सेयर बजारमा देखिएको बेचैनी

sarojसरोज अधिकारी



सेयर बजारमा एकाएक ठूलो गिरावट देखिएको छ ।  नेप्सेमा यस अधिल्लो साताको अन्तिम दिन ४१ अङ्कको गिरावट आएपछि यस हप्ता सुधार आउने आशा ठूलो गिरावटले निराशामा परिणत भएको छ ।   साताको पहिलो दिन आइतबार नै नेप्से ८० अङ्कसम्मले तल ओर्लिएर पुनः केही सम्हालिएको भए पनि अन्तत ५८ अङ्कको ठूलो गिरावट भोग्न बाध्य बन्यो ।  एक हजार ८६१ को उचाइ छोएको नेप्से हाल एक हजार ६ सयभन्दा तलको बिन्दुमा झरेको छ ।  नेप्सेमा आएको ठूलो गिरावटका बखत लगानी गर्न कम्मर कस्ने लगानीकर्ताका कारण कारोबार भने उच्च नै भएको छ ।  एक अर्बभन्दा बढीको कारोबार भएकोले भने बजारमा सेयर खरिद गर्न चाहने लगानीकर्ता पनि प्रशस्तै रहेको पाइएको छ ।  बजारमा गिरावट आउनुका साथै कारोबार पनि कम भएको अवस्था निकै डरलाग्दो हुने भए पनि सेयर खरिदका लागि माग पनि उत्तिकै भएकोले बजार ठूलो मात्रामा तल झर्ने सम्भावना भने न्यून हँुदै गएको छ ।  बजारमा बिक्रीको चाप बढे लगत्तै सस्तोमा सेयर खरिद गर्ने अवसरका रूपमा लगानीकर्ता हौसिएकोले पनि बजार धेरै तल जानबाट रोकिने दह्रो सम्भावना छ ।  सेयर बजारमा वर्चस्व जमाउँदै आएको बैङ्क तथा वित्तीय क्षेत्रमा पुँजी बृद्धिका लागि हकप्रद तथा बोनस सेयर जारी तीव्ररूपमा हुन थालेको अवस्थाले बजारमा सेयरको आपूर्ति उच्च हुन थालेको छ ।  यसले गर्दा बजारमा सेयरको मागको तुलनामा आपूर्ति उच्च हुनुले सामान्य गिरावट आउने र बजारमा केही करेक्सन देखिने कुरा धेरै लगानीकर्ताले आँकलन गरेको भए पनि बजारमा एकाएक आएको उच्च गिरावटले भने कतिपय लगानीकर्तालाई अत्याएको देखिन्छ ।  लामो समयका लागि लगानी गर्ने लगानीकर्ताहरू बजार केही समयका लागि ओरालो लाग्ने र पुनः सम्हालिने आकलनमा ढुक्क भएर बसेको भए पनि छोटो समयमा नाफा कमाउनका लागि भर्खरै बजार छिरेका लगानीकर्ता भने अत्तालिएको अवस्था हो अहिले ।  बजारमा उच्च गिरावट जारी नै रहने हो भने सेयर धितो राखेर कर्जा लिएकाहरूलाई बैङ्कहरूले ताकेता थाल्ने अवस्था सिर्जना हुनसक्ने खतरा अझै कायमै छ ।  जसले बजार थप ओरालो लाग्न मद्दत पुग्ने हुनसक्छ ।  
मुलुकमा राजनीतिक अस्थिरता कायमै रहेको वर्तमान अवस्थामा संविधान संशोधन राजनीतिक दलहरूबीच सहमतिको आधारमा हुने हो वा पुनः विवाद सिर्जना भएर सरकार आफ्नै पाराले संशोधनमा जाने अनि मधेसी मोर्चा आन्दोलनमा जाने वातावरण निर्माण भएमा बजारका लागि दुर्भाग्य नै हुनेछ ।  शान्ति सम्झौताको दस वर्ष पूरा भए पनि उपलब्धि न्यून नै हुनु र मुलुकमा सधैँ राजनीतिक मुद्दाले नै प्रमुखता पाउने अनि लगानीका सम्भावनाहरू साधुरिदै जानुले पनि जनतामा निराशा छाएको छ ।  तीन तहको निर्वाचन गराएर छाड्ने सरकारी प्रतिबद्धतामा जनतालाई खासै विश्वास नै छैन ।  सांसदहरूको तलब भत्ता बढाउने काम फास्टट्रयाकबाट सक्दै सभामुख रुसतर्फ गएको अनि अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानको महाभियोगको विषय थाँती नै रहनु र स्वास्थ्य शिक्षा क्षेत्रमा डा. गोविन्द केसीको मागका बारेमा पनि कुनै निर्णय हुन नसक्नुजस्ता नकारात्मक खबरले पनि कतिपय लगानीकर्तालाई सेयर बजारबाट पैसा निकाल्न उक्साएको हुनसक्छ ।  त्यसैगरी बैङ्क वित्तीय संस्थाहरूमा तरलताको अभाव हुने देखिएकोले निक्षेपको ब्याजदरमा भएको बढोत्तरीको फाइदा उठाउनका लागि सेयर बेचेर बैङ्कमा रकम सुरक्षित गर्ने चाहना केही लगानीकर्तामा पलाएकोले पनि नाफा बुकिङ गर्ने होड नै चलेको देखिन्छ तर नेप्सेमा हाल देखिएको उच्च गिरावटका कारण आगामी दिनमा नाफा बुकिङ गर्ने लगानीकर्ताको सङ्ख्या न्यून हुने अपेक्षा गर्न सकिन्छ ।  
सेयर बजारमा हाल देखिएको उच्च गिरावटको प्रमुख कारण भने नेपालको ठूलो व्यापारिक कारोबार भएको मुलुक भारतीय रुपियाँको सटही नियममा भएको परिवर्तनको असर नै हो ।  औपचारिकरूपमा नेपालको बैङ्किङ प्रणालीमा भारतीय रुपियाँ निकै कम भएको देखाइए तापनि व्यक्तिगत र व्यावसायिक क्षेत्रमा भारतीय रुपियाँको सङ्ग्रह निकै भएको सहजै अनुमान गर्न सकिन्छ ।  केही समय अधिसम्म नेपालमा भारतीय रुपियाँ साटन निकै गाह्रो पर्ने अवस्था राजधानीलगायतका क्षेत्रमा कायमै थियो ।  त्यसको कारण पनि कतिपयले फाइदाको हिसाबले पनि ठूलै मात्रामा भारतीय रुपियाँ सङ्कलन गरेको निश्चित छ ।  हालको परिवर्तित सन्दर्भ अनि नेपालमा अनौपचारिक क्षेत्रमा भएको भारतीय रुपियाँको साटिने सम्भावनाको अनिश्चितताले नेपाल भारतबीचको व्यापार पनि चौपट भएको छ ।  नेपाली सीमाहरूबाट भारततर्फ निकासी हुने मरमसला, जडीबुटी कृषिजन्य उत्पादनको निकासीमा समेत ठूलो समस्या आएको समाचार आइरहेका बेला त्यसबाट नेपाली सेयर बजार अछूतो रहने कुनै भएन ।  भारतीय रुपियाँ सटहीको समस्याको नकारात्मक असर नेपाली सेयर बजारमा अब स्पस्ट देख्न थालिएको छ ।  नेपाल र भारत दुवै मुलुकमा लगानी गरेका कतिपय लगानीकर्ता भारतीय नोटको सटही अनिश्चित बन्दै गएपछि आफूसँग भएको सेयर जसबाट मनग्ये नाफा आइसकेको छ त्यो बेच्न तल्लीन भएका कारण बजारमा एकाएक सेयरको आपूर्ति उच्च देखिएको हो जसको फलस्वरूप बजार निकै तल गएको हुनसक्छ ।  भारतीय नोटको सटही व्यवस्थामा भएको नयाँ निर्णयको सकारात्मक वा नकारात्मक असरहरू नेपाली अर्थतन्त्रमा पनि क्रमश देखिदै जाने निश्चित छ ।  नेपाली सेयर बजार पनि त्यसैको एक हिस्सा मात्र बनेको हो ।
सकारात्मक पक्ष
नाफा सुरक्षित गर्न थुप्रै लगानीकर्ताले सेयर ठूलो मात्रामा बेच्न थाले पनि खरिद गर्ने लगानीकर्ता पनि उत्तिकै भेटिनु भने नेपाली सेयर बजारका लागि सुखद पक्ष हो ।  मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण लगानीका भरपर्दा अन्य सम्भावना नदेखेका लगानीकर्ता घट्दो बजारमा सस्तो मूल्यमा सेयर खरिद गर्न आतुर नै देखिएका छन् ।  सेयर बजारमा कमाउने पनि लगानीकर्ता अत्तालिएको समयमा भविष्यमा राम्रो प्रतिफल दिनसक्ने सम्भावना भएको कम्पनी छानेर लगानी गर्नसक्नेले नै हो ।  कतिपय ठूला लगानीकर्ताले उच्च मात्रामा बिक्रीका लागि ल्याएको सेयर अन्य ठूला लगानीकर्ता जो नेप्से एक हजार आठ सयभन्दा माथिको समयमा सेयर बिक्री गरेर पर्ख र हेरको अवस्थामा बसेका छन् आगामी दिनमा उनीहरू लगानीको राम्रो सम्भावना देखेर लगानी गर्न हौसिन सक्छन् ।  त्यसैगरी कतिपय म्युचुअल फण्डहरूसँग रहेको लगानी योग्य रकम पनि हालको घटेको बजारमा आउन सक्छ त्यो पनि बजारको सुधारका लागि सकारात्मक हुनसक्छ ।  सेयरको नियमनकारी निकाय र सरकारले पनि यही मौकामा बैङ्कहरू मार्फत सेयरको कारोबार मोफसलमा पनि खुलाएर कारोबार बढाउने र गैरआवासीय नेपालका लागि पनि नेपाली सेयर बजारको पहुँच सरल बनाउने तर्फ तत्काल कदम चाल्ने हो भने आपूर्तिका लागि आएको ठूलो मात्राको सेयर खपत हुन गाह्रो हुने छैन ।  जसले बजारलाई सकारात्मक दिशातर्फ उन्मुख बनाउन मद्दत गर्नसक्छ ।  हाल बजारमा कतिपय मुलुकभर ठूला सञ्जाल भएका कमर्सियल बैङ्क जसको सेयरको बजार मूल्य चार सय सयदेखि ८०० को हाराहारीमा छ ।  ती बैङ्कको आर्थिक वर्ष ०७३–७४ को पहिलो त्रैमासिकको प्रगति प्रतिवेदनमा आम्दानी र कम्पनीको सबै आर्थिक सूचकाङ्कहरू सानदार छन् त्यस्ता कम्पनीको सेयर सस्तोमा खरिद गर्दा भविष्यमा कुनै समस्या देखिँदैन ।  हाल खरिद गरेको बजार मूल्यबाट केही गिरावट आउनसक्ने सम्भवनालाई नकार्न सकिँदैन तर पुनः सस्तोमा सेयर खरिद गर्दै एभ्रेजिङ गर्दै लाने हो भने निश्चितरूपमा कतिपय कमर्सियल बैङ्कका सेयर लगानी योग्य नै देखिन्छन ।  हाल घट्दो बजारमा पनि राम्रा कम्पनीको सेयर मूल्य खासै घटेको छैन तर उच्च बजार मूल्य भएका र कम प्रतिफल दिने खालका कतिपय बीमा कम्पनी, लघुवित्त आदि समूहका कतिपय कम्पनीको सेयरमा भने उच्च गिरावट देखिन्छ ।  जुन स्वभाविक पनि थियो ।  बजार घटदा राम्रो प्रतिफल दिनसक्ने मोटा संज्ञा दिइएको कम्पनीको बजार मूल्य केही घटेर दुब्लाएको मात्र हो भने प्रतिफल नै खासै दिन नसक्ने तर बजारमूल्य भने आकासिएको कतिपय बिमा र लघुवित्त कम्पनीहरू जसको बजार मूल्य सुन्निएको नै थियो त्यो एकाएक झरेको छ ।  त्यस्ता कम्पनीहरूमा लगानीगर्ने लगानी कर्ताले निकै गुमाएका पनि छन् ।  मुलुकभर सञ्जाल भएका ठूला बैङ्क वित्तीय सस्थामा भएको लगानी ठूला नदीमा भएको पानी सरहझै हुन जसमा हाल पानी केही घटे पनि पुन वर्षात्मा पानी आउने र राम्रो प्रतिफल पाउने आशा गर्न सकिन्छ तर बीमा, लघुवित्तको क्षेत्रमा भएको लगानी भने खहरेझै बनेको देखिन्छ नेपाली सेयर बजारमा अहिले ।  सानो टुकुचाको खोल्सामा पनि बाढी आयो, समयमा लगानी गर्ने र समयमा न्रिक्लनेले राम्रै कमाइ गरे तर पछि खरिद गर्नेले लामो समय दुःख झेल्नुपर्ने निश्चित छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना