गतिशील पुल र त्रिदेशीय सम्बन्ध

pdamasaran regmiपद्मशरण रेग्मी




चीन र भारतको बीचमा रहेको नेपाल दुवै छिमेकीको भूराजनीतिक, भूरणनीति र सुरक्षा चासोको राडारमा पर्न थालेको छ ।  पूर्व–पश्चिम र दक्षिण गरी तीन तर भारत र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतले घेरिएको नेपाल पछिल्लो चरणमा आएर दुवै देशको ट्रान्जिट पोइन्टतर्फ समेत अग्रसर हुने तरखरमा छ ।  ठूला अर्थतन्त्र भएका चीन र भारत दुवैले आफ्नो जनसङ्ख्या र विशाल भूक्षेत्रको विकास र गतिशीलताका लागि पूर्वाधार विकास तथा व्यापार वृद्धि गर्न नेपाललाई गतिशील पुल बनाउनेतर्फ उच्च स्तरीय छलफलमा समेत जुट्न थालेका छन् ।  प्रस्तावित सिल्क रोड परियोजना अनुरूप चीन नेपाल लगायत दक्षिण एसियाली मुलुकमा आफ्नो कनेक्टिभिटी विस्तार गर्न व्यग्र छ ।  नेपाल चीन र भारतबीच त्रिपक्षीय सहकार्यका लागि अब हिमालको भूगोल तथा भौगोलिक कठिनाइ बाधक रहँदैन भन्ने आशाको सञ्चार चिनियाँ पक्षबाट बारम्बार आइरहेको छ ।  नयाँ भूराजनीतिक र भूरणनीतिक परिस्थितिमा यही कारणले त्रिपक्षीय सहकार्यको महŒव अब दिन प्रतिदिन बढ्दैछ ।  चीनले भारतको ठूलो बजार र भारतले चीनको विशाल बजारको उपयोग नेपालकै माध्यमबाट गर्न सक्ने सम्भावना बढिरहेका छन् ।  नेपालको उत्तरतर्फका विकट हिमाली क्षेत्रमै अब धेरै नाका खोलिरहेकाले यो सम्भावना नजिकिँदैछ ।  विकसित प्रविधिको जमानामा फड्को मार्दै गरेको चीनले सन् २०२० सम्म नेपालको उत्तरी विकट सिमानामा रेल विस्तार गरी सीमा नाका छुने र उक्त रेललाई काठमाडौँ, पोखरा र लुम्बिनी हुँदै भारतसँग जोड्ने लक्ष्यका साथ चिनियाँ पाइला अगाडि बढ्दै छन् ।  यस कार्यका लागि नेपाल र भारत दुवैलाई उत्प्रेरित गर्न चिनियाँ नीति निर्माता क्रियाशील छन् ।  प्रस्तावित नयाँ सिल्क रोडको माध्यमबाट चिनियाँहरू आफ्नो सपना साकार पार्न लागिपरिरहेका छन् ।  
बफरजोनको रूपमा रहेको तिब्बतको विकासका लागि नेपाल भएर बङ्गलादेश र भारतको समुद्र तटसम्म पुग्न छोटो दूरी हुनेहुँदा चिनियाँहरू वान बेल्ट वान रोडको लक्ष्यसहित अगाडि बढ्न तम्तयार छन् ।  सीमा जोडिएका सबै मुलुक र सीमा नजोडिएकाहरूसँग समेत हवाई, जल यातायात, रेल र सडक सञ्जालमा गाँसिएर आफूलाई विकासको वाहकका रूपमा उभ्याउन चिनियाँ नेतृत्व प्रयत्नशील छ ।  यता दक्षिणी छिमेकी देश भारत पनि आफ्नो रिभर लिङ्किङ प्रोजेक्टसहित छिमेकी मुलुकसँगको सम्बन्धलाई क्रमशः तनावमुक्त पार्दै अगाडि बढ्न प्रयत्नशील छ ।  भारत पनि चीनलेझैँ पूर्व र पश्चिम एसियातर्फ समेत नजर लगाउँदैछ ।  अझै बिग ब्रदरको ह्याङ ओभरबाट निस्कन नसकेको भारतीय खुफिया एजेन्सी र कर्मचारीतन्त्र बाधक बन्दै गरेको सन्देश भारतीय नीति निर्माताले बेलाबखत दिन खोजे पनि नीति निर्माता बीचमा पनि मत एकता हुन सकिरहेको छैन ।  विश्व राजनीतिमा भने चिनियाँ पक्षले भारतलाई आफ्नो प्रतिस्पर्धी मान्दैन ।  चिनियाँ प्रतिस्पर्धीहरू विश्वमा अन्य ठूला शक्ति राष्ट्रहरू (संयुक्त राज्य अमेरिका, रुस, फ्रान्स, बेलायत, जापान, क्यानडा, अस्ट्रेलिया आदि) छँदै छन् ।  दक्षिणी एसियाली मुलुकको हकमा भने भारत चीनको प्रतिस्पर्धी मुलुक हो ।  नेपाललाई माध्यम बनाएर चीनको बढ्दो बजार र प्रभाव तथा उपस्थितिलाई दक्षिण एसियामा प्रवेश गराउन भारत अनकनाइरहेको छ ।  चीनले भारतलाई घेर्ने रणनीतिअन्तर्गत पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, नेपालजस्ता देशलाई उपयोग गर्ने रणनीति अख्तियार गरेको बुझाईमा भारत रहेको छ ।  त्यसरी नै चीन र तिब्बतलाई घेर्ने रणनीति अनुसार महाशक्ति राष्ट्र अमेरिका र युरोपियन मुलुक तथा जापान, दक्षिण कोरिया र भारत सहकार्य गर्दै गरेकोमा चिनियाँ नीति निर्माताहरू पनि त्रसित र बेचैन देखिन्छन् ।  नेपाललाई आधार बनाएर पश्चिमाहरूको गतिविधि नेपालमा बढ्न र उनीहरूले बफरजोन मान्दै गरेको तिब्बतमाथि पश्चिमाहरूले गर्ने गरेको गतिविधिप्रति चीन सधैँ चनाखो रहेको छ ।  यो मामलामा चिनियाँ पक्ष पनि बेला–बेलामा त्रसित देखिन्छ ।
दुवै छिमेकी देश चीन र भारतले आआफ्नो सुरक्षा संवेदनशीलता र चासो देखाएर नेपालको राजनीतिक विकास र शान्ति सुरक्षालाई आआफ्नै हित रक्षाका लागि प्रतिस्पर्धा समेत पछिल्लो चरणमा आएर गरिरहेका छन् ।  फ्रि तिब्बत तथा खम्पा विद्रोही र दलाई लामाका गतिविधिलाई चीनले आफ्नो सुरक्षा चासो र चिन्ताका रूपमा बेला बेलामा देखाउनु यसैको परिणाम हो ।  सन् १९६२ को चीन र भारतबीचको युद्ध र सीमा विवादले अझै पनि दुवै देश बेला बखतमा सतर्कता अपनाउन पछि नपरे पनि व्यापार वृद्धिमा भने दुवै देश क्रमशः नजिकिँदै र सहकार्य पनि गरिरहेका छन् ।  दुवैको विशाल बजारलाई ध्यानमा राखेर एकापसमा लेनदेन गरिरहेका छन् ।  आर्थिक विकास र पूर्वाधार विकासमा चीन र भारत दुवै एकआपसमा प्रतिस्पर्धा मात्रै गरिरहेका छैनन् कि छिमेकी मुलुकहरूमा पनि अआफ्नो लगानी प्रवाह गरिरहेका छन् ।  पछिल्लो चरणमा आएर नेपालजस्तो अथाह प्राकृतिक स्रोत र साधन भएको मुलुकमा चीन र भारत दुवै लगानी गर्न तछाडमछाड गरिरहेका छन् ।  विशेषगरी चीनसँग सीमाना जोडिएका क्षेत्रहरू र हिमाली क्षेत्रको विकासमा चीनको ध्यान बढी केन्द्रित हुनु र नेपाल–भारत सीमा जोडिएका क्षेत्रमा भारतीय लगानी बढी केन्द्रित हुनुले यस्तो पुष्टि मिल्छ ।  भारतसित सीमा जोडिएका नेपाली क्षेत्रमा चिनियाँ लगानी र उपस्थिति भारतले नरुचाउने र चीनसित सीमा जोडिएका नेपाली भूभागमा भारतीय लगानी र उपस्थिति चीनले मन नपराउने विगतका तीता अनुभव नेपालले सँगालेर बसेको छ ।  प्रविधिको बढ्दो विकास र सञ्चार क्रान्तिले अब भूगोल बाधक बन्न नसक्ने सन्देश प्रवाह गरिरहेको चिनियाँ पक्षको पछिल्लो सरोकार र चासोलाई खुला समाज र प्रविधिमा अगाडि बढिरहेको भारत अझै विश्वस्त बन्न सकिरहेको छैन ।  सन् १९६२ को चीन–भारत युद्धमा नराम्रोसँग पराजित भारत अझै पनि चीनसँग तर्सिरहेको छ ।  नेपाल र बङ्गलादेशको बीचमा रहेको भारतीय भूभाग ज्यादै साँघुरो छ, जसलाई भारतले पनि चीनको तिब्बतजस्तै संवेदनशील क्षेत्र ठान्छ ।  भूराजनीतिक भाषामा ‘चिकेन नेक’ अथवा खुकुराको घाँटी भन्ने गरिन्छ ।  उक्त क्षेत्र कतै छिनिने त होइन भन्ने आशङ्का र त्रासमा भारतीय नीति निर्माताहरू बेला बखतमा पर्ने गर्छन् ।  यही घाँटीको आफ्नो पूर्वाेत्तर चिनियाँ सीमा क्षेत्रमा भारत हाइ एलर्टमा रहेको छ ।  त्यसरी नै पाकिस्तानसँगको जम्मु कास्मिर क्षेत्रमा पनि हाइ एलर्टमा रहिरहेको छ ।  पाकिस्तानको सम्बन्धमा भने बेला बखतका सीमा विवादका झडपमा भारतले चीनको मौनता र उसको भूमिकाप्रति शङ्का व्यक्त गरिरहन्छ ।  पूर्वोत्तर भारत र जम्मु कास्मिर क्षेत्र पनि भारतीय सुरक्षाका लागि उत्तिकै संवेदनशील क्षेत्र हुन् ।  बङ्गलादेशको उदय गराउन भारतले खेलेको भूमिका, श्रीलङ्कामा गरेको सैनिक हस्तक्षेप, सिक्किमको भारतमा विलय र यसका छरछिमेकीसँगको बेला बखतको तीतो सम्बन्ध बिझाउने खालका छन् ।  
अब सरकारहरूको फेरबदलले मात्र पनि नेपालीको उपर्युक्त चाहना र आकाङ्क्षालाई छेक्ने र ढिलाइ गर्ने परिवेश छैन ।  समयको चाप र आवश्यकताले नीति निर्माता र आम जनता सबैलाई घच्घच्याइ रहेको छ ।  आम नेपालीको मनोविज्ञान नबुझ्ने शासक र नीति निर्माताहरू अब नेपाली जनताको मन मस्तिष्क र दिलमा रहने छैनन् ।  दुवै छिमेकीले पनि केवल भूरणनीतिक चेपमा नेपाललाई पार्ने छैनन् भन्ने आशा र अपेक्षा पनि नेपालीले गरेका छन् ।  त्यसैले अब राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक, कूटनीतिक सबै माध्यमको प्रयोग गर्दै नेपालले आफ्नो राष्ट्रिय स्वार्थ, हित रक्षा र चौतर्फी विकासका लागि बेलैमा सचेत र सतर्क हुँदै पहल कदमीलाई निन्तरता दिइरहनुपर्छ ।  छिमेकीहरूको सम्बन्धलाई त्यही अनुरूप विश्वसनीय, भरपर्दाे, तार्किक र व्यावहारिक साँचोमा ढाली नेपालको हित प्रवद्र्धनमा सबै पक्ष लाग्नु नितान्त जरुरी छ ।  यस कार्यमा सबै पक्षको ध्यान बेलैमा जानु जरुरी पनि छ ।  भारतसँगको बिग्रेको विगतको तीतो सम्बन्धलाई सुमधुर बनाई उत्तरी छिमेकी देश चीनसँग भएका पछिल्ला सम्झौता र सहमतिलाई समेत ध्यानमा राखी पूर्ण आत्म विश्वास र उत्साहका साथ कार्यान्वयनमा ल्याउन पनि अब कुनै निहुँ र बाहिरी प्रभावबाट विचलित नभई वर्तमान सरकारका साथै अब आउने कुनै पनि सरकारले पहल कदमी लिइरहनु आवश्यक छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना