महाभियोग छलफल एक साताका लागि स¥यो

काठमाडौँ, मङ्सिर ६ गते ।  संसद्मा विचाराधीन अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगको छलफल फेरि एक साताका लागि सरेको छ ।  आइतबारको बैठकबाट प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउने अपेक्षा गरिए पनि तीन जनालाई मात्र छलफलमा भाग लिन दिइयो ।  बैठक ९ दिनका लागि स्थगित गरेर सभामुख ओनसरी घर्ती आइतबार नै रुस प्रस्थान गर्नुभयो ।
महाभियोग छलफलको प्रक्रिया सुस्त रूपमा अगाडि बढे पनि संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक बढाउने विधेयक भने दफावार छलफलका लागि समितिमा समेत नपठाई फास्ट ट्र्याकमा आइतबार नै पारित भएको छ ।  आइतबार तीन जना सदस्यले मात्र छलफलमा भाग लिए ।  सांसदहरू टुकराज सिग्देल, जनकबहादुर बुढा र ममता गिरीले मात्र आइतबार छलफलमा भाग लिनुभयो ।  
कार्कीविरुद्ध महाभियोगको सूचना दर्ता भएको एक महिना पूरा भएको छ ।  संसद्मा महाभियोग पेस भएको पनि एक महिना नै पूरा हुन लागेको छ ।  तर, यसबीचमा महाभियोग प्रस्तावमा संसद्मा पाँच दिन मात्र छलफल भएको छ ।  पाँच दिनको छलफलमा ५४ सांसदले धारणा राख्नुभएको छ ।  संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि अख्तियार प्रमुख निलम्बनमा हुनुहुन्छ ।  महाभियोगको छिनोफानोमा संसद्को क्रियाशीलता भने निकै सुस्त छ ।  संसद्ले कार्कीमाथि महाभियोग लाग्ने नलाग्ने निक्र्योलका लागि सिफारिस समितिमा समेत प्रस्ताव पठाउन सकेको छैन ।  
यसअघि पनि प्रस्तावमा कात्तिक ९ गते छलफल सुरु भएपछि १६ दिनका लागि छलफल स्थगित भएको थियो ।  तिहार र छठका लागि भन्दै लामो समय बैठक रोकिएको थियो ।  दसैँमा फूलपातीसम्म चलाइएको संसद्को बैठक तिहार सुरु हुन पाँच दिनअगावै रोकिएको थियो ।
कात्तिक २४ गते बैठक बसे पनि छलफलमा १७ जना मात्र सांसदले भाग लिनुभयो ।  त्यसयता बैठक निरन्तर अगाडि बढाउने अपेक्षा लिइएपछि दुई दिन स्थगित भएको थियो ।  कात्तिक २७ गतेको बैठकमा सात जना सांसदले मात्र छलफलमा भाग लिनुभएको थियो ।  
कात्तिक २७ पछि पनि बैठक दुई दिनका लागि पुनः स्थगित भएको थियो ।  आइतबारको बैठकले प्रस्ताव सिफारिस समितिमा पठाउने तयारी रहेको जानकारी सभामुख घर्तीले गत शुक्रबार नै दिनुभएको थियो ।  सोही तयारी अनुसार सम्भावित कार्यसूचीमा कम्पनी ऐन संशोधन विधेयकलाई संशोधन दर्ताका लागि पठाउने र महाभियोग छलफल चलाउने सम्भावित कार्यसूची प्रकाशित भएको थियो ।  तर, आइतबार बिहान अन्तिम समयमा संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक बढाउने विधेयकको दफावार छलफल र पारितको कार्यसूची आएको हो ।




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना