गणेशमानको चेतावनीका तीन पाटा

Mathwar singh basnetमाथवरसिंह बस्नेत

राजनीति, राजनेता र राजनीतिज्ञका बारेमा सर्वव्यापी तथा सर्वकालिक वर्गीकरण र व्याख्या अत्यन्त घतलाग्दो छ ।  त्यसलाई प्रत्येक युगका नेता तथा कार्यकर्ताले बडो रोचक ढङ्गले कथा बनाएर वर्णन त गर्छन् तर पालन भने कसैले पनि गर्दैनन् ।  त्यो व्याख्याले भन्छ, राजनीतिज्ञ भनेको त्यो हो, जसले एकसय वर्षपछिको आफ्नो देशको तस्वीर कस्तो हुन्छ, त्यसलाई सामुन्नेमा राखेर आजको नीति र कार्यक्रमको तर्जुमा गर्छ ।  राजनेता चाहिँ त्यो हो, जसले पाँच वर्षपछि हुने चुनाव जित्न चाहिने नीति र कार्यक्रम अहिले नै बनाएर त्यसका निम्ति आफ्ना कार्यकर्तालाई परिचालित गर्छ ।  अनि नेता त्यो हो, जो चुनावको मिति घोषणा भएपछि उम्मेदवार बनेर आफू जित्नका लागि जे चाहिन्छ, ती सबै कुरा गर्न उद्यत रहन्छ ।  
आज गणेशमान सिंहको १०२ औं जन्मजयन्ती हो ।  त्यसैले यो देशको राजनीति, राजनीतिज्ञ, सङ्घर्ष, विकृति, विसङ्गतिका इतिहासका बारेमा सिंहावलोकन गरेर हामी कहाँ छौं र हाम्रो राजनीतिक यात्राको गन्तव्य कस्तो छ, त्यसको विवेचना गर्ने अवसर पनि हो ।  गणेशमान सिंह को हुन् र उहाँले आजको राजनीतिका सम्बन्धमा हिजो के भन्नु भएको  थियो ? नयाँ पुस्ताका निम्ति यो सानो चर्चा, चित्ताकर्षक नलाग्न पनि सक्छ ।  तर यो देशको भाग्य र उनीहरूको भविष्य एकअर्कामा निर्भर रहेकाले इतिहासमा उनीहरूको ध्यानाकर्षण हुनैपर्छ ।  किनभने प्रजातान्त्रिक आन्दोलनको विगतले नै उनीहरूको आगतलाई बाटो देखाउने काम गर्छ ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलताबाट नेपालमा प्रजातन्त्रको पुनस्र्थापना र त्यसको सात महिनापछि त्यो आन्दोलनको उपलब्धिलाई संस्थागत तुल्याउने २०४७ सालको संविधान घोषणा लगत्तै सर्वमान्य नेता गणेशमान सिंहले भन्नुभएको थियो– अब पालो हो, आर्थिक क्रान्तिको ।  राजनीतिमा जनता तìवको निर्णायक भूमिका स्थापित तुल्याउन वि.सं. १९९७ देखि चलिरहेको सङ्घर्षले अनेक उतारचढाव पार गरेर नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको यथार्थलाई इतिहासमा पहिलोपटक स्थापित गरिछाड्नु भनेको राजनीतिक क्रान्तिको कठिन चरण पूरा भएको निष्कर्ष थियो, उहाँको ।  उहाँले परिवर्तनको त्यो उपलब्धिलाई जोगाउन आर्थिक क्रान्तिलाई अचुक उपाय बताउनुभएको थियो ।  आर्थिक क्रान्तिविनाको राजनीतिक क्रान्ति, अस्थिर र एकांकी हुने भएकाले अहिलेको स्वतन्त्रता र खुलापन कालान्तरमा अव्यवस्था र अराजकतामा परिणत भएर अर्को समस्याको बाहक पनि बन्नसक्छ ।  त्यसैले शान्ति, स्थिरता र सुशासन कायम राख्न आर्थिक विकास आवश्यक मात्र होइन, अपरिहार्य नै छ ।  प्रजातन्त्र ल्याउन हामीले जति सङ्घर्ष गर्नुप¥यो, त्यसलाई जोगाउन त्योभन्दा ठूलो लडाइँ लड्नुपर्छ ।  जनता आफैं राजनीतिक दृष्टिले सचेत र आर्थिक रूपले सम्पन्न र सक्षम नभएसम्म त्यसलाई बचाउन चाहिने अन्तप्रेरणा, आत्मबल र जागरुकता पनि उनीहरूमा पैदा हुँदैन भन्ने उहाँको चेतावनी धेरैका कानमा अझै गुञ्जिरहेकै हुनुपर्छ ।  
नेपालमा राजनीतिक क्रान्तिका निम्ति नेपाली काँग्रेसले आफ्नो स्थापनाकालमा जनताप्रति उत्तरदायी शासन व्यवस्थाको स्थापनाको बाटो रोजेको थियो ।  त्यो भनेको संसदीय व्यवस्था हो ।  त्यसका लागि बेलायतको म्याग्नाकार्टादेखि गौरवपूर्ण क्रान्ति हुँदै वर्तमानसम्म पूरा गरेको यात्राको अनुभव, फ्रेन्च क्रान्तिको उदाहरण र भारतमा गान्धीको नेतृत्वमा चलेको अहिंसा र सत्याग्रहको प्रेरणा र प्रभावको उपलब्धि विश्वका अरु देशका प्रजातन्त्रवादीसरह नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरू समक्ष पनि थियो ।  त्यहीकारण उनीहरूले लामो परीक्षा र परिक्षणबाट उपयुक्त ठहरिएको प्रजातान्त्रिक संसदीय व्यवस्था रोजेका हुन् ।  तर व्यवस्था त माध्यम मात्र हो, सर्वोपरि साध्य त समुन्नति नै हो ।  त्यसका लागि चाहिन्छ– आर्थिक विकास ।  त्यो राजनीतिक आन्दोलनजस्तो एकहोरो हुँदैन, त्यसका लागि बाहिरको कुनै मोडेल अनुकरणीय पनि हुन नसक्ने तथ्य एसिया र अफ्रिकाका विभिन्न देशका अनुभवले साबित गरिसकेको परिप्रेक्ष्यमा आर्थिक क्रान्तिको आह्वान, अन्तिम विकल्प हो भन्ने उहाँको ठहर थियो ।  आर्थिक विकासका आफ्नै गति र प्रक्रिया हुने मात्र होइन, त्यसका निम्ति योजनाबद्ध प्रयासको खाँचो पर्ने वास्तविकता पनि उहाँको आफ्नै अनुभव थियो– २००७ सालको अन्तरिम सरकार र २०१६ सालको पहिलो जननिर्वाचित सरकारमा मन्त्री रहिसकेकाले ।  त्यसैले गणेशमान सिंह सचेत हुनुहुन्थ्यो– प्रजातान्त्रिक समाजवादमा आधारित योजना र कार्यक्रमले जनताको जीवनस्तर उठाउने र बेरोजगारी हटाउने दोहोरो जिम्मेदारी निर्वाह गर्नुपर्छ ।  नेपालका सन्दर्भमा आर्थिक क्रान्तिको चरम लक्ष्य त्यही हुनुपर्ने उहाँको निचोड थियो ।  यद्यपि आर्थिक विकासका आफ्नै आयाम हुन्छन् र ती अत्यन्त सुस्त र शिथिल हुन्छन्, तिनले लामो अध्याय लिन्छन् ।  तथापि बेलैमा त्यसका लागि चाहिने कदम चालिहाल्नुपर्छ, विलम्ब गर्नुहुन्न भन्नेमा पनि उहाँलाई कुनै भ्रम थिएन ।   
सात सालको क्रान्तिको उपलब्धि– प्रजातान्त्रिक पद्धतिलाई राजा महेन्द्रले २०१७ साल पुस १ गते उल्टाएर राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने र फेरि राणाको ठाउँमा राजाको निरङ्कुशता लाद्ने काम गरेकाले नेपाली काँग्रेसले त्यसै दिनदेखि राजाको निरङ्कुशताको अन्त्य र प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन चलाएको थियो ।  त्यस क्रममा काँग्रेसले शान्तिपूर्ण र सशस्त्र दुई उपायको उपयोग ग¥यो ।  धेरै नेपाल आमाका सपूतहरूले आफ्नो जीवनको बलिदान दिए भने हजारौँले जेलको यातना र निर्वासनको नारकीय जीवन व्यतित गर्नुप¥यो ।  त्यसरी राजाको निरङ्कुशताको अन्त्य गरेर प्रजातन्त्रको पुनस्र्थापना गर्न तीस वर्ष लाग्यो ।  त्यो सानो अवधि थिएन ।  दोस्रो विश्वयुद्धमा लगभग तहसनहस भएका युरोपका अधिकांश देशका मात्र होइनन्, जापान, दक्षिण कोरिया, मलेसिया र थाइल्याण्डले आर्थिक विकासका क्षेत्रमा लामो फड्को मारिसकेका थिए ।  चीनले साम्यवादी अर्थ व्यवस्था त्यागेर बजारमुखी अर्थतन्त्र अपनाएर आर्थिक विकासमा नयाँ कीर्तिमान कायम गरिरहेको थियो ।  भारत पनि उदार अर्थव्यवस्था अन्तर्गत विकासको दिशामा लम्किन थालिसकेको थियो ।  सोभियत सङ्घमा सत्तरी वर्षदेखि तानाशाहीको शिकार बनिरहेका रुसी जनता, मुक्ति र स्वतन्त्रताका लागि छटपटाइरहेका थिए ।  बर्लिनको पर्खाल भत्काउने उद्यम जोडतोडले चलिरहेको थियो ।  बर्मा बलिरहेको थियो ।  त्यस्तो अन्तर्राष्ट्रिय परिवेश र परिस्थितिमा नेपालमा राजाको निरङ्कुशताको अन्त्य र उदार प्रजातन्त्रको पुनस्र्थापना गरेर प्रजातन्त्रको नयाँ युगमा प्रवेश गराउने गणेशमान सिंह, साँचो अर्थमा युगपुरुष हुनुहुन्थ्यो ।  
एउटा युगको अन्त्य र अर्को युगको उद्घाटन गर्ने त्यस्ता युगान्तकारी नेताले राष्ट्रको भविष्य निर्माणका सम्बन्धमा आफ्ना सुझाव प्रदान गर्ने गरेका छन् ।  गणेशमान सिंहले पनि लामो, रोमाञ्चक तथा उतारचढावपूर्ण राजनीतिक जीवनका अनुभवका आधारमा भावी पुस्ताका नेताहरूका निम्ति अवलम्बन गर्नुपर्ने बाध्यात्मक परिस्थितिका बारेमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।  तीमध्ये आर्थिक क्रान्तिको प्रसङ्गमा चर्चा भइसकेको छ ।  जातीय सन्तुलनमाथिको उहाँको त्यसबेलाको जोडदार आग्रहभित्रको मर्म र महìव तब सबैसामु छर्लङ्ग भयो, जब जातिका आधारमा राज्यको मागको सवाल उठ्नथाल्यो ।  चार जात छत्तीस वर्णको फूलबारीमा सबै जातजाति तथा भाषाभाषीलाई प्रजातन्त्रप्रति अपनत्वको भावना जगाउन र यसबाट मात्र हामी सबैको उन्नति र प्रगति हुनसक्छ भन्ने बोध गराउन पनि जातीय सन्तुलन कायम राख्नै पर्ने उहाँको धारणा सर्वविदितैै छ ।  त्यसका निम्ति राज्यले आफ्ना नागरिकलाई प्रदान गर्ने अवसरमा देशका सबै जातजातिलाई समान रूपमा उपलब्ध गराउनै पर्छ ।  राज्यले कसैलाई पनि भेदभाव र पक्षपातको अनुभूति हुने अवस्था कुनै हालतमा सिर्जना हुन दिनुहन्न ।  त्यसले एक दिन विस्फोटक स्थिति निम्त्याउँछ ।  त्यसलाई रोक्न र प्रजातन्त्रमा सबैको आकाङ्क्षाको सम्मान हुन्छ भन्ने प्रमाणित गरेर देखाउन त्यसप्रति सचेत हुनैपर्छ ।  सिंहको जोड थियो, कुनै पनि नागरिक, चाहे त्यो जुनसुकै जातिको किन नहोस्, उपेक्षित र अभावग्रस्त हुनु हुँदैन ।  जबसम्म राज्यले आफ्नो अङ्गको कुनै भाग कमजोर तथा अशक्त अवस्थामा रहिरहनदिन्छ, तबसम्म त्यो राष्ट्र कुनै पनि अवस्थामा स्वस्थ्य र तन्दुरुस्त मान्न सकिन्न ।  त्यसैले सबै जातिको उत्थान र उन्नति राज्यको लक्ष्य हुनैपर्छ ।  त्यसो गरिएन र सबैलाई समेटिएन भने एक दिन असन्तोषको ज्वाला भड्किने छ र त्यसमा राष्ट्रिय एकताको आधार भष्म हुनेछ ।  त्यो चेतावनीको उपेक्षा गरियो ।  त्यसबाट के जन्मियो त्यो वर्तमानको जल्दोबल्दो समस्या भएकाले थप प्रकाश पारिरहन आवश्यक छैन ।   
गणेशमान सिंहको विशेष जोडको अर्को विषय थियो – राजनीतिमा नैतिकता र चरित्रप्रति सजग रहने आग्रह ।  राजनीति, सत्ता प्राप्तिको माध्यम मात्र होइन, सामाजिक तथा मानवीय अवस्था परिवर्तनको उच्चतम प्रयास पनि हो ।  ‘लौहपुरुष’ गणेशमान सिंहको सुदीर्घ जीवनको कठोर तपस्या, तिनै मूल्य र मान्यता नेपाली समाजमा स्थापित तुल्याउने अभियानमा समर्पित थियो ।  त्यसैले उहाँको विश्वास थियो, राजनीतिमा नैतिकता र चरित्र भएन भने त्यो भीडतन्त्र र अवसरवादमा रूपान्तरित हुन्छ ।  त्यसले पार्टी, प्रजातन्त्र र सामाजिक परिवर्तनको महान् मिसनलाई सुरक्षित गन्तव्यमा पु¥याउन सक्तैन ।  उहाँले प्रधानमन्त्रीको पदको त्याग गरेर त्यही मान्यता स्थापित गर्न प्रोत्साहित गर्नुभएको थियो ।  प्रजातन्त्रको पुनस्र्थापनापछि  वाचडगका रूपमा आफ्नो भूमिकालाई पुनः परिभाषित गर्नु परेको कारण पनि त्यही थियो ।
त्यस्तो त्याग र बलिदानको संस्कार र संस्कृतिले निरन्तरता पाउन सकेन ।  उल्टो, सिद्धान्तहीनता प्रोत्साहित र पुरस्कृत हुनथाल्यो ।  अहिले परिणाम यो हुन पुगेको छ कि राजनीतिक अन्योलको विश्रामस्थल कहाँ हो, कसैले मार्गदर्शन गर्न नसक्ने भएका छन् ।  त्यसका लागि पनि कुनै चटकी आएर चमत्कार गरिदिनु पर्ने हो कि भन्ने सवाल उठ्न थालेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना