भारुको अर्थतन्त्रमा भार

Junar_babu जुनारबाबु बस्नेत


भुइँचालो र नाकाबन्दीले एक वर्षअघि नेपाली जनजीवन असाध्य कष्टकर थियो ।  नाकाबन्दीले गत आर्थिक वर्षमा अर्थतन्त्र खुम्चियो ।  त्यसैको मारमा अर्थतन्त्र परिरहेकै छ ।  आय, उत्पादन र रोजगारीमा यो असर सघन भए पनि गहन अध्ययनको आवश्यकता ठानिएन ।  मौजुदा त्यस्ता अनेक पीडामा भारत सरकारले पाँच सय र एक हजार दरका नोटमा हालै लगाएको प्रतिबन्धका प्रभाव पनि थपिँदै छ ।  प्रत्यक्ष र परोक्ष असर नेपाली अर्थतन्त्रमा देखिँदैछ, कति त देखिन थालिसक्यो ।  विदेशी मुद्रा खेलाउँदा आउने आपत्लाई कसरी पर्गेल्ने हो गम्भीरता अहिले देखिन सकिएको छैन भने भारत भोगिएको अहिलेको बेहालले पनि यहाँ असर परिरहेको छ ।  नोट प्रतिबन्धको दोस्रो साता नपुग्दै भारतीय पर्यटक घट्न थालिसकेका छन् ।  होटल सङ्घले चार प्रतिशत पर्यटक घटेको प्रारम्भिक आँकलन गरेको छ ।  बुकिङ धमाधम रद्द हुँदैछन् ।  राजधानीका क्यासिनोहरूको बिजोग हुन थालेको छ ।  ती जुवा घर पर्यटकीय र मुख्य गरी भारतीय धनीहरूकै लागि हो ।  ती पर्यटक खुम्चँदा क्यासिनो अर्थतन्त्रमा प्रतिकूल असर पर्न सक्छ ।  पाँच सय र हजारका नोट नचलेपछि सयका नोटले क्यासिनो चल्दैन ।  सुनसान हुन थालको छ ।  कुरा थप कति समय सुनसान हुने भन्ने हो ।
अर्को असर व्यापारमा परिरहेको छ ।  नेपाली अलैँची र अदुवाको बजार भारत नै हो ।  तेस्रो मुलुक पुग्ने भए पनि भारतीय व्यापारीले नै त्यो खेलो गर्छन् ।  नोटको हविगतपछि अदुवा र अलैँचीमा पनि निकासीमा अवरोध आउन थालेको छ ।  आयात व्यापारमा पनि सामान्य समस्या आउन थालेको छ तर यसमा कति समस्या आउँछ भन्ने कुरा हाम्रो गैरकानुनी सीमा वारपार व्यापारको अंश कति छ भन्ने कुराले निर्भर गर्छ ।  त्यसो त हाम्रो कुल वैदेशिक व्यापारको दुईतिहाइ भारतमै निर्भर छ ।  व्यापार विविधीकरणका लागि लामो समयदेखि कुरा उठाइए पनि सुन्नुपर्ने सुन्दैनन् ।  नीतिगत संरचना बन्दैन ।  एकैतिर भरपर्दा के कस्तो समस्या आउँछन् भन्ने चेत नाकाबन्दीमा पनि खुल्न नसकेको देखे जानेकै कुरा हो ।  चीनसित अघिल्लो साल भएका सम्झौतालाई थप गति दिन यतिबेला फुर्सद छैन ।  आगो लागिसकेपछि इनार खन्ने जो प्रवृत्ति पुरानै छ ।
भन्नैपर्छ, दुई वर्ष अघिसम्म पाँच सय र एक हजारका भारतीय रुपियाँ (भारू) नोट नेपाला चल्दैन थिए ।  प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नेपालकै अनुरोधमा भारु पाँच सय र एक हजारका नोट नेपालमा चल्ने बनाइयो ।  एक जनासँग २५ हजारको सीमा तोकियो ।  यो औपचारिक सीमा मात्र हो ।  अनौपचारिक पाटो अलग छ ।  उतीबेला नेपालमा नचले पनि पाँच सय र एक हजारका नोट नेपालमा सतहमुनि चलेकै थिए ।  सामान्य नागरिकदेखि राज्यको आँखा छल्ने र छलेजस्तो गर्ने सबैमा त्यतिबेला पनि यी नोटको कारोबार हुन्थ्यो ।  प्रतिबन्ध हुँदा त पाँच सय र एक हजारका नोट कुनै रूपमा चल्थे भने फुक्का नै भए पछि त अवस्था अचाक्ली नै भएको थियो ।  भारु ‘होल्ड’ गर्ने धेरै खालका मानिस अहिले पुर्पुरोमा हात लगाएर बसेका हुनुपर्छ ।  नोइडामा घर जोडेर काठमाडौँमा राष्ट्रियताको गीत गाउने हुन् वा भारू जम्मा गरेर राजनीतिक पहुँच विस्तार गर्ने वा उताको सुन उता पु¥याउनेदेखि हुण्डी हुँइक्याउनेसम्मको निद्रा हराम भएको छ, हुनु पनि पर्छ ।  बालुवाटार वरपर चर्को दबाब अलि बढी त्यसैको छ ।
कानुन र मर्यादाका आँखा छलेर भारू चलखेल गर्नेहरू अर्थतन्त्रका लागि ठूलो चिन्ताका विषय होइन ।  राज्य र कानुनले नचिनेका मानिससँग पाँच सय र एक जारका भारू छन् भने ती भूस नै हुनुपर्छ ।  शक्तिका आडमा तिनले धुलिधुलाई गर्ने अवसर पाउनु हुन्न ।  अर्थतन्त्रलाई फाइदै पुग्छ ।  विश्व समुदाय अमेरिकी निर्वाचनमा केन्द्रित भएका बेला त्यसै भारतीय प्रधानमन्त्री मोदीद्वारा यो कदम चालेको होइन ।  कम्तीमा छ महिनादेखि यो तयारी गरे पनि प्रधानमन्त्रीले तयारीका क्रममा वित्तमन्त्री, गर्भनर लगायत अति सीमित मानिसबाहेक अरूलाई सुइकोसम्म नदिनु चानचुने कदम होइन ।  मन्त्रीपरिषद्को बैठकमा मोबाइल घरैमा राखेर आउन भनिएबाट यो विषयको संवेनशीलता बुझिन्छ ।  भारतमा यतिखेर महाकष्टको बेला छ ।  नोट साट्न लाम बस्दा नै कतिपय मानिसहरूको ज्यान गइसक्यो ।  घण्टा लाम बस्दा केही हजार साट्न पाइन्छ, त्यो पनि हातमा चिह्न लगाए, तीन पुस्ते लेखेर ।  राजनीतिक विरोध उत्कर्षमा पुगिरहेको छ तर पनि प्रधानमन्त्री मोदीको ठम्याइमा यो प्रस्रव वेदना जस्तो हो ।  सुन्दर शिशुको अनुहारले ती वेदना आमाले बितारै भुल्दै जाने विश्वास जस्तै स्वस्थ अर्थतन्त्रको आशा गरिएको छ ।  
खासगरी देशभित्रको कालो धन सफा हुनेछ ।  कोठाभरि नोट राखेर आगामी चुनाव जित्ने राजनीतिक पार्टी र नेताहरूको पत्ता साफ हुनेछ ।  जाली नोट प्रसार गर्नेहरूले अब चिप्स भएका नोट आउने हुँदा थला बस्ने छन् ।  अब भारतीय अर्थतन्त्रको ठूलो हिंसाले बैङ्कको औपचारिक च्यानलबाट आउनैपर्छ ।  बैङ्क नपुग्ने पाँच सय र हजारका नोट पत्करभन्दा पतीत हुने छन् ।  वैद्य आयको सबुद बोकेर बैङ्क पुग्ने थुपार्ने सहज छैन, कर बढ्ने छ ।  सबुद नपुग्ने पैसाले कतिलाई काराबास पु¥याउने डरले गैर कानुनी धन्धाको धुलोपिठो हुनेछ ।  यो कदम उठाउँदा सीमा पारि पाकिस्तान र नेपालतिर पनि दिल्लीद्वारा आँखा लगाइएको हुँदा भारतसित डिल गर्दा असाध्यै संवेदनशील हुनुपर्ने अवस्था छ ।  
भारू पाँच सय र एक हजारका प्रतिबन्धित नोटबाट आक्रान्त नेपाली सर्वसाधारण पनि छन् ।  खासगरी पश्चिम नेपालमा यो असर उच्च छ ।  सुदूर र मध्य पश्चिमका अधिक नेपाली भारतमा रोजगारी गर्न जान्छन् ।  उनीहरूले आर्जन गरेको रकम भारुमै लिएर आउँछन् ।  नेपाली रुपियाँ साटिरहनुपर्ने आवश्यकता किन पनि देख्दैनन् भने नेपाली रुपियाँभन्दा भारुमै मालवस्तुको मोलमोलाई अब्बल मानिन्छ त्यहाँ, बैङ्किङ सुविधा गाउँ गाउँमा छैनन् ।  बाजुराका गाउँका कतिपय घरजग्गाको मोल मुम्बईमा छिनिन्छ ।  भारुमै घरजग्गा पास हुन्छ र रकम कारोबार भारुमै हुन्छ ।  भारु हुनेले दुई पैसा भए पनि सस्तोमा
मालवस्तु र जमिन पाउँछ ।  नेपालीमा कारोबार गर्नेले अलि बढी तिर्नुपर्छ ।  भारतमा रोजगारी गर्नेहरूको ठूलो पीडाको आँकलन काठमाडौँमा उति गहन रूपमा लिइएको छैन ।  यो अर्को पाटो हो ।
दुर्गमका कतिपय सर्वसाधारणलाई त अझै जानकारी पनि यो विषयको छैन ।  सुदूर र मध्य पश्चिमका कतिपय सर्वसाधारणसम्म सूचना पनि पुगेको छैन ।  सरकार र सरोकार निकाय अझै अन्योलमै छन् ।  राम्ररी डिल हुन सकेको छैन ।  भारतमै भर गरेर रोजगारी गर्नेहरू भारु घरमा राख्दा सन्तोषले बसे भने यो तिनको दोष पनि होइन ।  त्यसरी बस्नेहरूको सङ्ख्या ठूलो छ भन्ने कुरा डोटीका एक जना सामान्य मानिसका घरमा पाँच लाख भारु हुनु अब्बल प्रमाण हो ।  ती भारु पाँच सय र एक हजारका नोटमै भेटिए ।  सदरमुकाम नजिकका भएर उनले तत्कालै थाहा पाए तर दूरदराजमा बस्ने सामान्य मानिस धेरै हुन सक्ने आँकलन छ ।  खासगरी गृहणीहरूसँग भएका नोट हतपत निकाल्दैनन् ।  पचास दिन नाघेपछि ती निस्किए भने केही बाटो छैन ।  ती सर्वसाधारणको नोट नेपाल र नेपालीको आर्जन हो ।  श्रमको पसिना हो ।  कसरी साटिएला ?


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना