अमेरिकी निर्वाचनको सन्देश

dinanath_sharmaदीनानाथ शर्मा

 

विश्वको ठूलो र समृद्ध लोकतन्त्रको निर्वाचन परिणाम सार्वजनिक भएपछि विश्वमा ठूलो हलचल भयो ।  अमेरिकामा आवधिक निर्वाचन पहिले पनि हुँदै आएका हुन् ।  हारजित पहिला पनि हुने गरेकै हो तर यसपटक अमेरिकाका राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित र हिलारी क्लिन्टनको पराजयलाई धेरै मानिसले अनपेक्षित भने ।  पुँजीवादी विश्वका सम्पूर्ण मिडिया हिलारी क्लिन्टनको विजयको प्रचार गरेका थिए ।  मिडियाका पटक पटकका ‘एक्जिट पोल’ (मत सर्वेक्षण) ले हिलारी क्लिन्टनको स्थितिलाई अगाडि देखाएको थियो तर अन्तमा परिणाम त्यसको विपरीत भयो ।  अमेरिकी चुनावको परिणाम पर्खेर बसेका विश्वका करोडौँ मानिस चुनाव परिणामबाट स्तब्ध भए ।  
चुनाव परिणामपछि राजनीतिक विश्लेषक, लेखक, पत्रकारहरूले विभिन्न कोणबाट विश्लेषण गरे ।  विश्व राजनीतिक प्रणाली यथास्थितिबाट बाहिर निस्कन चाहन्छ ।  ट्रम्पको विजय डेमोक्रेटिक उम्मेदवार हिलारीको राज्य सञ्चालनको परम्परागत नीतिको निरन्तरताप्रतिको प्रतिबद्धता हो भन्ने निचोड निकाले कतिले ।  मतदानमा व्यक्तिको राजनीतिक योग्यता, परिपक्वता र अनुभवको ख्याल गरिएन ।  गोरा जातिमा सांस्कृतिक, आर्थिक, सामाजिक र राजनीतिक रूपले परेको नकारात्मक परिणामको आधारमा मतदान गरे ।  आप्रवासी काला जातिले शासन गरेको गोराहरूलाई चित्त बुझेन ।  महिलाप्रति हर्ने सङ्कीर्ण अमेरिकीहरूको चिन्तन प्रणालीलाई यो परिणामले नराम्रोसँग उजागर ग¥यो ।  हामीले राष्ट्रपतिको उम्मेदवारको व्यक्तिगत वा पार्टीगत आधारमाभन्दा पनि समग्र विश्व राजनीतिक प्रणालीमा पर्ने असरको धरातलमा उभेर समीक्षा गर्नु उपयुक्त होला ।  
फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटी भन्नुहुन्छ, ‘युरोप र विश्वलाई मुख्य शिक्षा प्रस्ट छ, भूमण्डलीकरणलाई आधारभूत रूपमै पुनर्विन्यास गर्नुपर्छ । ’ यो भनाइ अत्यन्तै महŒवपूर्ण छ ।  अमेरिकी समाजमा भूमण्डलीकरण र खुला बजार व्यवस्थामा परेको सङ्कटको परिणाम हो ट्रम्पको विजय ।  ट्रम्पको विजय अमेरिकी नीतिको परिणाम हो ।  बजार उदारीकरणद्वारा विश्व साम्राज्य कायम गर्ने अमेरिकी सपनालाई चिनियाँ विश्व बजारले उछिनिदियो ।  अमेरिकी युवक तथा निम्न आय भएका गोराहरूको मत ट्रम्पलाई गयो ।  युवा पुस्ताले विश्व बजार प्रणालीमा आफ्नो भविष्य सुरक्षित देखेन ।  निम्न आय भएका व्यक्तिले चिनियाँ पुँजीसित प्रतिस्पर्धा गर्ने विश्वास गुमाए ।  अमेरिका मात्रै अमेरिकीको भविष्य सुरक्षित देख्ने सम्भ्रान्त गोराहरूले सेप्टेम्बर ११ को घटनाले आतङ्कित बनेको अमेरिकीको मनोविज्ञानलाई ट्रम्पको आप्रवासी विरुद्धको आक्रोशपूर्ण अभिव्यक्तिले आकर्षित ग¥यो ।  मेक्सिकोको सीमामा पर्खाल लगाउने ट्रम्पको उद्घोषले राष्ट्रवादी जनमत ट्रम्पको पक्षमा तानियो ।  
अमेरिका खुम्चिन चाहन्छ आफ्नो सीमाभित्र ।  एकधु्रवीय विश्वको सपना बाँडेर अमेरिकी जनतालाई शासन गर्ने अमेरिकी सपना तुहिइसकेको छ ।  ट्रम्पको विजय एकध्रुवीय विश्वको बिसर्जनको सनाखत हो ।  ट्रम्पको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसित सहकार्य गरेर जाने सन्देशले २१औँ शताब्दीको विश्व राजनीतिक प्रणालीमा आमूल परिवर्तन हुने सङ्केत गर्छ ।  
ट्रम्प कुनै राजनीतिक सुझबुझ भएका व्यक्ति मानिनुहुन्न ।  उहाँले स्वास्थ्य बीमाको खारेजी चाहनुहुन्छ ।   ।  यसले ट्रम्पलाई मतदान गर्ने निम्न र मध्यमवर्गीय अमेरिकीलाई प्रभावित गर्नेछ ।  निजी स्वास्थ संस्थाहरूको व्यापार वृद्धिले अमेरिकी समाजमा असमानताको दूरी निकै फराकिलो हुनेछ ।  करको ३५ प्रतिशतको दायरा घटाएर १५ मा झार्ने घोषणाले अमेरिकीहरू खुसी त भए तर यसको दूरगामी परिणाम भने निकै घातक हुनेछ ।  कर्पोरेट पुँजीलाई संरक्षण गर्ने ट्रम्पको नीतिले अमेरिकी सम्भ्रान्त पुँजीपतिलाई संरक्षण गर्नेछ ।  मिकेरी अगाडि भन्नुहुन्छ, ‘हाम्रो समस्याको मूल चुनौती असमानताको वृद्धि र विश्व तापमानमा आएको वृद्धि हो । ’ ऊर्जा उत्सर्जनको समस्या हल गर्ने विश्व अभियानबाट ट्रम्प विचलित र गैरजिम्मेवार ढङ्गले पेस हुनुभएको छ ।  
सतही रूपमा उहाँ अति राष्ट्रवादी व्यवसायीको रूपमा पेस हुनुभएको छ ।  मेक्सिकोको सीमामा पर्खाल लगाउने ट्रम्पको भाषणलाई अमेरिकीले मन पराए ।  मेक्सिकोको बाटो भएरै चोरीछिपी अमेरिका छिर्ने र आन्तरिक गडबढी मच्चाउने, लागूपदार्थ ओसारपसार गर्ने, मानव तस्करीको सरल निकास त्यसैलाई बन्द गर्छु भन्ने ट्रम्पको भनाइको अमेरिकी मतदाताले समर्थन गरे ।  मानव तस्करी चोरिनिकासी, लागूपदार्थ तस्करी रोक्न अमेरिकी सुरक्षा निकाय असक्षम रहेछ भन्ने सन्देश हो यो ।  भारतबाट प्रकाशित हुने टेलिग्राफले ‘अमेरिकालाई, हाम्रा मान्छेहरू आदरणीय भगवान् मान्छन् ।  भगवान्को देशमा किन यस्तो
गरेको ?’ भन्छ ।  ट्रम्पको विजय देखेर ‘भगवान’ को देशमा भएको आन्तरिक गडबढी र आतङ्कबाट आजित जनताले ट्रम्पजस्ता व्यक्तिको छनोट गर्न बाध्य भएका छन् ।  कार्यकाल सम्हालेको सय दिनभित्र अवैध रूपमा अमेरिका बस्दै आएका अप्रवासीलाई निस्कासन गर्छु या त जेल हाल्छु भन्ने कडा प्रतिक्रियाले अमेरिकी लोकतन्त्रमा कति असर गर्ला हेर्न बाँकी छ ।  विश्व तापमानमा भएको परिवर्तनलाई नियन्त्रण गर्ने पेरिस सम्झौता मान्न बाध्य छैन भन्ने गैरजिम्मेवार अभिव्यक्तिले अमेरिकी शासन व्यवस्थालाई विश्वको दृष्टिमा कमजोर अवश्य गर्नेछ ।  
डोनाल्ड ट्रम्पको चुनाव घोषणापत्रले साम्राज्यवादी विश्वमा ठूलै हलचल मचायो ।  युरोपियन युनियनले ट्रम्प चाहेको थिएन ।  नेटो सैन्यशक्तिप्रति प्रतिबद्ध र विश्वासी उम्मेदवारी हिलारीको विजय पर्खेको थियो ।  रुस, चीन विरोधी क्याम्प सुदृढ र बलियो गर्ने रणनीतिकारको प्रतिक्षा थियो चुनावमा ।  युरोपियन युनियनको सपना नराम्रोसँग तुहियो ।  ट्रम्पको विजयपछि प्रतिक्रिया दिँदै फ्रान्सका राष्ट्रपतिले परिणाम खतरनाक भने ।  राजनीतिक विश्लेषक तथा पत्रकारहरूले आक्रोश व्यक्त गर्दै ‘अनटेस्टेड पोलिटिसियन’ भनेर प्रतिक्रिया दिए ।  ट्रम्पले नेटो र विश्वमा सैन्य कटौती गर्ने भन्नुभएको छ ।  जापानमा ४९ हजार, तथा दक्षिण कोरियामा रहेका २७ हजार सैनिकको खर्च कटौती हुने सङ्केत गरिसकेको र नेटो सैनिकका लागि भएको अमेरिकी खर्च अमेरिकाको समृद्धिमा केन्द्रित गर्ने घोषणा कम महŒवपूर्ण ठानेनन् अमेरिकीहरूले ।  यसबाट विश्व साम्राज्यवादी धुरीलाई सैन्य बलमा टिकाउने साम्राज्यवादी रणनीतिमा अवश्य पनि असर पर्न सक्छ ।  अमेरिका दुई धु्रवमा विभाजित हुने सङ्केत हो यो ।  यथास्थितिलाई कायम राख्ने कि ट्रम्पको नयाँ सोच अमुसार अगाडि बढ्ने भन्ने कुरामा पेन्टागन विभाजित हुनेछ ।  यसलाई यथास्थितिवादीहरूले खतरा भनेर विश्लेषण गरिसकेका छन् ।  
अमेरिकी पत्रकार तथा लेखक रोजर कोहनले द न्यूयोर्क टाइम्समा लेख्नुहुन्छ, ‘अनिश्चयले भरिपूर्ण यो अवस्था विश्व मामिलाका लागि खतरनाक क्षण हो । ’ ... ‘बाराक ओवामा लोकप्रिय छन् तर अमेरिकाका प्रथम काला जातिका राष्ट्रपति हुँदैमा नस्लवादको अवसान भइसकेको थिएन ।  त्यस्तै लिङगका आधारमा महिलामाथि गरिने पक्षपात पनि अझै जीवित छ ।  महिलाप्रतिको द्वैषका बाबजुद भएको ट्रम्पको विजयले यही  देखाउँछ । ’ यो भनाइले अमेरिकी गोराको दिमागमा सङ्कीर्ण नस्लवाद युगौँदेखि आग्रहको रूपमा छ भन्ने प्रस्ट हुन्छ ।  कथित अमेरिकी स्वतन्त्रता, समावेशी लोकतन्त्र, मानवअधिकारको नारा कति खोक्रो रहेछ भन्ने प्रस्ट हुन्छ ।  आप्रवासीविरुद्धको द्वेष नस्लवादको चरम अभिव्यक्ति हो ।  जातिभेद र लिङ्गभेद जस्ता अत्यन्तै घृणित मान्यता बोकेको समाज रहेछ अमेरिका भन्ने बुझ्न सरल भएको छ ।  अमेरिकी लोकतन्त्र भाले लोकतन्त्र हो, त्यसले भाले जातिको हितलाई मात्र हेर्छ भन्ने प्रमाणित भएको छ ।  
ट्रम्पको जितले परम्परागत पश्चिमा लोकतन्त्रको मोडल असफल भइसकेको भन्ने सङ्केत गर्छ ।  वर्तमान पश्चिमा राजनीतिक प्रणाली विशेष अमेरिकी राजनीतिक तथा आर्थिक प्रणाली असफल सिद्ध भएको छ ।  अमेरिकी लोकतन्त्र नक्कली लोकतन्त्र हो भन्ने कुरा नस्लवाद र लिङ्गभेद नीतिको चरम अभिव्यक्ति यस पटकको निर्वाचनमा प्रकट भएको छ ।  
बेलायत जनताले जनमत सङ्ग्रहमा युरोपियन युनियनबाट अलग हुने अभिमत प्रकट गरे ।  बेलायत र युरोपियन शासक गुटका नेताले त्यो चाहेका थिएनन् र त्यो परिणाम आउँछ भनेर सोचेका थिएनन् तर अहिले जनताको फैसला मान्न बाध्य भएका छन् ।  स्केन्डभियन देशका जनता युरोपियन युनियनमा बस्न चाहँदैनन् ।  जनमत सङ्ग्रह हुने हो भने परिणाम त्यही आउनेछ ।  
अमेरिकी जनताले केही नयाँ चिज खोजेका छन् ।  त्यसको अभिव्यक्ति स्वरूप ट्रम्पको जित भयो तर यो क्षणिक र अस्थायी हो ।  युगा सधैँ एकैनाश रहन सक्दैन ।  गतिमा अगाडि बढेको युगले नयाँको खोजी गर्छ ।  इतिहासले नेतृत्व जन्माउँछ ।  ट्रम्प अमेरिकी इतिहासको उपज हुन् ।  यो खतराको श्रीगणेश हो ।  हरेक समाजमा परिवर्तन आउँछ ।  वर्तमान विश्व राजनीतिक प्रणालीको विकल्प समयकै गर्भबाट जन्मिन्छ ।  ट्रम्पको विजयबाट कोही आत्तिनुपर्ने आवश्यकता भने छैन ।  
विश्व राजनीतिक रङ्गमञ्चमा विगत केही समययता अनौठा दृश्य देखिन थालेका छन् ।  जनताले कुनै पार्टी विशेष वा सत्तारुढ वर्गका रैती विशेष नरहेर स्वतन्त्र निर्णय गर्न थालेका छन् ।  विगत निर्वाचनमा परम्परावादी पार्टी कङ्ग्रेस आईलाई भारतीय जनताले ठेगान लगाइदिए ।  दिल्लीका जनताले केजरीवाललाई मतदान गरेर विजेपी कङ्ग्रेस जस्ता पार्टीको पत्तासाफ गरिदिए ।  बेलायती जनताले युरोपियन युनियनबाट अलग हुने फैसला गर्छन् भन्ने सोचेको भए शासक गुट जनमतमा जाने नै थिएन ।  त्यस्तै ट्रम्पको विजयबाट विश्व साम्राज्यवाद तिल्मिलाउने स्थिति भयो ।  ट्रम्प जनताका प्रतिनिधि हुनुहुन्न तर जनताकै मतले जित्नुभयो ।  संसदीय प्रणालीका यी परिणामले परम्परागत संसदीय प्रणालीको भविष्य सकिँदै गएको र नयाँ विश्व राजनीतिक प्रणालीको विकास अनिवार्य छ भन्ने सन्देश अमेरिकी चुनाव परिणामले दिएको छ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना