उपत्यकाका दुःखनाशक देवस्थल

saroj acharyaसरोज आचार्य

मन्दिरै मन्दिरले भरिएको मुलुक नेपालमा विभिन्न देवपीठ छन्, जसको आ–आफ्नै विशेष महŒव छ ।  कतिपय यस्ता देवस्थल शक्ति साधना, शिवसायुज्य प्राप्ति, मनोरथको कामना, शान्ति अमनचैन प्राप्ति र अनुरागसँग जोडिएका छन् ।  कतिपय यस्ता देवस्थलको उद्भव अनौठा विश्वाससँग जोडिएका छन् ।  विश्वास अविश्वासको खाडलबीच पनि यी स्थलले आफ्नो महŒव दर्शाइरहेकै छ ।  वैज्ञानिक तथ्य र प्रमाणका आधारमा विश्वास गर्नेहरूको सङ्ख्या बढे पनि यस्ता देवस्थलप्रतिको अगाध आस्था टाढा पुगिसकेको छैन ।  काठमाडौँ उपत्यकाका यस्ता देवस्थलका बारे जानी राखौँ ।
चन्द्र विनायक र जात्रा
कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने चाबहिल गणेश भनिने चन्द्र विनायकको जात्रा सरकारी पूजासहित धुमधामका साथ मनाउने तयारी भएको छ ।  अमालकोट कचहरी कार्यालयका द्वारेले सिन्दुरे पूजा गरेर सगुन लिनुपर्ने यी चन्द्र विनायक घाउ, खटिरा, खत्, दाद लगायतका खत् रहने वा नरहने चर्म रोग निको पार्ने देवताका रूपमा पुजिन्छन् ।  रक्त विनायक पनि भनिने यी विनायक खास गरी रक्तविकार निवारक देवताका रूपमा पुजिने गरेका छन् ।  यहाँ फलामको सियो चढाइ अर्चना गरेमा यस्ता चर्म रोग निवारण हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।  राजा चन्द्रदेवका शासनकालमा विदेशबाट आएका सैन्यले देवपत्तनमा आक्रमण गरेपछि चन्द्रदेवबाट पशुपतिनाथको आराधना भयो, पशुपतिनाथबाट चाबहिलमा रहेका यी गणेशको आराधना गरेमा बिघ्न हट्छ भन्ने सूचना पाएपछि यिनै विनायकको आराधनाबाट शत्रुपक्षको एक्कासी मन बदलिन गयो र आक्रमणबाट गुमेका सबै कुरा फिर्ता पाएको किंवदन्ती यो विनायकसँगको जोडिएको पाइन्छ ।  यिनै चन्द्रदेवले विनायकको नाम अगाडि आफ्नो नाम जोडेर चन्द्र विनायक गराएका हुन् ।  यसै क्रममा कालान्तरमा भक्तपुरका राजा भूपतिन्द्र मल्लकी रानीले पशुपतिनाथको विशेषपूजा गरेर विनायकमा स्वर्ण कवच अर्पण गरेर कार्तिक शुक्ल पूर्णिमाका दिन र भोलिपल्ट प्रतिपदाका दिन चन्द्र विनायकको जात्रा चलाउन लगाइन् ।  विनायकको आराधनाबाट घाउ खटिरा निको भएका जात्रामा सहभागी हुने प्रचलन रहे पनि अचेल चाबहिलवासीको जात्रा व्यवस्थापन समितिले यो जात्रा चलाउँदै आएको छ ।  जात्राका क्रममा गुह्येश्वरी मन्दिर छेउको बागमतीतटमा भोजभतेरका साथ जात्रा हुन्छ ।
सूर्य विनायक
भक्तपुरबाट आधाकोश दक्षिणमा सूर्य विनायकको मन्दिर अवस्थित छ ।  सूर्य विनायक रहेको उच्च स्थान पूर्वाभिमुख रहेकोले सूर्यको पहिलो किरण यहाँ पर्छ, यसैले यी विनायक सूर्य विनायक नामबाट प्रसिद्ध छन् ।  बोली नफुटेका बालबालिकालाई यहाँ ल्याइछोड्दा बोली र वाक्य फुट्छ भनिन्छ ।  उमेर अनुसार बोली नफुटेका बालबालिकालाई अभिभावकले विशेषपूजा गराउने यहाँ चलन छ ।  माघ महिनाको मङ्गलबार र चतुर्मासको मङ्गलबार यस्ता बालबालिकालाई यहाँ ल्याउने पुरानो चलन भए पनि अचेल जुनै दिन पनि बोली नफुटेका बालबालिकालाई यहाँ अर्चनाका लागि ल्याइन्छ ।
घोडेनाग
काठमाडौँको शोभा भगवती पीठ आसपासको भचाखुसीमा रहेको घोडेनागले जनै खटिरा, दादुरा, ठेउला र छाला पाकेर चिलाउने रोग निको गर्छन् भन्ने जनविश्वास छ ।  यहाँ द्योला समुदायका पुजारीबाट नागको पूजा हुन्छ ।  भचाखुसीको ढुङ्गे पहरामा रहेको यो घोडेनागलाई नागपञ्चमीमा पूजन गरेमा छालासम्बन्धी रोगले दुःख दिँदैन भन्ने जनविश्वास छ ।  शरीरमा रोग देखिएमा अन्य दिन पनि स्तुति गर्न सकिन्छ ।  कतिपय जोखना हेर्ने, झारफुक गर्ने सहरका अजि (तान्त्रिक) ले यस्ता रोगमा आफ्नै आसनमा झारफुक गरेर घोडेनागमा पूजा बिसर्जन गर्ने गर्छन् ।
कानेदेउता
काठमाडौँ र ललितपुर जोड्ने बागमती नदीसँगैको कोपुण्डोल मूल सडकमै यी कानेदेउता छन् ।  कानमा पिप जम्ने, कान नसुन्ने, कान चिलाइरहने, कानमा झ्वाँ... आवाज आइरहने भएमा कानेदेउताको पूजा गर्ने चलन छ ।  काठमाडौँका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच विमति हुँदा एक राजाले अर्का राजाको गोप्य कुरा यिनै काने देउतामा कान थापेर सुन्थे भनिन्छ ।  जामुना गुभाजु र तान्त्रिक विश्वनाथ यी राजाका आ–आफ्ना गुप्तचर थिए ।  श्रीनिवासले आफ्ना गुह्यकुरा राजा प्रताप मल्लले यिनै कानेदेउतामा कान थापेर पत्ता लगाएको भेउ पाएपछि श्रीनिवासले कानेदेउताको कान बटारिदिएको र बटारिएको कानबाट प्रताप मल्लका गुह्य योजना श्रीनिवासले थाहा पाउने गरेका थिए भन्ने कथन सुनिन्छ ।  तन्त्र साधनाबाट सूचना प्रवाह गराउन सक्ने यी कानेदेउतामा पछाडि कानका बिरामीले कान थापेर रोग निवारणको कामना गर्ने चलन बसेको हो ।  कर्णप्रताप भनिने यी देउताको कानलाई संस्मरण गर्ने गरी यहाँ कानको ठूलो प्रतिमा बनाइएको छ ।
ज्वरेश्वर
पशुपतिनाथ मन्दिर परिसरमा रहेको ज्वरेश्वरमा पूजा अर्चना गर्दा ज्वरो निको हुन्छ भनिन्छ ।  शरीरको तापक्रममा निकै उतारचढाव आएमा ज्वरेश्वरमा जल अर्पण गर्ने चलन छ ।  कालाजार, टाइफाइड र सामान्य खाले ज्वरोको बिरामीको आस्थाको केन्द्र ज्वरेश्वर हुन् ।  महाशिवारात्रिमा ज्वरेश्वरको आराधना गरे वर्षैभरि ज्वरो आउँदैन भन्ने जनविश्वास रहिआएको छ ।  
हारतीमाता स्वयम्भू
केटाकेटी चोरेर राख्ने यक्षणीले निकै पिरलो पारेपछि भगवान् बुद्धले यक्षणीका साथमा रहेका थुपै्र केटाकेटीमध्ये यक्षणीलाई मनपर्ने बच्चा हरण गरिदिए ।  सवक सिकाउने खालको बुद्धको यो कार्यले यक्षणी विलापमा भौतारिन थालिन् ।  बुद्धले तिम्रा एउटा बच्चा हराउँदा यत्रो विलाप गर्छौं अरूको बच्चा लुकाएर राख्दा उनीहरूलाई कति पिरलो भयो
होला ? यही विचार गर, बालबच्चाको रखवारी गर भनिदिएपछि यक्षणीले यसको पालना गरिन् ।  यिनै बुद्धबाट हारतीमाता कह लाएर केटाकेटी हरण नगर्ने बरु संरक्षण गर्ने गरेकी भन्ने कथन छ ।  यहाँ आफ्ना बालबच्चालाई पिरलो नपरोस् भनेर पूजा गर्ने चलन छ ।  लिच्छवि राजा वृषदेवले हारतीमाताको यहाँ भव्य मूर्ति बनाएको इतिहासमा उल्लेखित छ ।  
भाटभटेनी
यक्ष, पिचास, भूतप्रेत, राक्षस, कुष्मान्डा, डङ्कीनी, ब्रह्म राक्षस आदि नरपिचासले दुःख दिएमा भाटभटेनीको पूजा गर्ने चलन छ ।  आफ्नो घरमा डेरा बस्नेको नासो भाटभटेनीले पचाइदिएकोले यी भाट र भटेनीको सन्तानलाई गरुडले हरण गरेर लग्यो र नासो पचाउनेको यो धर्तीमा बास नहोस् भन्ने श्राप परेकोले भाटभटेनीलाई झुन्डिएर रहनुपरेको कथन छ ।  यहाँ भाटभटेनीको पूर्णकदको मूर्ति मन्दिरभित्र झुण्डिएको अवस्थामा देख्न पाइन्छ ।  दिएको ऋण असुल्न, लिनुपर्ने फिर्ता धनमाल तुरुन्त फिर्ता पाउन यहाँ अर्चना गर्ने चलन छ ।  आफ्ना बालबच्चालाई कसैले हरण नगरोस् भनेर पनि यहाँ कामना गर्ने चलन छ ।
खञ्जनेश्वर
मुलुकको दक्षिण फर्किएको सम्भवतः एकमात्र शिवलिङ्ग जलद«ोणी हो ।  जयबागेश्वरीस्थित अमालकोट कचहरी परिसरमा रहेको यो शिवलिङ्ग भू–सतहबाट करिब चार फिट तल छ ।  अनौठो प्रकारले कुनै फलिफापको कामना गर्नुपर्दा यी महादेवको गोप्य पूजन गर्ने चलन छ ।  उल्कालाभ गराउने, बित्याँसबाट उम्काउने देवताका रूपमा खञ्जनेश्वरलाई लिइन्छ ।  दक्षिण दिशातर्फको हवाइयात्रा वा अन्ययात्रा शुभहोस् भन्ने कामना यहाँ गरिन्छ ।  
मनमैजु
बालाजु र बिष्णुमतीबीचमा रहेको मनमैजुको आफ्नै गाथा छ ।  जीतपुर गाउँकी यी मनमैजु बिष्णुमती र महादेवखोलाको दोभानमा
तपस्यारत थिइन् ।  भगवान् इन्द्र प्रशन्न भई बर माग्न अनुरोध गर्दा मनमैजुले स्वर्गका राजा इन्द्रसँगै विवाह बन्धन होस् भन्ने माग गरिन् ।  इन्द्र राजी भई मनमैजुसँग विवाह बन्धनमा बाँधिए ।  मनमैजु कुरूप थिइन् ।  स्वर्ग जस्तो अति सुन्दर ठाउँमा कुरूप पत्नीलाई लैजान नसुहाउने ठहर गर्दै इन्द्रले मनमैजु भई सबैको स्तुत्य भइरहनु भनेर मनमैजुलाई छाडी स्वर्ग गए ।  यसैबेलादेखि मनमैजु यहीँ रहिन् भन्ने किंवदन्ती छ ।  अनुहारमा पोतो आएको, कुरूप र शरीर अनुसार अनुहारको वर्ण नमिलेकाले यहाँ आराधना गरे अनुहार सुन्दर हुन्छ भन्ने जनविश्वास छ ।  राजा गीर्वाणयुद्धविक्रम शाहले वि.सं. १८५८ मा आफ्नी जेठी रानीको सम्झनामा यहाँ गुठी स्थापना गरेर पूजा लगाएको इतिहास छ ।  
स्वयम्भू शिला
स्वयम्भूको उत्तर फेदीमा रहेको शिलामा ढाड अडेस लगाउँदा ढाड दुखेको र गर्दन अररो भएको निको हुन्छ भन्ने विश्वास छ ।  बिहान र साँझपख गर्दन अररो भएका र ढाड कम्मर दुख्ने रोगबाट ग्रस्त बिरामी यही शिलामा एकाध घण्टा ढाड बिसाउँछन् ।  स्वयम्भू परिक्रमा गर्ने दैनिक एकतिहाई मानिस शिलामा ढाड ढेप्क्याउँछन् ।  
महामृत्युञ्जय
जयबागेश्वरीबाट ताम्रेश्वर जाँदा आउँदा बीचमा रहेको महामृत्युञ्जयले सिधै अकाल मृत्युबाट बचाउँछन् भनिन्छ ।  अस्पतालको आकस्मिक र आइसियू कक्षमा आफन्त रहेकाको नाममा यहाँ अर्चना गर्ने गरिन्छ ।  सवारी दुर्घटनाबाट अचेत भएका आफन्तले यहाँ अर्चना गर्ने चलन छ ।
बाङ्गेमुढा
काठमाडौँको ढोकाटोलबाट नरदेवी वा असनबाट रक्तकाली आवागमन गर्दा एउटा भित्तामा टेढोमेढो काठको मुढामा प्रशस्त किला ठोकिएको देख्न पाइन्छ ।  दाँत दुखेकाले यो मुढामा किला ठोक्दा दाँत दुख्न निको हुन्छ भन्ने जनविश्वास छ ।  गिँजा पाकेको, कुटपिट वा दुर्घटनामा परेर दाँत झरेको, बालबालिकाको दूधे दाँत झरेर नयाँ पलाउने क्रम रहेको अवस्थामा यो मुढामा किला ठोक्ने चलन छ ।  मुढामा किलै किलाले ठाउँ ओगटेकोले नयाँ किला ठोक्ने ठाउँ नभएर अचेल दन्तपीडितले मुढामा ढोग्ने र फूल, प्रसाद चढाउनेसम्म भइरहेको छ ।  यो क्षेत्रमा दाँत उपचार सम्बन्धी धेरै चिकित्सा केन्द« र पसल पनि छन् ।  दाँतमा सुनको पाता जड्ने, फुस्किएको दाँतमा सुनको दाँत राख्ने, दाँत चम्काउने, उछिट्टिएको दाँतलाई रेती गरी मिलाउने, दाँतलाई ठोकठाक र तारले कस्ने लगायतका कार्य यो क्षेत्रमा हुने गरेको छ ।  उमेर पुगी सबै दाँत झरेकाले पनि नक्कली गिँजासहित ३२ वटै नक्कली दाँत जोड्न यहाँ आउने गर्छन् ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना