बूढानीलकण्ठमा पाँचदिने एकादशी मेला सुरु





काठमाडौँ,  कात्तिक २५ गते । विश्वमै सबैभन्दा ठूलो कलात्मक हरि र हरले युक्त ढुङ्गाको मूर्ति रहेको बूढानीलकण्ठमा आजदेखि पाँचदिने मेला सुरु भएको छ ।

बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भएपनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको छ ।

यो समयमा यस क्षेत्रमा सक्रिय संस्थाले सामूहिक रुपमा विशेष मेला चलाउने गरेका छन् । यसका लागि सबै संस्थाको प्रतिनिधित्व हुने गरी एकसय एक सदस्यीय हरिबोधनी एकादशी मेला सञ्चालन मूल समारोह समिति नै गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक धनबहादुर खातीले बताउनुभयो ।

मेलाकै अवसर पारेर कात्तिक २३ गते मङ्गलबारदेखि सातदिने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि सुरु गरिएको समितिका संयोजक एवम् बूढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाले जानकारी दिनुभयो । सप्ताहमा बूढानीलकण्ठको महत्व बुझाउने जानकारीमूलक प्रवचन पनि भइरहेको छ ।

कात्तिक २९ गतेसम्म सञ्चालन हुने हरिबोधिनी एकादशी मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन भइरहेको छ । आषाढ शुक्ल पूर्णिमाका दिन क्षीर सागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुनुहुने भएकाले यो एकादशीलाई हरिबोधिनी भनिएको हो । यो चार महिनाको समयलाई चतुर्मास पनि भनिन्छ । यस समयमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

बूढानीलकण्ठ नारायणस्थान नेपालमा पशुपतिनाथपछि सबैभन्दा धेरै भारतीय धार्मिक पर्यटक आउने तीर्थस्थल हो । हरि र हर एउटै मूर्तिमा रहेको विश्वकै अलौकिक बूढानीलकण्ठमा आज बिहानैदेखि भक्तजनको भीड लागेको बूढानीलकण्ठ नारायणस्थान मठका महन्त निगमानन्द स्वामीले बताउनुभयो ।

बिहीबार स्मार्तहरुको र शुक्रबार वैष्णवहरुले मान्ने एकादशी परेकाले दुवै दिन बूढानीलकण्ठमा भक्तजनको भीड लाग्छ । उपत्यकाका चार नारायण दर्शन गर्न नसक्नेले बूढानीलकण्ठ मात्र दर्शन गर्दा पनि चार नारायणको दर्शन गरेको फल प्राप्त हुने विश्वास छ । रासस
–––––––

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना