हुर्का नाच्दै कमाउँदै

अविनाश चौधरी

अमलटारी (नवलपरासी) ।  नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित शेरगञ्जमा सिमान्तकृत मुसहर जातिको बसोबास छ ।  उनीहरूको चलन छ, दिनभरी माछा मार्ने, फर्केपछि साँझपख हुर्का नाचमा रमाउँदै थकान मेट्ने ।  यो समुदायको हुर्का नाचको खासै चर्चा थिएन ।  
बाघखोर अमलटारीमा होमस्टे सञ्चालनमा आएपछि मुसहरको हुर्का नाच फैलने अवसर पायो ।  पहिला पुरुषले मात्रै नाच्ने यो हुर्का अहिले महिलाले पनि नाच्दैआएका छन् ।  नाम र दाम पनि कमाउन थालेपछि मुसहर जाति उत्साहित पनि छन् ।  
स्थानीय हरिबहादुर मुसहर भन्नुहुन्छ– “पहिला मनोरञ्जन मात्र थियो, अहिले कमाइको बाटो पनि बनेको छ हुर्का ।  यो नाचले हाम्रो प्रतिष्ठा पनि बढाएको छ । ” हुर्का नाचका अगुवा हरिबहादुर भन्नुहुन्छ– “पर्यटकलाई देखाउन होमस्टेमा पनि बोलाउँछन् ।  गोष्ठी, सम्मेलन तथा मेलामा पनि हुर्का नाचको माग बढ्दो छ । ”
उनीहरूले पर्यटकलाई एकपटक नाच देखाएबापत १० हजार रुपियाँसम्म लिन्छन् ।  हुर्का नाच १२ जनाले मिलेर देखाउने गरिन्छ ।  जसमध्ये दुई जना नाच्ने, एक जोकर र अन्य गीत गाउने तथा बाजा बजाउनेहरू हुन्छन् ।  यो नाचमा काठको घोडा आवश्यक पर्छ ।  हुर्का नाच मुसहर समुदायले पहिलैदेखि देखाउने गरेको मौलिक संस्कृति रहेको कलाकार माया मुसहरले बताउनुहुन्छ ।
चाडपर्व, विवाह, किरिया लगायतका कार्यक्रममा हुर्का नाच देखाउने चलन मुसहर समुदायमा रही आएको छ ।  पहिले पुरुषहरू नै महिलाको भेषमा हुर्का नाच्ने गरेकोमा अहिले आफूसहित चार जना महिलाले यो नाच नाच्ने गरेको माया मुसहर बताउनुहुन्छ । hurka
होमस्टेमा पर्यटकको रोजाईमा पर्दैआएको छ, हुर्का नाच ।  संस्कृति संरक्षणका लागि पनि महिलाले हुर्का नाच्न थालेको मीना मुसहर बताउनुहुन्छ ।  नाचमा जोकरको भूमिका निर्वाह गर्ने सूर्जलाल भन्नुहुन्छ– “पुर्खाले छाडेर गएको संस्कृतिको संरक्षण र यसैबाट केही कमाइ पनि भएको छ ।  त्यसैले यो नाचप्रति युवा आकर्षण बढिरहेको छ । ”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना