नेपालमा गुरु नानक र गुरुग्रन्थ

tara basyalतारा बस्याल

गुरु नानकको जन्म सन् १४६९ को कात्तिक पुर्णिमाको दिन तालबन्डी भन्ने स्थानमा भएको हो ।  हाल पाकिस्तानको पन्जाव प्रान्तमा पर्ने यो स्थानलाई नानकना साहेव भनिन्छ ।  शिख धर्मका आदिगुरु नानकले नै गुरु शिष्यको सनातन परम्परालाई शिख धर्ममा संस्थागत गर्नुभएको थियो ।  यो गुरु शिष्य परम्परा शिख धर्मका दसौं गुरु गोविन्द सिंहको समयावधि सन् १७०८ सम्म मानवोतर रूपमा जीवन्त रहेको पाइन्छ ।  शिख धर्मको पवित्र मूल धार्मिक ग्रन्थ गुरुग्रन्थ साहेवको पूर्णतापश्चात् गुरु गोविन्द सिंहको आज्ञानुसार व्यक्तिलाई गुरु मान्ने परम्पराको अन्त्य गरी गुरुग्रन्थ साहिवलाई नै जीवित गुरु महाराजको रूपमा मान्दै आएको पाइन्छ ।  
सम्पूर्ण प्राणीजगत्का ईश्वर एउटैमात्र परमात्मा हुनुहुन्छ भन्ने मूलमन्त्रका साथ गुरु नानकले एक ओंकार रूपी परमात्माको सिमरनमा आफ्नो जीवन व्यतित गर्नुभयो ।  गुरु शिष्य सनातन परम्पराको निरन्तरताकै उद्बोधन भाव शिख धर्मको मूलभाव हो र शिख शब्दको अर्थ पनि शिष्य नै हुन्छ ।  एक ओंकार सद्गुरु प्रसादको मूलमन्त्रले सम्पूर्ण मानवजातिलाई एकताको सूत्रमा बाँध्ने जातजाति, छुवाछूतजस्ता सामाजिक धार्मिक विभेदको अन्त्य गर्न कम्युनिटी किचन (सामूहिक लंगर÷भान्छा) को प्रचलन नानक देवले सुरु गर्नुभएको थियो जो अहिले संसारभरका गुरुद्वारा अर्थात् गुरुका दरबारहरूमा प्रचलनमा छ ।  
मानव जातिको दुःख, भोक, अशिक्षा र अज्ञानता देखी उदास भएर सन् १४९९ देखि सन् १५२४ सम्म २५ वर्ष गुरु नानकले उदासी जीवन बिताउनु भएको थियो ।  यस अवधिमा उहाले पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशामा गरी जम्मा पाँच वटा उदासी यात्रा बालसखा बाला र मरदानाको साथमा जोगीको भेषधारण गरी गर्नुभएको थियो ।  यी उदासी जीवनको यात्रामा उहाँले करिब २८ हजार किलोमिटरभन्दा बढी पैदल यात्रा गरेको भनी अनुसन्धानकर्ताहरूले बताएका छन् ।   
गुरु नानकको नेपालको यात्रा तेस्रो उदासी यात्राअन्तर्गत सन् १५१४ देखि १५१८ को बीचमा भएको विश्वास गरिएको छ ।  यस यात्रामा गुरु नानकले काश्मीर, सुमेरु पर्वत, तासकन्द तिब्बत र काठमाडौँ हँुदै सिक्किमसम्मको यात्रा गर्नु भएको बताइएको छ ।  गुरु नानकको तेस्रो उदासी यात्रा पाँच वर्षको रहेको थियो ।  मनुष्यका लागि भगवान्को वास्तविक सन्देश के हो भन्ने प्रश्नको उत्तर र शिवत्वको खोजीमा योगीको भेषमा जीवनबाट उदास भएर भगवानको नजिक पुग्ने अभिलाषाले उहाँले उदासी यात्रा सुरु गर्नु भएको भनाइ पाइन्छ ।  त्यतिबेला पशुपति क्षेत्र, थापाथली बागमती नदी क्षेत्र, बालाजु क्षेत्र र ज्ञानेश्वर र सिंहदरबार वरपर क्षेत्रमा समेत उदासी परम्परा र गुरुग्रन्थ साहिवसँग सम्बन्धित ऐतिहासिक प्रमाणले सङ्केत गरेको पाइन्छ यद्यपिको थप अनुसन्धान हुनुपर्ने देखिन्छ ।  
तत्कालीन समयमा गुरु नानकले थापाथलीमा सन्त महात्मा, गुरु पीरहरूलाई लंगर लगाएको, ज्ञानेश्वरमा गुफामा बसी तीर हानेर ज्ञानधाराबाट पानी निकालेको तथा राजघरानाका लागि राजकाजसम्बन्धी ज्ञान गोष्ठी गरेको र बालाजुस्थित चराबक्ष स्थानमा सन्तहरूसँग शास्त्रार्थ गरेको किंवदन्ती गुरु शिष्यहरूका बीचमा सुनिन्छ ।  
काठमाडौँंको ज्ञानेश्वर, पशुपति क्षेत्र, थापाथली, शोभाभगवती र प्राचीन गुरु नानक मठ गरी पाँच स्थानमा हस्तलिखित गुरुग्रन्थ साहिवसहितका उदासीन मठहरू रहेका छन् ।  पूरै भारतका समेत सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ साहिव काठमाडाँैका उदासी मठ मन्दिरहरूमा रहनु हाम्रा लागि कम गौरवको विषय होइन ।  गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिहरूको संरक्षण गर्नु राज्य र हामी सबैको दायित्व र कर्तव्य दुवै हो ।  
यी सबै स्थानहरू गुठी संस्थानको मातहतमा तैनाथी गुठीको रूपमा निर्वाहको रूपमा परम्परा धानिरहेका छन् ।  भौतिक पूर्वाधारको विकास गरी धार्मिक पर्यटनसँग जोड्न सके यसबाट समग्र देशको आर्थिक विकासमा टेवा पुग्न सक्ने देखिन्छ ।  ‘एक ओंकार सद्गुरु प्रसाद’को मूलभावना, एकता र सबैका परमात्मा अकाल पुर्ख अर्थात् निर्भय र  निरंकार आत्मा हुन् भन्ने गुरुग्रन्थको सन्देश छ ।  यसका लागि देशमा रहेका यस्ता अमूल्य धार्मिक सम्पदा र निधिहरूको राज्य र नागरिक स्तरबाट समेत उचित संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसार आवश्यक छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना