अग्नीपीडितलाई शेरधनको तीन लाख सहयोग

भोजपुर, मसिर ६ गते । यहाँका अग्निपीडितलाई पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आज रु तीन लाख आर्थिक सहयोग गर्नुभएको छ ।

आज अपराह्न क्षति भएका घरको अवलोकनका लागि यहाँ आउनुभएका नेकपा(एमाले)का नेता राईले सो रकम जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ अर्जुनकुमार शर्मालाई हस्तान्तरण गर्नुभयो ।

पूर्वमन्त्री राईको संसद् विकास कोषको रु दुई लाख र विश्व सरोकार समाज सिङ्गापुरको रु एक लाख सहयोग समेत गरी रु तीन लाख पीडितलाई सहयोग गरिएको हो ।

सदरमुकामस्थित भोटेपसलमा आइतबार भीषण आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् भने पाँच घरमा आंशिक क्षति पुगेकोे छ । आगलागीबाट बद्री राणा, गणेश श्रेष्ठ, लालबहादुर विक, थिरकुमार प्रोतेल लगायतको घर जलेर नष्ट भएको हो । आगलागीबाट रु २० करोडको क्षति भएको अनुमान गरिएको छ ।

यसैवीच नेपाली काँग्रेस र नेकपा(एमाले)ले भोजपुर सदरमुकाममा आइतबार भएको आगलागीका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा आगलागीबाट आठ घरसहित करोडौँको भौतिक सम्पत्ति नष्ट भएकोप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको उल्लेख छ । सभापति देउवाले घटनाका कारण आफ्नो आवास र धनसम्पत्ति गुमाउने परिवारप्रति सहानुभूति व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी एमाले सचिव योगेश भट्टराईले पनि आजै एक विज्ञप्ति जारी गरी आगलागीबाट भएको क्षतिको खबरले पार्टी स्तब्ध भएको बताउनुभएको छ । उक्त घटनामा परी पीडित भएकाप्रति एमाले पार्टी सहानुभूति प्रकट गरेको उहाँले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

त्यस्तै भोजपुरका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पनि आगलागी पीडितलाई गाँस, बास र कपासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना