डोनाल्ड ट्रम्पको विजयको अर्थ र प्रभाव

 hari adhikariहरि अधिकारी



घर–जग्गा किनबेचको व्यवसायबाट अर्बपति बन्नुभएका डोनाल्ड जे. ट्रम्पले करिब डेढ वर्ष पहिले मात्र सक्रिय राजनीतिमा प्रवेश गरी ‘ग्य्राण्ड ओल्ड पार्टी’ का नामबाट सम्बोधन गरिने रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको चुनावका लागि मनोनयन प्राप्त गर्नु नै एउटा अद्भूत उपलब्धि थियो ।  त्यसमाथि अन्त्यमा गएर डेमोक्रेटिक पार्टीका अनुभवी प्रत्याशी विदेशमन्त्री हिलारी क्लिन्टनलाई पराजित गरेर संयुक्त राज्य अमेरिकाको पैँतालीसौँ राष्ट्रपति बन्न पुग्नुलाई त आधुनिक अमेरिकाको इतिहासको एउटा असामान्य र विष्मयकारी घटना नै मान्नुपर्छ ।  राष्ट्रपतिमा ट्रम्पको यो विजय विशेष उल्लेख्य किन पनि छ भने रिपब्लिकन पार्टीका लगभग सबै ठूला नेता कि त उहाँको विपक्षमा थिए कि भने चुनावी अभियानप्रति चरम उदासिन ।  सिनेटर, प्रथम महिला र विदेशमन्त्री भएर सार्वजनिक जीवनको लामो अनुभव सँगाल्नुभएकी र शिक्षा–दीक्षाका हिसाबले पनि उहाँभन्दा अब्बल हिलारीलाई अमेरिकाका अधिकांश सञ्चार गृहहरू, चुनावी विश्लेषक–अनुसन्धानकर्ता र हामी जस्ता टाढै बसेर भए पनि आँकलन गरिरहेकाले विजयको प्रबल दाबेदार मानेका थियौँ ।  
राजनीति यस्तो क्षेत्र हो, जहाँ कुनै पनि प्रकारका असम्भावना हेर्दाहेर्दै सम्भावनामा परिणत हुन सक्छन् ।  यसपटकको अमेरिकी चुनावमा ठ्याक्कै त्यस्तै भयो ।   चरम असम्भव जस्तो लाग्ने घटनालाई सम्भव बनाइदिएको भने अरू कसैले होइन, राष्ट्रपति ट्रम्प स्वयंले हो ।  त्यसैले यो जीत उहाँको नितान्त निजी जीत हो ।  भविष्यमा गएर अमेरिकी जनताका सामु चुनाव प्रचारका क्रममा उहाँले गरेका कबोलहरू कति पूरा हुन्छन्, हुँदैनन्, पूरा भए भने तिनले अमेरिकामाथि कस्तो अनुकूल वा प्रतिकूल प्रभाव छोड्नेछन्, त्यो हेर्न एकाध वर्ष कुर्नुपर्नेछ तर व्यङ्ग्यमिश्रित, चर्का शब्दमा प्रमुख प्रत्याशी हिलारी क्लिन्टनलाई गाली गर्नुका साथै ट्रम्पले केही यस्ता वाचा–बन्धन चुनावी अभियानका क्रममा सार्वजनिक गर्नुभएको छ, तिनले उहाँलाई चुनाव जिताएका मात्र होइनन्, अमेरिकी क्षितिजमा तिनको अनुगूँज धेरै लामो समयसम्म सुनिइरहने छ ।  त्यसले राष्ट्रपतिका रूपमा उहाँको कार्यकुशलतामाथि नकारात्मक प्रभाव पार्ने सम्भावना पनि त्यत्तिकै प्रबल छ ।  
डोनाल्ड ट्रम्पका रूपमा सामान्यतः उदार मानिएको अमेरिकी समाजमा अत्यन्त अनुदार आप्रवासन नीतिको प्रवक्ताको जुन अभ्युदय भएको छ, त्यो विविधतापूर्ण, सहिष्णु र प्रगतिशील समाजको मान्यता विपरीत छ ।  त्यसले अवैध रूपमा अमेरिका पस्न चाहनेहरूलाई कडाइका साथ रोक्ने कुरा मात्र गरेको भए त्यो सर्वथा उचित हुने थियो तर ट्रम्प त्यहीँ सीमित हुनुहुन्न, उहाँले त कसैगरी अमेरिका प्रवेश गरेर पक्का कागज बनाउन नसकी अवैध भएर बसिरहेका लाखौँ आप्रवासीहरूलाई डिपोर्ट (देश निकाला) गर्ने घोषणा गर्नुभएको छ ।  उहाँको नजरमा लेटिनोहरू, मुसलमानहरू र केही एसियनहरू अमेरिकाका अहिलेका आतङ्कवादी गतिविधि, आर्थिक विचलन, बेरोजगारी र शान्ति–सुरक्षाको खस्कँदो अवस्था जस्ता समस्याका लागि जिम्मेवार छन् तर गहिरिएर हेर्ने हो भने उहाँको यो निचोड सानो र आंशिक रूपमा मात्र सही छ ।  
वास्तवमा अमेरिकाले सन् २००१ म वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमाथि भएको भीषण आक्रमणदेखि आजसम्म पनि जुन प्रकारको शृङ्खलाबद्ध आतङ्कवादी गतिविधि व्यहोर्नु परिरहेको छ, त्यसको मूल कारण क्रमागत अमेरिकी सरकारहरूले उग्रतावादी जेहादी इस्लामिक सङ्गठनप्रति अख्तियार गरेको द्विविधाग्रस्त गलत नीति नै हो भन्दा अत्युक्ति हुँदैन ।  यो बडो दुर्भाग्यको कुरो हो, अहिले  चरम अमेरिकाविरोधी र साङ्घातिक आतङ्कवादी सङ्गठनको नेतृत्व लिएका र मारिएका समेत कतिपय ठूला इस्लामिक नेताहरूले कुनै न कुनै समय अमेरिकी प्रशासनको वरदहस्त प्राप्त गरेका थिए ।  इराक र लिबियामाथि गरिएका सैन्य अतिक्रमण पनि तात्कालीक रूपमा सफल र अमेरिकाको पक्षमा भएको देखिए पनि सम्पूर्ण इस्लामी संसारमा अमेरिकाप्रति घृणाको भावना प्रसार गर्नका लागि ठूलो उद्दीपक तŒव बन्न गएको थियो ।  सिरियामा उत्पन्न भएको जटिल राजनीतिक समस्या र त्यसको उपोत्पादनका रूपमा अस्तित्वमा आएको क्रूरतम् आतङ्कवादी सङ्गठन इस्लामिक स्टेट (आईएसआईएस) का सन्दर्भमा पनि कहीँ न कहीँ अमेरिकी कूटनीतिको कमजोरी उजागर भएको देखिन्छ ।  राष्ट्रपति ट्रम्पले चुनाव प्रचारको क्रममा इस्लामिक स्टेटको उदय र फैलावटका लागि निवर्तमान राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री हिलारी क्लिन्टन जिम्मेवार छन् भनेर दाबी समेत गर्नुभएको थियो ।  अब हेर्नुछ, उहाँले दिन प्रतिदिन जटिल हुँदै गएको इस्लामिक स्टेटसम्बन्धी समस्याको हल कसरी गर्नुहुन्छ ।  
अब जनवरी २०, २०१७ का दिन पद र गोपनीयताको शपथ खाएर अमेरिकी सत्ताको शीर्षासनमा विराजमान भएपछि ट्रम्पले अमेरिकी निजामतमा पुराना राष्ट्रपतिहरूले बिगारेका र गर्न नसकेका कुरा छन् भने तिनलाई सुधार्नु र गर्नु अनि राम्रा काम गरेका छन् भने तिनलाई झन् सुदृढ बनाउँदै लैजानु पर्नेछ ।  झट्ट हेर्दा अमेरिकाको राष्ट्रपति एकछत्र शक्तिराष्ट्रको सर्वाधिकार सम्पन्न शासक भएकोले अत्यन्तै शक्तिशालीजस्तो देखिन्छ तर उसका सीमा प्नि त्यत्तिकै बलिया छन् ।  लोकतन्त्रको सबैभन्दा ठूलो पहरेदार राष्ट्रको प्रमुख र विश्वलाई महाविनाशकारी युद्धको विभिषिकाबाट जोगाउने अहं जिम्मेवारी पाएको शक्तिशाली विश्व–नेताको रूपमा अमेरिकाको राष्ट्रपतिले आफ्ना सामथ्र्य र सीमा राम्रोसँग बुझ्नु आवश्यक छ ।  
चुनाव जित्नका लागि ‘प्रेसिडेन्ट’ ट्रम्पले सेतो छाला र रातो गर्धन भएका बहुसङ्ख्यक अमेरिकी नागरिकहरूको अहङ्कारलाई उफानमा ल्याइदिनुभएको छ, जसले उहाँलाई म्यानहटनको ट्रम्प टावरबाट ह्वाइट हाउससम्म पु¥याएको छ तर राष्ट्रपति भएपछि उहाँले अमेरिकी जनताको एउटा वर्गको अहङ्कारलाई सन्तुष्ट पारेर मात्र पुग्दैन ।  उहाँले त अमेरिकामा भएका सबैथरि जनता– आइमाईहरू, मुस्लिमहरू, कालो वर्णका मानिसहरू, समलिङ्गी–उभयलिङ्गीहरू, कागज भएका नभएका दुवैथरि आप्रवासीहरू र आदिवासी रेड इण्डियनसम्मको हितैषी नेताको रूपमा पूरै इमानदार भएर काम गर्न सक्नुपर्छ ।  चुनाव प्रचारका क्रममा सायाश वा अनायाश प्रेसिडेन्ट ट्रम्पले प्रेमकोभन्दा घृणाको भाषा बोल्नुभएको छ ।  राष्ट्रपतिका रूपमा घृणाको भाषा बोल्ने छुट उहाँलाई हुनेछैन ।  उहाँको पदको गरिमा नै उहाँको सीमा पनि हो ।  उहाँले विवादास्पद भए पनि आम नागरिकका बीच लोकप्रिय रहेको ओबामा केयर भन्ने स्वाथ्य बीमा नीति खारेज गर्ने मनसुवा देखाउनुभएको छ, त्यो पनि उहाँको हकमा प्रत्युत्पादक हुनसक्छ ।  
अमेरिकी संसद्को दुवै सदन–सिनेट र काँग्रेसमा रिपब्लिकन पार्टीको सुविधाजनक बहुमत भएकाले प्रेसिडेन्ट ट्रम्पलाई आफ्ना नीति र कार्ययोजना लागू गराउन सजिलो हुनसक्छ तर रिपब्लिकन पार्टीका कतिपय सांसद धेरैजसो मुद्दामा ट्रम्पका विचारधाराभन्दा पृथक मत राख्छन् भन्ने कुरा उहाँको उम्मेदवारी र चुनाव प्रचारका क्रममा प्रस्ट भइसकेको छ ।  यो स्थिति नियन्त्रण र सन्तुलनका दृष्टिले सकारात्मक देखिन्छ ।  ट्रम्पले आफूलाई मन नपराउने सांसदहरूलाई विश्वासमा लिनु र सांसदहरूले पनि राष्ट्रपतिलाई जनहितका विषयमा उहाँले चाल्ने कदम सफल पार्न पूर्ण सहयोग गर्नु आवश्यक छ ।  
राष्ट्रपति चुनावको अन्तिम परिणाम आएको क्षणदेखि आजसम्म पनि ट्रम्पको विरोधमा अमेरिकाभरि नै जुन प्रदर्शन भइरहेका छन्, ती प्रथम दृष्ट्या गलत लागे पनि त्यस्ता प्रदर्शनहरूले निर्वाचित राष्ट्रपतिको सोच, नीति र मान्यतालाई लिएर अमेरिकी जनमतको एउटा हिस्सा गम्भीर रूपमा चिन्तित छ भन्ने कुरा प्रस्ट पार्छ ।  यसबाट पाठ सिकेर ट्रम्पले सबै प्रकारका उग्र र विभेदमुखी सोचलाई त्याग गर्नु र सबै अमेरिकीको प्रिय नेताका रूपमा काम गर्न तत्पर हुनु जरुरी देखिन्छ ।  अमेरिकाका लागि नेपालको साह्रै ठूलो रणनीतिक र कूटनीतिक महŒव नभएकाले त्यहाँ राष्ट्रपति परिवर्तन हुनेबित्तिकै हामीलाई धेरै फरक नपर्ला तर डिभी लटरीमार्फत अमेरिका गएर त्यहाँको घन्टे जागिरमा हाड घोट्न उचालिएका नेपालीले भने अर्को वर्षदेखि डिभी भर्न लाममा बसिरहन नपर्ने हुनसक्छ ।  यसले बलिया–बाङ्गा नेपालीहरूको विदेश पलायन हुने क्रमलाई थोरै सङ्ख्यामा भए पनि कम गर्ने हुनाले राष्ट«िहतका दृष्टिले यो राम्रै होला ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना