमिकका हितमा काम गर्ने नाममा उद्योग व्यवसाय सञ्चालन गर्न नियोजित रूपमा नै अवरोध गर्नेलाई सघाउ पु¥याउने सरकारको नीतिले व्यवसाय अझ कठिन बनेको छ ।  यस्तो अवस्थामा सरकारले चाहँदैमा पुँजी बजारमार्फत सिर्जना हुने पुँजी उत्पादनमूलक क्षेत्रको सेयरमा जाने सम्भावना निकै कम छ ।  जलविद्युत् क्षेत्रको सेयरमा भने आगामी दिनमा राम्रो प्रभाव पर्न सक्ने देखिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना