बर्दिया जैविक विविधताको ‘हटस्पट’

ramesh thapa_1रमेश थापा
प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज

 

० अहिले बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघको विशेष अनुगमन कार्य सुरु गरिँदैछ नि ?
– बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र यससँग जोडिएको खाता जैविकमार्ग तथा कैलाली जिल्लामा पर्ने छतिवन वन क्षेत्रमा समेत क्यामरा ट्रयापिङ प्रविधिबाट बाघ अनुगमनको काम सुरु गरिएको छ ।  यी सबै क्षेत्रलाई समेटेर चारवटा ‘ब्लक’ कायम गरिएको छ ।  प्रत्येक ‘ब्लक’मा क्यामरा राख्नका लागि २९३ वटा ‘ग्रिड’ पहिचान भएका छन् ।  प्रत्येक
‘ग्रिड’ मा १५ दिनसम्म क्यामरा राखिन्छ ।  प्रत्येक दिन क्यामराको अनुगमन गरिन्छ ।  त्यसमा फोटो खिचिएका बाघको तथ्याङ्क सङ्कलन गरिन्छ ।  एउटा क्यामरामा एउटै बाघ धेरैपटक परेको वा एउटै बाघ एउटाभन्दा बढी क्यामरामा परेको वा एउटा क्यामरामा एउटाभन्दा बढी बाघ परेका हुनसक्छन् ।  ती सबै फोटो विश्लेषण गरेर बाघको सङ्ख्या यकिन गरिन्छ ।  यसरी बाघको सङ्ख्या यकिन गर्दा बयस्क बाघमात्र गणना गरिन्छ ।
० एक पटक बर्दियामा बाघको बासस्थान बिग्रेको अध्ययनले देखाएको थियो, अहिलेको अवस्था कस्तो छ ?
– बिगत समयमा द्वन्द्वको प्रभाव सबै क्षेत्रमा प¥यो ।  निकुञ्ज र वन्यजन्तु पनि यसबाट प्रभावित हुनपुगे ।  त्यसै कारण बर्दियामा बाघ, गैंडालगायतका वन्यजन्तुको चोरी शिकार पनि बढ्यो ।  नियमितरूपमा वासस्थान व्यवस्थापनका क्रियाकलाप सञ्चालनमा समेत निरन्तरता नहुँदा वन्यजन्तुको वासस्थानमा समेत प्रतिकूल असर परेको देखिन्थ्यो ।  विगत वर्षमा वन्यजन्तुको ‘हटस्पट’ भनेर पहिचान भएको गेरुवा नदीको तटीय क्षेत्रमा पानी सुक्नाले पनि वन्यजन्तु र तिनको वासस्थानमा समेत नकारात्मक असर परेको थियो ।  हालका दिनमा निकुञ्ज संरक्षण र वासस्थान व्यवस्थापनका कार्य घनिभूत ढङ्गबाट सञ्चालन भएका छन् ।  वासस्थान विस्तारका साथै वासस्थानको गुणस्तर सुधार भएको छ ।  लालमाटी भन्ने स्थानबाट थुनिएको गेरुवा नदीको पानी खोलेर पानीको प्रचूर व्यवस्था मिलाइएको छ ।  त्यसको परिणामस्वरूप बाघका आहारा प्रजातिको सङ्ख्यासमेत बढेको छ ।  गेरुवा नदीतटीय क्षेत्र र बबई उपत्यकामा घाँसेमैदान व्यवस्थापन र सिमसार तथा पानीपोखरी निर्माण व्यवस्थापन गरिएको छ ।  सुख्खा मौसममा वन डढेलोबाट वासस्थानमा पर्नसक्ने असर न्यूनीकरणका लागि गत वर्षदेखि अग्निरेखा र पानीपोखरी निर्माणमा जोड दिइएको छ ।  वासस्थानमा रहेका वनमारा जस्ता मिचाहा प्रजातिका झार उन्मूलनका प्रयास जारी छन् ।  समग्रमा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र तिनका आहारा प्रजातिको वासस्थान राम्रो छ ।
० भनेपछि बाघ, गैंडालगायतका दुर्लभ र महìवपूर्ण वन्यजन्तुको बासस्थान सुधार भइरहेको छ ?
– वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको सहयोग र सहभागिता रहेको छ ।  वासस्थान व्यवस्थापन, चोरीशिकार तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा समेत स्थानीय समुदायको विशेष सक्रियता रहेको छ ।  बर्दियामा निकुञ्ज संरक्षणको काममा स्थानीय समुदायको सहभागिता नमूनायोग्य छ भन्न सकिन्छ ।  मध्यवर्ती क्षेत्रका करिब दुई हजार २०० युवाले चोरीशिकार नियन्त्रण युवा परिचालन अभियानमा आबद्ध रही स्वयंसेवकको रूपमा सहयोग गरिरहेका छन् ।  महिला स्वास्थ्य स्वयंसेविकाहरूको चोरीशिकार नियन्त्रण एकाइ त्यतिकै सक्रिय छ ।  मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, वन समूह, उप–समितिहरू, विद्यालयका शिक्षक र विद्यार्थी, पर्यटन व्यवसायी र प्रकृति पथ प्रदर्शकहरूबाट समेत निरन्तर सहयोग प्राप्त भएको छ ।  बर्दिया जिल्लामा सक्रिय सञ्चारकर्मीहरूबाट व्यापक सहयोग प्राप्त भएको छ ।  सबै क्षेत्रको निरन्तर सहयोग र सहकार्यबाट नै बर्दियालाई उदाहरणीय संरक्षण क्षेत्र बनाउने अभियानमा लाग्न हामीलाई प्रेरणा मिलेको छ ।
० बर्दिया राष्ट्रिय निकुञ्जमा जैविक विविधताको स्थिति चाहिँ कस्तो छ ?
– यो निकुञ्ज जैविक विविधतामा धनी छ ।  यहाँ ५६ भन्दा बढी प्रजातिका स्तनधारी वन्यजन्तु, २५ भन्दा बढी प्रजातिका घस्रने वन्यजन्तु, १२१ प्रजातिका पुतली, ४५० भन्दा बढी प्रजातिका चरा पाइन्छन् ।  किटपतङ्गहरूको आश्रयस्थल यो निकुञ्ज जैविक विविधताको भण्डार र खुला विश्वविद्यालय पनि हो ।  हामीले मूल्यमा परिणत गर्नै नसकिने जैविक सम्पत्ति यस निकुञ्जमा रहेको छ ।
० निकुञ्ज कार्यालयका आगामी योजना के के छन् ?
– हाम्रा आगामी कार्यक्रमहरूमा बबई उपत्यकामा थप गैंडा स्थानान्तरण गर्ने, बघौरा फाँटामा थप बाह्रसिंगा स्थानान्तरण गर्ने, कर्णालीको चिसापानीबाट खयरभट्टी, कर्मला सैनावारहुँदै पहाडको फेदीबाट बबई उपत्यकाको कालिनासम्म गस्ती सडक निर्माण गर्ने, बबई उपत्यकाको ठूलोश्रीसम्म ढकैलाबाट गस्ती सडक निर्माण गर्ने, बबई र गेरुवा नदीतटीय क्षेत्रमा घाँसैमैदान र पानीपोखरी विस्तार गर्ने, मानव–वन्यजन्तु सम्बन्ध सुधारका लागि विद्युतीय तारबार व्यवस्थित गर्ने, चितुवाबाट खसी, बाख्रा मारिने क्रम बढेकाले सुधारिएको खोर निर्माणलाई अभियानका रूपमा अगाडि बढाउने, ‘भिजिटर सेन्टर’ र वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्ने, सूचना केन्द्रलाई व्यवस्थित गर्ने, पर्यापर्यटन विकासका पूर्वाधार विकास गर्ने र मध्यवर्ती क्षेत्रका समुदायलाई आय–आर्जनका माध्यमबाट आत्मनिर्भर बन्न सहयोग पुग्नेखालका कार्यक्रम सञ्चालन गर्ने हाम्रा आगामी कार्यक्रम रहेका छन् ।
० बर्दियालाई मात्र केन्द्रित राखेर भन्नुपर्दा संरक्षणका देखिएका चुनौती के के छन् ?
–    बर्दियालाई मात्र केन्द्रमा राखेर भन्नुपर्दा पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाबाट वन्यजन्तु मारिनु, वन डढेलो, जङ्गली हात्तीको सङ्ख्यामा आएको वृद्धि र हात्तीले गरेको जनधनको क्षति नै मुख्य चुनौतीका रूपमा रहेका छन् ।


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना