'गरिब देशले कतिवटा कति मुख्यमन्त्री थेग्छ?'

ललितपुर, मंसिर ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मित्रताका नाममा देशलाई कुठाराघात गर्न खोजे एमालेलाई स्वीकार्य नहुने बताउनुभएको छ ।

oli_5


नेकपा (एमाले) प्रदेश नम्बर ३ सङ्गठन विभागले यहाँ आज आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा उहाँले भोलि हुने तीन दलको बैठकमा आफूले राष्ट्रहितका पक्षमा नै अडान लिने बताउनुभयो ।

बैठकमा आफू दृढताका साथ लोकतन्त्र र अग्रगमनका पक्षमा आवाज उठाउने उहाँले बताउनुभयो । संविधान संशोधनसम्बन्धी विषयमा उहाँले भन्नुभयो, “तीन करोड नेपालीको साझा मुलुक भएकाले ‘फलानाजी’ मान्नुभएन भन्दैमा एमाले संशोधनका लागि सहमत हुँदैन ।” मित्रताका नाममा देशलाई कुठाराघात गर्न नदिनेमा उहाँको जोड थियो । परराष्ट्र नीति सञ्चालनको आधार राष्ट्रहित, अन्तर्राष्ट्रिय सम्बन्ध र न्याय नै आधार हुने उहाँले बताउनुभयो ।

अहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने पनि ओलीले बताउनुभयो । “संविधान कार्यान्वयनका लागि ऐन/कानुनको निर्माण, आयोग गठन, सीमासम्बन्धी अस्पष्टता हटाउनु खाँचो छ,” उहाँले भन्नुभयो । सातभन्दा बढी प्रदेशको माग गर्दा देश ध्वस्त हुने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गरिब देशमा कतिवटा सरकार, कति संसद् र कति मुख्यमन्त्री थेग्ने भन्ने पनि सोच्नुपर्छ ।”

एमाले विगतदेखि नै अनुत्पादकभन्दा पनि उत्पादक रोजगारीका पक्षमा लागेको उहाँले बताउनुभयो । नेकपा (एमाले) केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले एमालेको अडान पार्टीका लागि मात्रै नभएर मुलुकका लागि आवश्यक भएकोमा जोड दिनुभयो । रासस (तस्बिर उपलब्ध छ)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना