आर्थिक समृद्धिको बाटोमा जान भारतसँगको सहकार्य जरुरी छ

नेपाली काँग्रेसको राजनीतिमा लामो समय क्रियाशील भएर लाग्नुभएका दीपकुमार उपाध्याय अहिले गणतन्त्र भारतको राजदूत पदमा पुनः नियुक्त हुनुभएको छ । उहाँलाई नेपाल सरकारले उच्च सम्मान दिँदै मन्त्रिस्तरको राजदूत भनेर नियुक्त गरेको छ । पूर्व मन्त्री तथा नेपालका लागि गणतन्त्र भारतको राजदूत भई कार्य गरिसक्नु भएका कूटनीतिज्ञ उपाध्यायसँग मङ्गलबार गोरखापत्र सहसम्पादक नारद गौतमले गर्नुभएको कुराकानी ःDip-Kumar-upadhyaya

 अब भारतको राजदूत पद सम्हालेपछि यहाँको पहिलो प्रयास के हुनेछ ?
नेपाल र भारतबीच जनताको हृदय हृदयबीचको सम्बन्ध छ ।  त्यसलाई हामीले अझ प्रगाढ बनाउनुपर्छ ।  एक्काइसौँ शताब्दीका उदयमान चीन र भारत दुवै राष्ट्रबीचमा नेपाल छ ।  नेपाल पनि यस्तो अवस्थामा रहनु हुँदैन ।  चीनमा उच्च प्रविधिको प्रयोग बढ्दो छ, भारतसँग हामीलाई भूगोलले यसरी बाँधेको छ, त्यसमा सरकारभन्दा पनि ऐतिहासिक सम्बन्ध गाँसिएको छ ।  आर्थिक समृद्धिको बाटोमा जान भारतसँगको सहकार्य जरुरी छ ।  
 नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई यहाँले कसरी हेर्नु भएको छ ?
अत्यन्त शान्त, मर्यादित र परिणाममुखी कूटनीतिबाट हामी अगाडि बढ्नुपर्छ ।  मर्यादामा हामी अलिक सजग हुनुपर्छ ।  मित्रराष्ट्र चीन र भारतसँग त्यो मर्यादाभित्र रहेर नेपालको स्वार्थ र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर जाने नै हो ।
 पछिल्ला उच्चस्तरीय भ्रमणहरूले के सङ्केत गर्छ ?
विगत १८ वर्षसम्म मित्रराष्ट्र भारतबाट प्रशासनिक तहबाट नेपालसँग कूटनीतिक सम्बन्ध, त्यसैलाई आधार मानेर व्यवहार गरिन्थ्यो भने अब अहिले प्रधानमन्त्री तहमै कुराकानी र भ्रमण भएका छन् ।  जस्तो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई पटकको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्रीहरूको भ्रमण तथा हाम्रो परराष्ट्र मन्त्रीहरूको भ्रमण, दुवै राष्ट्रबाट निरन्तर हुनथालेका भ्रमण भएका छन् ।  अहिले सबै खाले द्विपक्षीय मामिलामा कुराकानी भएका छन् ।  १८ वर्षपछि भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण भएको छ, त्यसले हाम्रो सद्भाव र विश्वासलाई प्रगाढ बनाएको छ ।  यसमा हामीले नेपालको राष्ट्रिय हित र स्वार्थलाई कहिल्यै बिर्सनु हुँदैन ।  
 भारतसँगको सम्बन्धमा बेला बेला उत्पन्न हुने गरेको चिसोपनको दिगो समाधान के हुन सक्छ ?
आपसमा जे कुरा हुन सक्छ, त्यो मात्रै बोल्ने र नबोल्ने कुरा किने बाल्ने ? हामीहरू नै निर्णय गर्छौ र बिर्सर्ने गर्छौ, हामीले द्वैध चरित्र देखाउनु हुन्न, त्यसले कूटनीतिमा समस्या हुन्छ ।  जे सक्ने हो त्यो मात्रै गर्नुप¥यो ।  नेपालको आफ्नो निर्णय भएको हुन्छ, त्यसमा विदेशी हस्तक्षेप भयो भन्नुचाहिँ हीनताबोध र लघुताभास मात्रै हो ।  सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालले संविधानसभामार्फत देशको संविधान जारी गरेका छौँ ।  लोकतन्त्रको सुन्दरता भनेको नै आफैँ सच्चिएर जाने हो ।  जनताका आकाङ्क्षा र समयअनुसार संविधानमा संशोधन गर्दै जाने हो ।  त्यो सामान्य कुरा हो र त्यो नेपालको आन्तरिक मामिला पनि हो ।  त्यसमा अरू कसैलाई जोड्नु आवश्यक नै छैन ।  हामीले प्रतिबद्धता जनाएका कुरालाई हामी आफैँले पूरा गर्दै जाने हो ।  मलाई खुसी लागेको छ, हिजोका हाम्रा निर्णयलाई कार्यान्वयन गर्न समय सीमा नै तोकिएको छ ।  
 भारतसँग गत वर्ष चिसिएको सम्बन्धमा पछिल्ला दिनका पहलले न्यानोपन आएकै हो त ?
मैले पहिला पनि आसपी सम्बन्धमा उतार चढाव आउनु कसैको हितमा छैन र भनेको थिएँ– नेपाली जनताले अकारण दुःख सहनुप¥यो र यो हार्ने खेल मात्रै हो ।  अहिले पनि म त्यही कुरालाई जोड्न चाहन्छु, नेपाली जनताले आफ्नो पैसा तिरेर ग्यास, पेट्रोलियम पदार्थ नपाउने हामी कल्पना पनि गर्न सक्दैनौँ तर भयो ।  अब त्यस्तो कहिल्यै हुँदैन भनेर भारत सरकारले सुनिश्चित गर्नुपर्छ र त्यसको सुप्रबन्ध हामीले पनि गर्न सक्नुपर्छ ।  नेपाल त भारतको पनि एकलौटी बजार हो ।  फेरि हामीले त्यस्तै दुःख पाउने हो भने हामीले पनि विकल्प खोज्नुपर्ने हुन्छ ।  भारतसँगको हाम्रो सीमा तीनतिर जोडिएको छ ।  चीनसँग रेलको सञ्जाल बनाउन सकेको अवस्थामा विकल्प तयार हुन सक्छन् ।  ३६५ दिन नै पारबहनको सुनिश्चतता नेपालले भारतसँग खोज्छ ।  विगतमा नेपाली जनताले पाएको जस्तो दुःख अब फेरि दोहोरिन्न भन्ने नेपाली जनताले आशा गरेका छन् र त्यसको पूर्ण प्रत्याभूति हुनुपर्छ ।  यसले नै नयाँ विश्वासको आधार तयार गर्छ ।  
 नेपालमा सरकार परिवर्तनसँगै कूटनीति पनि बदलिन्छ, यस्तो किन हुन्छ ?
कूटनीति परिवर्तन भएको त होइन ।  परराष्ट्र मन्त्री, प्रधानमन्त्रीले बोल्ने र गर्ने कार्यले पनि द्विपक्षीय सम्बन्धमा भर पर्छ ।  त्यसैले हाम्रो परिभाषित कूटनीति आवश्यक छ र आचारसंहिता पनि पालना हुनुपर्छ ।  प्रत्येक देशसँगको हाम्रो सम्बन्धबारेमा स्पष्टता भयो भने काम गर्न सजिलो हुन्छ ।  त्यसपछि राजदूतहरूलाई पनि काम गर्न सजिलो हुन्छ, व्यक्तिपिच्छे कुरा गर्न थाल्यो भने त्यसलाई व्यवस्थापन गर्न देशलाई पनि कठिन हुन्छ ।  
 यहाँलाई एमाले नेतृत्वको सरकारले फिर्ता बोलायो र त्यही सरकारमा रहेको माओवादीले फेरि नियुक्त गर्नुपर्ने कारण के होला ?
यो राजनीतिक निर्णय हो ।  यसलाई मैले सरल रूपले लिएको छु ।  मभन्दा पनि राम्रो व्यक्ति सरकारले पठाउन चाहन्छ भनेर पहिला मैले सहर्ष रूपमा स्वीकार गरेर फर्कें ।  वर्तमान सरकारले संविधान कार्यान्वयनका जटिलता छन्, त्यसमा बुझेको मान्छे चाहिन्छ, त्यसैले तपाईं नगई भएन भन्ने आग्रह पछि मैले स्वीकार गरेको हुँ ।  हामीले आपसमा मित्रता, सद्भावलाई बिर्सन हुँदैन ।  भारतमा राजदूत पद सम्हाल्नुभनेको सबैको ज्ञान योग्यता, क्षमता, अनुभव एक ठाउँमा राखेर नेपाललाई अब यो बाटोबाट जाँदाखेरि आर्थिक समृद्धिमा जान सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ र त्यसमा चीनलाई कतै पनि सशङ्कित नगराइकन त्यो सहयोगमा विश्वास जित्न सकिन्छ भन्ने अपेक्षा मैले गरेको छु ।  
नेपालको संविधान संशोधनमा भारतको बढी चासो रहेको पाइयो होइन ?
हामीमा अलि बढी नकारात्मक सोच भयो भन्ने मलाई लाग्छ ।  समस्या हाम्रो हो ।  नेपालको संसद्मा संविधान संशोधन गर्नुभन्दा अगाडि नै रोष्ट्रममा उभिएर नेताहरूले व्यक्त गर्नुभएका प्रतिबद्धता छन् ।  दुई वटा विषयमा संविधान संशोधन पनि गर्न सफलता मिल्यो ।  अरू पनि समझदारी वा प्रतिबद्धता व्यक्त भएका छन् ।  आफूले प्रतिबद्धता दर्शाएका आफ्ना कुरामा आफूले समाधान गर्न नगएर अरूलाई दोष लगाउने कुरा चाहिँ अतिकति मिलेको छैन ।  हामीले यसको समाधान देशभित्र नै खोज्नुपर्छ ।  त्यसपछि छिमेकी राष्ट्र र विश्वको हामीलाई सहयोग नहुने भन्ने प्रश्न नै छैन ।  
भारतमा बसोबास गर्दै आएका नेपालीका समस्या के कस्ता छन् र समाधानार्थ कस्ता प्रयास गरिने छन् ?
मेरो पहिलो १३ महिनाको कार्यकालमा डिजिटल डाटावेश बनाउने, हेल्पडेक्स खडा गरेर भारतीय भूमिमा रहेका नेपालीलाई कुनै बेला समस्या प¥यो भने तत्काल के सहयोग गर्न सकिन्छ भनेर सुरु गरिएको थियो तर ती कुरा अधूरै रहे ।  ती कुरालाई अब फेरि अगाडि बढाउने छु ।  खास गरेर नेपालसँग जोडिएका चार वटा प्रान्तलाई सीमा वारपार हुने आतङ्कवादी क्रियाकलाप रोक्न, स्थानीय समस्यालाई न्यूनीकरण गर्न, विकास निर्माणका कार्यलाई अगाडि बढाउन जनस्तरबाटै छलफल गरेर समाधान गर्ने र पब्लिक डिप्लोमेसीलाई अगाडि बढाउने कार्ययोजना मैले मन्त्रालयका पेस गरेको छु ।  यो हामीले चाहेर मात्रै पनि हुँदैन ।  परराष्ट्र मन्त्रालयको सहयोग, बजेटको व्यवस्था र विश्वासको आवश्यकता पर्छ ।  यो कुरालाई मैले सम्माननीय प्रधानमन्त्री र मन्त्रीज्यूहरूसँग राखेको छु ।  यस विषयमा हामी सकारात्मक हिसाबले अगाडि बढ्ने छौँ ।  
नेपालको सम्बन्ध भारत र चीनसँग समदूरीमा हुनुपर्छ भनिन्छ, व्यावहारिक रूपमा यो कत्तिको सम्भव छ ?
भूगोलले निर्धारण गरेका सीमा छन्, त्यसभित्र हामी बस्नुपर्छ ।  मसँगको भेटमा चिनियाँ मित्रहरूले यही भन्ने गर्नु हुन्छ कि तपाईंहरूको भूगोलले नै ३६५ दिन नै आपूर्ति (सप्लाई) खोज्छ ।  चीनसँग त्यो कठिन छ ।  भोलि गएर पाइप लाइन बनाएर तेल आपूर्ति गर्न सकेको खण्डमा र रेलसँगको सञ्जालमा नेपाल जोडिएपछि आपूर्ति अलि सहज होला तर अहिले सम्भव छैन ।  उहाँहरूले सामाजिक विकास, पूर्वाधार विकास जति सहयोग चाहिन्छ, रेल निर्माणका लागि प्राविधिक सहयोग चाहिएला त्यसमा हामी सहयोग गर्न तयार छौँ भन्नुभएको छ ।  अहिले मित्रराष्ट्र भारतमा पनि चिनियाँ प्रविधिको बुलेट टे«नको निर्माण कार्य सुरु हुँदैछ ।  त्यसमा नेपालीले पनि लाभ किन नलिने ? त्यस्तै मित्रराष्ट्र भारतले पनि सिमानामा गाडी कुदाउने योजना गरेको छ ।  यस्ता कुरामा हामी द्विविधामा पर्नु हुन्न ।  भारतबाट सामान आपूर्तिका बारेमा नेता र सरकारले बनाएको भन्दा पनि हाम्रो संस्कृति, रीतिरिवाज, परम्पराको सम्बन्धलाई हामीले प्रगाढ बनाउँदै लगेर हाम्रो मूल एजेण्डा भनेको आर्थिक समृद्धि नै हो ।  व्यापार घाटालाई कम गर्ने र आर्थिक कूटनीतिलाई सफलतासाथ अगाडि लैजाने हो, त्यसमा भारत सरकारको पूर्ण सहयोग र विश्वास आर्जन गर्नैपर्छ ।  
 नेपाल भूपरिवेष्टित मुलुक भएकाले अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न भारतको सहयोग जुटाउन तपाईंको कस्तो भूमिका रहला ?
व्यावहारिक रूपमा हामी तीन दिशाबाट त हामी भूपरिवेष्टित थियौँ तर पनि हामी भारतबाट वेष्टित छौँ ।  भूपरिवेष्टित राष्ट्रले पाउने अधिकार पाउनु हाम्रो नैसर्गिक अधिकार हो ।  विकल्प बनाउन समय लाग्ला ।  भारतसँग क्रसबोडर ट्रान्समिटर लाइन खुलेको छ ।  नयाँ योजना बनाउँदा खेरि हामी किन भूपरिवेष्टित हुने ? कर्णालीदेखि लिएर कोसीसम्म नेपालले रेगुलेट वाटरमा कहाँ कहाँसम्म जहाज ल्याउन सकिन्छ, त्यसमा सर्वेक्षण किन नगर्ने ? त्यस विषयमा पनि मैले भारत सरकारको सकारात्मक धारणा पाएको छु ।  २१औँ शताब्दी भनेको पानीको शताब्दी हो ।  फ्रेस वाटरमा हामी त धनी छौँ ।  भारतले यी कुरामा अनुभूत गरेर नेपालसँग पनि विश्वको परिवेशमा अन्तर्राष्ट्रिय परिस्थिति हेरेर नेपालसँगको समस्या टुङ्ग्याउनुपर्छ भन्ने सोच भारतको पनि छ ।  हामीले पनि नेपालको हितलाई ध्यानमा राखेर त्यसमा अगाडि बढ्नु श्रेयष्कर हुन्छ ।  
 दुई देशबीचका सीमा, एकतर्फी निर्माण कार्य, सन्धि सम्झौतालागयतका विषयमा पनि भारतसँग यहाँको पहल रहला नि ?
मैले व्यक्तिगत रूपमा दुवै सरकारलाई सल्लाह दिने हो ।  सीमाका बारेमा डिजिटल सर्वेक्षणको काम प्रशासनिक रूपमा करिब सकिएको छ ।  एक तहबाट त्यो काम अगाडि बढेको छ ।  सुस्ता र कालापानीको विषय उठ्छ, त्यसलाई हामीले दुवै देशका परराष्ट्र सचिवस्तरमा कुरा गर्ने भनिसकेका छौँ ।  त्यसलाई पनि अगाडि बढाएर टुङ्ग्याउनुपर्छ ।  भारत र बङ्गलादेशबीच त्यत्रो समस्या थियो, लिएर दिएर त्यो समाधान भयो त्यसैगरी हामीले पनि लेनदेन गरेर भए पनि सीमाको समस्या समाधान गर्नुपर्छ ।  कालापानीको विषयमा चीनसँगको कुरा पनि जोडिएर आएको छ, यसलाई हामीले सामाधान गर्नुपर्छ ।  
 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणको क्रममा नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारीको प्रस्ताव गर्नुभएको छ, यो कत्तिको सम्भव छ त ?
भारत र चीनबीचमा अहिले अत्यन्त ठूलो व्यापार मात्रा बढिरहेको छ ।  लगानी र प्रविधिको साझेदारीमा काम भइरहेका छन्, जति सम्बन्ध प्रगाढ हुन्छ ।  चीनबाट पनि हाम्रो सीमासम्म रेल र सडक ल्याउने कुरा भएको छ, त्यसलाई भारतसँगको सीमासँग जोड्न सकेको अवस्था र भारतबाट पनि नेपाली भूमिसम्म रेलमार्ग जोडेका अवस्थामा त्यो समयले नै गराउँछ ।  लागतको बचत र समयको बचत हुन साथ समयले आफैँ जोड्छ ।  एकले अर्कालाई कतै पनि संशय नहुने किसिमले हामी हाम्रो आर्थिक समृद्धिका लागि तत्पर छौँ ।  सम्पन्न चीन र सम्पन्न भारतबीच गरिब नेपालको अस्तित्व तपाईंहरूलाई पनि स्वीकार्य होला र भनेर जाँदा खेरि समयले आफैँ बनाउँछ ।  
 अन्त्यमा यहाँलाई थप केही भन्नु छ कि ?
हामीले नेपालका समस्या बुझिसक्यौँ अब समाधानका लागि अत्यन्त सकारात्मक सोचका साथ अगाडि जानुपर्छ ।  हामीले कुनै पनि लघुताभास र हीनताबोध राख्नु जरुरी छैन ।  हामीले आफ्ना समस्यालाई पहिचान गरिसकेपछि समाधानका उपायलाई केस्रो केस्रा केलाएर यसलाई हामीले राष्ट्रिय सोच र एकता बनाउनुपर्छ ।  नेपालको भलो चाहने सबैको असल सद्भाव आर्जन गर्न सक्नुपर्छ ।  राष्ट्रको गौरवगाथालाई अक्ष्क्षुण राख्दै सबैको सहयोग र सद्भावले देशको भलो होला भन्ने मैले विश्वास लिएको छु ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना