उपत्यकामा मेट्रो रेल सम्भव

भउचप्रसाद यादव

काठमाडौँ, मङ्सिर ११ गते ।  उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ ।  बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसक्नु भएका नेपाली इन्जिनियरले उपत्यकाभित्र मेट्रो रेलको सम्भावनाबारे अध्ययन गर्नुभई जमिनमुनि मेट्रो रेल सम्भव भएको दाबीसहित प्रतिवेदन तयार गर्नुभएको छ ।  
माटोसम्बन्धी इन्जिनियरिङमा टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा. विनोदलाल अमात्यले भन्नुभयो, “काठमाडौँको माटो कमजोर छ भन्ने हल्लामात्र हो ।  यहाँको माटोमुनि मेट्रो रेल सञ्चालन गर्न सकिन्छ ।  त्यो सम्भव छ । ”  
उहाँले भूकम्प र पराकम्पनका कारण मेट्रो रेल जोखिम हुन्छ भन्नेहरू पनि उत्तिकै रहेको बताउँदै थप्नुभयो, “उपत्यकामा जमिनभन्दा जमिनमुनि मेट्रो रेल सञ्चालन गर्दा जोखिम रहँदैन । ”
उहाँका अनुसार बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन्, तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ देखि ५० हजार यात्रुले यात्रा गर्न सक्ने भएकोले मेट्रो रेल अनिवार्य ठानिएको छ ।  उहाँले काठमाडौँ, ललितपुर र भक्तपुरका घना बस्तीमा मेट्रो रेलको निर्माण सुरूङ मार्गबाट गर्न सकिने बताउनुभयो ।
बेलायतमा कार्यरत सिभिल इन्जिनियर डा. अमात्यले प्रथम चरणअन्तर्गत भृकुटीमण्डपबाट पूर्वमा थिःमि भएर बनेपासम्म (२५.५ किलोमिटर) र साँखुसम्म (१७.५ किलोमिटर), दोस्रो चरणअन्तर्गत पश्चिममा कलङ्की भएर थानकोटसम्म (११ किलोमिटर), तेस्रो चरण अन्तर्गत दक्षिणमा पाटन–सातदोबाटो हुँदै थेचोसम्म (२१ किलोमिटर) र चौथो चरणअन्तर्गत उत्तरमा बाँसबारी हुँदै बुढानिलकण्ठसम्म (नौ किलोमिटर) सुरुङमार्गबाट मेट्रो रेल नेटवर्कको निर्माण गर्न सकिने बताउनुभयो । metrorail
त्यसैगरी, कलङ्कीबाट कोटेश्वर–बौद्ध जोड्ने सुरूङमार्ग (१५ किलोमिटर)को हुने र सातदोबाटोबाट बाँसबारी जोड्ने सुरूङमार्ग १२ किलोमिटरको हुने उहाँको अध्ययनको निचोड छ ।
उहाँका अनुसार उपत्यकाभित्र कुल १८३ किलोमिटर मेट्रोरेल सञ्चालन गर्न सकिन्छ र त्यसमध्ये ७७ किलोमिटर सुरूङमार्ग, १७ किलोमिटर भू–सतह मार्ग र एकसय किलोमिटर आकाशे पुल (इलेभेटेड) निर्माण गर्न सकिन्छ ।  
“काठमाडौँको माटोको अध्ययन गर्दा उपत्यकाको मध्य र दक्षिण भूभागमा कालिमाटी र उत्तरी भूभागमा बालुवा धेरै पाइएको छ ।  सतही जमिनको १० देखि १५ मिटरमुनिको माटो खुकुलो बालुवा अनि नरम माटोको समिश्रणबाट बनेको बलौटे माटो छ ।  काठमाडौँको सतही जमिन इन्जिनियरिङ हिसाबले त्यति सबल माटो होइन”, उहाँले भन्नुभयो, “उपत्यकाको सतही जमिनको २० मिटरमुनिको गहिराइमा कालिमाटी छ जुन भार वहनको दृष्टिकोणले उत्तम हुन्छ ।  कालिमाटी टनेलिङ गर्न पनि ज्यादै उपयुक्त माटो हो । ”
२० वर्षमा निर्माण सम्पन्न हुनसक्ने परियोजनाको कुल लागत चार खर्ब ७१ अर्ब रुपियाँ लाग्नसक्ने अनुमान उहाँले गर्नुभएको छ ।  उहाँका अनुसार एक किलोमिटर टनेल खन्न करिब चार अर्ब रुपियाँ लाग्न सक्छ ।





थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना