बौद्ध स्तुपा पुनर्निर्माणको पाठ

Keshav Adhikaryकेशव अधिकारी



वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले बौद्धधर्मावलम्बीहरूको आस्था र विश्वासको केन्द्र मानिने, विश्व सम्पदा सूचीमा सूचीकृत भएको बौद्ध स्तुपा पनि भत्केर भग्नमा परिणत भयो  ।  विश्व सम्पदा सूचीमा परेका धरोहरहरूको संरक्षण, पुनर्निर्माणजस्ता कार्यमा विश्व नै लागिपरेको हुन्छ ।  यसै कुरालाई ध्यानमा राखेर होला बौद्ध स्तुपाको पुनर्निर्माणको लागि पनि स्थानीय जनता, बौद्धनाथ क्षेत्र विकास समितिले केही समय पर्खे र बाटो हेरेका थिए तर त्यसको पुनर्निर्माणमा सरकार उदासिन रहेको र बनाऔँला नि भन्ने आश्वासन मात्र आउने गरेपछि बौद्धनाथ क्षेत्र विकास समितिको पहल र स्थानीय बासिन्दाको समन्वयमा २०७३ सालको जेठ महिनादेखि बौद्ध स्तुपाको पुनर्निर्माणको काम थालनी भएको थियो ।  
इच्छाशक्ति र सक्रियता भयो भने के गर्न सकिन्न र ? २३ करोड रूपियाँको लागतमा बौद्ध स्तुपाको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ ।  अब यही मङ्सिर महिनाको ७ गते मङ्गलबार उक्त स्तुपाको उद्घाटन गर्ने तयारी गरेको छ बौद्धनाथ क्षेत्र विकास समितिले ।  
बौद्ध स्तुपाको माथिल्लो भागमा सुनको मोलम्बा लगाउनुपर्ने रहेछ, त्यसको लागि करिब ३० किलो सुन प्रदान गरेर पुण्य कमाउने दाता पनि फेला परे ।  लाखौँ रूपियाँ लागत बराबरको जनश्रमदान पनि जुट्यो ।  जसले पुनर्निर्माणको पहल गरेका थिए, उनीहरू रातदिन खटिरहे ।  स्तुपाको लागि दाताले दिएको धनराशीमा थोरै पनि ¥याल चुहाउने काम गरेनन्, बरु त्यसको साटो चुस्त र दुरुस्त रूपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने स्वच्छ मानसिकताले काम गरे ।  कतिले आफ्नो गास कटाएरै पनि स्वस्फूर्त रूपमा आर्थिक र श्रमको सहयोग गरे ।  यसरी सबैको स्वच्छ मानसिकताको सहयोगबाट करोडौँको आस्थाको प्रतीक र ऐतिहासिक वा धार्मिक धरोहर बौद्ध स्तुपाको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ ।  
बौद्ध स्तुपा बाहेकका अरू पनि धेरै धरोहर भूकम्पले भत्केर भग्नावशेषको परिणत भएका छन् ।  तिनको पुनर्निर्माणको काममा सरकार स्वयंले तदारुकता देखाउनुपर्ने हो तर सरकार उदासिन बनेको आम नागरिकले महसुस गरिरहेका छन् ।  काठमाडौँ सहरको मुटुमै रहेका ऐतिहासिक धरोहर धरहरा, काष्ठमाण्डप, वसन्तपुर दरबार, स्वयंभूनाथको स्तुपा आदि धेरै धरोहर पनि क्षतिग्रस्त भए ।  स्थानीयहरूले सरकारले निर्माण गरिदेला कि भनेर पर्खेर बाटो कुर्दैछन् तर स्थानीय जनता सक्रिय भएर हाम्रो धरोहर हामी आफैँ बनाउन सक्छौँ भन्ने आँटका साथ तयार पर्ने र सहयोगको लागि हात फैलाउने हो भने करोडौँ रुपियाँको बिटो नभए पनि पुनर्निर्माण गर्न नसकिने होइन ।  पुर्खाले आफ्ना बाटाघाटा, पँधेरो, चौतारी पोखरी, मन्दिर आफैँ बनाउँथे, यस्ता सार्वजनिक महŒवका वस्तु निर्माण गर्दा धर्म हुन्छ भन्ने बलियो धारणा थियो ।  आजका हामी मान्छे शरीर बढेर निकै अग्ला त भयौँ तर सोच विचार, सद्भावजस्ता कुरामा भने अझै पुड्किँदै गएका छौँ ।  
विगतमा त्यति फोहोर भएको बागमती नदी हजारौँ जनताले स्वस्फूर्त रूपमा साथ दिएर आज पनि सञ्चालित सफाइ अभियानका कारण आजको बागमती निकै सफा, सुन्दर र हराभरा बन्दै गएको छ ।  यसै उदाहरणलाई लिएर धरहराको पुनर्निर्माणको अभियान (म बनाउँछु मेरो धरहरा) आरम्भ गर्ने हो भने काठमाडौँ उपत्यका बाहिरबाट पनि जनशक्ति आएर निःशर्त रूपमा श्रम गर्न इच्छा गर्छन् तर विभिन्न बहानामा पुनर्निर्माणको काममा ढिलाइ भइरहेको छ ।  यदि स्वचित्तले बनाउन खोज्ने हो भने करोड होइन, अर्ब रूपियाँको सहयोग र श्रमदान पनि खुसी खुसी उपलब्ध भइरहनेछ ।  भएर पनि छैन भन्नेलाई, सकेर पनि सक्तिन भन्नेलाई त ईश्वरले पनि त्यस्तै पु¥याउँछ भनेर हाम्रा धर्मशास्त्रले बताएका छन् ।  त्यसैगरी हाम्रो सरकार र अन्य सरोकारवालाहरूले पुनर्निर्माणमा देखाएको उदासिनता उन्नतिको कारक हुन सक्दैन ।  केवल अवनतितिर भासिने बाटोमात्र हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना