बलिको बोको अर्थात् सुजाता

 shiva sirशिवकुमार भट्टराई


नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालालाई सरकारले उनलाई लागेको क्यान्सर रोगको उपचारका लागि ५० लाख आर्थिक सहयोग दिने भनी गरेको निर्णय गएको साता नेपाली मिडियाको ‘हट केक’ बन्यो ।  मानौँ यसअघि यसखाले सहयोग कुनै पनि राजनीतिक दल आबद्ध नेताले लिएका थिएनन् ।  अझ सामाजिक सञ्जाल हेर्दा त सरकारी ढुकुटी सिध्याउनेमा सुजाता नै मुख्य व्यक्ति हुन् भन्ने आशय झल्कने टिप्पणी बग्रेल्ती लेखिए ।  हुन पनि अहिलेको अवस्थामा सुजाताको लागि ५० लाख उपचार खर्च दिइहाल्नुपर्ने हतारो थिएन सरकारलाई ।  उनका लागि ५० लाखको अभाव पनि थिएन तर किन हो सरकार यो निर्णय गर्न ज्यादै हतारियो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेससँगको गठबन्धन जोगाउन यो निर्णय लिएको आभास हुन्छ तर यसले समाजमा भने ज्यादै नकारात्मक सन्देश सञ्चार भयो ।  आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यो प्रकरणमा सुजाताबारे गरिएका आक्रोशपूर्ण टिप्पणीले उनीप्रति घृणा छताछुल्ल भएको छ ।  उनीप्रति सद्भाव जनाउने गरी थोरै मात्र शब्द खर्चिएको पाइयो ।  बरु यस्तो अवस्थामा पनि धारे हात गरेर सत्तोसराप गर्नेको सङ्ख्या बढी पढ्न र सुन्न बाध्य भइयो ।  स्तन क्यान्सर जस्तो भयावह रोगबाट ग्रस्त सुजातालाई कठै भन्ने या सुस्वास्थ्यको कामना गर्न कञ्जुस्याइँ भएकै हो ।  खोजीपस्दा सरकारी ढुकुटीको चरम दोहन गर्नेमा सुजाता मात्र होइन, धेरै नेता कार्यकर्ताको नाम पाइन्छ ।  पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला मात्र होइन के.पी. शर्मा ओली, झलनाथ खनालदेखि पूर्व राष्ट्रपति डा. रामवरण यादवसम्मले यस्ता रकम करौडौँको मूल्यमा कुम्ल्याएका छन् तर चर्चा भने सुजाताको झ्याली पिट्ने गरिभइरहेको छ ।  नेपालजस्ता मुलुकमा पहँुचवालाका लागि यस्ता सहयोग लिनु स्वाभाविक हो ।  सिटामोल र जीवन जल नपाएर ज्यान गुमाउनेको सङ्ख्या मनग्गे रहेको नेपालमा ठूला नेताले रुघाखोकी र ज्वरो आउँदासमेत विदेशमा उपचार गराउने भनी सरकारी ढुकुटीको दोहन हुने गरेको छ ।  यस्तो सहायता लिने सुजाता पहिलो व्यक्ति होइनन् तर सहरमा उनको चर्चा र बद्ख्वाइँ सबैभन्दा उच्च छ ।
मुलुकमा लोकतन्त्रको बहाली भएयताको दश वर्षे अवधिमा पहुँचवाला नेता कार्यकर्ताले झण्डै चार अर्ब रुपियाँ उपचार खर्चका निहुँमा वितरण गरिएको तथ्याङ्क सार्वजनिक भएको छ ।  यो रकम विनियोजन भएभन्दा करिब दश गुणाले बढी हो ।  साथै विपन्न र पहुँच नभएकाहरूका लागि दिने भनी गरिएको व्यवस्थाको सम्पन्न र पहुँचवालाले नै सबैभन्दा बढी दुरूपयोग गरेका छन् ।  यसमा नेताहरू तैँ चूप मै चूप ।  हरेक प्रधानमन्त्रीले आफ्ना कार्यकर्ता र आसेपासेलाई यस्तो रकम वितरण गर्ने गरेका छन् ।  यसो गर्दा न त अख्तियार केही गर्न सक्छ । न संसद्मा कुनै सभासद कुर्लन्छन् ।  यसरी सहायता रकम लिनेमा पूर्व अर्थमन्त्रीसमेत रहेका धनाढ्य र विद्धान् डा. रामशरण महतको नाम पनि पाइन्छ ।  केवल तीन लाख रुपियाँ सहयोग लिएर यिनले पनि आफ्नो जात जनाए, अरूका त के कुरा ।  राजनीतिक दलका नेताहरूले सरकारी ढुकुटीलाई निजी सम्पत्तिका रूपमा जसरी खर्च गरिरहेका छन्, त्यसलाई एउटा नियम बनाएर व्यवस्थित गर्न नसक्दाको परिणाम हो यो ।  साँच्चै भन्ने हो भने राजनीतिक दलका नेता नै यस्ता कसिलो नियम बनाउन इच्छुक छैनन् ।  काँग्रेसका चर्चित युवा नेता गगनकुमार थापा अहिले स्वास्थ्यमन्त्री छन् ।  यिनले यो बेथिति हटाउने उद्घोष त गरे तर सुजातालाई दिने बेलाको क्याविनेट बैठकमा अनुपस्थित भइ दिए ।  जसले गर्दा उनको नारा पनि जोगियो, दिदीको काम पनि भयो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन जोगाउन यो अप्रिय निर्णय लिनुपरेको प्रतिक्रिया यसअघि नै दिइसकेको अवस्था छ ।  यसरी हेर्दा नेताहरूले बाहिर जे भने पनि यो सहज बाटोलाई खुम्च्याउन चाहन्नन् ।
फेरि कुरो सुजाताकै गरौँ ।  वास्तवमा सुजाताविरुद्धको यो आक्रोश उनकै कारणले चुलिएको हो ।  उनी नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाकी भतिजी मात्र होइन, गिरिजाप्रसाद कोइरालाकी छोरी पनि हुन् ।  नेपाली काँग्रेसको राजनीति गर्न यति परिचय नै काफी थियो ।  नभन्दै प्रजातन्त्रको पुनर्बहालीपछि २०४७ सालमा जर्मनीबाट फर्किएर उनी समाजसेवाको नाममा नेपाली राजनीतिक क्षितिजमा उदाएकी हुन् ।  काँग्रेसका शक्तिशाली नेता गिरिजाप्रसादकी छोरी हुनुको भरपूर फाइदा सुजाताले उठाइन, जो स्वाभाविक पनि थियो ।  आफ्नो एकमात्र सन्तानका रूपमा रहेकी सुजातालाई नेपाली राजनीतिमा स्थापित गर्ने पितृइच्छा गलत थिएन ।  जसले गर्दा उनी जनताले चाहे नचाहे पनि कार्यकर्ता तहमा भने थोपरिएकी पात्र बन्न पुगिन ।  सुजाताले अहिलेसम्म जनताको मत पाएर संसद्मा प्रतिनिधित्व गर्न सकेकी छैनन् ।  अहिले पनि मनोनित सांसदका रूपमा उनी संसद्मा क्रियाशील छिन् ।  ५० लाख काण्डमा उनको व्यापक विरोध हुनुमा उनको कमजोर जनसम्पर्क पनि एउटा कारण हो ।  
बुवाद्धारा स्थापित सुजाताको स्वभाव आमजनतासँगको सामिप्य कम शक्तिकेन्द्रसँग बढी रहेकाले जनस्तरमा आलोचना व्यापक भएको हो ।  जनअनुमोदित नेता भएको भए सायद यति धेरै खप्की खानुपर्ने थिएन उनले ।  देश र जनताका लागि उनले खासै योगदान पु¥याएको सम्झना छैन आम नेपालीलाई ।  यसैगरी अर्काे महŒवपूर्ण कारण जो नितान्त राजनीतिक थियो, त्यसमा सुजाता नराम्ररी फसिन् ।  आफैँ खर्च गरेर उपचार गराउने तयारीमा रहेकी उनलाई पार्टी सभापति शेरबहादुर देउवा र सरकारमा प्रतिनिधित्व गर्ने गृहमन्त्री बिमलेन्द्र निधिले गज्जबले फन्दामा पारिदिए ।  नेपालको राजनीतिक इतिहासमा यति ठूलो योगदान दिने कोइराला परिवारका सदस्यलाई उपचार खर्च दिने विषयमा कुनै मतभेद हँुदैन भन्दै उनीहरूले सुजातालाई राजी गराए तर यही मुद्दामा अल्झाएर देउवा र निधिले सुजाताको राजनीतिक भविष्य नै दाउमा राखिदिए ।  साथै गएको महाधिवेशनमा आफूलाई नसघाएको बदला पनि यही निहँुमा लिएर छाडे ।  मुर्ख र घमण्डी स्वभावकी सुजाताले यो चाल बुझ्नै सकिनन् ।  नत्र काँग्रेस पार्टीले यो विषयमा सुजाताको बचाउ गर्न सक्नुपथ्र्याे, बरु नेताहरू तमासा हेरेर बसिरहेका छन् ।  देउवा पक्षले बदला लिने मौका पायो भने पौडेल र सिटौला गुटले खुच्चिङ भन्न पाए ।  क्यान्सरजस्तो असाध्य रोग लागेर उपचार गराइरहेकी नेतृ सुजाताको स्वास्थ्य लाभको कामना गर्न पनि पार्टीले चासो राखेको छैन ।  यही कारणले सुजाताको विरुद्धमा जनमत चर्काउन नेतृत्व भित्री रूपमा जुटेको अनुमान गर्न सकिन्छ ।
जनमानसमा राजनीतिक दलका नेताप्रतिको चुलिँदो नकारात्मक सोचलाई मलजल गर्न यस्ता कामले घीउको काम गर्छ ।  यो परिवेशलाई समयमै सच्याइएन भने नेता र जनताबीचको सम्बन्ध ज्यादै पेचिलो बन्न सक्छ ।  यो ब्रह्मलुटलाई रोक्नैपर्छ ।  सर्वसाधरणलाई यस्तो सहायता दिने परिपाटी बसाएर राजनीतिक दलका नेताहरूले छवि सुधार्न कम्मर कस्नैपर्ने बेला भइसकेको छ ।  मन्त्रिपरिषद्को निर्णयको आडमा गरिने यस्ता ब्रह्मलुट एक हिसाबले भ्रष्टाचार नै हो ।  यो छुट कसैलाई पनि दिइनु ग्राह्य हुन सक्दैन ।  संसद्ले यसमा तत्कालै रोक लगाउने व्यवस्था गर्न तात्नुपर्ने बेला भएको छ ।  सुजाताको नाममा जागेको अभिमत भोलि अरूका विरुद्ध झन् चर्कन सक्छ ।  अब सुजाता त प्रतिनिधि पात्र मात्र हुन् ।  यतिखेर उर्लिएको विरोधका स्वर आगामी दिनमा थप उचाइमा पुग्नेछ ।  त्यसैले राजनीतिक दलहरूले सरकारी आर्थिक सहायता उपलब्ध गराउने विषयमा बढो गम्भीर र संवेदनशील हुनैपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना