चीनको प्रविधि, क्षमता र तत्परताबाट लाभ लिन सक्नुपर्छ


निजामती सेवामा लामो समय क्रियाशील भई नेपाल सरकारको मुख्य सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुभएका लीलामणि पौड्याल जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत पदमा नियुक्त हुनुभएको छ ।  उहाँले यसअघि चीन स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित महावाणिज्यदूतको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।  नेपालको प्रशासनिक र कूटनीतिक सेवामा रहँदा आर्जित दक्षता, अनुभव र ज्ञानलाई नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ बनाउन उहाँले सदुपयोग गर्नु हुने अपेक्षा गरिएको छ ।  समसामयिक विषयमा राजदूत पौड्यालसँग गोरखापत्रका सह–सम्पादक भक्तबहादुर थापाले गर्नुभएको कुराकानी :lilamani paudel

    चीनका लागि राजदूत पदमा गरिएको नियुक्तिलाई तपाईंले कसरी लिनुभएको छ ?
चीन र नेपालबीच सदियौँदेखिको ऐतिहासिक एवं सुमधुर सम्बन्ध छ ।  चीनजस्तो एउटा असल, विश्वासिलो र भरपर्दो सम्बन्ध रहेको देशमा नेपाली राजदूत भएर जान पाउनु मेरो लागि ठूलो अवसर हो ।  मलाई धेरै ठूलो जिम्मेवारी पाएको बोध भएको छ ।  मेरो काँधमा दुई मुलुकबीचको सम्बन्धलाई उचाइमा पु¥याउने जिम्मेवारी आएको अनुभव गरेको छु ।  
    तपाईंले पद सम्हाल्नुभएपछिको पहिलो काम के हुनेछ ?
उच्च राजनीतिक तहमा भ्रमणहरू आदान प्रदान गरेर राजनीतिक विश्वासलाई अझ दरिलोे बनाउने प्रयास हुनेछ ।  यसैगरी दुई देशबीचका आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई पारस्परिक हितका आधारमा विस्तार गर्न प्रयास गर्नेछु ।  सदियौँ पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने, त्यसलाई सुदृढ गराउने र समग्रमा दुवै देश तथा जनताको हित, समग्र क्षेत्रको समृद्धि र स्थायित्वका लागि काम गर्नेछु ।
    अहिलेको नेपाल–चीन सम्बन्धलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपालको अहिलेको आवश्यकता भनेको खासगरी विकास निर्माण नै हो ।  त्यो आवश्यकता पूर्ति गर्नका लागि साधन, स्रोत, क्षमता र तत्परताका दृष्टिकोणबाट नेपालको चीनसँगको सम्बन्ध ठूलो अवसरका रूपमा छ ।  नेपाल–चीनबीचको सम्बन्ध दुवै देशका उच्च राजनीतिक तह, सरकारी तह तथा जनस्तरमा पनि सुमधुर हुनुपर्छ ।  यो सम्बन्ध विभिन्न किसिमका उतारचढावबाट प्रभावित हुनुहुँदैन ।  चीनको राजनीतिक, आर्थिक प्रगतिबाट नेपालले लिन सक्नुपर्ने लाभ भने पर्याप्त मात्रामा लिन सकिएको देखिँदैन ।  द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याएर पारस्परिक लाभलाई विस्तार गर्दै लैजानका लागि अवसर अर्थात् ढोका भने खुला छ ।
    निकट भविष्यमै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा छ, त्यसका लागि यहाँको भूमिका कस्तो रहन्छ ?
शक्तिशाली देश चीनका राष्ट्राध्यक्षले छिमेकीहरूको सम्बन्धलाई महŒव दिने गरी वैदेशिक सम्बन्ध निर्धारण गर्नुभएको कुरा सार्वजनिक भएको छ ।  यसबाट एसिया र विश्वकै समृद्धि र मुलुकबीचको सह–सम्बन्धलाई प्रभाव पार्ने गरी एउटा ऐतिहासिक धारणा ‘एक क्षेत्र एक मार्ग’ को अवधारणाका माध्यमबाट एक किसिमको आर्थिक–सामाजिक अवसरका लागि विश्वमा एउटा तरङ्ग नै पैदा गरेको छ ।  त्यस्तो ठूलो देशको राष्ट्राध्यक्ष जस्तो व्यक्तित्वलाई नेपालको भ्रमण गराउनु नेपालका लागि एउटा अवसर पनि हो ।  त्यसबाट नेपालले लाभ लिन सक्ने कुरा प्रशस्त छन् ।  यसमा हाम्रा सबै प्रयत्न तथा प्रयास पनि हुनुपर्छ ।  त्यो मात्र नभई उच्च स्तरका राजनीतिक भ्रमण हुनुपर्छ ।  सबैखाले उच्च स्तरका राजनीतिक भ्रमण आदान प्रदान गरेर दुई देशबीच विश्वासको वातावरण बनाउन पनि आवश्यक छ, यसमा मेरो भरपूर प्रयास रहनेछ ।  
    सरकार फेरिएपिच्छे नेपालको परराष्ट्र नीतिमा उतारचढाव आउने गरेको छ ।  यसमा सुधारका उपाय के हुन सक्छन् ?
यो त राजनीतिक नेतृत्वले जिम्मेवारीबोध गर्ने विषय हो ।  बाह्य सम्बन्धका सन्दर्भमा प्रमुख राजनीतिक दलबीच समझदारी कायम हुनुपर्छ ।  त्यही समझदारी अनुरूपको नीतिलाई पछ्याएर अगाडि जाने प्रयत्न राजनीतिक दलहरूले नै गर्नुपर्छ ।  दलहरूबीच छिटोभन्दा छिटो प्रमुख मुद्दा तथा वैदेशिक सम्बन्धका विषयमा एक किसिमको समझदारी बन्नैपर्ने खाँचो छ ।  त्यस्तो गर्न सकियो भने सरकार फेरिएपिच्छे बाह्य सम्बन्धमा उतारचढाव आउँदैन ।  राजनीतिक दल तथा हामी सबैले हेर्ने कुरा राष्ट्रिय स्वार्थ हो ।  त्यो स्वार्थ छिटोछिटो परिवर्तन हुने विषय होइन ।  त्यसकारण राट्रिष्य स्वार्थका मूल मुद्दामा दलहरूबीच समझदारी र एकरूपता आउनु आवश्यक छ ।  यसबाट सुधार आउन सक्छ ।
    दुई देशबीच पछिल्लो समयमा भएका सहमति, समझदारीको कार्यान्वयनको अवस्था कस्तो छ ?
खासगरी नेपालको आवश्यकता भनेको आर्थिक तथा सामाजिक रूपान्तरण हो ।  हामी नेपालीको आवश्यकतालाई हेरेर गरिएका समझदारी, सम्झौता तथा थुप्रै संयन्त्र छन् ।  तिनीहरूको कार्यान्वयन अलिक छिटो हुनुपर्ने र हुनुपर्छ भन्ने लाग्छ ।  
    नेपाल—चीनबीच सहयोगका नयाँ आधार के के बन्न सक्छन् ?
चीनले अभूतपूर्व रूपमा आर्थिक विकास गरिसकेको छ भने बाह्य मुलुकलाई सहयोग गर्न पनि तत्पर रहँदै आएको छ ।  चीनसँग सहयोग गर्न चाहिने पर्याप्त विदेशी मुद्राको सञ्चिति पनि छ ।  चीनले विकास तथा प्रविधिमा अभूतपूर्व ढङ्गले प्रगति तथा क्षमता हासिल गरेको छ ।  यसरी चीनसँग पुँजी छ, प्रविधि छ, क्षमता छ ।  साथसाथै छिमेकी मुलुकलाई उनीहरूको आवश्यकता अनुसार सहयोग गर्ने तत्परता पनि छ चीनसँग ।  यी सबै कुरालाई हेर्दा हाम्रो आर्थिक सामाजिक स्तरलाई ह्वात्त माथि उठाउन त्यो अवसर हो ।  सम्बन्धलाई नयाँ ढङ्गले अगाडि लिएर जाने भनेको त्यही अवसरबाट चीनले सहयोग गर्न प्रदर्शन गरिरहेको तत्परताका आधारमा हाम्रो तर्फबाट पनि तत्परताका साथ अगाडि बढेर लाभ लिनु हो ।  त्यो लाभले यो क्षेत्रको आर्थिक, सामाजिक विकास, शान्ति र स्थायित्वलाई योगदान पु¥याउन सक्ने अवस्था छ ।  नयाँ सम्बधका आधार त्यही दिशामा बन्नुपर्छ ।  
    चीनले अगाडि बढाएको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा नेपालको सहभागिताका लागि तपाईंको भूमिका कस्तो
रहनेछ ?
यसमा सरकारले एउटा समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।  वर्तमान सरकारले हामी यसमा साझेदार बन्न चाहन्छौँ भनेर भनिसकेको छ ।  त्यसलाई मूर्त रूपमा अगाडि बढाउनका लागि अर्थात् त्यसबाट आयोजना, योजना तथा कार्यक्रम छनोट गरेर त्यसैका आधारमा समग्र उन्नति, प्रगतिका लागि अगाडि बढाउने तथा यसमा काम गर्ने बाटो त्यसले खोलेको छ ।  त्यसलाई अगाडि बढाउनु नेपालजस्तो देशका लागि एउटा अवसर पनि हो ।  
 दुई राष्ट्रबीचका सबल र कमजोर पक्ष के के देख्नुभएको छ ?
सबल पक्षका कुुरा गर्दा चीनसँग प्रविधि छ, क्षमता छ, तत्परता छ, अनि नेपाललाई त्यसको आवश्यकता छ ।  चीनले नेपालमा भएका राजनीतिक उतारचढावका आधारमा सम्बन्धलाई हेर्दैन ।  चीनले नेपालको आन्तरिक मामलामा कहिल्यै पनि हस्तक्षेप गरेको छैन ।  पञ्चशील र सह–अस्तित्वका आधारमा मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चीनले सधैँ योगदान गरिराखेको छ ।  साथै चीनको सहयोग सधैंभरि सरकारको आवश्यकता अनुसार र सरकारी च्यानलबाट मात्रै आउँछ ।  यी सबै हाम्रा लागि सम्बन्धका सबल पक्ष हुन् ।  कमजोर पक्ष चाहिँ यी सबैबाट हामीले लाभ उठाउन सकेका छैनौँ ।  
    नेपालले छिमेकीसँगको कूटनीतिक सम्बन्धलाई अझ प्रभावकारी बनाउन कसरी अगाडि बढ्नुपर्छ ?
हाम्रा दुई ठूला छिमेकी देश चीन र भारत छन् ।  ती दुवै देश जनसङ्ख्याका हिसाबले पनि नेपालभन्दा धेरै ठूला छन् ।  आर्थिक क्षमताका हिसाबले पनि दुवै देशका आ–आफ्नै अवस्था छन् ।  धेरै ठूलो अन्तर छ ती दुवै देशबीच ।  तथापि हाम्रा लागि त दुवै छिमेकी मुलुक हुन् ।  त्यसकारण छिमेकीसँगको सम्बन्धलाई पारस्परिक हित र सौहार्दताका आधारमा अगाडि बढाउनुपर्छ ।  
    नेपालको सम्बन्ध भारत र चीनसँग समदूरीमा आधारित हुनुपर्छ भन्ने भनाइमा तपाईंको धारणा के छ ?
एउटा मुलुकसँगको सम्बन्धलाई अर्को मुलुकसँगको सम्बन्धको मूल्यमा निर्धारण गर्ने मान्यता वा दृष्टिकोणका आधारमा नभई एउटा छिमेकीसँगको सम्बन्धबाट अर्को छिमेकीसँगको सम्बन्धलाई प्रभावित पार्नुहँुदैन भन्ने दृष्टिबाट समदूरी भनिएको हो भने यो स्वागतयोग्य तथा राम्रो कुरा हो ।  हाम्रो बेग्लै विशेष सम्बन्धभन्दा पारस्परिक हितका आधारमा अन्तर्राष्ट्रिय प्रचलन, कूटनीतिक मान्यता, समझदारी, हाम्रा आवश्यकता तथा त्यसका आधारमा सम्बन्धलाई अगाडि बढाउने हो, सम्बन्ध सुदृढ गर्ने हो ।  हाम्रा छिमेकी देशसँग पारस्परिक लाभका लागि सम्बन्ध अगाडि बढाउने हो ।  त्यो सम्बन्ध एउटातिर मात्र ढल्किने हुनुहँुदैन ।  एउटातिर बढी ढल्किएर अर्कोलाई बेवास्ता गर्ने हिसाबले जानु हुँदैन ।  त्यो हिसाबले समदूरीको सम्बन्ध हो ।  खासगरी हामी एकातिर ढल्कनुभनेको सम्बन्धलाई असन्तुलित बनाउनु हो ।  त्यस्तो असन्तुलित सम्बन्ध बनाउनु हुँदैन ।  
    अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?
अहिलेको चीनसँगको सम्बन्धलाई नयाँ उचाइमा लिएर जाने नयाँ ऐतिहासिक अवसर आएको अवस्थामा सम्बन्धका कूटनीतिक सरकारी दायरा र आयाम त हुन्छन् नै ।  जनस्तरका आर्थिक सम्बन्ध विस्तारका लागि पनि सबैले आ–आफ्ना ठाउँबाट भूमिका निर्वाह गरौँ ।  त्यो भूमिकाले हाम्रो आर्थिक, सामाजिक विकासका लागि एकातिर योगदान दिन्छ भने अर्कोतिर समग्र यो क्षेत्रको शान्ति र स्थायित्वका लागि पनि योगदान पुग्छ ।  चीन ठूलो, शक्तिशाली, आर्थिक हिसाबले सम्पन्न, उदार र असल मित्र हो ।  यो सम्बन्धबाट अत्यधिक लाभ लिनका लागि चिनियाँ जनता र सरकारको विश्वास पनि प्राप्त गर्नुपर्ने हुन्छ ।  त्यही हिसाबले हामीले सम्बन्ध र विश्वास बढाउनुपर्ने हुन्छ ।  यो हाम्रै हितका लागि हो, हामी सबैले प्रयास गरौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना