विश्व मधुमेह दिवस: बिरामीले हेलचक्र्याइँ गरे घातक रोगको सिकार

सरोज ढुङ्गेल

काठमाडौँं, कात्तिक २९ गते ।  मधुमेह भएका बिरामीमध्ये अत्यधिक मानिसलाई अन्य विकराल रोग देखापर्ने गरेको छ ।  मधुमेहका बिरामीले हेलचक्र्याइँ गर्दा मिर्गौला खराब हुने, पक्षघात, अन्धोपन तथा खुट्टा काट्नुपर्नेसम्मका अवस्था आउने चिकित्सकहरूले बताएका छन् ।  मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै देखापर्ने मधुमेह पछिल्लो समय युवापुस्तामा देखा पर्ने गरेको छ ।  
 वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले भन्नुभयो, “पहिले पहिले ५० वर्ष उमेर नाघेकाहरूमा मधुमेह देखिन्थ्यो, पछिल्लो समय ३० वर्षका युवायुवती पनि मधुमेहको सिकार बन्ने गरेका छन् । ” मधुमेह विशेषज्ञ डा. भट्टराईले नेपालमा मधुमेहका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको भन्दै नियन्त्रणका लागि सन्तुलित आहार तथा शारीरिक व्यायाम अपनाउन सुझाव दिनुभयो ।
विकसित देशमा देखिने मधुमेह रोग अहिले विकासोन्मुख देशमा बढ्दै गएको छ, भट्टराईले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा १० प्रतिशत मानिसमा मधुमेह देखिएको छ । ” नेपालमा करिब १० लाख मानिसमा मधुमेह रोग देखापरेको भन्दै डा. भट्टराईले मधुमेहबाट बच्न योग, सन्तुलित आहार, दैनिक एक घण्टा हिँड्नुपर्ने बताउनुभयो ।  
 हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो सङ्ख्या वृद्धि भई ४० करोड पुग्ने विश्व स्वास्थ्य सङ्गठनको अनुमान छ ।  नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित छन् ।  madhumeah test
विश्व स्वास्थ्य सङ्गठनका अनुसार, मधुमेह भएका कुल जनसङ्ख्यामध्ये ८० प्रतिशत कम तथा मध्यम आयस्रोत भएका व्यक्तिहरू छन् ।  सङ्घका अनुसार विश्वमा प्रत्येक छ सेकेन्डमा एक जनाको मृत्यु मधुमेहको कारणले हुन्छ ।  सङ्गठनका अनुसार दक्षिण पूर्वी एसियामा मात्र ८७ लाख मानिस मधुमेहबाट पीडित छन् ।  
पोषणविद् प्राडा उमा कोइरालाले मधुमेहीले प्रशोधित खानेकुरा खान नहुने बताउनुभयो ।  अत्यधिक गुलियो फलफूल तथा चिनी भएको खानेकुरा नखान आग्रह गर्दै उहाँले सन्तुलन मिलाएर स्याउ, मेवा, केरा, सुन्तलाजस्ता फलफूल खान सकिने बताउनुभयो ।  कोइरालाले मधुमेह भएका बिरामीहरूले पसिना आउनेखालको परिश्रम गर्न पनि सुझाव दिनुभयो ।  
वरिष्ठ चिकित्सक शशी शर्माले मधुमेहलाई रोकथाम गर्न सकिने भन्दै मानिसले आफ्नो स्वास्थ्यमा ख्याल राख्न सक्नुपर्ने बताउनुभयो ।  उहाँले सधैँ खाइरहने खानेकुरालाई व्यवस्थित गरेर खानुपर्ने भन्दै मधुमेह लागि सकेपछि जीवनभर औषधि सेवन गर्नुभन्दा अघि नै रोग नियन्त्रणमा जोड गर्नसक्नुपर्ने बताउनुभयो ।  डा. शर्माले ठूला रोग लागिसकेपछि उपचारमा खर्च गर्नुभन्दा मधुमेहजस्ता नसर्ने रोगका लागि सरकारले प्रभावकारी रोकथाम कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।  यसैबीच सोमबार मधुमेहबाट हुने समस्याबाट बचौँ भन्ने नाराका साथ विश्व मधुमेह दिवस मनाइँदैछ ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना