ट्रम्पको जितले ल्याएको तरङ्ग र अपेक्षा

Ram prashadरामप्रसाद आचार्य



विश्वलाई चकित पार्दै डोनाल्ड ट्रम्प विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाको ४५औँ राष्ट्रपति निर्वाचित हुनुभएको छ ।  अमेरिकामा चुनावी अभियानदेखि मतदान सम्पन्न भई मतगणनाको मध्यमागसम्म पनि हिलारी क्लिन्टनको पक्षमा देखिएको विश्व जनमतलाई पछार्दै उहाँले अत्यधिक बहुमतका साथ चुनाव जित्नुभयो ।  ट्रम्पले आफूले मात्र चुनाव जित्नुभएन, आफूले चुनाव लडेको रिपब्लिकन पार्टीलाई पनि संसद्को दुवै सदन (हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेट) मा बहुमतले जिताउनुभयो ।  अब उहाँले आउँदो सन् २०१७ को जनावरी २० देखि निर्वाध रूपमा चार वर्षसम्म अमेरिकी सत्ताको बागडोर सम्हाल्नु हुनेछ ।
अघिल्लो साताको मङ्गलबार (नोभेम्बर ८ तारिख) मा अमेरिकामा ४५औँ राष्ट्रपतिका लागि चुनाव भयो ।  चुनावमा सत्तारुढ डेमोक्रेटिक पार्टीका तर्फबाट क्लिन्टन र प्रमुख प्रतिपक्षी रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्प मुख्य रूपमा चुनावी मैदानमा हुनुहुन्थ्यो ।  दुवै उम्मेदवारले चुनाव प्रचारका अन्तिम ¥याली तथा सभालाई सम्बोधन गर्दासम्म एकअर्का विरुद्ध कडा रूपमा प्रस्तुत हुनुभयो ।  दुवै उम्मेदवारले एकअर्का विरुद्ध चर्को आलोचना र घोचपेच गर्दै वाक्युद्ध गर्नुभयो तर चुनावी परिणाम आउनेबित्तिकै दुवै जनाले एकअर्काप्रति आदरभाव प्रकट गर्दै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  क्लिन्टनले सहजै हार स्वीकार गर्दै ट्रम्पलाई बधाई दिनुभयो ।  यो नै अमेरिकी प्रजातन्त्रको मूल विशेषता हो ।  यद्यपि लाखौँ अमेरिकीहरूले ट्रम्पको जितलाई सहज रूपमा स्वीकार्न नसकी विरोध प्रदर्शनसमेत गरेका छन् ।  
तीन दशकभन्दा लामो राजनीतिक र कूटनीतिक अनुभवले खारिएकी महिला नेत्री क्लिन्टन अमेरिकाको इतिहासमै पहिलो महिला राष्ट्रपति उम्मेदवार बन्नुभएको र उहाँले अगाडि सार्नुभएका चुनावी नाराका कारण यसपटकको चुनावी वातावरण उहाँको पक्षमा थियो ।  सत्तारुढ दलको उम्मेदवार भएका कारण राष्ट्रपति बाराक ओबामालेसमेत उहाँकै पक्षमा चुनावी भाषण गर्नुभयो ।  अश्वेत, मुस्लिम, अल्पसङ्ख्यक, आप्रवासी, शरणार्थीदेखि अधिकांश सञ्चार माध्यम, मतसर्वेक्षणहरू, सत्तारुढ डेमोक्रेटिक पार्टीदेखि प्रमुख प्रतिपक्षी दल रिपब्लिकन पार्टीकै वरिष्ठ नेताहरूसमेत क्लिन्टनको पक्षमा उभिएका थिए ।  अत्यधिक मतले क्लिन्टनले जित्ने अनुमान धेरैको थियो तर परिणाम ठीक विपरीत आयो ।  जसले गर्दा उहाँ चुनाव जितेर पहिलो महिला राष्ट्रपतिको इतिहास बनाउने अवसरबाट वञ्चित हुनुभयो ।
अर्कोतर्फ व्यापारिक पृष्ठभूमिबाट एक वर्ष अघिमात्र राजनीतिमा आउनुभएका ट्रम्पले कठोर र आक्रामक अभिव्यक्ति दिएर सुरुदेखि नै विवादमा परे पनि नाटकीय ढङ्गले चुनाव जित्नुभयो र अमेरिकी राजनीतिमा मात्र होइन, विश्व राजनीतिमै नयाँ हलचल ल्याउनुभयो ।   
यसपटक क्लिन्टनले राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनमा सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा, मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसर, आर्थिक सुधारका लागि रोजगारी वृद्धि, साना व्यवसायका लागि करमा छुट, मध्यम वर्गका लागि करको दायरा विस्तार, कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्त आदि विषयलाई चुनावी मुद्दा बनाउनुभयो ।  उहाँले आफूले चुनाव जितेको खण्डमा अमेरिकी जनताको सुरक्षाका लागि अहिले मुख्य चुनौती बनेको बन्दुक आतङ्क अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो तर बहुसङ्ख्यक श्वेत अमेरिकीहरूले उहाँलाई मत दिएनन्, फलस्वरूप चुनाव हार्नुभयो ।  
ट्रम्पले चाहिँ अमेरिकालाई फेरि महान् र शक्तिशाली बनाउने, आप्रवासी समस्या समाधान गर्ने, रोजगारी वृद्धि, स्वतन्त्र, सुरक्षित र बलियो अमेरिका बनाउने भन्दै आप्रवासी, शरणार्थी र मुसलमानबाट अमेरिका असुरक्षित भएकाले आगमन रोक्न सीमा क्षेत्रमा अग्लो पर्खाल बनाउनुपर्नेजस्ता विवादास्पद अभिव्यक्ति दिनुभयो ।  उहाँको पक्षमा न अमेरिकाको बहुसङ्ख्यक सञ्चार माध्यम लागे न आफ्नै पार्टीका नेताहरू ।  पार्टीका पूर्व राष्ट्रपतिहरू तथा अन्य प्रभावशाली नेताहरूले उहाँको चुनाव प्रचारप्रसारमा सहयोग गरेनन् ।  प्रमुख चुनाव प्रचारक पाउल मानाफोर्टले राजीनामा दिएपछि त उहाँ थप अप्ठेरोमा पर्नुभयो तर हिम्मत हार्नुभएन ।  उहाँ त एक हिसाबले पार्टीको विद्रोही उम्मेदवारजस्तो देखिनुभएको थियो तर बहुसङ्ख्यक श्वेत अमेरिकीहरूले उहाँको चुनावी नारा मन पराएर एकमुष्ट रूपमा मतदान गरे र अत्यधिक मतले विजयी बनाए ।  ट्रम्पको यो जितले अमेरिकामा अनुदारवाद हाबी हुने सङ्केत मात्रै गरेन, महिलाप्रति अमेरिकी समाजमा लैङ्गिक विभेदको खाडल गहिरो छ भन्ने कुरा प्रस्ट पारेको छ ।
चुनावी घटनाक्रम जेजस्तो भए पनि ट्रम्पको जितसँगै अमेरिकी राजनीतिले नयाँ मोड लिएको छ ।  चुनाव जितेलगत्तै उहाँले समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो ऐतिहासिक जित सबै अमेरिकीको जित भएको र सबैको राष्ट्रपति बन्ने उद्घोष गर्नुभयो ।  उहाँले अमेरिकाको सर्वोत्तम हितमा काम गर्ने र अन्य शत्रुहरूसँग पनि मित्रवत् व्यवहार गर्ने भन्दै चुनावमा विभाजित अमेरिकीलाई अब एकजुट हुनुपर्ने, रिपब्लिकन र डेमोक्रेटिक पार्टी मिलेर काम गर्नुपर्ने भन्दै मेलमिलापका लागि आह्वानसमेत गर्नुभयो ।  चुनावताका आक्रामक र कठोर बन्नुभएका ट्रम्प चुनाव जितेर एकाएक अत्यन्तै नरम र उदार ढङ्गले प्रस्तुत हुनुभएकोमा अहिले नयाँ आशा सञ्चार भएको छ ।  
ट्रम्पले राष्ट्रपतिको तलब नलिने घोषणा गर्नुभएको छ ।  राष्ट्रपतिको वार्षिक तलब ४० लाख डलर हुनेगर्छ ।  उहाँले रुस तथा चीनसितको सम्बन्धलाई बलियो बनाउने भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गर्नुभएको छ ।  ट्रम्पले मध्यपूर्वको गम्भीर समस्याका रूपमा रहेको इजरायल–प्यालेस्टाइन विवाद टुङ्ग्याउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।   
उता, वर्तमान राष्ट्रपति ओबामाको लगातार दुई कार्यकाल यसै वर्ष समाप्त हुँदैछ ।  उहाँ डेमोक्रेटिक पार्टीकातर्फबाट चुनाव जितेर पहिलो अश्वेत राष्ट्रपति बनी नयाँ इतिहास रच्नुभयो ।  लगातार दुई कार्यकाल पूरा गरेपछि राष्ट्रपति चुनाव लड्न नपाइने अमेरिकाको संवैधानिक व्यवस्था अनुसार यसपटक राष्ट्रपति ओबामा चुनावी दौडमा सहभागी हुनुभएन ।  
अमेरिकामा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुनेगर्छ ।  नोभेम्बरको पहिलो मङ्गलबार २ देखि ८ तारिखभित्र त्यहाँ राष्ट्रपतिको चुनाव हुने प्रचलन छ ।  त्यहाँको निर्वाचन प्रणाली मिश्रित, इलेक्ट्रोरल तथा पपुलर मतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुन्छ ।  
लामो समयसम्म बेलायतको उपनिवेशमा रहेको अमेरिका सन् १७७६ मा स्वतन्त्र भएको हो ।  सन् १७८७ मा संविधान जारी भई सन् १७८९ मा जर्ज वासिङ्टन पहिलो राष्ट्रपति निर्वाचित हुनुभयो ।  त्यसपछि त्यहाँ अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरे ।  आन्दोलनले गृहयुद्धको रूप लिएपछि सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दास प्रथा उन्मूलनको घोषणा गरियो ।  
संविधानमा दास प्रथाको उन्मूलनको घोषणा गरे पनि व्यवहारमा लागू नभएपछि लामो समयसम्म जारी रङभेदविरोधी आन्दोलन सन् १९६५ मा चरमोत्कर्षमा पुग्यो ।  आन्दोलनको नेतृत्व गर्नुभएका अश्वेत नेता मार्टिन लुथर किङको १९६८ मा भएको हत्याले त झन् आगोमा घिउ थप्ने काम ग¥यो ।  लोकप्रिय नेताको हत्याले आक्रोशित काला जातिको रङभेदविरोधी आन्दोलन अरू चर्किन नदिन गोरा अमेरिकी नागरिकसरहका सबैखाले अधिकार दिने सरकारको प्रतिबद्धता अनुसार काला जातिका मानिसहरू प्रशासन तथा सैनिक सेवामा प्रवेश पाए ।  समान अवसर पाएकै कारण काला जातिबाट ओबामा सर्वोच्च पदमा पुग्न सफल हुनुभयो ।  
विशेषतः उदारवादी मानिने डेमोक्रेटिक पार्टीका तर्फबाट ओबामाको दुई कार्यकाल उदारवादतर्फ उन्मुख भयो ।  उहाँको उदारवाद र सुधारवादलाई अश्वेत, मुस्लिम, मध्यम वर्ग, आप्रवासी, शरणार्थीले मन पराए पनि बहुसङ्ख्यक श्वेत अमेरिकीहरूले मन पराएनन्, जसले गर्दा लामो राजनीतिक र कूटनीतिक अनुभव सँगाल्नुभएकी क्लिन्टन लोकप्रिय हुँदाहुँदै पनि चुनाव हार्नुभयो ।  
श्वेत अमेरिकीहरूले मन पराएकै कारण चरम प्रतिकूल अवस्थामा पनि चुनाव जिती नयाँ इतिहास रच्नुभएका ट्रम्पका सामु अब सबैको भावना समेटेर विश्वशान्ति र मेलमिलापका लागि मिलेर काम गर्नुपर्ने चुनौती छ ।  उहाँको जितबाट अत्तालिएका र असुरक्षित महसुस गरेका अश्वेत, मुस्लिम, आप्रवासी, शरणार्थी र मध्यमवर्गलाई पनि विश्वासमा लिएर उनीहरूको हित संरक्षण गर्न सक्नुभयो भने वास्तवमा चुनाव जितेपछिको पहिलो सम्बोधनमा ‘म सबैको राष्ट्रपति बन्छु’ भनी व्यक्त प्रतिबद्धताले पूर्णता पाउने छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना