नेपालमा कफीको प्रचुर सम्भावना

 deepak khanal_1दीपक खनाल


कफी दीर्घकालीन नगदेबाली भएको हुनाले अन्न तथा अरू बालीहरूको तुलनामा यसबाट कृषकलाई बढी लाभ हुन्छ ।  कुनै समय विदेशी पर्यटक र ‘एक्सपट्रियट’ ले मात्र कफी पिउँछन् भन्ने नेपाली सोच रहकोमा अब यो पेयले उल्लेख्य घरेलु उपभोक्ता प्राप्त गरिसकेको छ ।  तसर्थ, नेपाली कफीलाई गुणस्तरमा सम्झौता नगरी व्यावसायिक खेतीतर्फ उन्मुख गराउन सके आत्मनिर्भरता प्राप्त गर्नुका साथै अन्य बहुआयामिक फाइदा लिन सकिनेछ ।
कफी एक नरम पेय हो ।  विश्वमा कफीलाई चिया पछाडिको दोस्रो प्रख्यात पेय पदार्थको रूपमा लिइन्छ ।  कफीमा स्फुर्ति ल्याउने क्याफिन हुन्छ ।  जसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छिपन र निन्द्रा हटाउँछ ।  यसमा कार्बोहाइड्रेट, नाइट्रोजिनस कम्पाउण्ड, कलोरोजेनिक एसिड, भोलाटाइल कम्पाउण्ड र कार्वोक्सिलिक एसिड पाइन्छ ।  कफीको उचित र नियमित प्रयोगले मुटु, नसासम्बन्धी समस्या, डायविटिज जस्ता रोगबाट बच्न मद्दत गर्छ ।  साथै बढी मादक पदार्थ सेवनबाट बिग्रेको कलेजोलाई स्वास्थ राख्न मद्दत गर्छ ।  विगतमा कफी विभिन्न रूप, मिश्रण र तरिकाले खाने चलन भए पनि आजभोलि स्वाद बढाउन खाद्य पदार्थ, चकलेट, आइसक्रिम आदिमा कफी मिलाउने चलन आएको छ ।
इथियोपियादेखि नेपालसम्म
कफी जङ्गलमा उत्पत्ति भएको एक प्रकारको वनस्पति हो ।  यसको पाकेको फललाई विभिन्न तहगत प्रशोधन गरेर पिउनयोग्य बनाइन्छ ।  हाल विश्वमा सम्मानित पेयको रूपमा प्रयोग भएको कफी आर्थिक कारोबारको हिसाबले पेट्रोलियम पदार्थ पछाडि दोस्रो वस्तुको रूपमा देखिएको छ ।  बहुआयमिक गुण भएको कफीको उत्पत्ति इस्वी सन् ८५० तिर इथियोपिया देशको कफा भन्ने जङ्गलमा काल्दी नामका गोठालाले पत्ता लगाएको र त्यसपछि अरेबिया, पर्सिया हुँदै युरोप अमेरिकातर्फ फैलिएको पाइन्छ ।  
विश्वमा एक सयभन्दा बढी मुलुकले कफी उत्पादन गर्छन् र यीमध्ये ५० जति देश मुख्य कफी उत्पादक देशमा गनिन्छन् ।  सबैभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो ।  विश्वमा अन्य प्रमुख कफी उत्पादक देशमा भियतनाम, कोलम्बिया, इण्डोनेसिया, इथियोपिया तथा भारतलगायत पर्छन् ।  त्यस्तै कफी खपतका दृष्टिकोणले विश्वमा अमेरिका सबैभन्दा अग्रपङ्क्तिको देशमा पर्छ ।
नेपालमा वि.सं. १९९५ तिर आँपचौर, गुल्मी निवासी हिरा गिरीले बर्माको सिन्धु प्रान्तबाट कफीका बिउ ल्याई आँपचौरमा रोपेर कफी खेतीको सुरुवात गरेको मानिन्छ ।  वि.सं. २०२० को दशकतिर नेपाल सरकारले भारतबाट कफीको बिउ ल्याई वितरण गरेपछि कफी खेतीले बिस्तारै गति लिन थाल्यो ।  आज नेपालका ५० भन्दा बढी जिल्लामा कफी पुगिसकेको र पश्चिमाञ्चल र मध्यमाञ्चल क्षेत्रका मध्यवर्ती पहाडका लगभग २५ जिल्लामा यसले व्यावसायिक रूप लिइसकेको छ ।  पूर्वी नेपालका पाँचथर र इलामलगायतका जिल्ला पनि कफी खेतीतर्फ आकर्षित भएको देखिन्छ ।  कफीको विकास एवं विस्तारमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पछिल्ला केही वर्षमा सम्बद्ध सङ्घ संस्थासँग गरिरहेको समन्वयकारी भूमिका न्यून नै भए पनि संस्थागत सुरुवात चाहिँ हो भन्न अप्ठ्यारो मान्नु नपर्ला ।
नेपाली कफी ‘स्पेसियल्टी’    
नेपालमा उच्च गुणस्तरको कफी उत्पादन गर्ने शीतल र मन्द हावा चल्ने जलवायु छ ।  पानी नजम्ने भिरालो परेको हराभरा पहाडी भूभाग प्रशस्त छ ।  सिँचाइ र प्रशोधनको निम्ति आवश्यक पर्ने पानीको स्रोत पनि छ ।  तसर्थ नेपालमा कफी खेतीको प्रचुर सम्भावना छ ।  नेपालमा पाइने कफी एक हजारदेखि एक हजार छ सय मिटरसम्मको उचाइमा उत्पादित अरेबिका वर्णको टिपिका र बर्बन जातका हुन् ।  प्रायः सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ ।  अन्य कफी उत्पादक मुलुककोभन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफीमा विशिष्ट प्रकारको गुण र वास्ना रहेको कफी पारखीहरू बताउँछन् ।  साथै नेपालमा प्रायः सबै कफी प्राङ्गारिक प्रविधिबाट उत्पादन भएकाले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा ‘स्पेसियल्टी’ कफीको रूपमा हेर्ने गरिन्छ ।  
नेपाली कफी तथ्याङ्कमा
७५ वर्षभन्दा बढीको इतिहास बोकेको नेपालको कफी खेती तथ्याङ्क र अभिलेखको उपलब्धता सम्बन्धमा भने निकै कमजोर देखिन्छ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्रस्तुत गरेको पछिल्लो तथ्याङ्कको आधारमा आर्थिक वर्ष २०७२÷७३ मा नेपालमा ४३४ मेट्रिक टन कफी उत्पादन भएको पाइन्छ ।  अर्घाखाँची, गुल्मी, कास्की, काभ्रे, ललितपुर, स्याङ्जा, सिन्धुपाल्चोक, पाँचथर र पाल्पालगायत २४ भन्दा बढी जिल्लामा व्यावसायिकतातर्फ अगाडि बढेको कफी रोपणको क्षेत्र २६१८ हेक्टर रहेको तथ्याङ्क छ भने सोका लागि लगभग ३२ हजार ५८१ कृषक संलग्न रहेको देखिन्छ ।  विश्व बजारको माग लगभग वार्षिक आठ हजार मेट्रिक टनलाई हेर्ने हो भने हाम्रो उत्पादनको दयनीय अवस्था घाम जत्तिकै छर्लङ्ग छ ।  नेपालमा उत्पादन भएको कफी विगतमा ८० र २० प्रतिशत क्रमशः निर्यात र आन्तरिक खपत हुँदै गरेकोमा हाल आएर उक्त मात्रा लगभग बराबरी जस्तो रहेको अध्ययनले देखाएका छन् ।  अहिले नेपालको कफी कोरिया, जर्मन, जापान, चीन तथा अमेरिकामा निर्यात भइरहेको पाइन्छ ।
कफी क्षेत्रका समस्या
नेपालमा कफी क्षेत्रका समस्या मूलतः उत्पादनसँग सम्बन्धित छन् ।  मध्यम उचाइका पहाडमा फल्ने अरेबिका कफीलाई स्पेसियालिटी कफीको रूपमा स्वीकार गर्न तयार रहेको विश्व कफी बजार गुणस्तरमा कुनै सम्झौता नगर्ने सर्तमा हामीसँग कफी मागिरहेको छ तर हामी मागको तुलनामा अत्यन्तै न्यून मात्रामा कफी उत्पादन गरिरहेका छौँ ।  किनभने यसमा केही समस्या छन् ।  सेतो गवारो र सिन्दुरे जस्ता रोग÷कीराले कफी बिरुवालाई आक्रमण गरी क्षति पु¥याएको छ ।  मात्रात्मक रूपमा धेरै कफी उत्पादन गर्नका लागि आवश्यक उपयुक्त जग्गाको अभाव छ ।  जलवायु परिवर्तनले प्रभाव पारेको छ ।  कफी बिरुवालाई छहारीको आवश्यकता पर्र्छ तर छहारी व्यवस्थापन गर्न सकिएको छैन ।  कफी सम्बन्धी अध्ययन÷अनुसन्धान न्यून छ ।  राज्यले कफी सम्बन्धी नीतिगत तथा स्वामित्वका सन्दर्भमा आशातित सम्बोधन गर्नसकेको देखिन्न ।  किसानलाई यस क्षेत्रमा लाग्न र रहिरहन उत्प्रेरणाका ठोस कार्यक्रम भएका छैनन् ।  कफी प्रशोधनमा एकरूपता छैन ।  कफी व्यापारीहरूमा आचारसंहिताको अभाव छ ।  सम्बद्ध सरकारी तथा गैरसरकारी र निजी क्षेत्रहरू बलिया र सक्रिय हुन सकेका छैन ।  
कफी खेती र यससँग सम्बन्धित व्यवसाय नेपालको सन्दर्भमा प्रचुर सम्भावना बोकेको क्षेत्र भएको हुँदा उल्लेखित समस्याका समाधान खोज्न जरुरी छ ।  सोको लागि नीतिगत सम्बोधन र समाधानका लागि राज्यको ध्यानाकर्षण हुनु जरुरी छ ।  नेपालको परिवेश र सन्दर्भमा आधारित अनुसन्धान गर्दै किसान लगायत अन्य व्यवसायीहरूलाई आकर्षण र उत्प्रेरणाका लागि अभियानकै रूपमा रोपण कार्यक्रम सञ्चालन गरिनुपर्छ ।  छहारी व्यवस्थापन सम्बन्धी उपयुक्त सम्बोधन साथै सम्बद्ध सबै पक्षका लागि आचारसंहिता निर्माण र कार्यान्वयन गर्नु जरुरी छ ।  
लेखक राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक हुनुहुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना