‘भारत र चीनसँग समानान्तर सम्बन्ध’

नारद गौतम

काठमाडौँ, मङ्सिर ३ गते ।  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालले दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनसँग समानान्तर हिसाबले सम्बन्ध विकसित गर्ने बताउनुभएको छ ।  
बिहीबार गोरखापत्रसँग कुरा गर्दै परराष्ट्रमन्त्री महतले भारतसँगको सम्बन्ध अहिले सहज भएको स्पष्ट पार्दै नेपालका राष्ट्रपतिको भारत भ्रमण पनि छिट्टै हुने छ भन्नुभयो ।  उहाँले नेपालले चीनसँगको सम्बन्धलाई उत्तिकै महत्व दिएको र चीनका राष्ट्रपतिको नेपाल भ्रमण पनि निकट भविष्यमै हुने जानकारी दिनुभयो ।  उहाँले दुवै राष्ट्रपतिको भ्रमणको टुङ्गो भने लागिनसकेको बताउनुभयो ।  
परराष्ट्र नीतिलाई सञ्चालन गर्दा एउटा मुलुकसँग राम्रो सम्बन्ध राख्नु भनेको अर्को देशसँग राम्रो सम्बन्ध नराख्नु होइन भन्दै मन्त्री महतले भन्नुभयो, ‘‘नेपालले भारतसँग विश्वासको सम्बन्ध स्थापित गर्ने कुरा चीनसँग पनि राम्रो सम्बन्ध राख्ने भनेको हो, एउटा देशको सम्बन्धको मूल्यमा अर्को देशसँगको सम्बन्ध होइन कि नेपालले दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनसँग समानान्तर हिसाबले सम्बन्ध विकसित गर्ने हो । ’’ मन्त्री महतले विगतमा गणतन्त्र भारतसँग देखापरेको तिक्ततामा अहिले सुधार आई विश्वासको वातावरण तयार भएको र त्यसैको आधारमा भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्नुभयो ।  Prakash-saran-mahat
उहाँले परराष्ट्र नीति सञ्चालन गर्दा छिमेकी देश र मित्र राष्ट्रहरूसँग कूटनीतिक तवरबाट आफ्ना चासो, चिन्ता तथा नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताका विषयमा कूटनीतिक पहल गरेको बताउनुभयो ।  विगतका सन्दर्भको चर्चा गर्दै मन्त्री महतले नेपालमा धेरैजसो परराष्ट्र सम्बन्धलाई सडकको बहस बनाउँदा त्यसले हाम्रो राष्ट्रिय स्वार्थमा अनुकूल प्रभाव पार्न सकेको छैन र त्यसले प्रतिकूलता नै सिर्जना गरेको स्मरण गराउनुभयो ।  
उहाँले विगतको अनुभवलाई हेरेर अहिले द्विपक्षीय सम्बन्ध प्रगाढ र सुमधुर बनाउन कूटनीतिक संयन्त्रको प्रयोग गरिएको र त्यसका सकारात्मक परिणामहरू देखिएका छन् भन्नुभयो ।  परम्परागत सम्बन्ध भएका मुलुक र अन्य देशको सम्बन्धलाई व्यापक बनाउने प्रयास भएको जानकारी दिँदै मन्त्री महतले खाडीलगायत मुलुकमा कार्यरत लाखौँ नेपालीको समस्या समाधान र उनीहरूको सुरक्षालाई पनि ध्यानमा राखेर काम कारबाही अगाडि बढाइएको उल्लेख गर्नुभयो ।  
परराष्ट्रमन्त्री महतले भन्नुभयो,
‘‘गणतन्त्र भारतसँगको सम्बन्धमा विगतमा केही तिक्तता आएका थिए, त्यसलाई विश्वासको सम्बन्धको रूपमा विकसित गर्नु जरुरी थियो, त्यसलाई हामीले प्रयास ग¥यौँ, हामीले हाम्रा समस्याहरू पनि कूटनीतिक तवरबाट राखेको छौँ, जुन विषय पहिला पर्न सकेका थिएनन् ।  सडकमा धेरै कुरा उठ्ने तर टेबुलका बस्दा ती विषयले स्थान पाउने गरेका थिएनन्, ती विषयलाई हामीले उठायौँ र अहिले विश्वासको वातावरण बनेको छ । ’’
राष्ट्रपति विद्यादेवी भण्डारीको निकट भविष्यमै भारतको भ्रमण हुँदैछ भन्दै मन्त्री महतले निकट भविष्यमै जनवादी गणतन्त्र चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुने वातावरण बनेको बताउनुभयो ।  मन्त्री महतले भन्नुभयो, ‘‘चीनका राष्ट्रपति चाँडै आउँछु भन्नुभएको छ, मिति तय भएको छैन तर त्यो उच्चस्तरीय भ्रमण धेरै टाढा चाहिँ हुँदैन । ’’
भारतसँगको सम्बन्धमा पछिल्ला दिनमा एकदम सुमधुर सम्बन्धको आधार सिर्जना भएको जानकारी दिँदै मन्त्री महतले हिजोका दिनमा हाम्रा जनतासँग जोडिएका विषयवस्तु, सन्धि, सम्झौताहरू कार्यान्वयन भएका थिएनन्, त्यसलाई हामीले ठोस ढङ्गबाट राख्यौँ, त्यसलाई कार्यान्वयनमा लैजाने सहमति बनेको छ भन्नुभयो ।  गण्डक योजनाबाट नेपालले प्राप्त गर्ने सिंचाइ सुविधा, महाकाली परियोजना, डुवानका समस्या र विद्युत व्यापारको पहँुचलगायतका विषय पनि अब कार्यान्वयनमा जाने समझदारी बनेको धारणा मन्त्री महतको छ ।  
भारत सरकारको सहयोगमा सञ्चालित आयोजनाहरू सञ्चालन गर्दा एकले अर्कालाई दोष देखाउने समस्या रहेको सन्दर्भ औँल्याउँदै उहाँले अहिले संयुक्त अनुगमन संयन्त्रबाट हेर्ने सहमति भएको र कहाँबाट समस्या आएको हो, निक्र्यौल गरी अगाडि बढाउने परिस्थिति पनि बनेको बताउनुभयो ।  उहाँले विगतमा कार्यान्वयन हुन बाँकी कामहरू अब नतिजा नै आउने गरी काम हुने वातावरण बनेको र यो राम्रो कुरा हो भन्नुभयो ।  
मन्त्री महतले चीनसँग विगतमा भएका सहमति, समझदारीलाई विश्वासको आधारमा अगाडि बढाउने र अन्य देश अमेरिका, बेलायत, जापानलगायत देशहरूसँगको सम्बन्धलाई विकसित गर्दै लगिने जानकारी दिनुभयो ।  उहाँले त्यसलाई नेपालको राष्ट्रिय स्वार्थ र चासोलाई परिपूरण गर्ने गरी सघन कूटनीति (इन्टेनसिभ डिप्लोमेसी) लाई घनीभूत पार्ने प्रयास भएको बताउनुभयो ।  
संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदा भएका द्विपक्षीय र त्रिपक्षीय संवाद भएको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा खटिएका नेपाली सुरक्षाकर्मीले उच्च तहको पदमा प्रवेश पाउने विषयमा पनि कुराकानी भएको छ भन्नुभयो ।  अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरूसँग भएको संवादमा सहयोग क्षेत्रहरू बढाउने विषयमा उहाँहरू सकारात्मक देखिनुभएको बताउनुभयो ।  
खाडी मुलुकमा कार्यरत नेपाली कामदारको हक र सुरक्षाका लागि अलि उच्चस्तरीय पहल गर्ने तयारी भएको छ भन्दै उहाँले केही दिनभित्रै मलेसिया र अस्ट्रेलिया जाने तयारीमा रहेको बताउनुभयो ।  
त्यसैगरी, उहाँले खाडी मुलुकमा रहेका नेपालीका जे समस्या छन्, त्यसको समाधानका लागि तल्लो तहबाट समाधान खोजिने र त्यसबाट जे हुन्छ भन्ने अवस्था थियो, अब त्यसबाट माथि उठेर उच्चस्तरबाट पहल गरेर नेपालीको सुरक्षा र हितका कुरालाई अगाडि बढाउन प्राथमिकतामा राखेको छु भन्नुभयो ।  
एक दर्जन मुलुकमा अझै राजदूत नियुक्तिको प्रक्रिया सुरु नभएको सम्बधमा मन्त्री महतले भन्नुभयो, ‘‘राजदूत भनेको नेपालको नेतृत्व गरेर जाने व्यक्ति हो, हामीले कुनै पनि राजदूत नियुक्त गर्दा उसको हैसियतबाट हाम्रो देशको पहिचान हुन्छ, यो नेपालको इज्जत र प्रतिष्ठासँग गाँसिएको विषय हो, हचुवाको भरमा राजदूत नियुक्त गरिनु हुन्न, त्यसमा उसको योग्यता, क्षमता र देशको प्रतिष्ठालाई ध्यानमा राखेर राजदूतहरू नियुक्त हुन्छन् । ’’
नेपालमा शान्ति, स्थायित्व, लगानीको वातावरण नभई आर्थिक सहयोगहरू पर्याप्त मात्रामा आउँदैन, नेपालले आन्तरिक राजनीतिक स्थिरता, औद्योगिक शान्ति र कानुनहरू छिनछिनमा परिवर्तन हुँदैनन् भन्ने सन्देश दिन सक्नुपर्छ भन्नुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना