रिखार मन्दिर र सप्तऋषिको तपोभूमि ओझेलमा

बेनी (म्याग्दी), कात्तिक २९ गते  । भौगोलिक विकटता र सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक र धार्मिकस्थल रिखार क्षेत्रमा अवस्थित डुङ्गा माथिको रिखार मन्दिर र सप्तऋषिको तपोभूमि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । म्याग्दीको कुईनेमगले गाविस–४ पात्लेखर्कमा अवस्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल रिखारको महिमा हिन्दूहरुका प्रशिद्ध धार्मिक ग्रन्थ श्रीमद्भागवत र मत्स्य पुराणमा समेत उल्लेख गरिएको छ । मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुङ्गामा चढी सुरक्षित स्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरूले उत्तापन्थमा धौलागिरि पर्वतलाई समुद्रको बीचमा माथि उठेको देखे र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई त्यहाँ आएर तपस्या गरेको उल्लेख छ ।

पुलाहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा, दक्षिणमा जगन्नाथ धामर उत्तरमा मुक्तिनाथ धाम रहेका छन् ।

यहाँ वाल्मिकी गुफा, अरुन्धती गुफा, सप्तऋषि गुफा, नामका गुफा रहेका योगगुरु नवीन जुग्जालीले जानकारी दिनुभयो । म्याग्दीको अत्यन्त दुर्गम स्थानमा रहेकाले मुस्किलसँग मात्र पुग्न सकिने सो स्थलमा पुगेर फर्किनुभएको योगगुरु जुग्जालीले डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्य पुराण र श्रीमद्भागवत महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको बताउनुभयो ।

म्याग्दीको सदरमुकाम बेनीबाट गलेश्वर, मौवाफाँट, दग्नाम, दर्मिजा, चिमखोला, मङ्गले, घाँसीखर्क, चौरखानी द्धारी, पात्लेर्खक, बयलीखर्क हुँदै हिमालको फेदमा अवस्थित रिखार क्षेत्रमा पुगिन्छ । सप्तऋषिको तपभूमि समेत रहेको रिखार क्षेत्र हिन्दूधर्मावलम्बीको आस्थाको धरोहर समेत मानिन्छ ।

धार्मिक विशेषताले भरिपूर्ण यो रिखार क्षेत्रसँग प्रसिद्ध पर्यटकीय क्षेत्र बन्न सक्ने प्रशस्त सम्भावना हुँदाहँुदै पनि उचित प्रचारप्रसारको अभाव र राज्यको तर्फबाट विशेष ध्यानाकर्षण नपुग्दा ओझेलमा परेको जुग्जालीले बताउनुभयो । रिखार क्षेत्र सदरमुकाम बेनीदेखि ५० किमीको दूरीमा समुद्री सतहदेखि चार हजार ६०० मिटर उचाइमा रहेको छ ।

महिलाको सक्रियतामा मोटरबाटो

म्याग्दीको विकट घार गाविसको वडा नं ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् ।

घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर ३ नं वडादेखि ४ नं सम्म पुग्ने एक किलोमिटर मोटरबाटो निर्माण गरेका हुन् । एक महिनासम्म ६० जनाभन्दा बढी महिलाले श्रमदान गरेर मोटरबाटो निर्माण गरिएको समूहका अध्यक्ष याममाया पुनले बताउनुभयो । एक जनाले रु एक लाख बराबरको श्रमदान गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

मोटरबाटो निर्माण भएपछि घारका २०० घरधुरी लाभान्वित भएका छन्् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना