बालबालिकाका लागि प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन

सिराजुद्दीन खान

नेपालगञ्ज, कात्तिक २४ गते । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाई सिप कमजोर देखिएकोले सो मा सुधार ल्याउने उद्देश्यका साथ बाँकेमा पहिलो पटक नमुनाको रुपमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरिएको छ । बाँकेका ३ सय ८२ बिद्यालय र मदरसाहरुको कक्षा १ देखि ३ सम्मका ६६ हजार ४ सय ४३ जना बालबालिकाको पढाई सिपमा सुधार ल्याउनका लागि सो कार्यक्रम संचालन गरिएको बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले बताउनु भयो ।
अधिकारी साउदका अनुसार जिल्लाका बिभिन्न बिद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययनरत ६६ हजार ४ सय ४३ बालबालिका मध्ये ३३ हजार ३ सय १३ बालिका र ३३ हजार १ सय ३० बालक रहेका छन् ।
पढाई सिप सुधारका लागि सोही कार्यक्रम अन्तर्गत अवधी लगायतका बिभिन्न भाषामा शैक्षिक सामाग्री निर्माणको काम समेत भैरहेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।
बिद्यालयमा भर्ना भएका सबै बालबालिकालाई नियमित बिद्यालयमा उपस्थित गराउन तथा बिदा भएको दिन वा अन्य फुर्सतको समयमा बालबालिकाको पढाई शिपमा सुधार गर्न जिल्लामा १५ सय बढी टोल पढाई समुहहरु गठन गरिन लागिएको बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाले बताउनु भयो ।
सो क्रममा हालसम्म १ सय ५० वटा टोल समुह गठन भैसकेको र अन्य गठन हुने प्रक्रियामा रहेको जनाउँदै उहाँले सो समुहमा अभिभावक, शिक्षक, ब्यबस्थापन समितिका पदाधिकारी र शिक्षक अभिभावक संघका सदस्यहरु रहने बताउनु भयो । prarabhik class
सोही कार्यक्रम अन्तर्गत जिल्लाका सबै बिद्यालय र मदरसामा शिक्षण शैक्षिक सामाग्री पुरयाईसकिएको छ भने कक्षा १ र २ का करिब ६ सय शिक्षकलाइ तालिम समेत दिई सकिएको छ । २७ जना पढाइ उत्प्रेरकहरुको छनोट समेत भैसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यसैविच बाँकेको गनापुर २ भाटनपुर्वामा हालै गठन गरिएको टोल पढाई समुुहले एक शैक्षिक सचेतना र्यालीको आयोजना गरेर सबै बालबालिकालाई बिद्यालय र मदरसामा पठाउन तथा पढाई शिप बढाउन सहयोग गर्न आग्रह गरेको छ ।
मुस्लिम समुदायको बाहुुल्यता रहेको सो गाउँका मदरसामा अध्ययनरत बालबालिका, अभिभावक, शिक्षक, मौलाना, मदरसा संचालक समिति र टोल पढाई समुुहका सदस्यहरुको सो सचेतना र्यालीमा सहभागिता रहेको थियो ।
र्यालीमा सहभागीहरुले बोकेको प्लेकार्डमा ‘आधा रोटी खाने छौ, बालबालिकालाई पढाउने छौं’ र ‘यही हाम्रो नारा हो, शिक्षा हाम्रो अधिकार हो’ जस्ता नाराहरु लेखिएका थिए ।
गाउँ परिक्रमापछि आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै मदरसा ब्यबस्थापन समितिका अध्यक्ष बद्लु नाउ, नाउ टोल पढाई समुहका अध्यक्ष निसाबुल साइले टोल पढाइ समुुह सक्रिय भएकोले अब देखि कुनै पनि बालबालिका बिद्यालय बाहिर नरहने तथा बालबालिकाको पढाइ शिप पनि विकास हुने बताउनु भयो ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रम युएसएडको आर्थिक सहयोगमा बाँके युुनेस्को क्लबले बाँकेमा संचालन गरिरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना