भाग्यमानी शताब्दी पुरुष सत्यमोहन

shreeom shresthaश्रीओम श्रेष्ठ ‘रोदन’


विश्वमा हामीले हाम्रो नेपाल र हामी नेपाली भनेर मौलिकरूपमा चिनाउने माध्यम लोकसाहित्य र संस्कृति नै हुन् ।  जीवन्त सम्पदाका रूपमा रहेका लोकसाहित्य र संस्कृतिको संरक्षण र सम्बद्र्धन कार्यमा वरिष्ठ संस्कृतिविद् तथा साहित्य साधक सत्यमोहन जोशी पूर्ण समर्पित व्यक्तित्व हुनुहुन्छ ।  उमेरले ९७ वर्षको हुनुभए पनि उहाँको सक्रियताले त्यस्तो अनुभूति पटक्कै गराउँदैन ।  उहाँको नामको अगाडि प्रायः संस्कृतिविद्को विशेषण जोडिने गरिएको भए पनि सत्यमोहन जोशी अनेक व्यक्तित्वका धनी हुनुहुन्छ ।
भाषा, साहित्य, कला, लोकसाहित्य र संस्कृतिका क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदान अतुलनीय छ ।  वि.सं. १९९८ को गोरखापत्रमा ‘परिचय’ शीर्षकको कविता र वि.सं. १९९९ मा ‘कर्तव्य’ शीर्षकको कथा छापिएका सत्यमोहनका वर्णमाला, निबन्ध, प्रबन्ध, नाटक, कविता, कथा, महाकाव्य, बालसाहित्य, सम्पादन गरी ७० वटा पुस्तक प्रकाशित छन् ।
वि.सं. १९७७ वैशाख ३० गते ललितपुरको बँखुबहालमा जन्मनुभएका सत्यमोहन जोशी पाँच वर्षमा बल्ल राम्रो बोल्न जान्नुभएको थियो ।  नेपाली भाषामा भने उहाँले दस वर्षपछि मात्र बोल्न थाल्नु भएको थियो ।  त्यही व्यक्ति अहिले नेपाली भाषा, साहित्य, संस्कृति क्षेत्रका मात्र नभएर नेपाली समाजको लागि नै उदाहरणीय व्यक्तित्व बन्नुभएको छ ।  दौरा, सुरुवाल, टोपी र कोट उहाँको परिचयात्मक वेशभूषा हो ।  ज्ञान र अनुभवका अथाह भण्डार हुनुभएका सत्यमोहनले कहिले, कतै र कुनै सन्दर्भमा पनि अहम् प्रकट गर्नुभएको पाइँदैन ।  बौद्धिक प्रस्तुति र सामान्य जीवन शैली उहाँको अर्को परिचय हो ।  
उच्च विचार, सरल जीवन र आदर्श व्यक्तित्वका कारण उहाँले कहिल्यै हार्नु परेको छैन ।  सधैँं जितेर सफल हुनुभएको छ ।  उहाँ एक किसिमले कीर्तिमानी पुरुष पनि हुनुहुन्छ ।  नेपाली साहित्यको सर्वाधिक चर्चित मदन पुरस्कार उहाँले वि.सं. २०१३, २०१७ र २०२८ मा तीन पटक पाउनु भएर कायम गर्नुभएको कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन ।  खरदारको जागिर खाँदाखाँदै एकैैपटक डाइरेक्टर बन्ने कीर्तिमानी पनि उहाँकै छ ।  वि.सं. २०१६ मा पुरातìव विभागको पहिलो निर्देशक बन्ने अवसर पनि उहाँले नै पाउनु भएको छ ।  त्यस विभागमा उहाँले दुई वर्ष पनि पूरा काम गर्न पाउनु भएन ।  त्यही अवधिमा पनि उहाँले राष्ट्रिय नाचघरको स्थापना गर्नुभयो ।  पाटन दरबारभित्र पुरातìव बगैंँचा, तौलिहवामा पुरातìव सङ्ग्रहालय, भक्तपुरमा राष्ट्रिय चित्र सङ्ग्रहालयको स्थापना गर्ने कार्य पनि उहाँबाटै भएको थियो ।
सत्यमोहन जोशी वि.सं.२०२७ देखि २०३१ सम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहसदस्य र वि.सं. २०३१ देखि वि.सं. २०३५ सम्म सदस्यसचिव हुनुभयो ।  त्यतिबेला नै उहाँले नववर्षको उपलक्ष्यमा नाटक महोत्सवको आयोजना र गाईजात्राको अवसरमा हास्यव्यङ्ग्य कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।  वि.सं. २०३३ मा उहाँको नाटक ‘फर्केर हेर्दा’ छ हप्तासम्म प्रज्ञा भवनमा मन्चन भएर लामो समयसम्म चल्ने नाटकको कीर्तिमान राख्न सफल भएको थियो ।
जयप्रकाश मल्लको प्रमुख भूमिकामा अभिनय गर्नुभएको थियो ।  यसरी डबलीमा अभिनय गर्ने पहिलो अभिनेता पनि उहाँलाई नै मान्ने गरिएको छ ।  सत्यमोहन सङ्ख्या विभागमा कार्यरत रहँदा संयुक्त राष्ट्र सङ्घको तर्फबाट आर्थिक विकाससँग सम्बन्धित तथ्याङ्क सञ्चालनसम्बन्धी तालिमका लागि न्युजिल्यान्ड जानुभएको थियो ।  उहाँ न्युजिल्यान्डमा पुगेको दिन नै सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले आरोहण गरेका थिए ।  औपचारिकरूपमा न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली बन्ने सौभाग्य पनि सत्यमोहनलाई नै प्राप्त भएको छ ।
सन् १३०६ मा चीनमा नै दिवङ्गत कलाकार अरनिकोलाई नेपालमा चिनाउने काम पनि उहाँले गर्नुभएको थियो ।  चीनमा भएको बेला उहाँले खोजी गरेर तयार पार्नुभएको पुस्तक ‘कलाकार अरनिको’ प्रकाशन भएपछि नै अरनिकोको प्रचार भएको थियो ।  कलाकार अरनिकोलाई राष्ट्रिय विभूति बनाउन पनि सत्यमोहन जोशीको ठूलो हात रहेको छ ।
आफ्नै जीवनकालमा ‘शताब्दी पुरुष’ को उपाधिद्वारा सम्मानित हुने एक मात्र भाग्यमानी व्यक्तित्व पनि सत्यमोहन जोशी नै हुनुहुन्छ ।  नेपाली भाषासाहित्यका सर्वमान्य सत्यमोहन जोशीको ९५ औँं जन्मउत्सवको अवसरमा त्रिमूर्ति निकेतनले उहाँलाई ‘शताब्दी पुरुष’ को घोषणा गरेर प्रा. डा. उषा ठाकुरको संयोजकत्वमा ‘सत्यमोहन जोशी शताब्दी महोत्सव समिति’ गठन गरेको थियो ।  वि.सं. २०७१ मङ्सिर १५ गते भव्य समारोहम ‘शताब्दी पुरुष’ को उपाधि समर्पण गरिएको थियो ।  पाँच लाख नगदराशिसहित सप्तनाग जडित कलात्मक पाँच फुट उचाइको सम्मान पत्र समर्पण गरिएको थियो ।  सोही समारोहमा १४ अञ्चल र २५ राष्ट्रका नेपाली साहित्यिक संस्थाहरूबाट १०१ वटा अभिनन्दन पत्रबाट उहाँलाई सम्मान गरिएको थियो ।  
यसरी नै आफ्नै जीवनकालमा आफ्नै मुहारकृति अङ्कित सिक्का सार्वजनिकरूपमा  प्रकाशित हुने भाग्यमानी पनि सत्यमोहन जोशी नै हुनुहुन्छ ।  जनस्तरमा औपचारिक रूपले २० ग्रामको चाँदीको सिक्का न्हुज ः गुठीले प्रकाशित गरेको थियो ।  
जीवित अवस्थामा आफ्नो नामको पदक स्थापना भएर वाङ्मयी साधकहरूलाई अर्पण गर्ने सुअवसर प्राप्त गर्ने भाग्यमानी पनि सत्यमोहन जोशी नै हुनुहुन्छ ।  शताब्दी पुरुष सत्यमोहन जोशी पदकबाट मङ्सिर १ गते २०० भन्दा बढी भाषा, साहित्य र कला क्षेत्रका स्रष्टाहरूलाई अर्पण गरिने भएको छ ।
काठमाडौँ विश्वविद्यालयले नेपाली साहित्यकारमध्येबाट पहिलो पटक महाविद्यावारिधिको उपाधिबाट सम्मान पाउने पनि सत्यमोहन जोशी नै पहिलो व्यक्ति हुनुहुन्छ ।  नेपालमा पहिलो पटक ऐतिहासिकरूपमा सफल भएको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनको संयोजन पनि सत्यमोहनले नै गर्नु भएको थियो ।  त्रिमूर्ति निकेतनले वि.सं. २०६६ चैत ५ गतेदेखि ९ गतेसम्म आयोजना गरेको सम्मेलनमा १३ राष्ट्रका सर्जकहरूको सहभागिता रहेको थियो ।  यसरी शताब्दी पुरुष डा. सत्यमोहन जोशी नेपाली वाङ्मयका लागि मात्र नभएर नेपाल र नेपालीहरूको गौरवको व्यक्तित्व हुनुहुन्छ ।  उहाँको शालिन व्यक्तित्व, सरल जीवनशैली, आदर्श व्यवहार, अनुपम ज्ञान र अनुभवको कारण उहाँलाई जीवित सङ्ग्रहालयको रूपमा पनि सम्मान गर्ने गरिएको छ ।
वरिष्ठ साहित्य साधक तथा जीवनीकार नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘शताब्दी पुरुष सत्यमोहन जोशी’ पुस्तकमा डा.जोशीले ‘शताब्दी पुरुष’ आफ्ना लागि ठूलो सौभाग्य बनेको धारणा व्यक्त गर्नु भएको छ ।  उहाँले लेख्नु भएको छ – ‘स्वयम् म आफू ९५ वर्षमा थला परें, मलाई बाँचिएलाजस्तो लागेको थिएन ।  बयोधा अस्पतालमा मरणासन्न अवस्थामा अक्सिजनको सहारामा मैले सास फेरिरहेको थिएँ ।  तर ‘शताब्दी पुरुष’ मेरा लागि ठूलो सौभाग्य बन्यो ।  वास्तवमा ‘शताब्दी पुरुष’ कै उपाधिले मेरो निमित्त रामवाणको काम ग¥यो ।  त्यसै कारणले नै अस्पतालमा मेरो राम्रो उपचार भयो ।  मेरो उपचारार्थ सरकारले सम्पूर्ण उपचार खर्च
(१२ लाख रुपियाँ) बेहोरिदियो ।  शुभचिन्तक मित्रहरूको शुभकामनाले मैले समाउने गरेको कलमलाई कालजयी बनाइदियो, म स्वास्थ्य लाभ गरी घर फर्कें ।  त्रिमूर्ति निकेतनले मलाई जीवितावस्थामा नै पाँच वर्ष ग्रेस दिएर मेरो दीर्घायुको निमित्त ‘शताब्दी पुरुष’ को उपाधि दिएको मैले फेरि पनि महसुुुस गरेंँ । ’
नेपाली र नेपाल भाषासाहित्य र संस्कृतिको इतिहासमा ‘शताब्दी पुरुष’ को उपाधि पहिलो पटक त्रिमूर्ति निकेतनले घोषणा गरिएको भए पनि अहिले सत्यमोहन जोशी र शताब्दी पुरुष एकअर्काको पर्यायजस्तै बनिसकेका छन् ।  उपयुक्त समयमा उपयुक्त पात्रको लागि उपयुक्त उपाधि भएकै कारण व्यक्तिगत, सामाजिक र राष्ट्रियरूपमा नै शताब्दी पुरुष स्थापित हुनसकेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना