राजनीतिक सहमतिमा संविधान संशोधन हुन्छ–अर्थमन्त्री महरा

टीकाबहादुर बस्नेत, दाङ, कार्तिक २७ गते । अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ ।

प्रेस सेन्टर दाङले शनिबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महराले सहमतिका लागि सत्ता पक्षीय र प्रतिपक्ष दलहरुसँग छलफल थालिएकाले अबको केही दिनभित्रै संविधान संशोधन हुने बताउनुभएको हो । संविधान संशोधनका लागि सरकारले गृहकार्य थालेको भन्दै अर्थमन्त्री महराले संविधान कार्यान्वयनका लागि संशोधन अनिवार्य भएको बताउनुभयो ।

‘अबको केही दिनभित्रै संविधान संशोधन हुन्छ । सरकारले संविधान संशोधनको प्रक्रिया थालिसकेको छ । सिमाङ्कनको प्रस्ताव गरेका छौं ’, अर्थमन्त्री महराले भन्नुभयो, ‘राजनीतिक सहमतिका लागि सरकारले पहल थालिसकेको छ । प्रधानमन्त्री ज्यूले सत्ता पक्षीय र प्रतिपक्ष दलहरुसँग छलफलको प्रारम्भर गरिसक्नुभएको छ । अबको केही दिनभित्रै संविधान संशोधन हुन्छ ।’

सरकारको पहिलो काम संविधान कार्यान्वयन भएको भन्दै उहाँले दलहरुका बीचमा सहमति कायम नहुँदा संविधान कार्यान्वयन गर्न कठिनाई उत्पन्न भएको बताउनुभयो । भारतीय नोटमा कडाई भएपछि नेपाली अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै अर्थमन्त्री महराले सरकारले भारतीय नोट साट्ने व्यवस्था मिलाउने तयारी गरेको बताउनुभयो ।

‘भारतीय ५०० र १००० का नोट नसाट्ने भारत सरकारले निर्णय गरेपछि त्यसको असर नेपाली अर्थतन्त्रमा परेको छ’, अर्थमन्त्री महराले भन्नुभयो, ‘सरकारले नेपाली व्यापारीहरुसँग भएको भारतीय रकम साट्ने व्यवस्था मिलाउँदै छ । जसका लागि राष्ट्रबैंकले प्रक्रियाको थालनी गर्दैछ ।’

अर्को एक प्रसंगमा बोल्दै अर्थमन्त्री महराले लोकमान प्रकरणको निर्णय संसदले गर्न बताउनुभयो । महाअभियोग प्रस्ताव संसदमा दर्ता भइसकेकाले यस बारेमा सरकारले कुनै प्रतिक्रिया नदिने भन्दै उहाँले सांसदहरुले उचित निर्णय गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

सात प्रदेशको केन्द्र तोक्ने तयारी भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘प्रदेशस्तरमा उच्च अदालत स्थापना गरिसकेपछि अब सरकारले केही दिनमै प्रदेशको केन्द्र तोक्ने तयारी गरिरहेको छ । केन्द्र तोक्दा भोलिको सम्भावना हेरेर केन्द्र तोक्छौं ।’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना