छड्के प्रवेशको प्रभाव

Bhola sharmaभोला शर्मा




निजामती सेवामा छड्के प्रवेश खुला प्रतियोगिताको एउटा महŒवपूर्ण वृत्तिमार्ग हो, जसले माथिल्ला पदको सेवा प्रवेशमा योग्यता र क्षमतावानको प्रतिस्पर्धा गराउँछ ।  यसले सङ्गठनमा एकातिर निश्चित सेवा अवधिको सीमाङ्कनबाट अनुभवी कर्मचारीको पक्षपोषण गर्छ भने अर्कोतिर बजारका नवप्रतिभाहरूको खोज गरी सङ्गठनमा नव रक्त सञ्चारको प्रवाह गर्छ ।  खासगरी विश्वविद्यालयका उच्चतम अङ्क प्राप्त गर्ने उत्कृष्टहरू, सम्बन्धित विषयमा विद्यावारिधि गरेका व्यक्तिहरू, फरक–फरक सेवामा सेवारत रही सेवा परिवर्तन गर्न रुचाउने योग्य प्रतिभालाई ढोका खोलिदिन प्रयोग गरिने साँचोकोे रूपमा छड्के प्रवेशलाई लिन सकिन्छ ।  यद्यपि मूल्यवान अनुभवीहरूका माझ ताजा उत्कृष्ट र विद्यावारिधि प्राप्त प्रतिभाहरूलाई पनि निश्चित समयावधिको अनुभव नै आवश्यक पर्ने भन्ने प्रश्न हालसम्म पनि अनुत्तरित रहेको छ ।
सरकारी सेवालाई बढीभन्दा बढी प्रभावकारी, प्रतिस्पर्धी र नतिजापरक तुल्याउन वा समयानुकूल गतिशील बनाउन छड्के प्रवेशको अवधारणा विकसित भएको हो ।  यसले सङ्गठनलाई नव रक्तसञ्चारको माध्यमद्वारा बढी खोजमूलक, अनुसन्धानमूलक र नयाँ प्रविधिमूलक बनाएर जनविश्वास आर्जन गर्न मद्दत गर्छ ।  यसले सङ्गठनको माथिल्ला पदमा नवीन सोच, जोश र प्रविधिको प्रवेश गराउने, भर्ना प्रक्रियालाई सकारात्मक भर्ना प्रणालीतर्फ उन्मुख गराउने, साङ्गठनिक कार्य संस्कृतिमा सकारात्मक परिवर्तनको स्वीकारोक्तिलाई सहज बनाउने, श्रमबजारका उत्कृष्ट प्रतिभाहरूलाई सार्वजनिक सेवामा रोजगारीका लागि आकर्षित गर्ने, २+२ = ५ हुने गरी साङ्गठनिक कार्य परिणाममा सिनर्जी अवधारणा आत्मसात् गर्छ ।  यस नवीनतम अवधारणाले सार्वजनिक प्रशासनलाई बजारसँग बढीभन्दा बढी प्रतिस्पर्धी, क्षमतामूलक र फलदायी बनाउनुका साथै सार्वजनिक व्यवस्थापनमा सुशासनको बहाली गराउन योगदान पु¥याउँछ ।  छड्के प्रवेश आफैँमा एउटा सुदृढ भर्ना प्रणाली हो, जसले सङ्गठनलाई जनमुखी, प्रभावकारी र नतिजामुखी बनाउन मद्दत गर्छ ।  श्रमबजारमा भिजेका दख्खल प्रतिभाहरूलाई सरकारी सेवामा आबद्ध गर्ने एउटा नवीनतम अवधारणा भएको हुनाले यसको सकारात्मक पक्षलाई कम आँकलन गर्न सकिँदैन ।  बाह्य अनुभवी जनशक्तिहरूको सम्मिश्रणद्वारा सार्वजनिक प्रशासनलाई हाइब्रिड (वर्णशङ्कर) सङ्गठनको रूपमा विकास गर्न सहयोग पु¥याउँछ ।  शासकीय सुधार र प्रशासन सुधारको सुझावलाई व्यवहारमा आत्मसात् गर्न मार्ग प्रशस्त गर्नुका साथै छड्के समावेशीकरणको माध्यमद्वारा सार्वजनिक प्रशासनलाई सहभागितामूलक अनि समतामूलक बनाउन सहयोग गर्छ ।
नेपालको शासकीय प्रणालीमा छड्के प्रवेशको अवधारणा प्रशासन सुधार आयोगको चौथोे प्रतिवेदन २०३२–३३ बाट आरम्भ भएको पाइन्छ ।  निजामती सेवा समग्र सार्वजनिक सेवाको जननी भएको हुँदा उक्त सेवामा प्रतिस्पर्धात्मक ढङ्गले सेवा वितरण प्रणाली लागू गर्न यो अवधारणाको बहस प्रारम्भ भएको हो ।  शासकले राजनीतिक संरक्षण र आस्थाका आधारमा स्वेच्छाचारी ढङ्गले कर्मचारीलाई लुट प्रणालीका आधारमा बढुवा नगरी त्यसमा योग्यता, क्षमता र विशेषज्ञताका आधारमा निजामती सेवा बाहिरका उम्दा प्रतिभाहरू भित्रिऊन् भन्ने मनसायले यो विषय उठाइएको हो ।  तथापि सेवाभित्रका योग्य व्यक्तिहरू हतोत्साही नहोऊन् वा उनीहरूमा नैराश्यको भावना नबढोस् भन्नका निम्ति यसमा सम्बन्धित पदको लागि आवश्यक पर्ने योग्यता र अनुभव भएको व्यक्ति हुनु अनिवार्य छ र विस्तृत गृहकार्यका लागि लोकसेवा आयोगको परामर्श जरुरी भएको भनी सुझावमा उल्लेख गरिएको छ ।  
उच्च स्तरीय प्रशासन सुधार आयोगको प्रतिवेदन, २०४८ ले पनि खुला प्रतियोगिताको नामबाट छड्के प्रवेशको सम्बोधन गरेको एक वर्षमै निजामती सेवा ऐन, २०४९ जारी गरी छड्के प्रवेश लागू गरियो, तथापि यसलाई कहिले २५ प्रतिशत, कहिले २० प्रतिशत त कहिले १० प्रतिशतमा झारी उतारचढाव गरिएको छ ।  छड्के प्रवेश प्रारम्भ भएको दुई दशक बितिसकेपछि काशीराज दाहालको संयोजकत्वमा गठित प्रशासन सुधार सुझाव समतिको प्रतिवेदन, २०७० ले छड्के प्रवेशको व्यवस्थामा पुनरावलोकन गरिनुपर्ने सुझाव पेस गरेको छ ।  कार्यान्वयनको प्रभावकारिताको लाभ निजामती सेवाभन्दा बाहिरका प्राज्ञिक एवं प्रतिभावान प्रतियोगीहरूले भन्दा सेवाभित्रकै कर्मचारीले लिएको हुनाले यो व्यवस्था लक्षित वर्गसम्म पहुँचयोग्य हुन नसकेको आरोपमा पुनरावलोकन गरिनुपर्ने सुझाव उक्त समितिले पेस गरेको छ ।  नेपालको निजामती सेवाको राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीका पदहरूमा रिक्त दरबन्दी सङ्ख्याको १०÷१० प्रतिशत पदसङ्ख्या खुला प्रतियोगिताका लागि विभाजन गरिएको छ, कार्य अनुभवको कुरा गर्नुपर्दा सम्बन्धित क्षेत्रमा अधिकृतस्तरको पदमा राजपत्राङ्कित द्वितीय श्रेणीका लागि न्यूनतम पाँच वर्ष र राजपत्राङ्कित प्रथम श्रेणीका लागि न्यूनतम सात वर्ष सेवा अवधि आवश्यक पर्छ ।  
२०३२÷३३ देखिको पञ्चायतकालीन कर्मचारी प्रशासनबाट प्रारम्भ भएको नेपालको छड्के प्रवेशले प्रजातन्त्र, लोकतन्त्र हुँदै वर्तमानको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दा प्रशासन र व्यवस्थापनमा राम्रै छाप छोड्न सफल भएको छ ।  छड्के प्रवेशको प्रभाव मूल्याङ्कन गर्दै रिक्त पदको १० प्रतिशत मात्र पूर्ति गर्ने वर्तमानको झिनो प्रावधानमा पुनरावलोकन गरी यसलाई तेब्बरभन्दा बढीले वृद्धि गरी ३३ प्रतिशत प्ु¥याउन आवश्यक छ ।  हालको पाठ्यक्रम सेवाभित्रकै कर्मचारीलाई सघाउ पु¥याउने खालको भएकोले त्यसलाई सामयिक सुधार गरी सर्वग्राह्य बनाउनु पनि सान्दर्भिक हुन्छ ।  छड्के प्रवेशबाट बजारको उत्कृष्ट जनशक्ति भित्राउने सोच र अति न्यून तलब भत्ताबीच त्यति मेल खाँदैन तसर्थ विद्यमान तलब भत्ता तथा अन्य सुविधामा व्यापक वृद्धि गर्नुपर्ने देखिन्छ ।  छड्के प्रवेशमा आरक्षणको लाभ एउटा प्रतियोगीले एकपटक मात्र लिने गरी व्यवस्था गरिएमा यसको मूल मर्म र भावना साकार हुनुका साथै यसमा निश्चित वर्ग र व्यक्तिको पटक पटकको एकलौटी रजाई अन्त्य हुने थियो ।  त्यसैगरी छड्के प्रवेशमा वरिष्ठ र कनिष्ठ सम्बन्धी मतमतान्तर अन्त्य गर्न कनिष्ठ अर्थात् कम अनुभवी कर्मचारीलाई पर्याप्त प्रशिक्षण र नेतृत्व विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनुपर्छ ।  निजामती सेवा, नेपाल विद्युत् प्राधिकरण लगायत अन्य सार्वजनिक सेवामा कार्यरत वरिष्ठ कर्मचारी र छड्के प्रवेशीबीच आ–आफ्नै विशेषता र योग्यतालाई लिएर उत्पन्न हुने गरेको विवाद हटाउन ‘अनुभव’ तथा ‘नयाँ जोश जाँगर’ सङ्गठनको लागि पारस्परिक विषय हुन्, यी दुवैको उत्तिकै महŒव छ भन्ने कुराको सञ्चार गरिनुपर्छ ।  
जुनसुकै सेवालाई बदलिँदो विश्व परिवेश अनुसारको दिशा प्रदान गर्न बाह्य क्षेत्रका सक्षम, योग्य र ऊर्जाशील युवाको आवश्यकता पर्छ ।  नीति निर्माण तहमा त्यो आवश्यकता शीघ्र परिपूर्ति गर्ने माध्यम छड्के प्रवेश नै हो ।  छड्के प्रवेश भर्ना प्रक्रियाको आफैँमा एउटा अब्बल अवधारणा भए पनि कर्मचारी जमातमा विद्यमान दुई भिन्न खालको सोच भएका मानिसका कारण यो विवादरहित हुन भने सकेको छैन ।  नेपालको सार्वजनिक प्रशासनको प्रमुख मार्गदर्शक मानिने निजामती सेवामा यसको उतारचढाव भएसँगै सार्वजनिक संस्थानमा पनि त्यसको छाप परेको छ ।  विगतमा जे जस्तो भए पनि छड्के प्रवेशले बाह्य क्षेत्रका दिग्गजहरू आकर्षित गर्ने कुरा शाश्वत छ ।  पाका अनुभवीहरूले यसलाई खुलेर स्वीकार गर्न नसके पनि निजामती सेवाको स्तरोन्नतिका लागि वर्तमानको न्यून प्रतिशत पुनरावलोकन आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना