सबै दललाई काँग्रेसले एकठाउँमा उभ्याउनु पर्छ ः नेता कोइराला





दाङ, मङ्सिर ७ गते । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेकपा (एमाले) र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउन सक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । कोइरालाले त्यसको लागि काँग्रेस पहिले एक ढिक्का हुनुपर्ने पनि बताउनुभयो । “सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्ने तागत काँग्रेसमा छ, त्यसको भूमिका काँग्रेस सभापति शेरबहादुर देउवाले खेल्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने प्रमुख जिम्मेवारी काँग्रेसको भएको बताउनुभयो ।

कोइरालाले देशको हरेक परिवर्तनमा काँग्रेसको अग्रणी भूमिका रहेको चर्चा गर्दै स्व गिरिजाप्रसाद कोइरालाले राष्ट्र र राष्ट्रियताका लागि गरेको त्यागलाई सबै नेताले आत्मसात गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा परिपक्व नेता नभएका कारण पनि देशले यो अवस्था भोग्नुपरेको बताउनुभयो ।

कोइरालाले सीमाङ्कनमा जटिलता थपिँदै गएको भन्दै यही कारणले देशमा संवैधानिक सङ्कट आउन सक्ने बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति नेपाललाई तहसनहस गराउन लागेको भन्दै त्यसबाट पार पाउन पनि स्थानीय निकायको भएपनि चुनाव गराउनुपर्ने बताउनुभयो । कोइरालाले साविकका गाविसलाई गाउँपालिका मानेर निर्वाचनमा जानुपर्ने सुझाव दिनुभयो । रासस
––––––––––––

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना