लोक संस्कृतिमा तन्त्रमन्त्रको प्रयोग

 डा. शोभा ढुंगाना


आदिम मानवहरूले नवपाषाणकालमा घुमन्ते जीवनलाई त्यागेर स्थायी जीवन सुरु गरे ।  भौतिक वस्तुलाई सजिलैसँग पाउन र अलौकिक सत्तालाई आफ्नो नियन्त्रणमा राख्न तान्त्रिक विधिहरूका उपाय अपनाएका थिए ।  यसलाई अभिचार भनिन्छ ।  सामान्य भाषामा अभिचारलाई तन्त्रमन्त्र पनि भनिन्छ ।  अभिचार वा तन्त्र भन्नाले मारण, मोहन, स्तम्भन, विद्वेषण, उच्चाटन र वशीकरण गरेर छ वटा साधनालाई बुझिन्छ, अभिचार धर्म होइन ।  धर्म हितकारक, पुस्टकारक, लाभदायक हो भने अभिचार व्यभिचार, अनिष्ट, दुःख, धोखा र मृत्युवरण हो ।  यसैले यी दुईको सत्ता पनि भिन्नभिन्न रहेको छ ।  अभिचार अन्धविश्वासमा अडेको हुन्छ भने विज्ञान सत्यतामा रहेको हुन्छ ।
हिन्दु समाजमा अभिचारको प्रयोग ऋग्वेददेखि नै भएको देखिन्छ ।  ऋग्वेद (१०।१४५) का मन्त्रहरूमा सौतालाई मार्ने र लोग्नेको मन आफूतिर फर्काउने दिव्यौषधि प्रयोग गर्ने कुराको उल्लेख गरिएको छ ।  यसरी वैदिककालदेखि नै मानवले आफ्नो स्वार्थ सिद्ध गर्न विभिन्न मन्त्रहरू प्रयोग गरेको प्रसङ्ग पाइन्छ ।  ऋग्वेदमाभन्दा अथर्ववेदमा अभिचारको भावना बढी रहेको छ ।  अथर्ववेद (३।२५) मा युद्धमा विजय प्राप्त गर्न, कुष्ठ रोग र क्षय रोग निवारण गर्न (५।४) शत्रु नाश गर्न (५।८), सर्पको विषबाट मुक्त हुन (५।१३), ज्वरो रुघाखोकीबाट बच्न (११।२), शरीर पुष्ट पार्न (१।६), पति सुख प्राप्त गर्न (२।३६), सजिलोसँग प्रसूति हुन (१।११) आदि कार्यमा मन्त्रको प्रयोग भएको देखिन्छ ।  यसरी विभिन्न अभिष्ट सिद्ध पूरा गर्न रुद्रलाई ‘अहं रुद्रेभिर्वसुभिश्च ...अहम्श्विनोभा’ (४।३) को मन्त्रबाट मानव जीवन पुनर्ताजगी भएको देखिन्छ ।  यस मन्त्रलाई शुद्धसँग नित्य उच्चारण गरेमा सिद्धि प्राप्ति, रोगनिवारण र मनकामना पूर्ण हुन्छ भन्ने विश्वास रहेको छ ।  उत्तर वैदिक कालमा आएर तन्त्रमन्त्रको प्रयोग निकै विकसित भएको देखिन्छ ।  एउटा अभीष्ट सिद्धिको लागि एक प्रकारको अभिचार गरिन्थ्यो भने अर्को अभीष्टको लागि अर्कै प्रकारको गरिन्थ्यो ।  यस्तो अभिचार गर्ने पुरोहित एउटै कुलको नभएर अलग अलग कुलका हुन्थे ।  अभिचारमा शब्द (मन्त्र) को पनि प्रतिस्पर्धा हुने गथ्र्यो ।  
यस्ता मन्त्रहरू प्रायः गरी पद्यमा नै रहेका छन् ।  कतै कतै गद्यमा पनि पाइएका छन् ।  यस्ता अभिचारलाई घातक र हितकारक गरी दुई वर्गमा छुट्याइछन् ।  जहाँ शत्रुलाई मार्ने सम्मोहन गर्ने (टुना मोहनी) गर्ने घातक अभिचारमा पर्छ ।  हितकारक अभिचारमा रोगबाट मुक्ति पाउनु, शत्रुमाथि विजय प्राप्त गर्नु, दीर्घजीवी हुनु आदि कार्य पर्छन् ।  यसको लागि मन्त्रका साथ जन्तर पनि धारण गर्ने प्रचलन छ ।  मारण, मोहन, वशीकरण उच्चाटन गर्न बनेका वैदिक मन्त्रहरूमा सुरुमा ॐ र पछाडि नमः शब्दहरू जोडिएको छ ।  वेदमा ‘यातुधान’ शब्दको बारम्बार प्रयोग भएको छ ।  यसको अर्थ जादु गर्ने वा जादुगरी हुन्छ ।  वशिष्ठ ऋषिलाई यातुधान शब्दबाट सम्बोधन गरिएको छ ।  पछि दानवलाई पनि यातुधान पनि भनिएको छ ।
देवताहरू पूजा र प्रार्थनाबाट नै खुसी हुन्छन् भनेर हरेक धर्मावलम्बीहरूमा विश्वास छ ।  बाल्मिकी रामायण (१।१६) मा पनि काश्यप, जाबालि, वामदेव, वशिष्ठ ऋषिहरू ल्गायत ऋष्यश्रृंगादिले अश्वमेध यज्ञपश्चात् राजा दशरथका तीन वटी रानीहरूलाई सन्तानोपत्ति गर्न सक्ने मन्त्रोच्चारण गरिएको पायस (खीर) लाई प्रसादको रूपमा खुवाएको प्रसङ्ग पाइन्छ ।  परिणाम स्वरूप राम लक्ष्मण भरत शत्रुघनको रूपमा वीर पुत्रहरू जन्मेको वर्णन पाइन्छ ।
महाभारतको आदि पर्व (११०।८) मा कुन्तिले मन्त्रको माध्यमबाट सूर्यलाई वशीकरण गरेर कर्णलाई जन्म दिएकी थिइन् ।  शान्ति पर्व (१०३।१७) मा शत्रु राज्यको सेनालाई दमन गर्न मन्त्रको प्रयोग गरी औषधि दिएमा सजिलैसँग विजय पाइन्छ भन्ने प्रसङ्ग पाइन्छ ।
महाभारतकै ब्यूहभेदनको श्लोक पाठ गरेमा गर्भिणीले सजिलैसँग प्रसवपीडाबाट मुक्ति पाउँछिन् भन्ने अवधारणा पनि रहेको छ ।  यसरी झारफुक तन्त्रमन्त्र प्रणाली औषधि उपचारमा प्रयोग गर्ने प्रचलन अनार्यसँगै आर्यहरूले पनि गर्थे ।
पौराणिक साहित्यहरूमा तन्त्रमन्त्रहरूद्वारा सिद्धि प्राप्त गर्न सक्ने तथ्यको वर्णन गरेको पाइन्छ ।  श्रीमद्भागवत गीताको ‘विष्णुसहस्रनाम स्तोत्र’ –मन्त्र पितृकर्ममा पिण्ड अर्पण गरेपछि पाठ गर्नाले पितृहरू खुसी भई आशिर्वाद दिन्छन् भन्ने धारण अझै व्याप्त छ ।  यसैगरी गाईवस्तु बिरामी हुँदा गीताकै १६ अध्यायको पाठ जपेर फुकेपछि निको हुन्छ भन्ने धारणा अझै छ ।  दुर्गासप्तशती –अथमन्त्रः ) ‘ॐ ऐ ह्ीं क्लीं चामुण्डायै विच्चै’ मन्त्रमा देवीका विभिन्न अवतारको वर्णन गरिएको छ ।  यसलाई शुद्धसँग उच्चारण गरेर आहुति (होम) गरेमा रोग निवारण भई दीर्घायु प्राप्त हुन्छ भन्ने धारणा छ ।  त्यसैगरी सप्तसतीमा २० प्रकारको अभीष्ट सिद्धिको लागि सम्पुट मन्त्रको उच्चारण गर्ने विधि छ ।  अग्निपुराणमा सूर्यको आह्वान गर्नाले शत्रुको दमन गर्न सक्ने उपाय बताइएको छ ।  विष्णु पुराणमा (१।१९) मा श्री हरिको स्तुति (मन्त्र) गरेमा सबै प्रकारको भौतिक र पारलौकिक वस्तु प्राप्ति हुन्छ भनिएको छ ।  शिवपुराण (१।२०) मा शुद्धसँग शिवको पाञ्चाक्षरी नाम जप गर्नाले मोक्ष (पुनः जन्मन नपर्ने) पाइन्छ भन्ने उल्लेख छ ।  बगलामुखी स्तोत्रमा प्रत्येक वृहस्पतिबार दिनको तीन पटक शुद्धसँग बगलामुखी–दशमहाविद्या मध्ये एक पीठ) को जप गर्नाले शत्रुको बोली बन्द भई विजय पाइन्छ भन्ने छ ।
आर्यहरूले आफ्नो अभीष्ट सिद्ध गर्नको लागि तन्त्रमन्त्रको सहारा लिएको पाइन्छ ।  आर्यहरूले जप्ने गायत्री मन्त्रमा सूर्यको स्तुति गरिएको छ ।  यसबाट एकाग्रता प्राप्त गर्ने चित्तलाई नियन्त्रण गर्ने, सकारात्मक धारणा र समाधिको अवस्थासम्म पुग्ने मार्गको रूपमा लिइने गरिन्छ ।  मनु स्मृति (९।२९०)मा अहितकारी अभिचार कर्मलाई निकृष्ट कार्य मानिएको छ ।  यस्ता कार्य गर्नेलाई मनुले दण्ड सजायको पनि व्यवस्था गरेको पाइन्छ ।  यसबाट हितकारी अभिचार कर्मलाई प्रोत्साहन दिइन्थ्यो भन्ने थाहा हुन्छ ।
कौटिल्यको अर्थशास्त्र (४।१७४,१७५) मा शत्रु राज्यमाथि विजय प्राप्त गर्न त्यहाँको सेनालाई वशीकरण गर्ने उपाय बताइएको छ ।  यसप्रकार वैदिककालदेखि नै आयुर्वेद, गान्धर्वदेव, देवपूजन, भूतविद्या, वास्तुविद्या शिल्पविद्या आदि जस्ता विषय पठनपाठन हुने गथ्र्यो ।  पौराणिक साहित्यहरूमा जादुटुना तन्त्रमन्त्रलाई आसुरी विद्याको नामले सम्बोधन गरिएको छ ।
नेपाली समाजको सन्दर्भमा लिच्छविकालीन समयमा मन्त्रको प्रयोग भएको पाइँदैन ।  यद्यपि मध्यकालीन समाजमा तन्त्रमन्त्रको प्रयोग व्यापक भएको देखिन्छ ।  मध्यकालीन समाजमा तन्त्रको प्रयोग सन्को बाह्रौँ शताब्दीदेखि सुरु भएको मानिन्छ ।  भारतमा तुर्कहरूद्वारा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि आक्रमण भएपछि पण्डितहरू न्ेपालमा आएका थिए ।  तिनै पण्डितहरूले नेपालमा शैव र बौद्धधर्मको विभिन्न यानबाट तन्त्रमन्त्रको विस्तार गरे ।
भारतमा मन्त्रयान सम्प्रदायको आविष्कार आचार्य नागार्जुनले गरेका थिए ।  यिनी रसायन शास्त्र र आयुर्वेदका ज्ञाता पनि थिए ।  तीक्ष्ण बुद्धि भएका नागार्जुन दक्षिण भारतीय ब्राह्मणकूलका थिए ।  यिनी वेदका विद्वान् थिए ।  वेदको अध्ययनपछि साधु भए ।  त्यसपछि मात्र बुद्ध धर्ममा दीक्षित भई मन्त्रयानको सिर्जना गरेका थिए ।  मन्त्रयानको उत्पति दक्षिण भारतमा भएको थियो भने यसको विकास बङ्गालको श्रीपर्वतबाट भएको थियो ।  बङ्गालमा मुसलमानको आक्रमण भएपछि मात्र पण्डितहरू भागेर धर्मग्रन्थसहित आफ्ना अनुयायीहरू लिएर नेपालमा पसेका थिए ।  यसपछि मात्र नेपाली समाजमा तन्त्रमन्त्रले प्रवेश गरेको हो ।
बौद्ध धर्ममा मन्त्रयानको प्रादूर्भाव वज्रयानबाट आएको हो ।  वज्रयानको सुरु इसाको छैटौँ शताब्दीबाट भएको हो ।  तन्त्र साधना पद्धति गोप्य रहने हंँुदा त्यसले बाहिर आउन केही समय लगाउँछ ।  इसाको आठौँ शताब्दीमा भारतमा विस्तार भयो ।  भारत र तिब्बतका हिन्दु धर्मावलम्बीहरू तीर्थाटन गर्ने सन्दर्भमा नेपालको बाटो प्रयोग गर्थे ।  यसैक्रममा नेपालमा पनि बिस्तारै बिस्तारै वज्रयानले प्रवेश गरेको हो ।  वज्रयान र शैव धर्ममा हठयोग साधनालाई महŒवपूर्ण मानिन्छ ।  वज्रयानको हठयोग साधना भैरवी चक्र (मैथुन क्रिया) मा मासु खानु, मद्यपान गर्नु र मन्त्र जप्नुलाई विशेष कार्य मान्छन् ।  यसबाट मन्त्रले छिटो सिद्धि पाउँछ भन्ने धारणा छ ।  यो परम्परा आजसम्म पनि छँदैछ ।  श्ौव धर्ममा पनि हठयोग साधना गरेर तन्त्रमन्त्र प्रयोग गर्नेमा कापालिका, कालामुख, पाशुपत र नाथ सम्प्रदाय (गोरखनाथ, मत्स्येन्द्रनाथ, आदिनाथ आदि) रहेका छन् ।  नाथ सम्प्रदायभित्र रहेका फकिरले आजसम्म पनि वैशाख, कात्तिक र माघमा बंराठको सिङ फुकेर तन्त्रमन्त्र जप्ने परम्परालाई निरन्तरता दिइरहेका छन् ।
इसाको बाह्रौँ तेह्रौँ शताब्दीमा भारतबाट विभिन्न साधुसन्त आएर राजा र राजपरिवारलाई दीक्षित गराउथेँ ।  तिब्बतबाट आएका भिक्षु धर्मस्वामीले स्वयम्भूमा तन्त्र साधना गरेका थिए ।  तन्त्र साधनारत भिक्षुलाई राजाले गुठीको व्यवस्था गरिदिएका हुन्थे ।  राजाको आश्रयमा रहेका वज्रयानीका सन्तती (गुभाजु) ले आजसम्म पनि तन्त्र मन्त्रको माध्यमबाट औषधि उपचार गर्दैछन् ।  
तन्त्र मन्त्र साधना गरेर आफ्नो अभीष्ट सिद्ध गराउनेमा वोन धर्मावलम्बीहरू पनि पर्छन् ।  यसअन्तर्गत मारण, मोहन, वशीकरण, अभिचार र उच्चाटन पर्छन् ।  अझै पनि पहाडी क्षेत्रमा बिरामीलाई धामीझाँक्रीकहाँ लगेर देखाउने चलन छँदैछ ।  धामीले जोखना हेरेपछि शत्रुद्वारा मारण, मोहन र वशीकरण आदि के भएको हो ? त्यसबारे फलाक्न थाल्छ र रोग निवारण गर्न थाल्छ ।  रोग निवारण गर्दा तन्त्रमन्त्रका साथै बलिको पनि त्यत्तिकै महŒव देखिन्छ ।  हिन्दु समाजमा बलि दिने प्रथा ऋग्वेददेखि नै रहेको छ ।  वर्तमान समयमा विज्ञानले जति नै विकास गरे पनि परम्परावादी धारणालाई चटक्कै छोड्न सकेको देखिँदैन ।  विश्वास गर्नु नगर्नु बेग्लै कुरा हो ।  समाजमा तन्त्रमन्त्रको प्रयोग अशिक्षितदेखि बौद्धिक वर्गमा समेत रहेको छ ।  बालबालिकाहरूलाई लागुभागुबाट मुक्त पार्न गायत्री मन्त्रको प्रयोग र प्रभाव अझै रहेको छ ।  त्यसैगरी आधा कपाल दुखेमा,जनै खटिरा आउँदा तन्त्रमन्त्र प्रयोग गरी चित्र लेख्ने प्रचलन अझै कायमै छ ।  
यस्ता अभीष्ट सिद्धिका लागि गरिने कार्य प्रायः संसारको धेरै राष्ट्रमा गरिन्छन् ।  आजसम्म पनि नेपालका केही जनजातिमा संस्कारदेखि दैनिकी जीवनका विभिन्न कार्य तन्त्रमन्त्रद्वारा सम्पन्न गरिन्छन् ।  थारू समुदायमा भर्राले तन्त्रमन्त्रको माध्यमबाट कुलदेवताको पूजा र औषधोपचार गर्छन् ।  किराँत समुदायमा विजुवाले तन्त्रमन्त्र प्रयोग गरी कुखुराको भाले पोथी काटेर आएको रगतबाट वर वधूको विवाह सफल असफल हुने निक्र्योल गर्छ ।  यस्ता अनेकौँ प्रयोजनका लागि तन्त्रमन्त्रको प्रयोग गरिएको छ ।  मैथली समाजमा गोदना (शरीरमा बुट्टा बनाउने) गर्दा मन्त्र पढेर गर्ने प्रचलन यद्यपि छँदैछ ।  बालकलाई दुष्ट आत्माबाट रक्षा गर्न उसकै नाभीको जन्तर बनाई लगाइदिने प्रचलन पुरानो हो ।  यसलाई समयसापेक्ष रूपमा प्रयोग गर्दै आइरहेको देखिन्छ ।  यसरी हरेक व्यक्तिले आफ्नो जीवनमा कुनै न कुनै अभीष्ट सिद्धि प्राप्त गर्न तन्त्रमन्त्रको सहारा लिएका हुन्छन् ।  
(यो लेख तन्त्रमन्त्रलाई प्रोत्साहन दिन लेखिएको होइन ।  समाजमा भएको प्रचलनलाई देखाउन मात्र खोजिएको हो – ले.)


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना