घ्याम्पेडाँडा संरक्षण गुरुयोजना बन्ने

नगेन्द्र सापकोटा

भक्तपुर , मङ्सिर ६ गते।  भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१३ (गुण्डू) मा पर्ने घ्याम्पेडाँडाको प्राकृतिक सौन्दर्यलाई ध्यानमा राखेर गुरुयोजना निर्माण गरिने भएको छ ।  सूर्यविनायकबाट चार किलोमिटर दक्षिणमा पर्ने घ्याम्पेडाँडाको प्राकृतिक सौन्दर्य र यहाँ पाइने जडीबुटीको उचित संरक्षण गर्न स्थानीय प्रशासन र स्थानीय बासिन्दाले संयुक्तरूपमा गुरुयोजना निर्माण गर्न लागेका हुन् ।
केही महिनाभित्रै गुरुयोजना निर्माण गरेर यहाँ उत्पादन हुने जडीबुटीको उचित संरक्षण गर्ने प्रतिबद्धता स्थानीय प्रशासनको रहेको छ ।  
घ्याम्पेडाँडोसँगै सरकारले जियोलोजिकल पार्क निर्माण गर्न लागेकाले यो क्षेत्र प्राकृतिक दृश्यावलोकन र पर्यटकीय दृष्टिले महìवपूर्ण रहेको भन्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले यहाँको प्राकृतिक सौन्दर्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन घ्याम्पेडाँडाको गुरुयोजना निर्माण गर्नुपर्ने बताउनुभयो ।  ghyampe danda
घ्याँम्पेडाँडा आसपासका वनमा अ‍ैंसेलु, चुत्रो, काफल, लालीगुराँस, धसिङ्गरे, जुरे काफल, हाँडे काफल, पानी अमलालगायतका प्राकृतिक जडिबुटी पाउन सकिन्छ ।  यो हाम्रो प्राकृतिक सम्पत्ति हो ।  यसको संरक्षण गर्न अब तत्काल स्थानीय प्रशासनले गुरुयोजना बनाएर वन र यहाँका जडिबुटी संरक्षण गर्नुपर्ने इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।  काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक जिल्लाका धेरै ठाउँ छर्लङ्ग देख्न सकिने घ्याम्पेडाँडोबाट करिब तीन किलोमिटरमाथि ऐतिहासिक रानीकोट दरबार रहेको छ ।  श्रेष्ठले मल्लकालमा निर्माण भएको त्यो दरबारको भग्नावशेष अहिले पनि रहेको जानकारी दिनुभयो ।  उहाँले दरबारनजिकै चुच्चे ढुङ्गा, बाघभैरव, घोडेडाँडा मल्लकालमा रानीले नुहाउने कुवा अहिले पनि संरक्षित रहेकाले त्यस क्षेत्रको संरक्षण गर्न गुरुयोजना बनाउन सुझाव दिनुभयो ।
मनास्लु, गणेश र कञ्चनजङ्घा हिमाल छर्लङ्ग देख्न सकिने दरबार रहेको ठाउँसम्म पुग्नका लागि करिब एक हजार १०० वटा सिँढी बनिसकेको त्यो क्षेत्र पुरातात्विक दृष्टिले महìवपूर्ण भएकाले तत्काल संरक्षणमा जुट्नुपर्ने उहाँको भनाइ छ ।
त्यहाँको वनमा बाघ, स्याल, मृग, खरायो, दुम्सी, बँदेल, सालक, कालिज, बट्टाइ, तित्रालगायतका पशुपक्षी पाइन्छन् ।  त्यस डाँडोको पूर्वमा आशपुरी, दक्षिणमा फूलचोकी, उत्तरमा केदारनाथको शिर (डोलेश्वर महादेव) र पश्चिममा सुवर्णेश्वर महादेव स्थान रहेका छन् ।  घ्याम्पेडाँडा पूर्वाधार विकास तथा पर्यटन सुधार संस्थाले यस वर्षको तिहारको सन्दर्भ पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय सरोकारवालाहरूले त्यहाँका सम्पदा र जडिबुटीलाई ध्यानमा राखी तत्काल गुरुयोजना निर्माण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भक्तपुरका स्थानीय विकास अधिकारी धु्रव कोइरालाका साथै अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले यहाँको वन, जडिबुटी, प्राकृतिक र सांस्कृतिक सम्पदाको जगेर्ना गर्न पनि गुरुयोजना निर्माण गरेर कार्यान्वयनमा जानुपर्ने बताउनुहुन्छ ।




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना